विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

विद्युत् ऊर्जा उत्पादन गर्न सकिने विभिन्न विधि तथा स्रोतहरूमध्ये पानीबाट उत्पादन हुने जलविद्युत् हो, जसलाई अंग्रेजीमा हाइड्रोपावर भनिन्छ । पानीबाट विद्युत् उत्पादन गर्न, मूलतः पानीको बहाव वा फ्लो (प्रतिइकाइ समय, बग्ने पानीको मात्रा) एवं पानी छिर्ने ठाउँ (इन्टेक वा मुख्य सुरुङ) जसलाई “हेडरेस” भनिन्छ, त्यहाँदेखि टर्बाइन वा टेलरेस बीचको उचाइ, (जसलाई वाटर ‘हेड’ भनिन्छ ) गरी दुई कारकको भूमिका हुन्छ ।

कुनै जलविद्युत् आयोजना निर्माण गरिसकेपछि वर्षैभरि हरेक घन्टा कति-कति क्षमतामा विद्युत् उत्पादन हुन्छ भन्ने बुझ्न, ती २ कारकमध्ये ‘हेड’ परिवर्तनीय हुँदैन, अर्थात् हरेक जलविद्युत् आयोजनाका लागि निश्चित हेड हुन्छ । यस्तै, मौसम र आवश्यकता अनुसार परिवर्तन हुने (भेरिएबल) भनेको पानीको बहाव नै हो ।

नेपालका विद्यमान जलविद्युत् आयोजनाहरू पानीको बहावको आधारमा मूलतः ३ प्रकारका छन् :

पहिलो - रन अफ दि रिभर (नदी जलप्रवाहमा आधारित), दोस्रो - पिकिङ रन अफ दि रिभर (आंशिक वा अर्धजलाशय) र तेस्रो रिजरभ्वायर (जलाशय) ।

पहिलो प्रकारकf आयोजनामा, खोलामा जति पानी बगेर आउँछ, त्यति नै प्रयोग गरी उत्पादन गर्दा हिउँदमा कम र बर्खामा बढी क्षमतामा विद्युत् उत्पादन हुन्छ ।

दोस्रो पनि पहिलो जस्तै हो तर यसमा खोलामा कम पानी भएको समयमा (जस्तै: हिउँदयाममा) आयोजनाको बाँधस्थलमा २ देखि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने गरी पानी भण्डारण गर्ने जलाशय (दैनिक पिकिङ पोखरी) निर्माण गरिएको हुन्छ । न्यूनतम विद्युत् माग (खपत) हुने रातीको समयमा प्रायः विद्युत्‌गृह न्यूनतम क्षमतामा चलाएर वा पूर्ण बन्द गरेर, त्यसको सञ्चित पानी खोलामा खेर नफाली पोखरीमै जम्मा हुँदै जान्छ र अधिक माग हुने समय (पिक आवर) मा नदीमा उपलब्ध पानीको बहाव र यो जम्मा भएको पानी समेत जोडेर केही घन्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ ।

नेपालमा ४५६ मेगावाट माथिल्लो तामाकोसी, कालीगण्डकी 'ए', ६९ मेगावाटकाे मर्स्याङ्दी, ७० मेगावाटकाे मध्यमर्स्याङ्दी, ३० मेगावाटकाे चमेलिया, २२ मेगावाटकाे चिलिमे जस्ता नेपाल विद्युत् प्राधिकरणबाटै प्रवर्द्धन गरिएका सुख्खायाममा समेत ४ देखि ६ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने गरी निर्मित आंशिकजलाशय आयोजनाहरू हुन् । विद्युत् माग बढी हुने तर नदीमा बहाव कम हुने सुख्खा (हिउँद) याममा लोडसेडिङ नगरी दिनभरिको उच्च माग (पिक लोड) परिपूर्ति गर्न पिक आवर व्यवस्थापनका लागि यस्ता आयोजनाकाे बढी महत्त्व हुन्छ ।

