पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदे बाली अलैँची उत्पादनमा ताप्लेजुङ जिल्लाले मुख्य हिस्सा ओगट्दै आएको छ । भोजपुर, धनकुटा, इलाम, पाँचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम मध्ये ताप्लेजुङमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको हो । जिल्लाका ग्रामीण भेगका किसानले यस बालीबाट आर्थिक उन्नति गरिरहेका छन् ।
कृषि विकास निर्देशनालय विराटनगरले प्रकाशित गरेको तथ्याङ्क अनुसार, नेपालमा वि.सं. १८५० तिर पहिलो पटक अलैँची लगाउन सुरु गरिएको थियो । यो अहिले अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने प्रमुख उत्पादन बनेको छ । उच्च चिस्यानयुक्त सेपिलो भूभागमा यसको खेती सफलतापूर्वक गर्न सकिने भएकाले किसानको आकर्षण यस बालीमा बढ्दो छ । पछिल्लो समय बजार मूल्यमा समेत सुधार भएकाले अलैँचीलाई ‘कालो सुन’ भनेर चिन्न थालिएको छ ।
मेवा डेभलपर्स लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको मध्य मेवा जलविद्युत् आयोजना (७३.५ मेगावाट), र शिवा खोला जलविद्युत् आयोजना (९.३ मेगावाट) का प्रभावित स्थानीय किसानसमेत अलैँची खेतीमा सक्रिय रहँदै आएका छन् । यद्यपि, रोगको प्रकोप र उचित प्रविधिको अभावले यसको उत्पादनमा निरन्तर ह्रास आउँदा किसानले अपेक्षित लाभ भने प्राप्त गर्न सकेको देखिँदैन ।
यही पृष्ठभूमिमा मेवा डेभलपर्सले आयोजना प्रभावित कृषकको क्षमता अभिवृद्धि गराउँदै कृषि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले गत वैशाख ३ देखि ९ गतेसम्म मिक्वाखोला गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाहरूमा अलैँची खेतीसम्बन्धी तालिम सञ्चालन गरेको थियो । तालिमका प्रमुख प्रशिक्षक मिक्वाखोला गाउँपालिकाका कृषि शाखा प्रमुख राजकिशोर सिंहले सहभागी कृषकहरूलाई अलैँची खेती सुधारका उन्नत प्रविधि, कीरा र रोगको निर्मूलीकरण तथा कटानीपछिको व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेका थिए । ऊर्जा इएसजी प्रालिले भरोसा नेपाल प्रालिको परामर्श सहयोगमा सञ्चालित उक्त तालिमबाट सहभागी ७५ कृषकले यसबारे ज्ञानसीप हासिल गरी उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
परम्परागत कृषिलाई वैज्ञानिक पद्धतिमा रुपान्तरण गरी कृषकको जिविकोपार्जनमा टेवा पुर्याउन आयोजना गरिएको कार्यक्रममा सहभागी कृषकले सिकेको ज्ञानसिप, विधि र प्रविधिलाई छर–छिमेकमा समेत फैलाउन सके साँच्चै जलविद्युत् आयोजनाको अपेक्षालाई पूरा गर्ने देखिन्छ ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीकै भनाइलाई आधार मान्ने हो भने पनि मेवा डेभलपर्स लिमिटेडले यस क्षेत्रका अग्रज कृषकहरूलाई अलैँची सम्बन्धी तालिम दिई यस क्षेत्रको अलैँची उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाको भनाइ अनुसार ‘अलैँची, जडीबुटी, पर्यटन, पूर्वाधार, मिक्वाखोला गाउँपालिकाको समृद्धिको आधार’ गाउँपालिकाको मुख्य नारा रहेको छ । उक्त नारालाई सार्थक बनाउन यस्ता तालिमले कृषकमाझ गुणस्तरीय अलैँची उत्पादन मार्फत सहयाेग गर्ने देखिन्छ । अझ स्थानीयको माग अनुसार आयोजनाले अलैँची खेतीका लागि विरुवा उपलब्ध गराउन ‘नर्सरी’ निर्माण तथा व्यवस्थापनमा सघाउने हो भने उत्पादनमा अझ वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।
तालिमबाट प्राविधिक ज्ञानको महत्त्व बुझ्दै अलैँची सम्बन्धी पर्याप्त ज्ञान हासिल गरेको र उक्त ज्ञानसिपमार्फत बढी परिमाणमा गुणस्तरीय अलैँची उत्पादनमा लाग्ने प्रतिबद्धता तालिममा सहभागीहरूले जनाएका कारणले पनि पनि भविष्यमा यस क्षेत्रको उत्पादन बढ्ने नै देखिन्छ । कृषिकलाई सघाउन तालिममा सहभागीहरूलाई अलैँचीको स्याहार गर्न सहयोग पुग्ने औजारसमेत आयोजनाले वितरण गरेकोले उत्पादन वृद्धिमा सहजीकरण भएको देखिन्छ ।
कृषकको भावना र अपेक्षालाई ध्यानमा राखेर उन्नत कृषिको प्रवद्र्धन र बजार मूल्यमा एकरुपता कामय गर्न सके यस क्षेत्रकै आर्थिक–सामाजिक विकासमा सुधार आउने देखिन्छ, जसले यस क्षेत्रकै भविष्य उज्ज्वल हुन सक्ने देखिन्छ । प्रवर्द्धक कम्पनीले प्रभावित क्षेत्रको अलैँची खेती सुधारका लागि नर्सरी निर्माण, रोग प्रतिरोधी प्रविधि अनुसन्धान र किसानलाई नियमित तालिम दिने जस्ता कार्य गर्न स्थानीय निकाय र कृषकसँग सदैव हातेमालो गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको हुँदा प्रभाविकारी अलैँची खेती मार्फत यस क्षेत्रको समृद्धिमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।
(लेखक मध्य मेवा जलविद्युत् आयोजनामा वातावरण तथा सामाजिक सुरक्षण व्यवस्थापकको रूपमा कार्यरत छन् ।)