विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सामन्यतयाः नवीकरणीय ऊर्जा वातावरणमैत्री विकासको पर्याय मानिन्छ । नवीकरणीय ऊर्जाको प्रमुख स्रोत जलविद्युत् हो । विश्व विद्युत् प्रणालीमा करिब १५ प्रतिशत हिस्सा जलविद्युत्‌को छ । नेपाललगायत विश्वका पहाडी र हिमाली क्षेत्रमा जलविद्युत्‌को विकास तीव्र गतिमा भइरहेको छ । जीवाश्म इन्धनको तुलनामा हरित ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा नवीकरणीय ऊर्जाको भूमिका न्यून भए पनि जलविद्युत् विकासले जैविक विविधता, जल तथा स्थल प्राणी, पन्छी, पदमार्ग, जलमार्गको संरक्षणलगायत स्थानीय पर्यावरणमा पार्ने नकरात्मक प्रभावका विषयमा त्यति धेरै बहस तथा छलफल भएको देखिँदैन ।

नेपाल सरकारले विभिन्न समयमा सार्वजनिक गरेका नीति तथा योजना अनुसार सन् २०४० सम्म करिब ४५ हजार मेगावाट जडित क्षमता बराबरको जलविद्युत् विकास गर्ने लक्ष्य राखेको छ । नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा ९६ प्रतिशतभन्दा बढी हिस्सा जलविद्युत्‌को छ । सन् २०१५ मा १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य निर्धारण गरियो तर निर्धारित समयभित्र लक्ष्यको ३५ प्रतिशतमात्र प्रगति हासिल हुने देखिन्छ । गत वर्ष पुनः सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने अर्को लक्ष्य निर्धारण गरिएको छ । त्यसमध्ये १५ हजार मेगावाट आन्तरिक खपत र १३ हजार मेगावाट निर्यात हुनसक्ने प्रक्षेपण छ ।

निर्माणका हिसाबले जलविद्युत् आयोजना एउटा ठूलो संरचना हो । बाँध, सुरुङ, नहर, विद्युत्गृह, सडक, आवास, प्रसारण लाइनसहित ठूलो क्षेत्रफलमा यसका संरचना विस्तारित हुन्छ । जलविद्युत् आयोजनाको निर्माण स्थल पर्यावरणीय प्रभावको विश्लेषण गर्ने प्रमुख आधार हो । उच्च वातावरणीय संवेदनशीलता भएका स्थानमा आयोजना निर्माण हुँदा यसले पार्ने प्रभाव र जोखिम अन्य क्षेत्रको तुलनामा बढी हुन्छ ।

नेपालमा ६ हजार नदी–नालाहरूको सञ्जाल छ । नेपालभित्र मुख्य नदीहरूको कूल लम्बाई ५० हजार ५ सय किलोमिटर मापन गरिएको छ । यसमध्ये कर्णाली बेसिनमा १४ हजार ७ किलोमिटर, बबईमा १ हजार ४६४ किलोमिटर, बागमतीमा १ हजार ६८५ किलोमिटर, गण्डकीमा १२ हजार ७ किलोमिटर, कन्काईमा ५०८ किलोमिटर, कोसीमा १० हजार २९४ किलोमिटर, महाकालीमा २ हजार ९५ किलोमिटर, मेचीमा ५६२ किलोमिटर, पश्चिम राप्तीमा २ हजार १६४ किलोमिटर र अन्य दक्षिणी नदीहरू ५ हजार ६४४ किलोमिटर रहेका छन् ।

जैविक विविधता, प्राकृतिक सुन्दरता, बहाबको स्वच्छता र निरन्तरता, पारिस्थितिक प्रणालीको स्थिरता, जैविक बासस्थल एवम् सामाजिक र सांस्कृतिक मूल्यका आधारमा यी नदीहरूलाई ४ श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलो श्रेणीमा ३१ हजार ३ सय किलोमिटर अर्थात् ६२ प्रतिशत नदीहरू पर्दछन् । यी नदीहरूको पारिस्थितिक प्रणाली, जैविक विविधता र बासस्थान स्थिर रहेको छ । एकातर्फ यी नदीहरू अविरल बगेका छन् भने अर्कोतर्फ पानीको गुणस्तर पनि स्वीकार्य देखिन्छ । यो श्रेणीको उत्कृष्ट नदीमा कर्णाली रहेको छ ।