प्राधिकरणद्वारा निर्मित २४ मेगावाटकाे त्रिशूली, ६० मेगावाटकाे माथिल्लो त्रिशूली ३ 'ए', १४ मेगावाटकाे देवीघाट, १० मेगावाटकाे सुनकोसी, १४.८ मेगावाटकाे मोदी खोलाका साथै निजी क्षेत्रबाट प्रवर्द्धित अधिकांश आयोजनाहरू भने पहिलो प्रकारका अर्थात् नदी प्रवाहमा आधारित हुन् ।

तेस्रो प्रकार अर्थात् स्टोरेज (जलाशय) आयोजनामा भने नेपालमा हालसम्म मकवानपुर जिल्लमा अवस्थित कुलेखानी मात्र सञ्चालनमा छ । विभिन्न जलाधार क्षेत्रबाट जम्मा भएको एवं बर्सात्‌मा परेको पानी इन्द्रसरोवरमा जम्मा गरिन्छ भने त्यहाँबाट (क्यास्केड प्रणालीमा) ६० मेगावाटको प्रथम, ३२ मेगावाटको दोस्रो र १४ मेगावाटको तेस्रो गरी कुलेखानीका तीन विद्युत्‌गृहबाट कूल १०६ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ ।

माथि नै भनियाे, जलविद्युत् उत्पादन क्षमता (मेगावाट) पानीको उचाइ (हेड) र बहाव (फ्लो) मा भर पर्ने कुरा हाे । प्रश्न आउन सक्छ, कुनै एउटा नदी (उदाहरणको रूपमा कालीगण्डकी लिऊँ) मा बनाइएको एउटा आयोजना (१४४ मेगावाट जडित क्षमता) ले हिउँदमा त पानीको बहाव थोरै भएर कम क्षमतामा (अर्थात् पूर्ण क्षमताको एक चौथाइसम्म मात्र) सञ्चालन हुन्छ तर बर्खायाम जुनबेला अधिक रूपमा (वा बाढीकै स्वरूपमा) पानी उर्लेर आएको हुन्छ, त्यसबखत त्यो जडित १४४ मेगावाटलाई चाहिने भन्दा बढी नै बहाव हुन्छ ।

त्यस्तो बेलामा किन बढी क्षमतामा उत्पादन गरिँदैन ?  किन उच्चतम (जतिसक्दो बढी) क्षमतामा विद्युत् आयोजनमा डिजाइन गरिँदैन त ? सरल र छोटोमा यसको जवाफ यसरी दिन सकिन्छ- हरेक महिना फरक हुने नदीको बहाव (हाइड्रोलोजी), आयोजनाको निर्माण लागत (खर्च), विद्युत् बेचेर प्राप्त हुने रकम (आम्दानी) एवं विद्यमान सरकारी नीति जस्ता पक्षहरूलाई विश्लेषण गरी ‘अप्टिमाइजेसन’ गरेर बीचको क्षमता निर्धारण गरिन्छ ।

नदी प्रवाही आयोजनाका लागि अचेल प्राय: क्यू ४० हाइड्रोलोजीमा आयोजना निर्माण गरिँदै आएको छ । यो भनेको ३६५ दिनमध्ये त्यसको ४०% अर्थात् १४६ दिन पूर्ण (जडित) क्षमतामा विद्युत् उत्पादन गर्न सकिने भन्ने हो । अर्थात् १४४ मेगावाट जडित क्षमतामा स्याङ्जा जिल्लामा अवस्थित कालीगण्डकी 'ए' डिजाइन, निर्माण गरी सञ्चालनमा आए पनि त्यहाँको बर्खाको पानीको उपलब्धताले त्यो भन्दा अधिक क्षमतामा पनि सो आयोजनाको निर्माण गर्न सकिने थियाे । यद्यपि, माथि भनिएझैँ क्यू ४० मा डिजाइन गर्दा अप्टिमाइजेसन गरी १४४ मेगावाट निर्धारण गरिएको हो ।

