आयोजनाको परिचय
नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी प्रालि (कम्पनी) द्वारा वैदेशिक तथा स्थानीय लगानीमार्फत रसुवामा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयाेजना स्थल काठमाडौँबाट करिब ८० किमी पूर्वोत्तरमा अवस्थित छ ।
त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको यो आयोजना नदी वहाव प्रविधिमा आधारित हो, जसको वार्षिक कुल ऊर्जा उत्पादन १५३३.०६ गिगावाट घन्टा रहेको छ । २९.५ मिटर अग्लाे बाँध, ३ वटा भूमिगत डिस्यान्डर बेसिसन, ९.८ किमी लामो मुख्य सुरुङ, सर्ज ट्याङ्क र पावर हाउस यस आयोजनाका मुख्य संरचनाहरू रहेका छन् । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ऋणदाताहरूबाट वैदेशिक लगानी जुटाई ठूलो लगानीमा आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण स्थलको नक्सा तल प्रस्तुत गरिएको छ ।
नक्सा १: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको निर्माण स्थल
वैदेशिक लगानी र सामाजिक दायित्वप्रतिको चासो
कम्पनीले आयोजना निर्माणको लागि आवश्यक लगानी जुटाउन ९ वटा अन्तर्राष्ट्रिय बैंकहरू (IFC, ADB, AIIB, KEXIM, KSURE, CDC, FMO, PROPARCO, OFID) सँग वित्तीय सम्झौता गरेको छ। उक्त वित्तीय सम्झौताअनुसार, अन्तराष्ट्रिय वित्त निगम (IFC) को कार्य सम्पादन मापदण्ड-७ अनुरूप आयोजना प्रभावित तामाङ (आदिवासी जनजाति) समुदायसँग स्वतन्त्र तथा अग्रिम जानकारी सहितको सहमति (FPIC) गरिएको छ । साथै, FPIC प्रक्रिया अन्तर्गत गठित आदिवासी जनजाति सल्लाहकार परिषद्, स्थानीय सरकार (वडा) र कम्पनीबीच त्रिपक्षीय सम्झौता गरी आयोजना निर्माण र आदिवासी जनजाति विकास योजना (आजवियो) कार्यान्वयनको सुनिश्चितता गरिएको छ । आजवियो कार्यान्वयनका क्रममा हासिल भएका केही ऐतिहासिक उपलब्धिहरू यस प्रकार रहेका छन्:
त्रिपक्षीय सम्झौता (२०७५ साल कात्तिक १५ गते)
स्वतन्त्र तथा अग्रिम जानकारी सहितको सहमति (२०७५ साल कात्तिक १६ गते)
आजवियो कार्यान्वयनमा ढिलाइ
कम्पनी र आयोजना प्रभावित स्थानीयबीच २०७५ साल कात्तिक १५ मा त्रिपक्षीय सम्झौता र स्वतन्त्र पूर्व जानकारी सहितको सहमति भई नेपालमा पहिलो पटक अगाडि बढेको आदिवासी जनजाति विकास योजना कार्यान्वयनको पहलकदमीले संयुक्त राष्ट्रसंघको स्थायी फोरम र सन् २०१९ को अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलनमा विश्वव्यापी चर्चा पायो । तर, सहमतिपछि पनि आजवियो कार्यान्वयनमा असामान्य ढिलाइका कारण अन्तराष्ट्रिय लगानीकर्ता तथा आयोजना प्रभावित स्थानीय समुदायमा निराशा देखियो । आजवियो कार्यान्वयनमा देखिएको ढिलाइका मुख्य कारण निम्नानुसार छन्:
आयोजनाको वित्तीय व्यवस्थापनमा ढिलाइ (२०७६-२०७८)
बोर्डको नेतृत्वसम्बन्धी विवाद (२०७८-२०८०)