त्यसपछि, गण्डकी, कोसी, महाकाली र पश्चिम राप्ती नदीहरू यो श्रेणीमा सूचिकृत छन् । नदीहरूमा निर्मित बाँध लगायतका संरचनाहरूका कारण बहाबमा निरन्तरता नभएका नदीहरू दोस्रो श्रेणीमा पर्दछन् । यी नदीहरूको कूल लम्बाई ३ हजार ५ सय किलोमिटर अर्थात् ७ प्रतिशत रहेको छ । कृषि तथा घरायसी प्रदूषणका कारण गुणस्तर कायममा ठूलो दवाब महसुश गरेका नदीहरू तेस्रो श्रेणीमा रहेका छन् । यी नदीहरूको कूल लम्बाई १४ हजार किलोमिटर अर्थात् २७.८० प्रतिशत रहेको अध्ययनले देखाएको छ । बहाबमा निरन्तरता टुटेका र प्रदूषणका कारण गुणस्तर कायम गर्न नसकेका नदीहरू चौथो श्रेणीमा रहेका छन् । यी नदीहरूको कूल लम्बाई १ हजार ७ सय किलोमिटर अर्थात् ३.४० प्रतिशत रहेको छ ।

नेपालका नदीहरू मनोरञ्जनात्मक र पर्यटकीय हिसाबले आर्कषक मानिन्छन् । माछा मार्ने (एन्जलिङ), कायक र र्‍याफ्टिङजस्ता जलयात्रा, पदयात्रा र सुरक्षित क्षेत्रका हिसाबले अरुण, बरुण, पश्चिम सेती, दूधकोसी र हुम्ला कर्णाली नदीहरू उत्कृष्ट मानिन्छन् ।

यी नदीहरूमा ठूलो जैविक विविधता पाइन्छ । यी नदीहरूमा पाइने जलचर प्राणीमध्ये माछा प्रमुख हो । नेपालको नदी प्रणालीमा स्वदेशी २४० र विदेशी १६ गरी जम्मा २५६ प्रजातीका माछाहरू भेटिएका छन् । स्वदेशी प्रजातिका माछाहरू समुद्री सतहभन्दा ६० मिटरदेखि ३ हजार ३२३ मिटर उचाइसम्म पाइने अध्ययनले देखाएको छ । मुख्य नदीहरूमध्ये कोसीमा २११, गण्डकीमा २०८, कर्णालीमा १७८, महाकालीमा १७१, मेचीमा ६८, तमोरमा ६९, कमलामा ३७, बबईमा ५६, दूधकोसीमा ३५, बागमतीमा ११७ र त्रियुगा नदीमा ७१ प्रजातीका माछाहरू अस्तित्त्वमा रहेको देखिन्छ ।

यसका अलवा, नेपालका नदीहरूमा पाइने एक महत्त्वपूर्ण जलचर प्राणी डल्फिन हो । डल्फिन नेपालको प्रचलित कानुनबमोजिम सुरक्षित सूचीमा रहेको प्राणी हो । कर्णाली, कोसी र नारायणी नदीको तल्लो तटीय क्षेत्रमा डल्फिन भेटिन्छ । यद्यपि, सन् २०१६ देखि नारायणी नदीमा डल्फिन नदेखिएको स्थानीयले बताएका छन् । नेपालका नदीहरूमा पाइने अर्को महत्त्वपूर्ण जलचर प्राणी घडियाल हो । सन् २०१६ को गणना अनुसार बबई, नारायणी र पूर्वी राप्ती नदीहरूमा कूल १९८ सङ्ख्यामा घडियाल रहेको तथ्याङ्क छ । सन् २०१९ मा पश्चिम राप्ती नदीमा पनि १ घडियाल भेटिएको स्थानीयको भनाइ छ ।

साथै, नेपालका नदीहरू मनोरञ्जनात्मक र पर्यटकीय हिसाबले आर्कषक मानिन्छन् । माछा मार्ने (एन्जलिङ), कायक र र्‍याफ्टिङजस्ता जलयात्रा, पदयात्रा र सुरक्षित क्षेत्रका हिसाबले अरुण, बरुण, पश्चिम सेती, दूधकोसी र हुम्ला कर्णाली नदीहरू उत्कृष्ट मानिन्छन् । कोसी, गण्डकी, पूर्वी राप्ती, कर्णाली, भेरी र बबई नदीहरूको तराई र चुरे खण्ड पनि मनोरञ्जनात्मक र जलयात्राका दृष्टिकोणबाट महत्त्वपूर्ण छन् ।

अर्कोतर्फ, नेपालमा १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ सुरक्षित क्षेत्र र १३ वटा बफर क्षेत्रहरू कायम गरिएका छन् । देशको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भूभाग सुरक्षित क्षेत्रभित्र पर्दछ । यी मध्ये अधिकांश क्षेत्रहरू उत्तर–पूर्व र दक्षिणी भूभागमा पर्दछन् । साथै, ४५ वटा जैविक विविधतायुक्त क्षेत्र घोषणा गरिएको छ । यसबाहेक पूर्व–पश्चिम फैलिएको चुरे सुरक्षित क्षेत्र पनि छ । यसले कूल भूभागको १२.७८ प्रतिशत क्षेत्रफल ओगटेको छ । चुरे सुरक्षित क्षेत्रको मूल उद्देश्य शिवालिक र महाभारत क्षेत्रलाई पहिरो, भू–स्खलन, उत्खनन र वन फडानी, कटानीबाट संरक्षण गर्नु रहेको छ । चुरे क्षेत्र हिमाल र तराईको बीचमा रहेको जोखिमयुक्त क्षेत्र हो ।