सामान्यत: क्यू ४० मा १०० मेगावाटमा डिजाइन गरिएको एउटा कुनै आयोजना, क्यू ३० मा डिजाइन गरियो भने लगभग १४५ मेगावाटसम्म क्षमता बन्न सक्छ भने क्यू ५० मा त्यसै गरी जडित क्षमता घट्ने हुन्छ । हाल, नुवाकोटमा सञ्चालित ६० मेगावाटको माथिल्लो त्रिशूली ३ 'ए' क्यू ७० मा डिजाइन गरिएको हो । त्यसैले, अन्य क्यू ४० का विद्युत्‌गृहहरू सुख्खायाममा आफ्नो एक चौथाइ क्षमतामा चलेको बेला त्यहाँ भने ५५-६०% क्षमता भन्दा कम घटेको पाइएको छैन । अर्थात्, यसको सुख्खायामको ऊर्जा उत्पादन राम्रो (बढी) मानिन्छ ।

वि.सं. २०८१ सालमा असार २१ गते शुक्रबार रातीबाट परेको अविरल वर्षका कारण अधिकाशं जलविद्युत्‌गृहबाट विद्युत् उत्पादन घटाउनु परेको थियो । केही उत्पादन केन्द्रहरू त केही समयलाई पूर्ण रूपमा बन्द नै गर्नु परेको थियो । भर्खरै सुख्खायाममा (वि.सं. २०८० को हिउँददेखि वि.सं. २०८१ को जेठसम्मै) समेत नदीहरूमा पानीको बहाव घटेर कम क्षमतामा उत्पादन भएको घटना ताजै छ ।

जिज्ञासा हुन सक्छ, हिउँदमा त जलवायु परिवर्तनका कारण नदीमा जलप्रवाह घटेर विद्युत् उत्पादनमा कमी आयो तर बर्खामा जडित (पूर्ण) क्षमतामा किन उत्पादन हुन नसकेको होला ? जबकि, पानीको बहावको कुनै कमी हुँदैन, बहावको बाढी नै आएको हुन्छ । जिज्ञासा स्वभाविक हो । यसको प्राविधिक कारणबारे यहाँ प्रष्ट पार्ने कोसिस गरिएको छ :

एउटा जलविद्युत् आयोजनामा बाँधक्षेत्र (हेडवर्क्स) देखि विद्युत्‌गृह (टेलरेस) सम्म विभिन्न अंगहरू हुन्छन्, जस्तै: हेडवर्क्समा पानी फर्काउने बाँध, बराज, फलामे डाइभर्सन गेटहरू । सामान्य अवस्थामा ती डाइभर्सन गेट तल झारेर पानी इन्टेक वा नहरतिर हालिएको हुन्छ । पानी हाल्ने ठाँउमा पानीसँग बगेर आउने नदीजन्य फोहोर (ढुंगा, मुढा, रूख, प्लाष्टिकजस्ता ट्रास) लाई रोक्न ट्रयासर्याक नामको बार जस्तो फलामे संरचना हुन्छ भने केही ठूला गिटी, ढुंगा, गाभेलहरू रोक्न ग्राभेल ट्रयाप नामको संरचना हुन्छ ।

त्यसभन्दा अगाडि (डाउन स्ट्रीमतर्फ) पानीसँगै मिसिएर आउने बालुवा थिग्र्याउन वा विद्युत्‌गृहमा जान नदिन बालुवा थिगार्ने पोखरी (डिसेन्डिङ बेसिन) हुन्छ । त्यो पोखरीमा वालुवा मिश्रित पानी फ्याक्ने (फ्लस गर्ने) साना गेट तथा भल्भ हुन्छन् । सो पोखरीबाट बालुवारहित पानी फोरवे, नहर र मुख्य सुरुङ वा पाइप हुँदै विद्युत्‌गृहतर्फ जान्छ । नदी/खोलाहरूमा बाढी आएको बखत पानीसँगै अत्याधिक मात्रामा ढुंगा, मुढाहरू, लेदो र वालुवा पनि आएको हुन्छ ।

