निङ्बो (चीन) । साङ्घाई सहयोग संगठन (एससिओ) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले शुक्रबार निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यबारे छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा चीनका ऊर्जा प्रशासक वाङ होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार पूर्णरूपमा तयार रहेको स्पष्ट पारे । उनले दुई देशबीच ऊर्जा सुरक्षाको अभिप्रायले दीर्घकालीन सहकार्यका ढोका अझ फराकिलो बनाउनु पर्नेमा जोड दिए ।
नेपालले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री खड्काले नेपालका ऊर्जा परियोजनामा लगानी र प्रविधि हस्तान्तरणको अपेक्षा पनि व्यक्त गरेका थिए ।
दुवै पक्षले आगामी दिनमा प्राविधिक टोलीहरू आदानप्रदान गर्दै सहकार्यको व्यवहारिक पक्षलाई थप संस्थागत बनाउने सहमति गरेका छन् ।
मन्त्री खड्काले चीन सरकारद्वारा प्रप्रदान गरिएको आत्मीय आतिथ्य र एससिओ ऊर्जा मन्त्रीस्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै, आयोजनाको सफल समापनका लागि बधाई ज्ञापन गरे ।