विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लामो समयदेखि नेपालको ऊर्जा क्षेत्रलाई कानुनी हिसाबले पुनर्व्यवस्थापन गर्नुपर्ने आवश्यकता खड्किँदै आएको छ । यसै सन्दर्भमा विद्युत् सम्बन्धी कानुनलाई संशोधन गर्ने उद्देश्यसहित विद्युत् विधेयक नेपालको संसदमा पुगेको छ । यो विधेयक तेस्रो पटक ससदमा पुगेको हो । दुई दशकभन्दा अघिदेखि प्रक्रियामा रुमलिँदा देशको ऊर्जा क्षेत्रको विकास पनि तदर्थ भन्दा फरक हुन सकेको छैन । अब विद्युत् विधेयकलाई उपयुक्त तरिकाले परिमार्जन गरी ऐनको रूप दिनु अत्यन्तै आवश्यक भइसक्यो । नभए, फेरि पनि यो क्षेत्र वर्षौंसम्म तदर्थवादमै खुम्चिनुपर्ने अवस्था रहन्छ ।

अहिलेको सन्दर्भमा ऊर्जा क्षेत्रको राम्ररी व्यवस्थापन गर्न ३ प्रमुख विषयमा ध्यान दिनुपर्ने हुन्छ । पहिलो, देशको आर्थिक विकासलाई सम्बोधन गर्ने गरी संशोधित विद्युत् ऐन आउनुपर्छ । दोस्रो, तीन तहका सरकारमा संविधानको व्यवस्था अनुरूप जिम्मेवारी बाँडिनुपर्छ र तेस्रो, कार्यान्वयनको पक्ष चुस्त हुनुपर्छ । अहिले संसदमा दर्ता गरिएको विद्युत् विधेयक, २०८० पढ्दा केही औपचारिकताका कुरा समावेश भए पनि विधेयकभित्र हुनुपर्ने आधारभूत पक्षहरूको अझै अपुग देखिन्छ ।

यो विधेयकले ऐनको रूप धारण गर्ने वित्तिकै ऊर्जा क्षेत्र पनि संघीयतामा रूपान्तरण हुन्छ भन्ने अवस्था देखिएन । संघीय रूप दिन खोजिए पनि यो संघीय विद्युत् कानुन हो वा विद्युत् ऐनमात्र भन्ने स्पष्टमा स्पष्ट छैन । कतिपय प्रावधानले अधिकार संघतिरै केन्द्रित गर्न खोजेको छ । अहिले, देशलाई विद्युत् क्षेत्रको संघीय कानुन चाहिएको हो । त्यस्तो, कानुनमा तीन तहका सरकारको काम, कर्तव्य, अधिकार स्पष्ट बाँडिएको होस् तर विधेयकमा समग्र व्यवस्था समेटिएको छैन । खास गरेर विद्युत् वितरणमा प्रदेश र स्थानीय सरकारको भूमिका मौन राखिएको देखिन्छ ।

अहिले, जनताले आफ्नो घरअगाडिको एउटा पोल भाँच्चिँदा पनि समस्या लिएर स्थानीय र प्रदेश सरकारमा जाने अवस्था छैन । ऐन आएपछि पनि यो अवस्थामा परिवर्तन आउनेमा शंका गर्ने ठाउँ छ । त्यो पोल छुने अधिकार न स्थानीय तहलाई छ, न त प्रदेशलाई नै । यसको पूर्ण अधिकार काठमाडौँसँगै छ अर्थात् विद्युत् प्राधिकरणमा सीमित छ । यस्तो अवस्थाबाट माथि उठ्न यो विधेयक संघीय कानुनको रूपमा आउनुपर्छ । विद्युत् वितरणमा प्रदेश र स्थानीय तहलाई जवाफदेही बनाउनुपर्छ । त्यसले, स्थानीय तथा प्रदेश सरकारको जिम्मेवारी र अधिकारको बाँडफाँट गर्दछ । जनताको दुःखमा साथ दिने स्थानीय सरकारको दायित्व बढ्छ । संविधानको मर्म अनुरूप विद्युत् वितरणमा संघीय सरकारको भूमिका वृद्धि हुन्छ ।

प्रस्तावित विद्युत् विधेयकले ५ मेगावाटसम्मका आयोजनाको अध्ययन तथा निर्माणको अनुमतिपत्र दिन स्थानीय र २५ मेगावाटसम्मका प्रदेश सरकारलाई अधिकार दिने प्रस्ताव गरेको छ । यद्यपि, जनताका घरसम्म विद्युत् वितरणको भरपर्दो, सरल, गुणस्तरीय विद्युत् वितरण तथा समस्याको सम्बोधन गर्ने विषयमा नजिकैको सरकारलाई अधिकार दिने बारेमा विधेयक मौन छ । मानौं, बाजुराको एउटा गाउँमा विद्युतीकरण गर्न पोल किन्नुपर्याे भने त्यो अधिकार संघीय निकायमै रहने व्यवस्था छ भन्ने अर्थ हुन्छ । जुन संघीय लोकतान्त्रिक व्यावस्थामा सही होइन/हुँदैन ।

देश संघीयतामा गइसकेपछि पनि पञ्चायतकालमा अर्थात् झण्डै ४० वर्षअघि बनेको नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ जस्ताको त्यस्तै कार्यान्वयन भइरहेको छ । यसरी न ऊर्जा क्षेत्रमा संघीयता आउँछ न त तलका सरकारले जनतासँग विद्युत्को विषयमा जवाफदेही भएर काम गर्न सक्ने वातावरण बन्छ । यो सबैभन्दा पेचिलो विषय हो । विद्युत् विधेयक संघीय कानुनको रूपमा आउन सकेको भए वा आए अहिलेको आवश्यकतालाई बढी सम्बोधन गर्थ्याे । त्यसको सट्टा विधेयकले ऊर्जामा निजी क्षेत्रले लगानी ल्याओस्, उत्पादन बढाओस् र विद्युत् व्यापारको सहजीकरण संघीय निकायले गरोस् भन्ने मनसाय राखेको देखिन्छ । विद्युत् व्यापार गर्नुपर्छ तर पहिलो प्राथमिकता आन्तरिक खपतलाई बढावा दिने र सामाजिक पक्ष समेटिन आवश्यक छ  । भरपूर आन्तरिक खपत गरेपछि बचेको मात्र बेच्ने उद्देश्य राखेर विधेयक आएको भए राम्रो हुन्थ्यो ।

अर्को कुरा, अहिलेको विधेयकले लाभ बाँडफाँट कसरी गर्ने भन्ने भन्दा व्यापारमा बढी जोड दिएको छ । ऐनमार्फत विद्युत् क्षेत्रमा व्यापार केन्द्रित उदारीकरणको बाटो समात्न खोजेको देखिन्छ । यो विधेयकले ऐनको रूप लिएपछि अन्तरदेशीय व्यापारका लागि वातावरण त बनाउला तर आधारभूतरूपमा नागरिकको विद्युत् सेवा प्राप्ति र खपत गर्ने, भरपर्दो सेवा दिने, सेवालाई गुणस्तरीय, नियमित बनाउने, सेवा प्रदायकलाई जवाफदेही बनाउनेतर्फ जुनस्तरमा काम हुनुपर्नुे हो त्यो सम्भव छैन ।

अर्कोतर्फ, सहभागिताको सन्तुलन पनि मिलेको छैन । निजी क्षेत्रले जलविद्युत् उत्पादन गर्दैमा सहभागिता भयो भन्न सकिँदैन । न्यूनतम स्थानीय र प्रदेश सरकारजस्ता निकायले आफ्नो क्षेत्रभित्रको जलविद्युत् आयोजनामा निश्चित अंशसम्म सेयर लगानी गर्न पाउने व्यवस्था हुनुपर्छ । यसो हुँदा, प्रतिफल फर्केर तल जाने प्रणालीको विकास हुन्छ । ऐनमार्फत विद्युत् विकासमा आमजनताको सहभागिता बढाउने मोडलमा जान सकिन्थ्यो । विगतमा पनि यस विषयमा छलफल भएकै हो तर सरकारले सम्बोधन गर्नै चाहेन वा व्यवहारिक भएन ।

स्थानीय तहलाई उसको क्षेत्रमा ठूला आयोजना बन्दा सरकारलाई दिने सेयरमध्यबाट स्थानीय तहलाई कति प्रतिशत हिस्सा दिने ऐनले बोल्नुपर्ने होइन र ? आयोजना प्रतिस्पर्धाबाट विकास गर्दा प्रवर्द्धकले जुन परिमाणको सेयर सरकारलाई छुट दिन्छ त्यही सेयरको बाँडफाड गर्ने हो यसले प्रवर्द्धकलाई सजिलो पर्छ र स्थानीयमा अपनत्व पनि बढाउँछ । यस किसिमबाट सेयर स्थानीय र प्रदेश सरकारलाई दिने गरी ऐन बन्यो भने आर्थिक संघीयता र संघीय सहभागिताको मर्म अनुसार अघि बढ्छ । यसरी विधेयक ल्याएको भए हुन्थ्यो ।

नागरिक समाजका दृष्टिले हेर्दा यो विधेयक बढी भन्दा बढी नागरिकको सहभागिता रहने गरी सच्याउनुपर्छ । विद्युत् उत्पादन गर्ने नाममा कुन हदसम्म सम्झौता गर्ने भन्ने प्रश्न पनि छ । कतिपय यसका व्यवस्थाहरू वातावरणीय तथा पर्यावरणीय पक्ष, स्थानीय प्रभावित समुदायबीच कस्तो सम्बन्ध बनाउने भन्ने जस्ता विषय सामावेश गर्नु राम्रो हुन्छ । उत्पादनका लागि मात्र उत्पादन गर्‍यो भने बढी प्राविधिक हुन्छ । यान्त्रिकरण गर्नुभन्दा बढी सामाजिकीकरण गर्न कोसिस गर्नुपर्छ । यो ऐनले सामाजिक, आर्थिक, पर्यावरणीय पक्षमा जति ध्यान दिनुपर्नुे हो त्यति दिएको छैन ।

उपयुक्त ऐन ल्याउने विषयमा सुसूचित गर्ने काम आमसञ्चारमध्यमको पनि हो । यी विषयहरू सांसदहरूसमक्ष पुर्‍याएर संशोधन प्रस्ताव राख्न लगाउनुपर्छ । लोकतान्त्रिक व्यास्था भएका देशमा कुनै विषयमा राय, सुझाव वा आलोचना मात्र दियो भने पनि ती व्यक्तिहरू खोजेर छलफल गरिन्छ । यहाँ, यस्तो प्रक्रियालाई घटाउने र प्रक्रियामा ढिलाई गर्ने गरिन्छ । यो विधेयक अघि बढाइएको पनि २५ वर्ष भइसकेको छ । २०५५/५६ सालमा प्रारम्भिक मस्यौदा भएको हो । अहिलेसम्म यसले अनेक उतारचढाव बेहोरिसक्यो । यसमा निर्णायक तहका राजनीतिज्ञले विषयवस्तुमा गहिरो तरिकाले कहिल्यै छलफल गरेनन् । उहाँहरू टेबुलमा मुद्दा आएपछि मात्र त्यही छलफल गरेर निकास निकाल्न प्रयास गरिन्छ । त्यतिले मात्र छलफल नपुग्ने हुँदा परिपक्वता पाउँदैन ।

राजनीतिकवृतले अनौपचारिक समयमा ऊर्जा क्षेत्रका विषयगत ऐन, नियम र सवालहरूमा छलफल गरेको भेटिँदैन । कार्यकारी भूमिका र जिम्मेवरीमा पुगेपछि उनीहरू सीमित व्यक्तिका घेरामा निर्भर हुन्छन् । जसका कारण ठूला गल्तीहरू हुने गर्छन् । उदाहरणका लागि यो भन्दा अघिको विद्युत् विधेयक फिर्ता लिने कुरा आपत्तिजनक थिएन र ? २०/२५ वर्षसम्म प्रक्रियामा बिताएको विधेयक संसदमा पुगेर छलफल भएको, संसदीय समितिको प्रतिवेदनसमेत तयार भएको अवस्थामा ऐन फिर्ता ल्याइयो । यसो गर्नु भन्दा लिनुभन्दा संशोधन गरेर आवश्यक बुँदा थपेको भए हुन्थ्यो, किन त्यसरी सोचिएन ? ऐन नै फिर्ता लिनु गैरजिम्मेवारीपूर्ण काम हो । यसो गर्ने सरकारले किन र के कारणले विधेयक फिर्ता लिएको हो ? जवाफ दिनुपर्ने होइन र !

सांसदहरूले संशोधन प्रस्ताव लाने मात्र चलन छ तर प्रस्तवकै आधारमा विधेयकमा सुधार आउन सजिलो छैन । संशोधनमार्फत विधेयकमा सुधार गर्न मन्त्रीको नेतृत्वको समूहले गम्भीर भएर सोच्नुपर्छ । इच्छाशक्ति राख्नुपर्ने हुन्छ । अन्यथा, संशोधन सम्भव हुँदैन । खासगरी, सरकारी पक्षले सकारात्मक भूमिका निर्वाह नगरेसम्म विधेयकमा विभिन्न संशोधनको माग गरिएको भए पनि ती विषय समेटिएर आउन सक्दैनन् । राजनीतिक पक्ष परिपक्व भएन भने त्यसमा अडान राख्न सम्भव हुँदैन ।

