विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको सुदूरपश्चिम क्षेत्रमा जलविद्युत आयोजना विकास गर्न पुगेको निजी संस्था अपि पावर कम्पनी लिमिटेडले एक–पछि अर्को सफलता हासिल गर्दै त्यस क्षेत्रमा ५६.५ मेगावाट विद्युत उत्पादन गर्न सफल भएको छ ।

कम्पनीले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट सम्पूर्ण परीक्षण पूरा भई उत्पादन सुरु भएपछि अपिले विकास गरेको विद्युत परिमाण सरकार तथा अन्य निजी कम्पनीको भन्दा बढी हुन पुगेको हो । कम्पनीले यसअघि नै दार्चुलाको नौगाड खोलामा ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

गत असारदेखि परीक्षणमा रहेको माथिल्लो चमेलियाको सम्पूर्ण काम पूरा भई आज (साउन ९ गते) देखि निरन्तर विद्युत उत्पादन सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले बताए । ‘विद्युत प्राधिकरणको उपस्थितिमा हुने सबै खालका परीक्षणहरू सकिएका छन्, हामीलाई प्रसारण लाइनको पनि समस्या भएन,’ उनले ऊर्जा खबरसँग भने, ‘आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत अत्तरिया सबस्टेसन पुर्याउन हामीलाई समस्या छैन ।’

विद्युत खरिद सम्झौता (पिपिए) को नियमअनुसार उत्पादन सुरु भएको १५ दिनसम्म आयोजनाले प्राधिकरणलाई निशुल्क बिजुली दिनुपर्छ । त्यसपछि मात्र व्यापारिक उत्पादनको समय तोकिने प्रावधान छ । माथिल्लो चमेलिया त्यस भेगमा निर्माण भएको सबैभन्दा ठूलो आयोजना पनि हो । यसअघि, दार्चुको बलाँचमा प्राधिकरणले ३० मेगावाटको चमेलिया निर्माण गरी सञ्चालनमा ल्याएको छ । उता, बझाङको कालंगा गाड खोलामा निर्माण भएका आयोजनाहरू मध्ये पनि माथिल्लो चमेलिया ठूलो हो ।

विद्युत उत्पादनका लागि प्राधिकरणले तोकेको समय आगामी फागुन १३ गते रहे पनि कम्पनीले झण्डै ७ महिना अगाडि नै आयोजना सञ्चालनमा ल्याउन सफल भएको छ । अपि पावरले निर्माण गरेका मात्र नभई न्यौपाने समूहले निर्माण गर्ने हरेक आयोजना तोकिएको समय र लागतभित्रै त कति तोकिएको समय अगावै सञ्चालनमा ल्याउने गरिएको छ । यस समूहले समय–समयमा अनेक आरोप खेप्दै आए पनि कम्पनीभित्रको व्यवस्थापकीय क्षमता र कामको गतिशीलताकै कारण उसका धेरै आयोजना तोकिएको समय अगावै पूरा हुने गरेको देखिन्छ ।

निर्धारित तालिकाभन्दा अगाडि नै आयोजना सञ्चालन गरेर विद्युत उत्पादनमा सरकारी लक्ष्य पूरा गर्न सहयोग गर्ने कम्पनीलाई ठूला आयोजना विकास गर्न अझ प्रोत्साहन दिनुपर्ने न्यौपानेले बताए । अहिले सञ्चालनमा आएको माथिल्लो चमेलियाको विद्युत विद्युतगृहबाट १६ किलोमिटर दूरीमा रहेको १३२ केभी बलाँच सबस्टेसनमा जोडी त्यहाँबाट १३१ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनसम्म अत्तरिया सबस्टेसनसम्म आइपुग्छ ।

वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुने आयोजनाबाट विद्युत बिक्री गरी पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । पिपिए अनुसार आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्य वृद्धिको सुविधा पाउने छ ।

७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रतिशत हो भने २ अर्ब २२ करोड रुपैयाँ (३० प्रतिशत) स्वपुँजी लगानी रहेको छ ।

अपि पावरले जलविद्युत बाहेक ४ मेगावाटको चन्द्रनिहापुर, १ मेगावाटको ढल्केबर र १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । जलविद्युत, नवीकरणीय ऊर्जा विकाससँगै अब कम्पनी हरित हाइड्रोजन उत्पादनतर्फ अग्रसर रहेको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३