विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

समग्रमा कोप–२८

संयुक्त राष्ट्र संघीय जलवायु कन्फरेन्सका पक्षधर राष्ट्रहरूको शिखर सम्मेलन कोपको २८औँ शृङ्खला हालै दुबाईमा सम्पन्न भएको छ । १९६ देशहरूको प्रतिनिधित्व रहेको यो कुम्भ मेलामा विश्वभरबाट जलवायु विज्ञ तथा अभियन्तासहित हजारौँको उपस्थिति थियो । कोप–२८ मा संयुक्त अरब इमिरेट्स (युएई) को तयारी र व्यवस्थापन अत्यन्तै अब्बल देखियो । सम्मेलनले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा निम्तिएको संकट र यसको निराकरणतर्फ लाग्न फेरि पनि घच्घच्याएको छ । अझ धेरै संवेदनशीलता र अझै ठोस ‘रोडम्याप’का लागि ब्यापक तयारीमा लाग्न हरेक राष्ट्रहरू अघि बढ्नुपर्ने अवस्थामा पुगेको छ ।

जलवायु परिवर्तनको असरले नछोएको विश्वको कुनै कुना अब बाँकी रहेन र कुनै पनि क्षेत्र । विश्वमा जलवायु परिवर्तनको असर अब महासंकटको सन्निकट छ । यो महासंकटविरुद्ध पूरा विश्वको साझा र सामूहिक लडाईको विकल्प देखिन्न । कोपको सन् १९९४ देखि २०२३ सम्मका २८औँ शृङ्खलासम्म आइपुग्दा जलवायु परिवर्तनका साझा संकट र साझा अनुकुलनका एजेन्डामा पूरा विश्व एक ठाउँमा उभिएको छ ।

प्रत्येक शृङ्खलमा भएका घनिभूत छलफलमार्फत गरिने सामूहिक प्रयास र साझा प्रतिबद्धताको जगमा आज जलवायु परिवर्तनको एजेन्डाले एउटा भिमकाय लय समातेको छ । कोपले समातेको यही लय र गतिमा एक इन्च पनि दायाँ–बायाँ गर्ने छुट कुनै पनि राष्ट्रलाई छैन । कोपका हरेक शृङ्खलाहरू विगतका सम्झौता र प्रतिबद्धताको निर्मम समीक्षा र कार्यान्वयनको परीक्षण हुने एउटा नियमित प्रक्रिया पनि हो ।

यस पटकको कोप–२८ ले पनि यो नियमित प्रक्रियालाई अझ घनिभूत रूपमा विस्तार गरेको अनुभूति भएको छ । यो सम्मेलनले जलवायु परिवर्तनको मुख्य कारकतत्वको रूपमा रहेको कार्बन उत्सर्जनलाई शून्यमा झार्ने विश्वका राष्ट्रहरुको प्रतिबद्धता, त्यसको समयसीमा र कार्य तालिकालाई मिहीन ढंगले परीक्षण गरेको छ । पृथ्वीको तापमान हरेक वर्ष वृद्धि भइरहेको पछिल्लो प्रमाण हो– वर्ष २०२३ । पृथ्वीको तापमान १.५ डिग्री सेन्टिग्रेडभन्दा बढ्न नदिने सम्झौता र प्रतिबद्धतालाई वर्ष २०२३ ले ठाडो चुनौती दिइसकेको छ । 

यो सन्दर्भमा जलवायु परिवर्तनका एजेन्डा आज पेचिलो बनिरहेको छ । कोप–२८ मा यो पटक जलवायु अनुकुलन र न्यूनीकरणका कार्यक्रमहरूमा जलवायु वित्तको परिचालन गर्नेबारे थप उपलब्धि हासिल गरेको छ । त्यस्तै, ‘लस एण्ड ड्यामेज फण्ड’ परिचालनको बाटो खुलेको छ । अल्पविकसित (एलडिसी) का राष्ट्रहरू एवम् पर्वतीय देशहरू यो फण्डका पहिलो हकदारहरू हुन् । अब कोप सम्मेलन पश्चात  एवम् जर्मनीको बोनमा हुने अर्धवार्षिक समीक्षा बैठकमा लस एण्ड ड्यामेज फण्डको कार्यान्वयनको स्पष्ट मार्गचित्रसहित समुदाय स्तरमा परिचालन भएको हेर्न पाइयोस् । 

