काठमाडौँ । म्याग्दीमा १२.५ मेगावाटको म्याग्दी खोला–बी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सुश्मित इनर्जी प्रालिले प्रवर्द्धनगर्न लागेको उक्त आयोजना निर्माण अघि बढाउन कम्पनीले उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
आयोजनाको पछिल्लो सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) प्रतिवेदन र प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) प्रतिवेदन अनुसार जिल्लाको धवलागिरि गाउँपालिकामा पर्ने म्याग्दी खोलाको पानी सदुपयोग गर्दै ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाको क्यास्केड आयोजना निर्माण गर्न लागिएको हो ।
आयोजना अन्तर्गत म्याग्दी खोला जलविद्युत् आयोजनाको टेलरेसबाट निस्कने पानीलाई एप्रोच कल्भर्टद्वारा २४ मिटर लम्बाई, ८ मिटर चौडाइ र ६.२५ मिटर उचाइ भएको हेडपोन्ड निर्माण गरी पानी सङ्कलन गरिने छ । उक्त पानीलाई ४४५ मिटर लामो हेडरेस सुरुङ र २०४ मिटर लामो पेनस्टक पाइइपमार्फत १३५९.६५ मिटर लम्बाइ, १९ मिटर चौडाइ र १६.६० मिटर उचाइ भएको सतही विद्युत्गृहमा लगी विद्युत् उत्पादन गरिने छ । आयोजनाका संरचाहरू धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण गरिने छ ।
विद्युत् गृहमा २ वटा उत्पादन युनिट रहने आयोजनाबाट वार्षिक सरदर ७३.३० गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । आइइई प्रतिवेदन अनुसार आयोजनाबाट २०८५ वैशाखसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।