विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको पछिल्लो निर्माण प्रगति करिब ८० प्रतिशत पुगेको छ । यो ठेक्का सम्झौता भई निर्माण सुरु भएको झन्डै ७ वर्षभन्दा बढी समयको उपलब्धि हो ।

आयोजनाको सबै काम पूरा गरेर बिजुली बाल्न अझै एक वर्षभन्दा बढी लाग्ने देखिएको छ । केही महिना अघि स्थलगत निरिक्षणमा गएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले २०७९ बैशाख १ गते आयोजनाबाट बिजुली उत्पादन हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

शाक्यले निर्देशन दिए पनि त्यो मितिमा विद्युत् उत्पादन हुने सम्भावना कमै देखिन्छ । किनकि, अझै २० प्रतिशत भौतिक काम बाँकी छ । काम पूरा भएपछि पनि सिभिल (सफाइ, कंक्रिटिङ, लाइनिङ, ग्राउटिङ), हाइड्रो तथा इलेक्ट्रो मेकानिकलतर्फ उपकरण जडानमा पर्याप्त समय लाग्छ ।

लट–१ (सिभिल तथा हाइड्रो मेकानिकल) को काम गर्न २०७० पुस २१ गते चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई) सँग ठेक्का सम्झौता भएको थियो । उसले काम सुरु गरेकै ७ वर्ष ३ महिनाभन्दा बढी भइसकेको छ ।

यस्तै, लट–२ (इलेक्ट्रो मेकानिकल) को काम गर्न २०७१ साउन १५ गते भारतीय कम्पनी भोइथ हाइड्रो प्रालिसँग सम्झौता भएको थियो । यसले काम सुरु गरेको पनि करिब ७ वर्ष भइसकेको छ ।
सबै क्षेत्रको काम भइरहँदा बाढी–पहिरो, भूकम्प, भारतले गरेको नाकाबन्दी जस्ता प्राकृतिक प्रकोपबाट आयोजना प्रभावित हुँदै आयो । पछिल्लो समय विश्वव्यापि रूपमा फैलिएको कोरोना महामामारीका कारण आयोजनाको निर्माण एक वर्ष प्रभावित हुन पुग्यो ।

कोरोनाका कारण भएको लकडाउन खुले पनि चिनियाँ नाका बन्द रहँदा उपकरण ल्याउन र समय दिएर काम गर्न नसकिएको आयोजना प्रमुख छबि गैरेले बताए । यी प्राकृतिक विपद्काबीच पनि आयोजनाको निर्माण भइरहेको छ । यद्यपि, रसुवागढीको माउ कम्पनी चिलिमे र प्राधिकरणले पर्याप्त मात्रामा समन्वय र सहजीकरण नगर्दा आयोजनाको कामले भने जसरी गति लिन सकेको छैन ।

निर्माण क्षेत्रमा हिउँद होस् वा बर्खा बर्षको ६ महिना पहिरो गएर कामै गर्न नसकिने हुन्छ । बाढीको त्रास, बर्खा वा हिउँद दुवै समयमा निरन्तर गइरहने पहिरो र यसको रोकथाम गर्दै काम गर्न सधैं नयाँ–नयाँ आयोजना निर्माण गर्नु सरह हुने गरेको छ । यसमा कम्पनीको व्यवस्थापन तथा माउ कम्पनीका प्रमुखले पर्याप्त ध्यान पुर्याएको वा सहजीकरण गरिदिएको देखिँदैन ।

उता यो भन्दा बढी समस्या त प्रसारण लाइन निर्माणको छ । तोकिएको मितिमा सबै काम पूरा भएर बिजुली उत्पादनका लागि आयोजना तयार भए पनि प्रसारण लाइन सकिने संकेत देखिँदैन । प्रवर्द्धक रसुवागढी हाइड्रो पावर लिमिटेडले छनोट गरेको बदनाम, गैरजिम्मेवार र एउटा विवादित ठेकेदारका कारण सिंगो आयोजना प्रभावित भइरहेको देखिन्छ ।

