विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारी सेवा त्यसमा पनि विशुद्ध प्राविधिक क्षेत्रमा झण्डै २८ वर्ष बिताएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले एक महिना सेवा अवधि बाँकी छँदै स्वैच्छिक अवकास लिएका छन् । उनले करिब १ महिना अगाडि सरकारसमक्ष पेश गरेको स्वैच्छिक अवकासको पत्रका विषयमा बिहीबार (मंसिर ६ गते) बसेको मन्त्रिपरिषद् बैठकले निर्णय (स्वीकृत) गरेको हो ।

घिमिरेको सेवा अवधि आगामी पुस ८ गतेसम्म थियो । पछिल्लो समय मन्त्रालयमा मात्र नभएर सिंगो ऊर्जा विकासको आधारका रूपमा हेरिएका उनले महिनादिन अगाडि नै सेवा छोड्नु (राजीनामा) लाई चासोका रूपमा हेरिएको छ । सचिवबाट राजीनामा दिएर कुटनीतिक नियोग तथा विकास साझेदार निकायमा सेवा प्रवेश गर्ने विगतका सचिवहरूको उदाहरणलाई मनन् गर्दै घिमिरेले पनि त्यसै गर्न लागेको आकलन गरिएको छ ।

घिमिरेले बिहीबार नै ऊर्जा खबरसँगको कुराकानीमा आफू कतै जागिर खान जानका लागि राजीनामा नगरेको बताए । ‘केही पारिवारिक र व्यक्तिगत काम छन्, तिनको व्यवस्थापन गर्नुपर्ने छ । नियमअनुसार मैले लिनुपर्ने बिदा एक महिना बाँकी थियो, त्यही आधारमा एक महिनासम्म बिदा बस्ने सोचमा थिएँ,’ उनले भने, ‘यसरी बिदा बस्दा मन्त्रालयको काममा असर पुग्ने देखिएकोले अवकास लिनु नै मलाई उचित लाग्यो ।’

आफूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग परामर्श लिएर नै मंसिर १ गतेदेखि लागु हुने गरी राजीनामा दिएको बताए । ‘मन्त्रीज्यूसँग अत्यन्त निकट रहेर सौहार्द्धपूर्ण वातावरणमा काम गर्ने अवसर मिल्यो,’ उनले थपे, ‘यही कारण पनि मन्त्रालयले लिने निर्णयहरू सहजरूपमा अगाडि बढेका थिए ।’

घिमिरे विश्व बैंक तथा एसियाली विकास बैंक (एडिबी) मा उच्चस्तरीय नियुक्ति लिने गरी जान लागेको चर्चा २–३ महिनाअगाडिदेखि भइरहेको थियो । यी सबै कुरा निराधार रहेको र आफूले कहीँ जागिर खाने प्रतिबद्धता नजनाएको उनले प्रस्ट्याए । ‘सरकारी सेवामा रहँदा मेरो कार्यशैली वा परिणामका हिसाबले कसैबाट असन्तृष्टि प्रकट भएजस्तो लागेन,’ उनले खुसी व्यक्त गरे,’ ‘मेरो वृति विकास भयो । पढ्न, बुझ्न र अनुभव हासिल गर्न पाएँ । सरकारी सेवामा रहेकै कारण मैले यत्रो अवसर प्राप्त गरेको हुँ ।’

एक महिना अगाडि नै सेवाबाट बाहिरिँदा २ वर्ष सेवा अवधि थपिने लोभमा सचिव घिमिरेले राजीनामा गरेको चर्चा पनि गरिएको थियो । ऊर्जा खबरले यही प्रश्न उनीसमक्ष राख्दा उनले भने, ‘२०४९ कात्तिक २१ गतेअगाडि सेवा प्रवेश गरेकाहरूको हकमा त्यो लागु हुन्छ तर २०५२ सालमा मात्र सेवा सुरु गरेको हुँदा मेरो हकमा त्यो लागु हुँदैन ।’

२०५२ साल जेठ १४ गते तत्कालीन जलस्रोत मन्त्रालयमा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका घिमिरे २०७५ पुस ९ गते सचिवमा बढुवा भएका थिए । इन्जिनियरमा सेवा प्रवेशलगत्तै उनलाई सुनसरी–मोरङ सिँचाइ आयोजना अन्तर्गत चतरा जलविद्युत केन्द्रमा खटाइएको थियो । त्यहाँ उनले करिब ४ वर्ष जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी स्नातकोत्तर अध्ययन गर्न भारतको रुड्की विश्वविद्यालय पुगे ।

अध्ययन पूरा गरेर उनी २०५९ मा नेपाल फर्के र ७ वर्ष मन्त्रालयमै काम गरे । २०६१ सालमा उनी राजपत्रांकित द्वित्तीय श्रेणी अर्थात् उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) मा बढुवा भए । यो सँगै घिमिरे २०६६ सालमा सुपरिटेन्डेन्ड इन्जिनियर अर्थात् सहसचिवमा बढुवा भएका थिए ।

विद्युत विकास विभागमा करिब ६ वर्ष काम गरेका उनले २०७१ कात्तिक ९ गतेदेखि २०७२ माघ ६ गतेसम्म महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए । ऊर्जा तथा जलविद्युतका नीतिगत विषयमा गहिरो दख्खल भएका उनले सेवा अवधिको अधिकांश समय ऊर्जा मन्त्रालयमै बिताए ।

उनले राष्ट्रिय सतर्कता केन्द्र र जल तथा ऊर्जा आयोगको सचिवालयमा ९/९ महिना सचिवको जिम्मेवारी सम्हालेका थिए । ५ वर्षे सचिव कार्यकालको ४१ महिना उनी ऊर्जा मन्त्रालयकै जिम्मेवारीमा रहे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit