काठमाडौँ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पदन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलबार (२०८१ पुस १६ गते) देखि व्यापारिक उत्पादन सुरु गरेको हो ।
आयोजनाले गत कात्तिक २५ गते आयोजनाका संरचना परीक्षणका लागि १३२ केभी लाइनबाट ‘ब्याक चार्ज’ पाएको थियो । त्यसपछि आयोजनाको विद्युत्गृहमा रहेका प्रत्येक युनिटको ७२ घन्टे ‘ट्रायल रन’ सम्पन्न गरेको थियो । प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) अनुसार सम्पूर्ण परीक्षण सम्पन्न गरी व्यापारिक उत्पादन सुरु गरिएको प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले ऊर्जा खबरलाई बताए ।
‘विभिन्न आरोह अवरोह पार गर्दै रसुवागढी हाइड्रोपावर कम्पनीले हाल व्यावसायिक विद्युत् उत्पादन गर्न सफल भएको छ,’ उनले भने । उनका अनुसार आयोजनाको विद्युत्गृहमा रहेको ३७ मेगावाट क्षमताका ३ युनिट मध्ये हाल दुई ओटा युनिट सञ्चालन गरी ४१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । सुख्खा याम भएकाले हाल नदीमा पानीको बहाब कम हुँदा आयोजनाको उत्पादन एकतिहाईमा सीमित भएको हो ।
आयोजनाबाट मंसिर ५ गते एउटा युनिटबाट ४ मेगावाट विद्युत् उत्पादन गरी ‘ग्रीड सिंक्रोनाइजेशन’ गरिएको थियो ।
यो आयोजनाको निर्माण सन् २०१४ को फ्रेब्रुअरी ६ (२०७० माघ २३ गते) बाट शुरू भएको थियो भने २०१७ जुलाई (२०७४ साउन) मा सम्पन्न गर्ने लक्ष्य थियो । भूकम्प, नाकाबन्दी, कोरोना महामारी (कोभिड–१९), बर्खाको बाढी–पहिरो, हिउँदमा गइरहने सुख्खा पहिरो जस्ता प्राकृतिक अवरोधले सम्पन्न हुने अवधि लम्बिँदै आएको थियो ।
आयोजनाको लट–१ अन्तर्गत सिभिल संरचनाको निर्माण चीनको सीडब्लुई र लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल उपकरणको ढुवानी तथा जडान भारतीय कम्पनी भोइथले गरेका छन् । त्यस्तै, लट–३ अन्तर्गत विद्युत्गृहदेखि चिलिमे हबसम्म जोडिने १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण रोयल कन्स्ट्रक्सन कम्पनीले पूरा गरेको छ ।
आयोजनाको थप विवरण
आयोजना: रसुवागढी जलविद्युत् आयोजना
प्रवर्द्धक: रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड
आयोजनास्थल: रसुवा, गोसाइकुण्ड गाउँँपालिका
लट–१ ठेकेदार (सिभिल तथा हाइड्रो मेकानिकल): चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई)
ठेक्का सम्झौता: २०७० पुस २१ गते
लट–२ ठेकेदार (इलेक्ट्रो मेकानिकल): भारतीय कम्पनी भोइथ हाइड्रो प्रालि
ठेक्का सम्झौता: २०७१ साउन १५ गते ।
लट–३ ठेकेदार (प्रसारण लाइन): सुरुमा मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रालि (पछि एमएस रोयल कन्स्ट्रक्सन कम्पनी)
ठेक्का सम्झौता: जोशी एन्ड मुडभरीसँग २०७४ असार १ गते । एमएस रोयलसँग २०७९ कात्तिक १५ गते
ऋण लगानीकर्ता: कर्मचारी सञ्चय कोष
प्रक्षेपित लागत: ऋण र विद्युत् खरिद सम्झौता (पिपिए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ । ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ
संशोधित लागत: १७ अर्ब १ करोड रुपैयाँ । पुनः संशोधित १८ अर्ब ४७ करोड
पिपिए: हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँ
वार्षिक ऊर्जा उत्पादन: ६१ करोड ३८ लाख ६० हजार युनिट
प्रसारण लाइन: चिलिमे हबसम्म १० किलोमिटर, १३२ केभी
वार्षिक आम्दानी: ३ अर्ब २५ करोड रुपैयाँ