यी सबै नदी बेसिन र अधिकांश सुरक्षित क्षेत्रमा जलविद्युत् आयोजनाहरू सञ्चालित, निर्माणाधीन र प्रस्तावित छन् । सन् २०२४ जुनको तथ्याङ्क अनुसार १ मेगावाटभन्दा बढी क्षमताका ६६१ जलविद्युत् आयोजना विकासका विभिन्न चरणमा छन् । यी मध्ये १४९ जलविद्युत् आयोजनाहरूबाट २ हजार ७३०.४० मेगावाट जडित क्षमता बराबर विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । निर्माण÷उत्पादन अनुमति प्राप्त २५५ आयोजनाहरूको कूल जडित क्षमता ९ हजार ९९०.२० मेगावाट छ । निर्माण÷उत्पादन अनुमतिका लागि आवेदन दिएका ९४ आयोजनाहरूको जडित क्षमता १० हजार ६५१.८० मेगावाट छ । जडित क्षमता ८ हजार ३७६.७१ मेगावाट बराबरका ८५ आयोजनाले सर्वेक्षण अनुमति प्राप्त गरेका छन् । ७८ नयाँ जलविद्युत् आयोजनाहरूले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् । यसको जडित क्षमता ३ हजार ३०७.८५ मेगावाट रहेको छ ।

सुरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्ने अवस्था आएमा मासिक बहाबको न्यूनतम ५० प्रतिशत र यी क्षेत्रहरू छोएर बग्ने नदीहरूमा १० प्रतिशत तल्लो तटमा निरन्तर खुल्ला हुनुपर्ने प्रावधान रहेको छ । तर, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूले यसको पालना नगरेको र सम्बन्धित निकायहरूबाट उचित अनुगमन र कारबाही नभएको गुनासो छ ।

सरकारको आयोजना बैङ्कको रूपमा अध्ययनका क्रममा रहेका ५५ आयोजनाहरूको जडित क्षमता ९ हजार ५८९.५५ मेगावाट छ । अध्ययन भइसकेका १६ आयोजनाहरूको जडित क्षमता ७२२.४२ मेगावाट छ । यसरी हालसम्म ४६ हजार १४६.८३ मेगावाटका सम्भावित आयोजनाहरूबाट विद्युत् उत्पादन हुने देखिन्छ । यी मध्ये भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रमा १ हजार ७५८ मेगावाट बराबरका १६ आयोजना रहेका छन् । पहाडी क्षेत्रमा २० हजार ५३० मेगावाटका ३५८ आयोजनाहरू रहँदा हिमाली क्षेत्रमा २३ हजार २६९ मेगावाट क्षमताका २९९ आयोजनाहरू विकासका विभिन्न चरणमा छन् ।

यी मध्ये कुनै पनि आयोजनाहरू पूर्णतः चुरे संरक्षण क्षेत्रभित्र अवस्थित देखिदैन । तर, ३ हजार ४८१.८७ मेगावाटका १९ जलविद्युत् आयोजना परोक्षरूपमा यो क्षेत्रसँग जोडिएका छन् । कूल आयोजना सङ्ख्याको ४५.२३ प्रतिशत अर्थात् १७ हजार ९९४.२४ मेगावाट बराबरका २७५ जलविद्युत् आयोजनाहरू पूर्ण वा आंशिकरूपमा ४५ मध्ये २८ जैविक विविधतायुक्त क्षेत्रभित्र पर्दछन् । यी मध्ये ५ हजार १०३.९८ मेगावाट बराबरका १५० आयोजना पूर्णतः सुरक्षित क्षेत्रभित्र विकासका विभिन्न चरणमा रहेका छन् ।

सङ्ख्याका हिसाबले सुरक्षित क्षेत्रमध्ये अन्नपूर्ण क्षेत्रमा सबैभन्दा बढी आयोजनाहरू केन्द्रित छन् । यद्यपि, आयोजनाको घनत्व सङ्ख्या प्रति १०० वर्ग किलोमिटरका हिसाबले लाङटाङ मध्यवर्ती क्षेत्रमा सबैभन्दा बढी छन् । जडित क्षमता र यसको घनत्वको हिसाबले मकालु–बरुण मध्यवर्ती क्षेत्र अग्र स्थानमा पर्दछ । अन्नपूर्ण संरक्षित क्षेत्रमा जलविद्युत् क्षमताको घनत्व १०६.७९ हुँदा मकालु–बरुण बफर क्षेत्रमा १ हजार ६२१.०३ रहेको छ । 