विकसित तथा औद्योगिक राष्ट्रहरूले कोप–२८ मा पनि ८ सय मिलियन डलर बराबर योगदानको प्रारम्भिक घोषणा गरेका छन् । जलवायु वित्त कोषका लागि जिसिएफ–हरित जलवायु कोष मार्फत पत्येक वर्ष एक सय विलियन डलर बराबरको रकम विकसित राष्ट्रहरूले जलवायु अनुकुलनका लागि खर्च गर्ने विगतका प्रतिबद्धताहरूको वस्तुपरक समिक्षा र परीक्षणमा कोप–२८ चुक्यो । हरेक कोपमा जस्तै यो पटक पनि शक्ति राष्ट्रका कर्मकाण्डहरूको पुनरावृत्ति र छलछाम छरपष्ट देखियो । यद्यपि विश्वभरबाट जम्मा भएका जलवायु अभियन्ता तथा नागरिक समाजको जबर्जस्त दबाब र खबरदारी अद्भूत रह्यो । अल्पविकसित तथा पर्वतीय देशहरूको आवाज बुलन्द सुनियो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको स्पष्ट अडान र दबाबले इनर्जी ट्रान्जिसनको एजेन्डामा अन्ततः ऐतिहासिक सहमति जुट्यो । इनर्जी ट्रान्जिसनको एजेन्डामा प्राप्त सहमति ऐतिहासिक हो । खनिज तेल उत्पादक तथा औद्योगिक राष्ट्रहरू पहिलो पटक इनर्जी ट्रान्जिसनको एजेन्डामा सहमतिमा आइपुग्नु चानचुने होइन । यो एउटा प्रस्थान बिन्दु हो । ठोस मार्गचित्र अबको प्रतिक्षाको विषय हो । 

अबको विश्व–इनर्जी ट्रान्जिसनको युगतर्फ

इनर्जी ट्रान्जिसनतर्फ जान विश्व नै एकमत हुनु कोप–२८ को ऐतिहासिक उपलब्धि बनेको छ । जलवायु परिवर्तनसँग जोडिएका विश्वका कुनै पनि मञ्च हुन् चाहे कोपका विगतका शृृङ्खलाहरूमा नै किन नहोस्, हरेक पटक जोडदार उठ्ने गरेको आवाज हो इनर्जी ट्रान्जिसन । कोप–२८ ले यो आवाजलाई पहिलो पटक आफ्नो दस्तावेजमा लिपिबद्ध गरेको छ ।

विश्वका विशेषतः खनिज इन्धन उत्पादक तथा औद्योगिक राष्ट्रहरू अझ बढी जिम्मेवारी र जवाफदेही हुने ठाउँमा बल्ले कोप–२८ ले ल्याइपुर्‍याई दिएको छ । अब उम्कने ठाउँ कसैलाई छैन । अब हुने कोपको हरेक शृङ्खलामा खनिज इन्धन उत्पादन कटौतीमा भए गरेका उपलब्धिबारे इन्धन उत्पादक देशहरूले बाँकी विश्वलाई बताउनु पर्ने ठाउँमा आइपुगिएको छ । 