लट–३ अर्थात् प्रसारण लाइनको काम गर्न कम्पनीले २०७४ असार १ गते मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । करिब ४ वर्ष बित्न लाग्दासम्म यो कम्पनीले २० प्रतिशत पनि काम गरेको देखिँदैन । आयोजनाको विद्युत्गृहदेखि चिलिमे हब सबस्टेसनसम्म जम्मा १० किलोमिटर प्रसारण लाइन ४ वर्षसम्म पनि पूरा नहुनुमा ठेकेदारको लापरबाही देखिन्छ ।

यो ठेकेदारले प्राधिकरणका करिब २०–२२ वटा प्रसारण लाइनको ठेक्का लिएको छ । धेरै आयोजनाको हात हालेको कम्पनीले कुनैमा पनि सन्तोषजनक काम गर्न सकेको छैन । यस्तो बदनाम ठेकेदारलाई पुनः छनोट गरी नयाँ ठेक्का दिनुमा पनि प्राधिकरण व्यवस्थापनको लापरबाही र मिलेमतो हुने गरेको देखिन्छ ।

कर्मचारी सञ्चय कोषको वित्तीय सहयोगमा निर्माण भइरहेको आयोजनाको ऋण र विद्युत् खरिद सम्झौता (पिपिए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि कम्पनीको सञ्चालक समितिले ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ प्रक्षेपण गरेको थियो । यही लागतमा निर्माण पूरा भए रसुवागढी प्रतिमेगावाट १३.७० करोड रुपैयाँमा सकिन्छ ।

निर्माणको प्रगति

बाँधस्थल : बाढी–पहिरोजन्य प्राकृतिक प्रकोपले पटक–पटक अवरोध पुर्याएको बाँधस्थलको निर्माण आउने बर्खा अघि पूरा गर्ने लक्ष्य राखिएको छ । २०७८ जेठ दोस्रो सातासम्म बाँध क्षेत्रको सबै काम पूरा हुने आयोजना प्रमुख गैरेले बताए ।

‘प्रत्येक बर्खामा आउने ठूलो बाढीले कफर बाँध लगायत स्थायी संरचना भत्काउँदा त्यसको पुनर्निर्माण गरी काम अगाडि बढाउँदा थप समय लाग्ने गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले अन्डर स्लुइस, इन्टेक, वायर अन्तिम चरणमा र प्रोटेक्सन (रोकथाम) का काम भइरहेका छन् ।’ उनका अनुसार लट–१ को ठेकेदारले अहिलेसम्म ८५ प्रतिशत काम पूरा गरेको छ । 

डिस्यान्डर (बालुवा थिग्र्याउने पोखरी) : भोटेकोसी नदीमा बाँध बाँधेर सुरुङभित्र पठाइएको पानी थिग्र्याउन ३ वटा भूमिगत डिस्यान्डर निर्माण गरिँदैछ । पहिलो र दोस्रो पोखरी खनेर ढलानसमेत पूरा भइसकेको छ । तेस्रोको काम करिब ६० प्रतिशत पूरा भएको छ । यसको फ्लसिङ प्रणाली (बालुवा बगाउने) मा जडान गर्ने स्टिल पाइप जडानको तयारी भइरहेको गैरेले जानकारी दिए ।

मुख्य सुरुङ : आयोजनाको ४.१८५ किलोमिटर मुख्य सुरुङ करिब साढे २ वर्ष अगाडि अर्थात् २०७५ भदौ ४ गते पूरा भएको थियो । अहिले सुरुङमा कंक्रिटिङ, लाइनिङ लगायतका काम भइरहेको छ । अब १४०० मिटर कंक्रिटिङ र १२०० मिटर ग्राउटिङको काम बाँकी रहेको गैरेले बताए । साथै, अडिट (सहायक सुरुङ) को मुख टाल्ने कामसमेत भइरहेको छ ।

सर्ज साफ्ट : गैरेका अनुसार ६१.५ मिटर अग्लो र १६ डायमिटरको सर्ज साफ्ट खन्ने काम करिब ५० प्रतिशत पूरा भएको छ । अप्ठ्यारो पहुँचमार्ग, हिउँदमा पनि सुख्खा पहिरो गइरहने भौगोलिक बनावटका कारण कामलाई तीव्रता दिन समस्सया भइरहेको उनको भनाइ छ । यद्यपि, २०७८ फागुन ६ गतेसम्म यसको काम सक्ने लक्ष्य राखिएको छ ।

