काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रजेश विक्रम थापाबीच कार्य सम्पादन करार सम्झौता सम्पन्न भएको छ । सचिव आचार्य र चार वर्षे कार्यकालका लागि एचआइडिसिएलको सिइओ नियुक्त भएका थापाले आइतबार मन्त्रालयमा आयोजित एक समारोहकाबीच उक्त सम्झौता गरेका हुन् ।
सम्झौता अनुसार एचआइडिसिएलले जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने, सार्वजनिक–निजी साझेदारीमा परियोजना प्रवर्द्धन कार्य अघि बढाउनुपर्ने, आन्तरिक क्षमता विकास गर्नुपर्ने तथा वित्तीय पारदर्शिता कायम गर्दै कार्य सम्पादन गर्नुपर्ने छ । सम्झौतामा कम्पनीका नीति तथा योजना, लगानी संरचना, परियोजना कार्यान्वयन, आर्थिक व्यवस्थापन, संस्थागत सुदृढीकरण र पारदर्शितालाई विशेष प्राथमिकता दिइएको छ ।
त्यस अवसरमा ऊर्जा सचिव आचार्यले कम्पनीले राखेका मुख्य कार्यसूची, उपलब्धि र नतिजामूलक सूचकहरूलाई आधार बनाएर थप लक्ष्यसहित कार्यसम्पादन करार गरिएको बताए । जलविद्युत् विकासमा सरकारको दीर्घकालीन योजना कार्यान्वयनमा एचआइडिसिएलको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
‘लगानीको वातावरण सुदृढ पार्न, सार्वजनिक विश्वास आर्जन गर्न र साना–ठूला सबै आकारका आयोजनाको वित्तीय व्यवस्थापनमा पारदर्शिता कायम गर्न कार्यसम्पादन करार महत्त्वपूर्ण उपकरण हो,’ उनले भने ।
कार्यक्रममा सिइओ थापाले कार्यसम्पादन करारलाई संस्थागत उत्तरदायित्व, परिणाममुखी नेतृत्व र पारदर्शिताको आधार मान्दै सम्झौताअनुसारका लक्ष्य प्राप्तिमा आफू पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, ‘हामी हाम्रो संस्थालाई मुलुकको जलविद्युत् लगानीको मेरुदण्डको रूपमा अघि बढाउन चाहन्छौँ, र त्यसका लागि नीति, परिणाम र निष्पक्षता हाम्रो आधार हुनेछ ।’
कार्यसम्पादन करारलाई सार्वजनिक संस्थाहरूमा सुशासन, पारदर्शिता र नतिजामूलक कार्यशैली विकासका लागि प्रभावकारी अभ्यास मान्ने गरिएको छ । यसले संस्था र नेतृत्व दुवैको जवाफदेहिता र भूमिकामा अझ स्पष्टता ल्याउने विश्वास गरिन्छ ।
कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरू तथा मन्त्रालयका सह–सचिवहरूको उपस्थिति रहेको थियो ।