कागजी उपलब्धि पस्केर मात्रै पनि सुख छैन, विश्वस्त बनाउनुपर्ने छ । कार्बन उत्सर्जनको मुख्य साधन खनिज इन्धन (तेल, ग्यास, कोइला) को उत्पादन र प्रयोगमा कटौती गर्दै नवीकरणीय ऊर्जा (जल विद्युत्, सौर्य, वायु ऊर्जा हाइड्रोजन) तर्फ जानु नै अबको विश्वको ध्येय बन्नुपर्दछ । कोप–२८ मा मिलेको ऐतिहासिक सहमतिको गन्तव्यतर्फ पाइला अघि लम्काउनुपर्ने आवस्थामा हरेक राष्ट्रहरू पुगेका छन् । खनिज इन्धनको उत्पादन र प्रयोगमा कटौती गर्दै सन् २०३० सम्म नवीकरणीय ऊर्जाको उत्पादन तथा प्रयोगमा तीन गुणा वृद्धि गर्ने लक्ष्य नै किटान भएको छ कोप–२८ को दस्तावेजमा । हरेक राष्ट्रहरूले यो लक्ष्यमा पुग्ने र नवीकरणीय ऊर्जाको उत्पादन तथा प्रयोगलाई वृद्धि गर्दै जाने दस्तावेजमा हस्ताक्षर गर्नुको अर्थ हो– अब विश्व इनर्जी ट्रान्जिसनको युगतर्फ प्रवेश गर्‍यो ।

सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने (नेट जिरो) लक्ष्यमा पुग्ने एउटै उपाय र अस्त्रको रूपमा नवीकरणीय उर्जको प्रबर्द्धनमा ब्यापक लगानी हो । कोप–२८ ले यो आधार तयार गरेको छ । अब हेर्न बाँकी छ– हरेक राष्ट्रहरूले यो लक्ष्यमा पुग्न बनाउने राष्ट्रिय कार्ययोजना र ती कार्ययोजनाहरूको कार्यान्वयनको कार्यतालिका । अब कोपका वार्षिक कन्फरेन्स– प्रि–कोप तथा पोष्ट–कोपहरूमा खोजिने छन्– विश्वका हरेक राष्ट्रहरूको प्रगति विवरण । हरेक प्रगतिहरूको परीक्षण पनि हुने छ– राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्रहरू मार्फत । यो ऐतिहासिक सहमति पछि मुख्यतः खनिज इन्धन उत्पादक राष्ट्रहरू एक प्रकारको दबाबमा परेका छन् ।

पृथ्वीको भविष्य र पर्यावरणसँग जोडिएको जलवायु महासंकटको न्यूनीकरणका लागि खनिज तेल (इन्धन) को उत्पादन तथा प्रयोगमा व्यापक कटौती गर्नैपर्ने अवस्थामा हामी छौँ । विशेषतः खनिज इन्धनको उत्पादनलाई कटौती गर्दै जाने मनस्थिति र तयारी केही वर्ष पहिलेदेखि नै गरिएको दृष्टान्त अरब राष्ट्रहरूले दिएका छन् । 

मुख्य खनिज तेल उत्पादक अरब राष्ट्रहरू साउदी अरेबिया, युएई, बहराइन, कतार, ओमन, कुवेत सदस्य रहेको संगठन द जिसिसीले विस्तारै खनिज तेल उत्पादनलाई कटौती गर्दै नवीकरणीय ऊर्जामा जाने साझा सन्देश र प्रतिबद्धता कोप–२८ मा जनाएका छन् । साउदी अरब र युएईले सौर्य ऊर्जा तथा ओमन हाइड्रोजन उत्पादनतर्फ द्रुत गतिमा लाग्नु यसैको संकेत हो ।

द जिसिसी जस्तै विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेक पनि संस्थागत रूपमा नै साझा प्रतिबद्धतासहित अघि आएमा, यो सन्निकट जलवायु परिवर्तनको महासंकटले अझ ठूलो त्राण पाउने थियो । जेहोस् कोप–२८, जलवायु परिवर्तनको खास मुद्दामा प्रवेश गर्दै इनर्जी ट्रान्जिसनतर्फ सारा विश्वलाई अघि बढाउन सफल रह्यो । खनिज तेल उत्पादक तथा औद्योगिक राष्ट्रहरू जबर्जस्त कार्बन उत्सर्जनको संवाहकको कालो धब्बाबाट उम्कने र फेरि पनि नवीकरणीय हरित ऊर्जाको उत्पादनबाट यो पृथ्वी बचाउने अभिभारा सबै राष्ट्र अनि नागरिकको काँधमा आएको छ ।