२०७९ को अन्त्यतिरबाट कम्पनी व्यवस्थापनको विशेष प्रयासमा आजवियो बोर्डको नेतृत्वसम्बन्धी लामो विवाद समाधान गर्दै योजना कार्यान्वयनका लागि आदिवासी जनजाति योजना कार्यक्रम सञ्चालन निर्देशिका, २०८० र आर्थिक तथा मानव श्रोत व्यवस्थापन निर्देशिका, २०८० आजवियो सल्लाहकार परिषद् र आजवियो सञ्चालन बोर्डमार्फत अनुमोदन गरी लागु गर्न सफल भयो ।
आजवियो अनुदान रकम
त्रिपक्षीय सम्झौता र स्वतन्त्र तथा अग्रिम जानकारीसहितको सहमतिमा उल्लेख भए अनुसार कुल अमेरिकी डलर ११ लाख २५ हजार (वार्षिक २ लाख ५५ हजार) बराबरको अनुदान रकम ५ वर्षमा खर्च हुने गरी व्यवस्था गरिएको थियो । तर योजना कार्यान्वयनमा भएको ढिलाइ र योजनामा यसअघि समावेश गरिएका समुदायहरूको सङ्ख्यामा भएको बढोत्तरी (१० बाट बढेर १३) भए सँगै बजेट अवधिलाई आयोजनाको व्यवसायिक सञ्चालन मिति (१५ पुस २०८३) सँग तालमेल मिलाउने गरी तीन वर्षमा समायोजन गरिएको छ । परिमार्जित अनुदान रकमको बिनियोजन तालिका निम्नानुसार रहेको छ:
आजवियो कार्यान्वयन अन्तर्गत सन २०८० मा हासिल गरिएका मुख्य उपलब्धिहरू:
वरिष्ठ वातावरण तथा सामाजिक व्यवस्थापकलाई आजवियो समन्वयकर्ताको जिम्मेवारी (वि.सं. २०७९ फागुन २४)
चार विषयगत क्षेत्र (साँस्कृतिक सम्पदा, सामाजिक विकास, आर्थिक विकास, क्षमता अभिवृद्धि) अन्तर्गत जम्मा ५२ वटा कार्यक्रम समितिहरूको गठन (वि.सं. २०७९ चैत ७)
आदिवासी जनजाति कार्यक्रम सञ्चालन निर्देशिकाको खाका तयार गर्न २ दिने कार्यशाला गोष्ठी (वि.सं. २०८० असार १९-२०)
आजवियो सल्लाहकार परिषद्द्वारा उक्त निर्देशिकाको अनुमोदन (२०८० भदाै ३-१७)
आजवियो कार्यक्रम सञ्चालन निर्देशिका कार्यान्वयन (२०८० भदाै २१)
आजवियो सहजीकरणका लागि अन्तर्राष्ट्रिय सामाजिक परामर्शदाता परिचालन (२०८० मंसिर ११)
सामुदायहरूको अध्ययनका लागि संयुक्त स्थलगत भ्रमण (२०८० मंसिर १८-२२)
आजवियो शासकीय संरचना
आजवियो कार्यक्रम सञ्चालन निर्देशिका, २०८० अनुसार आजवियो सल्लाहकार परिषद् नै शासकीय संरचनाको मूल आधार हो, जसले सञ्चालन बोर्ड, कार्यकारी समिति, कार्यक्रम समिति आदिको गठन गर्छ । आजवियो शासकीय स्वरूपको संरचना निम्नानुसार रहेको छ:
चित्र ३: आजवियो शासकीय संरचना
आजवियो-२०८१ कार्यान्वयन सम्बन्धि उपलब्धिहरू
२०८० का उपलब्धिहरूको आधारमा कम्पनीले २०८१ मा योजना कार्यान्वयनका लागि विभिन्न चुनौतीहरूको सामना गर्दै निम्न अनुसारका उपलब्धिहरू हासिल गरेको छ;
आर्थिक एवं मानव स्रोत व्यवस्थापन निर्देशिका
आजवियो सञ्चालन बोर्डले वित्तीय तथा मानव संसाधन व्यवस्थापन निर्देशिका २० पौष २०८० मा अनुमोदन गरेको थियो र सोही मितिबाट कार्यान्वयनमा आएको छ ।
निर्देशिका सम्बन्धी पुस्तिका
आजवियो कार्यक्रम सञ्चालन निर्देशिका र वित्तीय तथा मानव संसाधन व्यवस्थापन निर्देशिका सम्बन्धि पुस्तिका-५०० प्रति नेपाली भाषामा २०८१ पुस ३ गते प्रकाशित गरिएको थियो । ती पुस्तिकाहरू क्षमता अभिवृद्धि तालिम कार्यक्रम (२०८१ पुस ५-८) मा सहभागी भएका सम्पूर्ण आजवियो सल्लाहाकार परिषद् सदस्यहरूलाई वितरण गरिएको थियो ।
