काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पुराना ७ वटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालनमा आएका छन् । काठमाडौँ उपत्यकाकाका पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर ग्रिड सबस्टेसनलाई स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको हो । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्ट बनाउने दीर्घकालीन रणनीतिअनुसार १३ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।
अब उक्त सबस्टेसनहरू मिनभवनस्थित प्राधिकरणको भवनमा बनाइएको नियन्त्रण कक्षबाट सञ्चालन गरिएको छ । स्वचालित सबस्टेसन सञ्चालन तथा नियन्त्रणका लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
स्युचाटार, टेकु, मातातीर्थ, चाबहिल, के ३ र लामोसाँघु गरी बाँकी ६ वटा सबस्टेसन दुई महिनाभित्र स्वचालित प्रणालीमा आबद्ध गरिने छ । स्वचालित सबस्टेसन स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरवाइजरी नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा प्रणाली) मार्फत आबद्ध हुने हुँदा यसबाट एकीकृत प्रणाली सञ्चालन थप मजबुत र स्थिर हुने अपेक्षा गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सबस्टेसन पूर्ण रूपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत् अवरोध न्यून हुने, वास्तविक समयको तथ्याङ्क प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताए । स्वचालित बनेपछि क्रमिक रूपमा मानवरहित अवस्थामा अर्थात् भौतिक रूपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नु नपर्ने उनको भनाइ छ ।
एसियाली विकास बैंक (एडिबी) को विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत प्राप्त भएको सहुलियतपूर्ण ऋणमा सबस्टेसनलाई स्वचालित बनाइएको छ । समग्र आयोजनाको लागत करिब ६१ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, देशभरका बाँकी ६४ वटा ग्रिड सबस्टेसन स्वचालित बनाउन एडिबीको सहुलियतपूर्ण ऋणमा काम भइरहेको छ । उक्त काम आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि सम्पूर्ण ग्रिड सबस्टेसन स्वचालित हुनेछन् ।