यसैगरी, उक्त सूचकाङ्का आधारमा अपी–नाम्पा क्षेत्रमा १९.२५, लाङटाङमा ७६.८२, लाङटाङ बफर क्षेत्रमा १८७.७८, माई उपत्यकामा ३६.३८, मकालु–बरुण क्षेत्रमा १६०.८६, मनास्लु क्षेत्रमा १०५.८२, सगरमाथा बफर क्षेत्रमा ३२६.८५ र तमोर उपत्यका र जलाधार क्षेत्रमा १०१.०२ रहेको छ । नेपालको प्रकृति संरक्षणमा अत्यन्त कडा नीति अख्तियार गरिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा हालसम्म जलविद्युत् आयोजनाहरू निर्माण नभए पनि प्रस्तावित आयोजनाहरूका कारण प्रभावित हुने चिन्ता छ । 

सुरक्षित क्षेत्रमा पूर्वाधार निर्माण तथा सञ्चालन कार्यविधि २०६५ ले आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्दा सकेसम्म राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र शिकार आरक्ष क्षेत्रलाई प्रभाव नपर्ने गरी गर्नुपर्ने व्यवस्था गरेको छ । सुरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्ने अवस्था आएमा मासिक बहाबको न्यूनतम ५० प्रतिशत र यी क्षेत्रहरू छोएर बग्ने नदीहरूमा १० प्रतिशत तल्लो तटमा निरन्तर खुल्ला हुनुपर्ने प्रावधान रहेको छ । तर, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूले यसको पालना नगरेको र सम्बन्धित निकायहरूबाट उचित अनुगमन र कारबाही नभएको गुनासो छ ।

निष्कर्षमा, जलविद्युत् आयोजनाहरू ग्रीन विकासका पर्याय मानिए पनि यसका अनेकौँ पर्यावरणीय समस्याहरू छन् । आयोजना निर्माणले वन कटानी, वन्यजन्तु तथा जलप्राणीको वासस्थल, गतिविधि र पारिस्थितिक प्रणालीमा गम्भीर असर गरेको देखिन्छ । जलविद्युत् आयोजनाहरूले नेपालको आधाभन्दा बढी जैविक विविधतापूर्ण क्षेत्र प्रभावित हुने देखिन्छ । विकासका विभिन्न चरणमा रहेका ५ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरू पूर्णतः यस क्षेत्रभित्र पर्दछन् । भविष्यमा यस क्षेत्रमा आयोजनाहरूको सङ्ख्या अझ बढ्ने देखिन्छ । यो तथ्याङ्क अमेजन क्षेत्रको भन्दा बढी र बाल्कन क्षेत्रको हाराहारी हो । आयोजनाको सङ्ख्यात्मक घनत्वका हिसाबले भारतीय हिमालय क्षेत्र –०.१६ प्रति १०० वर्ग किलोमिटर .० भन्दा बढी छ । 

जलविद्युत् विकासको अनिवार्यतामा कुनै विवाद छैन तर यसको अनियन्त्रित विकासका कारण हुने वातावरणीय प्रतिकूलतालाई नजर अन्दाज गर्न सकिँदैन । तसर्थ, जैविक विविधता, स्थानीय भूगर्भ, जल तथा स्थल प्राणी एवम् वन्यजन्तुको बासस्थलको सुरक्षा, मसीर (सहर) माछा, डल्फिन, घडियाल लगायत लोपोन्मुख प्रजातीको संरक्षण र प्रर्वद्धन, र्‍याफ्टिङ, कायक जस्ता जलयात्रा मार्ग र अन्नपूर्ण सर्किट, खुम्बु, लाङटाङ, कञ्चनजङ्घा क्षेत्रलगायत पदयात्रा मार्गको संरक्षण, सांस्कृतिक एवम् सामाजिक मूल्य– मान्यताको जर्गेनासहित अन्य वातावरणीय पक्षहरूलाई खलल नपुर्‍याई गरिने विकास मात्र दीगो विकास ठहरिन्छ । जलविद्युत् विकासले निम्त्याउने वातावरणीय विनासतर्फ समयमै सबै सजग हुन जरुरी छ । 

लेखक, नेपाल विद्युत् प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक हुन्, यो आलेख २०८१ साल पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको ७औँ अङ्कबाट साभार गरिएको हो । यस आलेखमा प्रयोग भएका तथ्याङ्कहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख, प्रतिवेदन एवम् आधिकारिक वेब–साइटबाट लिइएको हो । 

प्रतिक्रिया दिनुहोस

डा. मुकेशराज काफ्ले

जलविद्युतमा विद्यावारिधि गरेका काफ्ले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् ।

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३