सामुदायिक परामर्श
कार्यक्रम समितिहरूको उपस्थितिमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आजवियो सञ्चालन बोर्डका १३ वटै समुदायबाट आएका आजवियो सञ्चालक समिति सदस्यहरूले २०८१ का लागि विनियोजित आजवियो अनुदान (ने. रु. ४९.४ मिलियन) को वितरणमा सामूहिक रूपमा सहमति जनाएका थिए । यो अभूतपूर्व सहमतिपछि प्रत्येक १३ वटा समुदायहरूमा आवश्यक कार्यक्रम छनोटबारे छलफल गर्न भेला गरिएको थियो ।
छलफल कार्यक्रमहरूका मुख्य उद्देश्य समुदायको आवश्यकता र पूर्व निर्धारित अनुदान रकम रु. ३८ कराेडको बजेट सीमाभित्र रहेर कार्यक्रम गतिविधिहरूको प्राथमिकिकरण गर्नु थियो । ती कार्यक्रमहरू चारवटा विषयगत क्षेत्र (सांस्कृतिक सम्पदा, सामाजिक विकास, आर्थिक विकास, र क्षमता अभिवृद्धि) अन्तर्गत रहनु पर्ने भन्ने विषय क्षमता विकास तालिम (२०८१ पुस ५-८) को क्रममा अभिमुखीकरण गरिएको थियो ।
सामुदायिक परामर्श प्रक्रिया लामो समयसम्म (२०८० माघ २६ देखि चैत्र २२ सम्म) सञ्चालन गरिएको थियो । यसका मुख्य कारणहरू थिए:
आजवियो समुदायहरू रसुवा जिल्लाका तीन वटा गाउँपालिका (अमाछोदिङमो, उत्तरगया र कालिका) मा छरिएका र भौगोलिक रूपमा विकट रहेका,
समुदायभित्र कार्यक्रम छनोटको प्रक्रियामा अस्पष्टता रहेको र लामो विवादहरूको बाँकी प्रभावहरू ।
तालिका २: कार्यक्रम छनौटका लागि समुदाय परामर्श (२६ माघ देखि २२ चैत्र २०८० सम्म)
आजवियो सञ्चालन बोर्डद्वारा अनुदान प्रस्तावहरूको अनुमोदन
आजवियो सञ्चालन बोर्डका बहुमत सदस्यहरूले १६ वटा कार्यक्रम समितिहरूद्वारा २०८० पफागुन २६ मा पहिलो चरणमा पेश गरिएका अनुदान प्रस्तावहरूलाई अनुमोदन गरेका थिए, र बाँकी प्रस्तावहरू २०८० चैत २९ मा अनुमोदन गरिएको थियो । जम्मा ५२ वटा कार्यक्रम समितिहरूबाट प्राप्त ५२ वटा प्रस्तावलाई आजवियो सञ्चालन बोर्डले अनुमोदन गरी कम्पनीलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।
आर्थिक कारोबारका लागि बैंक खाता
अनुदान परिचालनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्यले बैंकिङ प्रक्रियामार्फत आर्थिक कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैले, कम्पनीबाट आजवियो अनुदान प्राप्त गर्नुअघि ५२ वटा कार्यक्रम समितिहरूलाई बैंक खाता खोल्न जानकारी दिइएकोमा तीमध्ये ५१ वटा कार्यक्रम समितिहरूले कम्पनीद्वारा गठित आजवियो सहयोग इकाईको सहयोगमा बैंक खाता खोल्न सफल भएका थिए ।
आजवियो सहयोग इकाईको स्थापना
आजवियो कार्यान्वयनका लागि दैनिक प्रशासनिक र प्राविधिक सहयोगको लागि कम्पनी अन्तर्गत आजवियो सहयोग इकाई स्थापना गरिएको छ, जसमा निम्न कर्मचारीहरू रहेका छन्:
कार्यक्रम संयोजक-१ जना