विश्व इनर्जी ट्रान्जिसनको फ्रेमभित्र नेपाल अझै अलपत्र

कोप–२८ सारा विश्वलाई खनिज ऊर्जाबाट नवीकरणीय ऊर्जातर्फ जाने (इनर्जी ट्रान्जिसन) आधारशीला खडा गर्दै ऐतिहासिक र विशेष बन्यो । इनर्जी ट्रान्जिसनको मुद्दामा पहिलो पटक प्राप्त यो महत्वपूर्ण सफलताका अघि कोप–२८ मा प्राप्त अन्य उपलब्धिहरू तपसिल बन्न पुगेका छन् । यति महत्वपूर्ण र ऐतिहासिक मुद्दामा विश्वका ऊर्जा क्षेत्रका अब्बल विज्ञ, अभियन्ता तथा सरोकारवालाहरू कोप–२८ मा केन्द्रिकृत हुँदै गर्दा नेपाल भने यो प्रक्रियाबाट लगभग बाहिर नै रहेको अवस्था बन्यो ।

यो पटक इनर्जी ट्रान्जिसनको एजेन्डामा घनिभूत छलफल अनि सँगै चलेको नेगोसिएसनमा नेपालको ऊर्जा क्षेत्र छुट्यो । नेपाल यो ऐतिहासिक र विशेष अवसरको साक्षी बन्न पाएन । ऊर्जा मन्त्रालयको राजनैतिक नेतृत्व र केही उच्च पदाधिकारीहरूको उपस्थिति र भूमिका कोप–२८ मा चुले निम्तो मान्ने विशेष पाहुनाको भन्दा बढी देखिएन । नेपाल जस्तो हरित ऊर्जाको खानी देशले यति ठूलो महाकुम्भ र यसको ऐतिहासिक बहसभित्र अपनत्व लिन सक्ने अवसर गुम्नु बडो विडम्वना छ । इनर्जी ट्रान्जिसनको मुद्दामा न कोप अघि नेपालमा तयारी भए, न कोपमै ऊर्जा क्षेत्र नेपालको प्राथमिक एजेन्डामा पर्‍यो ।

नेपालको ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र एक से एक विज्ञहरूको अड्डा नेपाल विद्युत् प्राधिकरणको संस्थागत सहभागिता कोप–२८ मा शून्य थियो । विद्युत् प्राधिकरण मात्रै होइन, ऊर्जा क्षेत्रका अभियन्ता अनि ऊर्जा उद्यमीहरूको समेत लगभग नगन्य उपस्थिती हुनुले पनि प्रष्ट गर्दछ– कोप–२८ मा नेपालको ऊर्जा क्षेत्र उपेक्षामा पर्‍यो । इनर्जी ट्रान्जिसनको एजेन्डालाई नेपालले घनिभूत रूपमा उठाउनु पर्थ्याे । नेपालको नवीकरणीय ऊर्जाको अथाह सम्भावनालाई पूरा विश्व सामु उजागर गर्नुपर्थ्याे ।

खनिज ऊर्जाको अत्यधिक प्रयोगकर्ता राष्ट्रहरू भारत र चीनले विश्व कार्बन उत्सर्जनमा २० प्रतिशत हिस्सा ओगट्छन् । तिनीहरूको छिमेकी राष्ट्र हुनुको नाताले इनर्जी ट्रान्जिसनको एजेन्डाको नेतृत्व नेपालले लिन सक्थ्यो र लिनुपथ्र्यो । तर विडम्बना यसमा हामी चुक्यौँ । इनर्जी ट्रान्जिसनको एजेन्डा र यसको कार्यान्वयनबाट सबभन्दा बढी लाभ शायद यो विश्व मै नेपालले लिन सक्दछ । जल विद्युत्‌काे अपार सम्भावना बोकेको देश नेपाल जसले भारत र चीन जस्तो कार्बन उत्सर्जनका मुख्य संवाहक राष्ट्रहरूलाई जलविद्युत निर्यात गर्दै खनिज इन्धनलाई विस्थापित गर्न सकने तागत राख्दछ ।

