विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मुलुकको जलविद्युत् विकासको इतिहासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । करिब ३ दशकको अवधिमा निजी क्षेत्रले करिब ७ सय २० मेगावाट विद्युत् उत्पादन गरी सरकारलाई उछिनिसकेको छ । जबकि, सरकारी उत्पादन ६ सय ३६ मेगावाटमात्र छ ।

विद्युत् विकासमा संस्थागत तथा व्यावसायिकरूपमा अग्रसर कम्पनी तथा समूह मध्ये अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी पनि प्रमुख हो । यो स्वदेशी पुँजी परिचालन गरेर जलविद्युत् विकास गर्ने पहिलो कम्पनी पनि हो । २०५४ सालमा स्थापना भई विभिन्न होल्डिङ कम्पनीमार्फत अहिले ऊर्जा विकासमा १६ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । करिब ६६ मेगावाटका आयोजना निर्माण भई राष्ट्रिय प्रणालीमा जोडिएका छन् ।

यसैगरी, अरुण भ्याली तथा यसका होल्डिङ कम्पनीहरूमार्फत अहिलेसम्म करिब ५४ मेगावाटका सौर्य र जलविद्युत् गरी ३ आयोजना निर्माणाधीन छन् । सञ्चालनमा रहेका र निर्माणाधीन गरी यस समूहले करिब १२० मेगावाटका आयोजनामा लगानी गरेको देखिन्छ ।

हिजो अरुण भ्याली ऊर्जामा लगानी गर्ने एकल कम्पनी थियो । आज निजी क्षेत्रकै अग्रणी समूह बनेको छ । अरुण भ्यालीले पहिलो पटक संंखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको पिलुवा खोला साना जलविद्युत् आयोजनामा लगानी गरेको थियो । सुरु जलविद्युत्बाट गरे पनि मिश्रित ऊर्जाको अवधारणाअनुसार होल्डिङ कम्पनीमार्फत सौर्य ऊर्जामा समेत लगानी गरिरहेको छ । उता जनता बैंकमा ८ करोड रुपैयाँ लगानी छ ।

कम्पनीका संस्थापक जलविद्युत् व्यवसायी तथा अभियन्ता स्व. हरिबैरागी दाहाल हुन् । त्यतिबेला, डेडराज खड्का, सतिस न्यौपाने, पुष्पनाथ शर्मा र सुभद्रा दाहाल सञ्चालक थिए । केही समयपछि पुष्पनाथ र सुभद्राले कम्पनी छोडे । रिक्त स्थानमा गुरुप्रसाद न्यौपाने र रमेश न्यौपानेको नाम थपेर ५ जना सञ्चालक राखियो ।

सर्वसाधारणको समेत प्रतिनिधित्व होस् भन्ने उद्देश्यले २०६२ सालमा अरुण भ्यालीलाई पब्लिक कम्पनीमा रूपान्तरण गरियो । अहिले कम्पनी स्थापना भएको २२ वर्ष बितिसकेको छ । ३ मेगावाटको सानो आयोजनाबाट सुरु गरेको अरुण भ्याली अहिले ऊर्जा क्षेत्रमा एउटा ब्राण्ड नै बनिसकेको छ ।

लगानी यात्रा

पिलुवा खोला (३ मेगावाट)

संखुवासभामा निर्माण भएको पिलुवा खोला अरुण भ्यालीले लगानी गरेको पहिलो आयोजना हो । २०५६ सालमा निर्माण सुरु भएको आयोजनाबाट साढे ३ वर्षमा अर्थात् २०६० साल असोज १ गतेदेखि विद्युत् उत्पादन भइरहेको छ । यो नै निजी क्षेत्रले स्वदेशी लगानी जुटाएर बनाएको पहिलो आयोजना पनि हो ।

३७ करोड रुपैयाँमा निर्माण पूरा भएको आयोजनामा बैंक अफ काठमान्डूको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाको लगानी थियो । अहिले साना आयोजनामा एउटै बैंकले ऋण लगानी गर्न थाले पनि पिलुवामा धेरै बैंकबाट लगानी जुटाइएको थियो । कम्पनीले विद्युत उत्पादन सुरु भएको ३ वर्षमै बैंकको ऋण तिरेको थियो । यसबाट वार्षिक १९.५४७ गिगावाट घन्टा विद्युत उत्पादन भइरहेको छ ।

