विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भाैगर्भिक सर्भे (जिओटेक्निकल इन्भेष्टिगेसन) काे काम गर्ने ड्रिलरहरू काम छाेडेर हिँडेपछि बझाङस्थित २१० मेगावाटको चैनपुर सेती अर्धजलाशय जलविद्युत आयोजनाको ड्रिलिङको काम रोकिएको छ । नेपाल विद्युत प्राधिकरणबाट ड्रिलिङको जिम्मा पाएको माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले आयोजनाको ड्रिलिङ कार्यमा खटिएका ड्रिलरको पारिश्रमिक नियमितरूपमा भुक्तानी नगर्दा उनीहरू काम छाेडेर हिँडेकाले काम ठप्प हुन पुगेको हो ।

नियमितरूपमा पारिश्रमिक नपाएपछि ड्रिलिङ कार्यमा खटिएका कामदार गत असोजबाट आयोजना स्थलबाट काम छोडेर हिँडे यता काममा फर्किएका छैनन् । उनीहरू हिँडेपछि गत असोज २२ गतेदेखि आयोजनाको काम बन्द छ । माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले ड्रिलिङ कार्यमा खटिएका २ जना कामदारको पारिश्रमिक भुक्तान नगरेकाले त्यसकाे प्रभाव आयोजनाको काममा परेकाे हाे ।

दुवै जना अहिले माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाको सम्पर्कमा छैनन् । पैसा नपाएकै कारण कामदार हिँडेपछि माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले नयाँ कामदार आयोजना स्थलमा पठाउन सकेको छैन । ड्रिलर बाहेकका कामदारले पनि भदौ यताको तलब तथा पारिश्रमिक पाउन सकेका छैनन् । 

बैशाखदेखि साउनसम्म काम गरेको पारिश्रमिक पाएको तर, त्यस यताको भुक्तानी रोकिएको आयोजनामा सहयोगीकोरूपमा कार्यरत स्थानीय भरत रोकायले बताए । ‘के कारणले भुक्तानी रोकियो भन्ने कुरा त मलाई थाहा छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘ड्रिलिङको काममा खटिने मान्छे नहुँदा आयोजनाको काम २ महिनादेखि पूर्णरूपमा ठप्प भएको कुरा साँचो हो । उनीहरू बैशाखदेखि कै पारिश्रमिक नपाएपछि हिँडेको भन्नेसम्म सुनेको हुँ’

सूदुरपश्चिमको गौरवको आयोजना भएकाले चाँडै काम सुरु होस भन्ने पक्षमा स्थानीयबासी रहेको पनि उनले बताए । माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले आयोजनाको ड्रिलिङको काम ७ महिनामा सम्पन्न गरिसक्नु पर्ने थियो । सुरु गरेको १० महिना पुग्न लाग्दा पनि यो काम सम्पन्न हुन सकेको छैन । 

कामदारलाई दिने पारिश्रमिक बापतको रकम निकासा गर्ने निर्देशन प्राप्त नभएकाले भदौदेखिको भुक्तानी अहिलेसम्म नपठाएको माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाकी लेखा प्रमुख शारदा पराजुलीले बताइन् । ‘भुक्तानी दिनु पर्याे भनेर निर्देशन दिनुभएकाे छैन । यतिकै रकम निकासा गर्ने कुरा पनि भएन । भुक्तानीका लागि भनेकाे अवस्थामा प्रक्रिया अगाडि बढ्छ’ उनले भनिन् । 

भुक्तानी गर्नुपर्ने भन्दा ७ लाख रुपैयाँ बढी खर्च देखाएर भ्रष्ट्राचार गर्न खोजिएपछि विवाद उत्पन्न भएकाले माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले लामो समयदेखि कामदारलाई पारिश्रमिक नदिएको साइट इन्चार्ज दिनेश शिवाकोटीले बताए ।

‘सुरुवातका केही महिनासम्म कामदारको भुक्तानीमा कुनै समस्या थिएन,’ उनले भने, ‘दिनु पर्नेभन्दा बढी रकम देखाएर भ्रष्ट्राचार गर्न खोजेको भन्ने सुन्नमा आएकाले त्यसको विरोध हुँदा कामदारको पारिश्रमिक भुक्तानी रोकिएको छ ।’ उनले कामदार र स्थानीय बजारमा इन्धन, सिमेन्ट लगायनका सामाग्री खरिद एवं ढुवानी भाडासहितको सबै रकम भुक्तानी हुनुपर्ने बताए । 

ड्रिलरले कोरोना (कोभिड–१९) कालमा घोषणा भएको खाइपाई आएको तलबको ५० प्रतिशत भत्ता पाउनु पर्ने माग पनि राख्दै आएका थिए । उनीहरूले ३/४ महिनामा १ पटकको सट्टा मासिक तलबकोरूपमा पारिश्रमिक भुक्तानी गर्न माग गरेको शिवाकोटीले बताए ।

ड्रिलिङमा खटिएका कामदार काम छोडेर हिँडेपछि आयोजनाको बाँध क्षेत्रको काम सुरु हुन सकेको छैन । सुरुङमा २ वटा ‘होल’ बनाउन बाँकी छ । अहिलेसम्म ३ वटा ‘ड्रिलिङ होल’ को काम सकिएको छ ।

एउटा होलको काम पूरा हुन बाँकी छ । यो होलमा फाइप अड्किएकाले काम पूरा हुन नसकेको हो । ११० मिटरको सर्ज साफ्टको काम पनि सकिएको छ । विद्युतगृहमा ९० र ५० मिटरका २ वटा होलको काम सकिएको छ ।

अहिले बाहिर आएको जस्तो आयोजनाको काम रोकिएको भन्ने कुरा सत्य नभएको माटो, ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाका निर्देशक अजबसिंह महराले बताए । ‘ड्रिलरहरूले काम छोडेर जानुको पछाडिको कारण भुक्तानी नपाएर भन्ने होइन,’ उनले ऊर्जा खबरसँग भने, ‘आयोजनाको काम रोकियो भनेर कसले भनिरहेको छ ? यो साँचो कुरा होइन ।’

आयोजनाको ड्रिलिङको काम प्रभावित भए पनि बाँकी प्रक्रियागत कार्यहरू नियमित भइरहेका छन् । कामदारले पाउनु पर्ने भुक्तानीको विषय अनुसन्धानको पाटो भएकाले त्यसको प्रभाव आयोजनाको काममा नपरेको आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए ।

ड्रिलिङको केही काम बाँकी रहेकाले माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले भुक्तानीमा पारिश्रमिक भुक्तानीमा समय लगाएको हुनसक्ने उनले बताए । ‘ड्रिलिङको काम अन्तिम चरणमा पुगिसकेको छ । बाँध क्षेत्रमा केही बाँकी छ । त्यस बाहेकका थप काम पनि हामी गर्दैछौं,’ उनले भने ।

श्रेष्ठका अनुसार आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ । आयोजना प्रभावित क्षेत्रको जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्न सार्वजनिक सूचना आह्वान भइसकेको उनले जानकारी दिए ।आयोजना निर्माण गर्न २३० रोपनी निजी जग्गा अधिग्रहण गरिने भएकाे छ ।

चैनपुर सेती सूदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा पहिचान भएको अर्धजलाशय आयोजना हो । जिल्लाको साइपाल र तलकोट गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण हुनेछ । यो १३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यसलाई कम लागतमा बढी प्रतिफल दिने आयोजनाकारूपमा हेरिएको छ ।

यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सुख्खा याममा पनि दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्न ब्याज बाहेक ३६ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३