कोप–२८ ले खनिज ऊर्जालाई घटाउँदै नवीकरणीय ऊर्जाको प्रयोग बढाउने सहमतिका हस्ताक्षरकर्ताका हिसावमा हाम्रा छिमेकी राष्ट्रहरू भारत र चीनको हरित ऊर्जाको सबैभन्दा नजिकको विकल्प अनि स्रोत नेपाल हो । अब भारत र चीन पनि खनिज ऊर्जा विशेषतः कोइलाको प्रयोगबाट विस्तारै बाहिर निस्कनै पर्ने अवस्थामा कोप–२८ ले पुर्‍याएको छ । 

नेपालको जलविद्युत् निर्यात मार्फत भारत र चीनलाई खनिज ऊर्जा विस्थापित गराउने दिशामा अब सारा विश्व हामीसँग उभिएको छ । जलवायु महासंकट रोक्न आफैँले हस्ताक्षर गरेको इनर्जी ट्रान्जिसनको एजेन्डाबाट उम्कने र भाग्ने छुट अब भारतलाई अनि चीनलाई छैन । नेपालको नवीकरणीय ऊर्जा (जलविद्युत्) भारत र चीनतर्फ निर्यात गर्दै जलवायुमा आधारित अर्थतन्त्र मार्फत जलवायु संवृद्धितर्फ अब लम्किने हो ।

यति महत्वपूर्ण एक हिसाबमा नेपालको वृहत्तर समृद्धिसँग जोडिएको जलवायु महाकुम्भ कोप–२८ मा नेपालको ऊर्जा क्षेत्र नै छुट्नुले गम्भिर प्रश्न उब्जाएको छ । इनर्जी ट्रान्जिसनको ऐतिहासिक कोप–२८ को कार्यभार अब नेपालले कसरी लेला ? नेपालको राष्ट्रिय नीति/रणनीति अनि कार्यान्वयन तालिकाको परीक्षण÷अनुगमनसँगै सिंगो नेतृत्व कस्तो हुने हो अब ? कुन निकायले लिनेछ अब यसको अपनत्व ? 

अबको कार्यभार जलवायु कुटनीतिसँग नेपालको ऊर्जा

इनर्जी ट्रान्जिसनतर्फ विश्वलाई जबर्जस्त धकेल्यो कोप–२८ ले । जल ऊर्जा (विद्युत् र हाइड्रोजन) को अपार सम्भावना र विशाल क्षमता बोकेको नेपालले अब जलवायु कुटनीतिको सहारामा विश्व जलवायु रंगमञ्चमा नेतृत्व लिन सक्ने हैसियतमा उभिनु पर्छ । यो सम्भव छ । जलवायु अनुकुलन र न्यूनीकरण कार्यक्रममा अब नेपालको जलविद्युत्को स्वदेशमै अत्यधिक खपत तथा भारत/चीनमा निर्यात मार्फत कोप–२८ को लक्ष्य समात्ने दिशा अबको हाम्रो कार्यभार हो ।

अब जलवायु परिवर्तनको एजेन्डालाई सानो घेराभित्र सीमित गरेर केही जलवायु वित्तका लागि हाम्रो ध्यान केन्द्रित गर्ने होइन । जलवायु एजेन्डालाई राष्ट्रिय अर्थतन्त्रसँगै संवृद्धिको नयाँ गन्तब्य बनाएर अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो । यो राष्ट्रिय महत्वाकांक्षाको परिपूर्तिका लागि नेपालसँग अब पूराका पूरा अन्तर्राष्ट्रिय जलवायु कुटनीति अनुकुल भएको समय हो । नेपाल जस्तो पर्वतीय देशको जलवायु परिवर्तनको असरको एजेन्डामा विश्वकै ध्यानाकृष्ट भएको अर्को अनुकुल अवस्थमा पनि छौँ । 