सिभिल इञ्जिनियर-१ जना
सामाजिक परिचालक-२ जना
लेखापाल-१ जना
कम्पनी र कार्यक्रम समितिहरूबीच अनुदान सम्झौता
जम्मा ५० वटा कार्यक्रम समितिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरी आजवियो कार्यक्रम अन्तर्गत २०८१ का लागि कार्यक्रमहरू कार्यान्वयन गर्न जम्मा ने. रू. ४९.४ मिलियन बराबरको कुल अनुदान रकम प्राप्त गरेका थिए । अनुदान रकम भुक्तानी अन्तर्गत अग्रिम रकम वितरण गर्नुअघि सम्पन्न गरिएका क्रियाकलापहरू तलको तालिकामा उल्लेख गरिएको छ।
तालिका ३: अनुदान सम्झौता अन्तर्गतका प्रक्रियाहरू
पेश्की रकमको भुक्तानी
आवश्यक कागजातहरूको विधिवत प्रमाणीकरणपछि, कुल ५० वटा योग्य कार्यक्रम समितिहरूले २०८१ मा चारवटा विषयगत क्षेत्रहरू (सांस्कृतिक सम्पदा, सामाजिक विकास, आर्थिक विकास, र क्षमता अभिवृद्धि) अन्तर्गत छनौट भएका जम्मा १०० वटा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि कम्पनीसँग सम्झौता गरेकोमा जम्मा पेश्की रकम रु. ९८ लाख ८२ हजार बराबरको पेश्की रकम प्राप्त गरेका थिए ।
आजवियो-२०८१ अन्तर्गत अनुदान परिचालनको संक्षिप्त विवरण:
प्रस्तावित योजनाअनुसार, कम्पनीले चैत्र २०८० मा निर्देशिका अनुसार आवश्यक रित पुगेका जम्मा ७ वटा कार्यक्रम समितिहरूसँग अनुदान सम्झौता गरी सोही मितिमा कार्यक्रम सञ्चालनका लागि पेश्की रकम भुक्तानी गरिएको थियो । यससँगै आजवियो कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको थियो । २०८१ को अन्त्यसम्म प्रमाणित कागजातहरू अनुसार कुल अनुदानको जम्मा ९५.७२ प्रतिशत रकम भुक्तानी भइसकेको छ । भुक्तानी हुन बाँकी निर्माणसँग सम्बन्धित जम्मा २ वटा कार्यक्रमहरू समेत सम्पन्न भइसकेका छन् ।
चित्र ५: आजवियो-२०८० अन्तर्गत अनुदान रकमको मासिक भुक्तानी
२.८ पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता
आदिवासी समुदायहरू र विकास परियोजनाबीचको सम्बन्धलाई सुदृढ गर्दै ती समुदायहरूलाई थप सशक्त बनाउन आजवियो कार्यान्वयनको क्रममा लागु गरेको नवीनतम पद्दतीले सकारात्मक भूमिका खेलेको छ । नेपालमा पहिलो पटक माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा लागु गरिएको आजवियोले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय सरोकारवालाहरूको ध्यान आकर्षित गरेको छ । त्यसैले, आजवियो अन्तर्गत प्राप्त प्रत्येक अनुभव तथा उपलब्धिहरूलाई ऋणदाता र सरोकारवालाहरूले नजिकबाट अवलोकन गरिरहेका छन् ।
त्यसैले, आजवियो-२०८१ अन्तर्गत कार्यक्रम कार्यान्वयनको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्न २०८१ जेठ २ गते आजवियो सञ्चालक समितिद्वारा १३ सामुदायिक अनुगमन टोलीहरू, १ आन्तरिक अनुगमन टोली र १ गुनासो सुनुवाई समिति गठन गरी परिचालन गरेको छ, जसमा स्थानीय सरकार, आजवियो सञ्चालक समिति, र कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