रैराङ खोला (५०० किलोवाट) 

अरुण भ्यालीको सहायक रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले धादिङमा ५ सय किलोवाटको आयोजना २०६१ सालदेखि सञ्चालनमा छ । अरू निजी क्षेत्रले निर्माण गरेको आयोजना अरुण भ्यालीले खरिद गरेर आफ्नो स्वामित्वमा ल्याएको हो । आयोजनाले वार्षिक २.३२ गिगावाट घन्टा विद्युत उत्पादन गर्छ ।

रिडी खोला (२.४ मेगावाट)

अरुण भ्यालीले पहिलो आयोजनाको सफल निर्माणपछि होल्डिङ कम्पनीको रूपमा रिडी हाइड्रो पावर कम्पनी स्थापना गर्यो । र, रिडी खोलामा लगानी गर्यो । वार्षि ५ करोड रुपैयाँ आम्दानी गर्दै आाएको आयोजना २०६६ साल कात्तिक १० गतेदेखि सञ्चालनमा छ ।

४० करोड रुपैयाँमा निर्माण सुरु भएको २ वर्षमा आयोजनाको काम पूरा भएको थियो । जसबाट वार्षिक १५.७३ गिगावाट घन्टा विद्युत् उत्पादन हुन्छ । आयोजनामा बैंक अफ काठमान्डूको अगुवाईमा माछापुच्छ्रे र नेपाल एसबिआई बैंकले लगानी गरेका थिए । बैंकको ऋण तिरिसकिएको छ ।

नौगड गाड खोला (८.५ मेगावाट)

नौगड गाड खोला अरुण भ्यालीको अर्को होल्डिङ अपि पावर कम्पनीले दार्चुलामा निर्माण गरेको आयोजना हो । २०७२ साल भदौ २ गते निर्माण सम्पन्न भई आयोजना राष्ट्रिय प्रणालीमा जोडिएको छ । १ अर्ब ४३ करोड रुपैयाँ लागतमा निर्माण पूरा भएको आयोजनाबाट वार्षिक ५३.६४ गिगावाट घन्टा विद्युत् उत्पादन हुन्छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

माथिल्लो नौगड गाड (८ मेगावाट)

माथिल्लो नौगड गाड अपिले निर्माण गरेको दोस्रो आयोजना हो । २०७६ कात्तिक १३ गतेदेखि राष्ट्रिय प्रणालीमा जोडिएको आयोजना १ अर्ब ४४ करोड रुपैयाँमा पूरा भएको थियो । १ अर्ब रुपैयाँ ऋण तथा ४४ करोड रुपैयाँ स्वपुँजी लगानी रहेको आयोजनामा नेपाल एसबिआई र प्रभु बैंकले लगानी गरेका छन् । यसबाट वार्षिक ५१.६९ गिगावाट घन्टा विद्युत् उत्पादन हुन्छ ।

काबेली ‘बी’–१  (२५ मेगावाट)

अरुण भ्यालीकै अर्को होल्डिङ अरुण काबेली पावर कम्पनीले ताप्लेजुङ र पाँचथरको सीमामा काबेली नदीमा काबेली ‘बी’–१ आयोजना निर्माण गरेको छ । यो आयोजना निर्माण सम्पन्न भई २०७६ असोज १६ गतेदेखि सञ्चालनमा छ । यो आयोजनाले वर्षको ८ महिनासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्छ । सुरुमा ४ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा प्रसारण लाइन समस्याका कारण विद्युत उत्पादन गर्ने तालिका धकेलिँदा १ अर्ब रुपैयाँ थपिएको थियो । आयोजनाले वार्षिक १५१.६५ गिगावाट घन्टा विद्युत उत्पादन गर्दछ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ८ बैंकले ऋण लगानी गरेका छन् । 

इवा खोला (९.९ मेगावाट)