हरेक वर्षको बर्खामा पहिरो जाने हुँदा त्यसको संरक्षण, नियन्त्रण र रोकथाम गरेर काम गर्नु पर्दा ६ महिनाभन्दा बढी काम गर्न नसकिने बाध्यता रहेको गैरेले बताए । अन्य प्राकृतिक प्रकोपका साथै यिनै कारणले लक्ष्यअनुसार आयोजनाको प्रगति हुन नसकेको स्वीकारे ।

पेनस्टक पाइप : अहिलेसम्म १३३ मिटर अग्लो पेनस्टक पाइप जडानको काम पूरा भएको छ । यसको कंक्रिटिङ र लाइनिङको कामसमेत पूरा भइसकेको आयोजनाले जानकारी दिएको छ ।

विद्युतगृह : विद्युत्गृहमा सिभिलसम्बन्धी सबै काम पूरा भएको तर फिनिसिङ (सफाइ लगायत काम) बाँकी छ । विद्युत्गृहमा उपकरण जडान गर्ने अर्थात् इलेक्ट्रो मेकानिकल ठेकेदार भोइथले कोरोना महामारीका कारण २०७६ चैत ८ गते एकतर्फी रूपमा आयोजनास्थल छोडेर गएको हुँदा काम प्रभावित भइरहेको छ । ठेकेदार अझैसम्म पूर्णरूपमा परिचालन हुन नसकेको हुँदा काम प्रभावित भइरहेको गैरेले बताए ।

आयोजनाका अनुसार विद्युत्गृहमा जडान हुने इलेक्ट्रो मेकानिकल सामान करिब ८० प्रतिशत निर्माणस्थलमा आइसकेका छन् । तिनलाई बर्खाअघि सुरक्षित स्थानमा भण्डारण गरी ठेकेदारलाई दबाब दिएर काम गराउने गैरेको भनाइ छ ।

टेलरेस (पानी निकास सुरुङ) : विद्युत्गृहबाट निस्केको पानी सुरक्षित तरिकाले पुनः नदीमै पुर्याउन टेलरेस सुरुङ निर्माण गरिन्छ । कमजोर भौगोलिक कारणले गर्दा सन् २०१९ को जुन अन्त्यबाट मात्र यसको काम सुरु गरिएको थियो । पहिरो तथा भू–स्खलनको रोकथाम गर्दै काम गर्नुपर्ने हुँदा काम गति सुस्त देखिन्छ । २०७८ कात्तिक अन्तिमसम्म यसको सबै काम पूरा गर्ने लक्ष्य राखिएको छ ।

प्रसारण लाइन : आयोजना निर्माणतर्फको सबैभन्दा खराब पक्ष प्रसारण लाइनकै काम देखिएको छ । विद्युत्गृहदेखि २२० केभी चिलिमे हब सबस्टेसनसम्म निर्माण गर्नुपर्ने १० किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम करिब ४ वर्षमा आधा पनि पूरा भएको छैन । विवादित ठेकेदार मुडभरि एन्ड जोशीले निर्माण हुनुपर्ने ३२ वटा टावरमध्ये अहिलेसम्म १६ वटाको जगमात्र निर्माण गरेको छ ।

जगको ढलान गरेर टावर ठड्याउने, तार तान्ने लगायत सबै काम बाँकी छ । यो ठेकेदारले प्राधिकरणका धेरै प्रसारण लाइनको ठेक्का लिएको हुँदा सबै ठाउँमा समस्या छ । क्षमता देखाएरभन्दा कमिसन वा घुस ख्वाएर ठेक्का हात पार्ने, सीमित कामदारबाट काम गराउने, निर्माणस्थलमा पर्याप्त कामदार परिचालन नगर्ने जस्ता समस्याले यहाँको काम पनि हुन सकेको छैन ।

आयोजनाको सबै काम पूरा भएर बिजुली बाल्ने अवस्थामा पुग्यो भने प्रसारण लाइनकै कारण उत्पादन रोकिने सम्भावना देखिन्छ । यसलाई प्राधिकरणको उच्च व्यवस्थापनले दबाब नदिँदासम्म प्रसारण लाइनको काम समयमै पूरा हुने अवस्था देखिँदेन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३