विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ १०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

देशको जलविद्युत् विकासमा निजी क्षेत्रको भूमिका अतुलनीय छ । केन्द्रीय प्रणालीमा जडितमध्ये करिब आधा विद्युत् निजी क्षेत्रकै योगदान हो । सरकारले विद्युत् विकासमा निजी क्षेत्रलाई प्रवेश गराएको २५ वर्षमा हासिल भएको यो उपलब्धि प्रशंसनीय मान्न सकिन्छ ।

जलविद्युत्मा सशक्त एवं संगठितरूपमा अघि बढेको कम्पनी हो, सानिमा हाइड्रो पावर । यो कम्पनीले अहिलेसम्म केन्द्रीय प्रणालीमा साढे ३१ मेगावाट जोडिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको चिलिमे कम्पनीपछि ‘सानिमा’ लाई सफल र जिम्मेवार कम्पनी मान्ने गरिएको छ ।विद्युत् उत्पादनमा हाम फालेको निजी क्षेत्रका लागि पनि सानिमा एउटा सफल उदाहरण हो । जलविद्युत्को ज्ञान सिक्ने, सिकाउने र कर्म गर्ने पाठशाला पनि भएको छ, सानिमा । अध्ययन वा कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली (गैरआवासीय नेपाली) को पहलमा कम्पनी स्थापना भयो । अर्थात्, २०५५ साल चैतमा ‘सानिमा हाइड्रो पावर कम्पनी’ जन्मेको हो ।

स्थापनाको करिब दुई दशकमा कम्पनीले ३ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । साढे २ मेगावाटको सुनकोसी, २२ मेगावाटको माई र ७ मेगावाटको माई–क्यासकेड कम्पनीले निर्माण गरेका आयोजना हुन् । उक्त परिमाणको विद्युत्ले केन्द्रीय प्रणालीलाई दरिलो बनाउन सहयोग पुर्याएको छ ।

सुनकोसी (२.६ मेगावाट)

सिन्धुपाल्चोकको धुस्कुनमा सञ्चालित २.६ मेगावाटको ‘सुनकोसी स्मल’ कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो । यसलाई गैरआवासीय नेपालीले लगानी गरेको आयोजनाको रूपमा पनि लिने गरिन्छ । २०५५ सालमा अनुमतिपत्र लिएर आयोजना अघि बढाइएको थियो ।

२०६० सालमा निर्माण सुरु भएको आयोजना २ वर्षमा पूरा भयो । र, उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो । उत्पादन थालेको १२ वर्षपछि २०७१ सालमा जुरेमा पहिरो आयो । त्यसको एक वर्षमै अर्थात् २०७२ बैशाख १२ गते विनाशकारी भूकम्प गयो ।

उक्त दुई प्राकृतिक दुर्घटनाले आयोजना पूर्ण क्षतिग्रस्त भयो । विद्युत्गृह दुई पटक पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । अहिले विद्युत्गहमा कुनै समस्या छैन । र, निरन्तर सञ्चालन भइरहेको छ । यहाँबाट वार्षिक ५ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ ।

सानिमा माई (२९ मेगावाट)

सुनकोसी निर्माणपछि कम्पनीले थप जिम्मेवारी बोध गर्यो । र, २९ मेगावाटका दुई आयोजनाको अनुमतिपत्र लिएर अध्ययन तथा निर्माण अघि बढायो । योसँगै उसको लगानीको दायरा पनि फराकिलो गयो ।

कम्पनीले ईलामको माई खोलामा २२ मेगावाटको माई र ७ मेगावाटको माई–क्यासकेड अघि बढायो । यी दुई आयोजना निर्माण गर्न छुट्टै ‘सानिमा माई हाइड्रो पावर कम्पनी’ स्थापना गरियो । यो सानिमाको सहायक कम्पनी हो ।

माईले २०७१ साल फागुन १४ गते र माई–क्यासकेडले २०७२ माघ २९ गतेबाट व्यापारिक उत्पादन सुरु गरेका हुन् । यी आयोजनाबाट अहिले निरन्तर विद्युत् उत्पादन भइरहेको छ ।

सानिमा माईले ‘माई’ बाट वार्षिक ६२ करोड र माई–क्यासकेडबाट १८ करोड रुपैयाँ आम्दानी गरिरहेको छ । विद्युत् उत्पादन सुरु गरेको २ वर्षमै ‘सानिमा माई’ नाफामा गइसकेको छ ।

कम्पनीले लगानीको दायरा थप फराकिलो बनाउँदै गएको छ । ताप्लेजुङको तमोर नदीमा २ सय ८५ मेगावाटको माथिल्लो तमोर र ७३ मेगावाटको मध्यतमोरमा क्रमशः ८० प्रतिशत सेयर र ४८ करोड रुपैयाँ लगानी गर्दैछ । यसले कम्पनीको आर्थिक क्षमता सबल बन्दै गएको देखिन्छ ।

यस्तै, रामेछापको लिखु खोलामा चालू वर्षदेखि निर्माण हुने २८.१ मेगावाटको तल्लो लिखुमा ४५ करोड लगानी गर्दैछ । उता रसुवामा निर्माण हुने १४.३ मेगावाटको माथिल्लो मैलुङमा पनि कम्पनीको १५ करोड रुपैयाँ लगानी हुनेछ ।

तमोर सानिमा इनर्जी

‘तमोर सानिमा’ सानिमा हाइड्रोको दोस्रो कम्पनी हो । २ सय ८५ मेगावाटको माथिल्लो तमोर निर्माण गर्न कम्पनी स्थापना गरिएको हो । विद्युत् विकास विभागले छिट्टै आयोजनाको उत्पादन अनुमतिपत्र जारी गर्दैछ ।