५ सय किलोवाटको रैराङ खोला आयोजना स्वामित्वमा रहेको रैराङ हाइड्रो डेभलपमेन्ट कम्पनीले नै इवा खोला आयोजना निर्माण गरेको छ । यो आयोजना निर्माण सम्पन्न भई २०७६ असोज २० गतेदेखि सञ्चालनमा छ । २०७३ जेठदेखि निर्माण सुरु भएको आयोजना १ अर्ब ९५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको थियो । आयोजनामा ६५ प्रतिशत ऋण लगानी र ३५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनाले वार्षिक ५६.६२५ गिगावाट घन्टा विद्युत उत्पादन गर्छ ।

बुटवल सौर्य विद्युत (८.५ मेगावाट)

अरुण भ्यालील ऊर्जामा लगानी विविधिकरण गर्ने क्रममा जलविद्युत्पछि सौर्य विद्युत आयोजनामा लगानी गरेको छ । कम्पनीको सहायक रिडी हाइड्रो पावर कम्पनीले रुपन्देहीमा साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना निर्माण गरेको छ । यो सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । यो नै अहिलेसम्मको निजी लगानीमा बनेको ठूलो सौर्य विद्युत आयोजना हो ।

यो सौर्य विद्युत आयोजनाले २०७७ असोजदेखि विद्युत उत्पादन सुरु गरेको हो । २५ विगाहा क्षेत्रफलमा सौर्य विद्युत आयोजना निर्माण गरिएको छ ।  प्रतिमेगावाट ८ करोड रुपैयाँ लागतमा सौर्य विद्युत आयोजना सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरणले यो सौर्य विद्युत आयोजनाको प्रतियुनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

निर्माणाधीन आयोजना

माथिल्लो चमेलिया (४० मेगावाट) 

अपि पावरले दार्चुलाको चमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलियाभन्दा १३ किलोमिटर माथि पर्छ । अपि पावरले साढे १६ मेगावाटका २ जलविद्युत् आयोजनाको सफल निर्माणपछि माथिल्लो चमेलियाको निर्माण अघि बढाएको हो । यो आयोजनाबाट अबको ३ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

यो आयोजना निर्माण गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७० प्रतिशत (५ अर्ब १८ करोड रुपैयाँ) विभिन्न बैंकले लगानी गर्दैछन् । ३० प्रतिशत (२ अर्ब २२ करोड ) स्वपुँजी लगानी हुनेछ । हिमालयन बैंकको अगुवाईमा ऋण लगानी सम्झौता भइसकेको छ । यो आयोजना सम्पन्न भएपछि १३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । 

चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मेगावाट) 

अपि पावरले नै रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना अघि बढाएको छ । सरकारको मिश्रित ऊर्जा अवधारणाअनुसार कम्पनीले चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना अघि बढाएको हो । यो सौर्य विद्युत आयोजनाको अध्ययन पूरा भई निर्माण सुरु भएको छ । ३३ कारोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौंले २४ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले गर्ने यो लगानी कूल लागतको ७५ प्रतिशत हो । कम्पनीले २५ प्रतिशत (८ करोड २५ लाख रुपैयाँ ) लगानी गर्दैछ ।

काबेली ‘बि’–१ क्यासकेड (९.९४) 

अरुण भ्यालीले होल्डिङ कम्पनीमार्फत नै ९.९४ मेगावाटको काबेली ‘बि’–१ क्यासकेड अघि बढाएको छ । यो आयोजना सञ्चालनमा रहेको काबेली ‘बि’–१ को क्यासकेड हो । काबेली ‘बि’–१ बाट विद्युत् उत्पादन भई निष्केको पानीको उपयोग गरी क्यासकेड आयोजना निर्माण गर्न लागिएको हो । विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ ।

आयोजनामा बैंकको लगानीसमेत जुटिसकेको छ । २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौं (अगुवाई) र कुमारी बैंकले १ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्दैछन् । बैंकले गर्ने लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी स्वपुँजी लगानी हुनेछ । आयोजना सम्पन्न भएपछि वार्षिक ५८.०२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । 

यी आयोजनाबाहेक अरुण भ्याली समूहले १० मेगावाटको माथिल्लो इङ्वा खोला, १५ मेगावाटको काबेली ‘ए’  १५ मेगावाटकै बुदुम खोला, ६.९ मेगावाटको इवाखोला ‘बि’ र तराईका विभिन्न जिल्लामा १४ मेगावाटका सौर्य विद्युत आयोजना निर्माण गर्न अनुमतिपत्र लिएर प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३