यसका अतिरिक्त, आजवियो-२०८१ अन्तर्गतका सम्पूर्ण गतिविधिको स्वतन्त्र रूपमा अनुगमन गर्न बाह्य अनुगमन टोलीको संलग्नतालाई कम्पनीले महत्त्वपूर्ण संयन्त्रको रूपमा स्थापित गरेको छ, जसले पारदर्शिता र प्रभावकारिता कायम राख्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय संस्थाहरूलाई भरोसा दिलाउन सहयोगी भूमिका खेल्ने विश्वास लिइएको छ ।
क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू
नेपालमा पहिलो पटक अभ्यासमा ल्याएको आजवियो शासकीय संरचना मार्फत अनुदान रकम परिचालन गर्न पूर्व साक्षरता दर कम भएको आदिवासी समुदायहरूको क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू अत्यावश्यक रहेको महसुस गरिएको थियो । त्यसैले, समुदायहरूमा आजवियो गतिविधिहरूको चुस्त कार्यान्वयनलाई सहज बनाउन तथा ४ वटा विषयगत क्षेत्र अन्तर्गतका कार्यक्रम समितिहरू (PC)-५२ वटा, सामुदायिक अनुगमन टोली (CMT)-१३ वटा, आन्तरिक अनुगमन टोली (IMT)-१ वटा, गुनासो सुनुवाई समिति (GRC)-१ वटा र आदिवासी जनजाति योजना सञ्चालन बोर्ड (IPP GB) का सदस्यहरूलाई लक्षित गर्दै हालसम्म निम्नानुसारका क्षमता अभिवृद्धि सम्बन्धि तालिमहरू प्रदान गरिएका छन् :
निर्देशिका अनुसार कार्यक्रम छनोट प्रक्रियाको सम्बन्धमा (२०८० माघ ५-८)
CMT, IMT, GRC र IPP GB का भूमिका र जिम्मेवारीहरू (१३ भाद्र २०८१)
कार्यक्रम समिति सदस्यहरूलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम (२०८१ आसोज १-४)
यी तालिमहरूले समुदायस्तरमा संस्थागत क्षमता विकास गर्दै आजवियो कार्यक्रमको प्रभावकारी र पारदर्शी कार्यान्वयनमा सहयोग पुर्याएका छन् ।
निष्कर्ष र सिफारिसहरू
विकट रसुवास्थित न्यून शिक्षित तामाङ समुदायमा आजवियोको कार्यान्वयन चुनौतीपूर्ण भए पनि कम्पनीको प्राविधिक सहयोगमा तयार गरिएका ५२ वटा प्रस्तावहरू सम्बन्धित कार्यक्रम समितिहरूले तयार गरी कम्पनीलाई उपलब्ध गराएकोमा जम्मा ५० वटा योग्य कार्यक्रम समितिहरूलाई अनुदान रकम उपलब्ध गराई जम्मा १०० कार्यक्रमहरू शुरू गरेको छ । आजवियो-२०८१ कार्यान्वयन पहिलो वर्षमा रहेको कारण २०८१ को अन्तसम्ममा कुल अनुदान रकमको ९५.७२% रकम भुक्तानी भइसकेको छ । आजवियो-२०८२ को कार्यान्वयनलाई थप सुदृढ गर्ने उद्देश्यले निम्नानुसारका कदम चाल्नु पर्ने देखिन्छ:
• आजवियो-२०२५ कार्यान्वयन अघि शासकीय संरचना पुन: स्थापनाको लागि स्वस्थ प्रतिस्पर्धा
• आजवियो सहयोग इकाईको थप शसक्तीकरण
• PC, CMT, IMT, GRC गठन र शसक्तीकरण
• आजवियो सञ्चालन बोर्डको नियमित बैठक
• कार्यक्रम छनोटमा समुदायलाई स्वतन्त्रता
• अनुगमन र निरीक्षणलाई थप प्रभावकारी
• निर्माण सम्बन्धी कार्यक्रमको सम्बन्धमा पूर्व स्वीकृत डिजाइन तथा लागत अनुमान
• स्वतन्त्र बाह्य अनुगमन टोलीका राय सुझावहरूको अबलम्बन