यस्तै, प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने अन्तिम तयारी हुँदैछ । सम्भाव्यता अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको आयोजनाको काम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने योजना छ ।

सानिमा मिडल तमोर हाइड्रो पावर

तमोर नदीमै सानिमाले ७३ मेगावाटको अर्को आयोजना निर्माण गर्दैछ । यो २ सय ८५ मेगावाटको माथिल्लो तमोरको क्यासकेड हो । आयोजना निर्माण गर्न ‘सानिमा मिडल तमोर हाइड्रो पावर लिमिटेड’ स्थापना गरिएको छ । मिडल तमोरको चालू वर्षभित्रै निर्माण सुरु हुँदैछ ।

प्राधिकरणसँग पिपिए भइसकेको आयोजनाको पहुँचमार्ग, आवासगृह लगायत निर्माणपूर्वको तयारी पूरा भएको छ । अहिले ठेकेदार छनोट प्रक्रिया भइरहेको छ । २०७८ साल भदौबाट उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ४३०.५२ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । यसबाट वार्षिक २ अर्ब ३० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।

स्वेतगंगा हाइड्रो पावर कम्पनी

रामेछापस्थित २८.१ मेगावाटको तल्लो लिखु निर्माण गर्न स्वेतगंगा हाइड्रो पावर कम्पनी स्थापना गरिएको हो । यो आयोजना पनि चालू वर्षभित्रै निर्माणमा जाँदैछ । २०७८ मंसिरबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक १७०.८५ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । यस्तै, वार्षिक ९२ करोड रुपैयाँ आम्दानी हुने जनाइएको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी

रसुवामा १४.३ मेगावाटको आयोजना निर्माण गर्न ‘माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी’ स्थापना गरिएको छ । आयोजना निर्माण गर्न ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा छ ।

२०७७ साल असारमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाबाट ७९.६६ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । र, वार्षिक ४२ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

अध्ययन भइरहेका आयोजना

सानिमा हाइड्रोले अहिले ६९.५ मेगावाटका २ आयोजना अध्ययन गरिरहेको छ । दोलखाको जुमखोला र मैलुङ खोलामा क्रमशः ६२ मेगावाटको जुमखोला तथा ७.५ मेगावाटको माथिल्लो मैलुङको अध्ययन भइरहेको छ ।

सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी

यो सानिमा हाइड्रोअन्तर्गतको परामर्शदाता कम्पनी हो । २०६२ साल वैशाख २२ गते स्थापना भएको कम्पनीले १२ किलोवाटदेखि ४ सय १५ मेगावाटका आयोजनामा परामर्शदाताको काम गरेको छ । मुख्य कम्पनी (सानिमा हाइड्रो) अन्तर्गतका सबै आयोजनाको अध्ययन यही कम्पनीले गरेको छ ।

स्थापनाको १२ वर्षमा देशमा मात्र नभई विदेशमा पनि परामर्शदाताको काम गर्दै आएको छ । अहिलेसम्म पाकिस्तान, अफगानिस्ता, केन्या, लाओस, बेलायतका २० भन्दा बढी जलविद्युत् आयोजनाको अध्ययन, नक्साङ्कन, निरीक्षण गरिसकेको छ ।

उत्कृष्ट सेवा दिएकै कारण २०६९ सालमा यो कम्पनीलाई अन्तराष्ट्रिय गुणस्तर चिन्ह आइएसओ ९००१ः २००८ प्रदान गरिएको थियो । यसले बेलायतस्थित हाइड्रो प्लान कम्पनीसँग पनि सहकार्य गरेर काम गर्दै आएको छ ।

सानिमा माईमा गाभिँदै

विभिन्न संघ संस्थामा मुख्य कम्पनीमा सहायक कम्पनी गाभ्ने वा मर्ज हुने चलन छ । तर, सानिमाको हकमा भने विपरित काम हुँदैछ । माउ कम्पनी ‘सानिमा हाइड्रो’ सहायक सानिमा माईमा गाभिने भएको छ ।

कम्पनीको पुँजी वृद्धि गरी नयाँ आयोजनामा लगानी गर्ने उद्देश्यले मुख्य कम्पनी सहायकमा मिसाउन लागिएको छ । सहायक कम्पनी आर्थिकरूपमा सबल हुँदै गएकाले पनि मुख्य कम्पनी यसैमा गाभ्न लागिएको हो ।

२२ मेगावाटको माई र ७ मेगावाटको माई–क्यासकेड निर्माण गरेको ‘सानिमा माई’ ले थप लगानी विस्तार गर्दैछ । लगानीकर्ताकै सुझावमा यसो गर्न लागिएको जनाइएको छ ।

गाभिएपछि नयाँ कम्पनीको नाम ‘सानिमा हाइड्रो’ रहनेछ । मुख्य र सहायक कम्पनी गाभिँदा सानिमा हाइड्रोको आर्थिक आकार ठूलो हुनेछ । योसँगै ६२ मेगावाटको जुमखोला ७.५ मेगावाटको माथिल्लो मैलुङ ‘बि’ मा लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ ।

माथिल्लो तमोरमा सानिमा माईको ८० प्रतिशत सेयर स्वामित्व रहेकाले व्यावसायिक क्षमता विस्तार हुने दाबी गरिएको छ । लगानीको दायरा पनि फराकिलो हुँदै गएकाले ‘सानिमा माई’ जलविद्युत् उत्पादन गर्ने निजी क्षेत्रको ठूलो कम्पनी हुनेछ । र, खुद्रे कम्पनी खोलेर छरिएको लगानी पनि एकत्रित गर्न मद्दत पुग्ने देखिन्छ 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३