भारतसँग जलविद्युत् निर्यात गर्ने (१० वर्षमा दैनिक १० हजार मेगावाट) सम्झौता सम्पन्न भई चीन र बंगलादेशसँग पनि नेपाल जलविद्युत् निर्यातको निर्णय प्रक्रियामा पनि प्रवेश गरिसकेको अवस्था छ । अब कोइला (खनिज इन्धन) को विकल्पमा नेपालको जलविद्युत् (नवीकरणीय ऊर्जा) प्रयोग गर्न भारत, चीन र बंगलादेश पनि बाध्य छन् । जलवायु महाकुम्भ कोप–२८ ले यो बाध्यतामा भारत र चीनलाई पुर्‍याएको छ । त्यसैले अब नेपालले जलविद्युतलाई जलवायुको एजेन्डासँग अन्तर्राष्ट्रिय जलवायु कुटनीतिसँग जोड्ने र त्यसत् अनुसारको राष्ट्रिय योजनासहितको दीर्घकालीन मूल लक्ष्यमा प्रवेश गर्नु पर्दछ ।

हामी कल्पना गरौँ त– भारतको ८० प्रतिशत कोइलाबाट उत्पादित विद्युत्को कुल परिमाणको आधा मात्र हिस्ता पनि नेपालको जलविद्युत्ले प्रतिस्थापन गर्न सकियो भने मात्र पनि करिब ९० हजार २ सय मेगावाट निर्यात गर्नुपर्ने हुँदो रहेछ पूरै भारतमा । एकछिन पूरै भारतलाई छोडि दिऊँ– नेपालसँग जोडिएको उत्तर प्रदेशको हालको कूल जडित क्षमता ३१ हजार मा २८ हजार ५ सय मेगावाट त कोइलाबाट उत्पादित थर्मल प्लान्टबाट छ । 

उत्तर प्रदेशलाई मात्रै पनि नेपालबाट जलविद्युत् निर्यात गर्न सक्यौँ भने औषतमा नेपालले वार्षिक २५ खर्ब आम्दानी गर्न सक्दछ । अब सोचौँ– यसले नेपालको आर्थिक स्तर कहाँ पर्‍याउँछ ? कोप–२८ को ऐतिहासिक सहमति इनर्जी ट्रान्जिसनको एउटा हस्ताक्षरकर्ता हुनुको नाताले पनि भारत बाध्य छ र बाँधिएको छ । भारत, चीन तथा बंगलादेश सहितका देशहरू अब नवीकरणीय ऊर्जातर्फ जानुको कुनै विकल्प देखिन्न । नेपाल नै अब यी देशहरूका लागि नवीकरणीय ऊर्जा (जलविद्युत् र हाइड्रोजन) को प्रमुख स्रोत तथा गन्तब्य हो ।

तसर्थ जलवायुमा आधारित जलवायु कूटनीतिको भरपुर उपयोग गर्दै आर्थिक संवृद्धिको दिशातर्फ अघि बढ्नुको विकल्प हामीसँग छैन । संस्थागत पुनरसंरचना मार्फत तत्काल यसको सुरुवात गरौँ । सकिन्छ भने छुट्टै मन्त्रालय गठन गरौैँ । सकिन्न भने ऊर्जासँग जोडेर ऊर्जा तथा जलवायु मन्त्रालयको गठन गरौँ । राष्ट्रिय संकल्पका साथ दीर्घकालीन राष्ट्रिय लक्ष्यसहित जलवायुसँग नेपालको अथाह जलऊर्जाको उत्पादन तथा निर्यात जोड्दै जलवायुमा आधारित राष्ट्रिय अर्थतन्त्र निर्माणमा नै हाम्रो भविष्य उज्जवल छ । 
 

प्रतिक्रिया दिनुहोस

नेत्र कार्की

विगतमा लामाे समय ऊर्जा क्षेत्रमा पत्रकारिता गरेका कार्की स्थानीय जनप्रतिनिधि हुँदै अहिले ऊर्जा र पर्यावरणकाे सन्तुलित विकासकाे पैरवीमा लागेका छन् ।

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३