• पारदर्शिता तथा प्रभावकारिताको लागि सूचना र सञ्चार प्रविधिको सदुपयोग
सन्दर्भ सामग्रीहरू:
• आजवियो कार्यक्रम सञ्चालन निर्देशनिका ।२०८०। आदिवासी जनजाति विकास योजना (आजवियो), माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना (२१६ मेगावाट), मैलुङ, रसुवा ।
• आजवियो आर्थिक तथा मानव श्रोत व्यवस्थापन निर्देशनिका ।२०८०। आदिवासी जनजाति विकास योजना (आजवियो), माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना (२१६ मेगावाट), मैलुङ, रसुवा ।
• DFA ।२०१८। UT-1 FPIC तथा आजवियो कार्य समूहद्वारा प्रस्तुत गरिएका सामुदायिक मागहरू सम्बन्धी सहमति (३० अक्टोबर २०१८ बट्टार, नुवाकोटमा हस्ताक्षर) ।
• EIA।२०१३। माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना (२१६ मेगावाट), मैलुङ, नेपालको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ।
• ESIA।२०१८। ERM द्वारा तयार गरिएको वातावरण तथा सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदन, भाग १, २, ३ र ४ (जुन २०१८) तथा अद्यावधिक अप्राविधिक वातावरण तथा सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदन (मार्च २०१८) । NWEDC, काठमाडौँ ।
• FPIC।२०७५। माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना (२१६ मेगावाट), मैलुङ अन्तर्गत आदिवासी जनजाति विकास योजना (आजवियो) कार्यान्वयनका लागि गरिएको स्वतन्त्र तथा अग्रिम जानकारी सहितको सहमति ।
• IPP।२०१८। आदिवासी जनजाति विकास योजना । NWEDC, ERM र CCCS द्वारा तयार गरिएको । काठमाडौँ, डिसेम्बर २०१८।
• IEE।२०१८। माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना (२१६ मेगावाट), मैलुङ, नेपालको सिंगल सर्किट २२०kV ट्रान्समिशन लाइनको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ।
• IFC।२०१२। अन्तराष्ट्रिय वित्त निगम (IFC) को कार्य सम्पादन मापदण्ड-७ सम्बन्धी निर्देशिका।
• ILO।१९८९। आदिवासी जनजातिहरू सम्बन्धी सम्मेलन नं. १६९। जेनेभा।
• TPA ।२०१८। आजवियो कार्यान्वयनका लागि गरिएको त्रिपक्षीय सम्झौता (१ नोभेम्बर २०१८ बट्टार, नुवाकोटमा हस्ताक्षर) ।
• विश्व बैंक।२०१७। विश्व बैंकको वातावरणीय तथा सामाजिक रूपरेखा। IBRD/WB, वाशिङटन।
• राई, नवीन के।२०२३। नेपालका तामाङ आदिवासी जनजातिहरूको स्वतन्त्र, पूर्व, सूचित सहमति: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा IFC कार्य सम्पादन मापदण्ड-७ पालना सम्बन्धी स्वतन्त्र अध्ययन ।
लेखक साउद नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका वरिष्ठ वातावरण तथा सामाजिक प्रबन्धक तथा कम्पनीको आदिवासी जनजाती विकास योजनाका सम्पर्क व्यक्ति हुन् । समाजविद् लेखक तामाङ हाल माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना अन्तर्गत आदिवासी जनजाती विकास योजनाका कार्यक्रम संयोजक हुन् ।