उल्लिखित हरेक संरचनाहरू तोकिएको अधिकत बहावका लागि डिजाइन गरिएका हुन्छन् । बाढी आउँदा बाँधस्थलका गेटहरू त खोल्नै पर्छ । खोल्दा पनि अधिक मात्रामा आउने ट्रयास, फोहोरमैला, ढुगां मुढाहरूले ती संरचनाहरूमा क्षति गर्न सक्ने, वालुवा थिगार्न पोखरीको आफ्नो क्षमताभन्दा बढी वालुवा, गिटीहरू थुप्रिएर त्यसको निकास हुने प्वाल/मार्ग नै अवरुद्ध हुने समस्या पनि सिर्जना हुन्छ । वालुवा फाल्ने पोखरीलाई सञ्चालन गर्दा कहीँ आंशिक र कहीँ पूर्ण रूपमा विद्युत् उत्पादन बन्द हुने गर्छ ।

किनकि, सामान्य अवस्थामा मात्र त्यहाँका आउटलेट गेट बन्द हुन्छन्  तर फ्लसिङ गर्दा गेट खोलनुपर्ने कारणले  विद्युत्‌गृहतर्फ आवश्यक बहाव नपुग्ने हुन्छ । वा कहीकही चै, सुरुङतर्फ जाने गेट नै झारेर पानी पठाउने कार्य रोक्नुपर्दा उत्पादन बन्द गर्न पर्ने हुन्छ । अझ गत शुक्रबार/शनिबार जस्तो बाढी आउँदा ट्रयासर्याक, इन्टेक संरचना, डिस्यान्डरहरूले आफ्नो क्षमताले नभ्याउने हुँदा विद्युत्‌गृहतर्फ पानी नपठाई खोलातर्फ निकास हुने प्रायः सबै गेटहरू खोल्ने गरिन्छ, जसले विद्युत् उत्पादन अवरुद्ध हुने गर्छ ।

थप कुरो, सबैजसो जलविद्युत् संरचनामा पानीको निश्चित बहावभन्दा बढी मात्रामा बाढी आएमा, प्लान्ट सट डाउन (उत्पादन पूर्ण बन्द) गर्न सुझाइएको हुन्छ । जस्तै: १४४ मेगावाटको कालीगण्डकी 'ए' केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न ११५ मिटर पानीको हेड र १४१ क्युमेक्स (१४१ घनमिटर प्रतिसेकेण्ड) पानीको बहाव चाहिन्छ भने, खोलामा २००० क्युमेक्सभन्दा बढी पानी आएमा विद्युत्‌गृह सञ्चालन नगर्ने भनी सञ्चालन निर्देशिकामा उल्लेख छ ।

त्यसैगरी, माथिल्लो तामाकोसीमा ८२२ मिटरको उच्च हेड छ भने पूर्ण क्षमता उत्पादनको लागि ६६ क्युमेक्स पानी चाहिन्छ तर २५० क्युमेक्सभन्दा बढी पानी आएमा विद्युत्‌गृह नचलाउने निर्देशिकामा उल्लेख छ । यो शनिबार उक्त दुई आयाेजनाको बाँधक्षेत्रमा क्रमशः ४३२० क्युमेक्स र २८५ क्युमेक्स पानीको बहाव मापन गरिएको छ । जुन अत्याधिक लेदो, बालुवा र नदीजन्य फोहोर मिश्रित भएकोले, निर्देशिका अनुसार तथा उल्लिखित संरचनाहरूको सुरक्षाका लागि १० घन्टाजति उक्त २ प्लान्ट बन्द गरिएकाे थियाे । अन्य धेरै जलविद्युत्‌गृहहरू पनि केही घन्टा बन्द गरी पुनः सञ्चालनमा ल्याइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३