यसो हुँदा, विधेयकभित्रका प्राविधिक व्यवस्थामा संशोधनकर्ताहरू अकमकिने, जानकारी कम हुने, सचेत नहुने हुँदा संशोधनकर्ताका कुरा समेटिने सम्भावना न्यून रहन्छ । कतिपय अवस्थामा संशोधनकर्ता नै आफ्ना मागका विषयमा रक्षात्मक हुन पुग्छन र राम्रा विषय पनि विधेयकमा समेटिँदैनन् । संशोधनकर्ता नै आफ्ना कुरालाई स्थापित गर्न सक्दैनन् । त्यस्ता विषय विधेयकमा नसमेटिएका धेरै उदाहरणहरू छन् । विधेयक रोकिनुपर्ने कारण नै थिएन । यसमा सबै कुरा एकै पटक समेटिनुपर्छ भन्ने पनि छैन तर बेलाबेला संशोधन, अद्यावधिक र परिमार्जित गर्दै जानु राम्रो हुन्छ ।

खासगरी, जलविद्युत् विकासमा निजी क्षेत्र शक्तिशाली हुँदै आएको छ । यो राम्रो पक्ष हो । उर्जा विकासमा यसको योगदान उल्लेखनीय छ तर निजी क्षेत्र लाभका लागि मात्र होइन । कमाउने र व्यापार गर्ने मात्रै पनि होइन, ऊ पनि कर्पोरेट हुदै जानुपर्दछ । जलविद्युत्को विकास भनेको देशको प्राकृतिक स्रोतसँग सम्बन्धित विषय हो । समग्र अर्थतन्त्रको मेरुदण्ड ऊर्जा क्षेत्र भएको र यसबाट दीर्घकालसम्म लाभ लिन सकिने भएकोले निजी क्षेत्रको लाइसेन्सको अवधि पारदर्शी रूपमा उपयुक्त हुने हदसम्म बढाउनुपर्छ । जलविद्युत् जस्तो दीर्घकालीन क्षेत्रमा काम गर्ने उद्यमीले अल्पकालीन लाभमा केन्द्रीत नभई दीर्घकालीन नीति र कानुनी व्यावस्थाका लागि काम गर्न अवसर अहिले नै छ ।

संघीय सरकारको पनि ‘सबै अधिकार म आफैँ राखौँ’ भन्ने खालको सोच विधेयकमा देखिन्छ । यो उचित हुनै सक्तैन । अर्कोतर्फ, निजी क्षेत्रलाई पनि प्रदेश र स्थानीय  सरकारसँग सहकार्य गर्नुभन्दा एकै ठाउँबाट वा गरिरहेको स्थानबाट काम लिन सजिलो हुन्छ भन्ने हिसाबबाट सोचेको देखिन्छ । यसरी भन्दा पनि देशको वर्तमन राजनीतिक शासन व्यवस्था अनुकूलको बन्दवस्त गरेर अगाडि जानु उपयुक्त हुनेछ । यसप्रकारका कार्य प्रणालीको खर्च नागरिकले नै करका रूपमा राज्यलाई तिरेर धानिरहेका हुन्छन । राजनीतिक दलका नेताहरू पनि कर तिर्ने जनता र संविधानको भावना अनुसार हिँड्ने प्रयत्न गर्नुपर्छ ।

विधेयक विद्युत् प्राधिकरण ऐनलाई जस्ताको त्यस्तै राख्ने भन्ने अर्थ दिन्छ । प्राधिकरणलाई पनि संघीयतामा नढाल्ने हो भने यो ऐन कार्यन्वयन हुन सक्दैन । प्राधिकरण पनि संघीय सरचनामा सँगसँगै जानुपर्छ, यो विषय निजी क्षेत्रले उठाएको छैन । विगतमा निजी क्षेत्रले ‘प्राधिकरणको खण्डिकरणबाट सामाधान हुन्छ’ झैँ गरेर कुरा राखे । त्यो समाधान थिएन । अहिले संघीयताको सन्दर्भमा मौन देखिनु पनि उचित होइन ।

विधेयकलाई संघीयरूपमा रूपान्तरण गर्न सकियो भने सबै तहका सरकारले आफ्नो भूमिकामा काम गर्दा नै बढी प्रभावकारी हुन्छ । देशले लाभ लिन सक्छ । सामाजिक समावेशितालाई पनि विधेयकले ध्यान दिनुपर्छ । ऊर्जा क्षेत्रको विकास, प्रवर्द्धन, लगानी, प्रतिफल, निर्णय प्रक्रिया जस्ता कुरामा समावेशी सहभागिता गराउनेतर्फ ध्यान दिनुपर्छ । देशै समावेशी सहभागिताबाट सञ्चालन गर्ने व्यवस्था भएकाले उर्जा क्षेत्रको विकास र व्यावस्थापन पनि सोही अनुसार हुनुपर्छ ।

ऐनमा निर्देशक समितिको व्यवस्था गरिएको छ । कमिटिमा एक जना महिला राख्ने भन्ने बाहेक अरू कुरा छैन । निजी कम्पनी व्यवस्थापन गर्न पनि महिलाको समावेशिता आवश्यक र सम्भव छ  । समुदायको चासो र सवाल व्यवस्थापन गर्ने हिसाबले स्थानीय सरकारमार्फत संयन्त्र बनाउन सकिने सम्भावना रहन्छन् । त्यसैले, विधेयक समावेशी बनाउन सकियो भने सबै क्षेत्रमा सकारात्मक र प्रभावको सन्देश जानेछ ।

यो विधेयकले विल्कुलै बिर्सेको कुरा वा नसमेटिएको विषय साना जलविद्युत् आयोजनाहरू हो । खासगरी, लघुजलविद्युत् हो । अहिले एक मेगावाटको आयोजना निर्माण गर्न औसत २० करोड रूपैयाँ लाग्छ भनिन्छ तर २० करोड रूपैयाँको उद्योग खोल्दा नेपालमै ठूलो उद्योगमा गनिन्छ । अब, २००, ४०० किलोवाट क्षमताका लघुजलविद्युत्को भविष्य के हुने ? अहिले ३६/३७ मेगावाट जडित क्षमताका साना जलविद्युत् आयोजनाहरू देशभर छन् । यिनको विद्युत् स्थानीय तहमै खपत गर्ने वा राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने गरी सम्बन्धित स्थानीय सरकारलाई जिम्मेवारी दिनुपर्छ । त्यसो नगर्ने हो भने लघुजलविद्युत्लाई प्राविधिक सम्भावना भएसम्म राष्ट्रिय प्रणालीमै जोड्नुपर्छ ।

ठूला जलविद्युत् आयोजना बनाउँदा यसको लाभ कि त राज्यको ढुकुटी वा लगानीकर्ताले लिन्छ । तल्लो तहमा जाँदैन तर लघुजलविद्युत्बाट दूरदराजका ग्रामीण समाजले लाभ लिन सक्छन् । यसमा राज्यको भूमिका के हुने ? स्थानीय र प्रदेश सरकारले के गर्नुपर्छ ? यी विषय किटान गरिदिनुपर्छ । तबमात्र ती आयोजनाहरू दिगो रूपमा चल्न सक्छन् ।

सरकारले ठूला–ठूला बाँध निर्माण गरेर ऊर्जा उत्पादनमा योगदान पुर्‍याउँन सक्छ । राष्ट्रिय निर्धारित लक्ष्य (एनडिसी) को लक्ष्य भेट्टाउन, हरित ऊर्जा उत्पादन र कार्बन उत्सर्जन न्यूनीकरणजस्ता काममा सानालार्ई नबचाई, संरक्षण एवम् प्रवद्र्धन नगरी हुँदैन । हामीसँग भएका लघुआयोजनालाई समेटिएन भने यो ऐनले दिन खोजेको अर्को आधारभूत कुरा छुट्छ । जनप्रतिनिधि, विशेषगरी सांसदहरूले ध्यान दिनुपर्ने कुरा यसलार्ई दिगोरूपमा सञ्चालन गर्न ऐनमै व्यवस्था गर्नुपर्छ ।

त्यसका लागि संशोधन प्रस्तावमार्फत सुधार गर्नुपर्छ । होइन भने, भोलि सांसदहरूले निर्वाचनका दिनमा जनतालार्ई के भनेर आश्वस्त पार्ने ? त्यतिबेला, यो विधेयकले कसैलार्ई पनि छुट दिने छैन । अतः सांसदहरू संवेदनशील हुनुपर्छ, यति भयो भने यो ऐन एक हदसम्म समृद्ध हुनेछ । त्यसपछि, ऐन पास गरेर काम गर्दै जाने, आगामी दिनमा आवश्यक परे संशोधन गर्दै जानुपर्छ । ऐन कानुनलाई समयसापेक्ष बनाउन परिमार्जन वा संशोधन गर्ने कुरा समय–समयमा हुँदै जान्छ । यो नियमित प्रक्रिया नै हो ।

घिमिरे, नेपाल इनर्जी फाउन्डेशनका सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३