विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ ४, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नेपाल आयल निगम परम्परागत ऊर्जा आपूर्तिको मूल जिम्मेवारी बोकेको सरकारको ऐतिहासिक संस्था हो, जसले देशको समग्र अर्थतन्त्र हाँक्ने मुख्य वित्तीय इन्जिनको रूपमा काम गरिरहेको छ । वित्तीय रूपमा यसको विशालता हेर्दा निगमले वर्षमा लगभग ३ खर्ब रूपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थको कारोबार गर्दछ । साथै, विभिन्न कर तथा महसुलमार्फत वर्षमा १ खर्ब रूपैयाँभन्दा बढी राजस्व सरकारी कोषमा बुझाएर नेपाल सरकारको मुख्य आर्थिक मेरुदण्डको रूपमा उभिएको छ ।

निगमको दैनिक सेवा आम जनता, यातायात र उद्योगधन्दासँग चौबीसै घण्टा जोडिएकाले यसले बजारबाट खेप्नुपरेको आलोचना उत्तिकै ज्वलन्त छ । समयमै इन्धन ढुवानी या अन्तर्राष्ट्रिय बजारअनुसार खुद्रा मूल्यमा निरन्तर हुने उतारचढाव जस्ता विषय जहिल्यै कुनै न कुनै समस्याको रूपमा उपभोक्तामाझ रहँदै आएका छन् । अर्कोतर्फ, आजको आधुनिक युगमा निगम केवल परम्परागत जीवाश्म इन्धनको कारोबारमै सिमित रहने वा हरित ऊर्जातर्फ अघि बढ्ने ? आजको यक्ष प्रश्न यही हो ।

यसै पृष्ठभूमिमा निगम हाल एक अत्यन्तै संवेदनशील र ऐतिहासिक मोडमा उभिएको छ, जहाँ यसका संरचनात्मक कमजोरी र विश्वव्यापी जलवायु परिवर्तनका टड्कारा यथार्थ एकै ठाउँ आइपुगेका छन् । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धि (युएनएफसिसी) को दोस्रो एनडिसी लक्ष्यले ऊर्जा बजारलाई तीव्र गतिमा कार्बन तटस्थतातर्फ जान बाध्य पारिरहेका छन् ।

आन्तरिकरूपमा निगमको ढिलासुस्ती मूल्य समायोजन गर्ने परिपाटीले ठूलो वित्तीय सङ्कट निम्त्याएको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्दै निगमले सोही अनुरूप तुरुन्तै मूल्य समायोजन गर्न नसक्ने परिपाटीले निगमले सधैँ जोखिम मोल्नु पारेको छ । यही वित्तीय असन्तुलनका कारण आर्थिक वर्ष २०७८/७९ मा निगमले रु. ३८.३७ अर्बको ऐतिहासिक नोक्सानी बेहोर्नुपर्‍यो । गत आर्थिक वर्ष २०८२/८३ मा मात्र थप रु. १४ अर्बको सञ्चालन घाटा बेहोरेको छ । आफ्नो वित्तीय भविष्य सुरक्षित गर्न, अस्थिर ऊर्जा सङ्कटबाट राज्यकोष जोगाउन र राष्ट्रिय ऊर्जा सार्वभौमिकता सुनिश्चित गर्न निगम केवल परम्परागत एकल जीवाश्म इन्धन आयातकर्तामा मात्र सिमित रहनु घातक छ । यसले आफ्नो संरचनामा आमूल परिवर्तन गरी परम्परागत म्यानुअल सम्पत्ति व्यवस्थापनबाट कर्पोरेट, प्राविधिक र व्यावसायिक विविधिकरणतर्फ फड्को मार्न अनिवार्य भइसक्यो ।

भण्डारण क्षमताको अभाव र हाम्रो यथार्थ निरन्तर नगद प्रवाहका बावजुद हालको वितरण प्रणालीमा ठूला सञ्चालन जोखिम रहेको देखिन्छ, जसमध्ये अधिक केन्द्रिकृत भण्डारण मोडल सबैभन्दा खतरनाक हो । निगमको कुल राष्ट्रिय पेट्रोलियम भण्डारण क्षमता केवल १,०२,३०४ किलोलिटर मात्र रहेकोमा देशको दैनिक औसत खपत ७,४६० किलोलिटरको तुलनामा यो १३ दिनको राष्ट्रिय माग धान्न सक्ने तथ्याङ्क हो । यसको विपरीत भारत र चीनमा क्रमशः ७४ दिन र ३० दिनका लागि रणनीतिक इन्धन भण्डारण रहेको देखिन्छ । खाना पकाउने ग्यासको अवस्था त झन् नाजुक छ, जसको भण्डारण क्षमता ६ दिनको मात्र छ । सीमित क्षमता रहँदा नेपालका राजमार्गमा पहिरो जाँदा, नाकाबन्दी हुँदा वा क्षेत्रीय आपूर्तिमा समस्या आउँदा सेकेन्डभरमै ऊर्जा सङ्कटको चपेटामा परिरहेको छ । यसका अतिरिक्त नेपाल इन्धन आयातमा पूर्णतः एउटै आपूर्ति संस्था—इन्डियन आयल कर्पोरेटमा मात्र निर्भर रहँदा सीमामा आउने सामान्य अवरोधले पनि देशको ऊर्जा सुरक्षामा तुरुन्तै गम्भीर समस्या खडा गर्छ ।

भण्डारण क्षमताको अभाव र हाम्रो यथार्थ निरन्तर नगद प्रवाहका बावजुद हालको वितरण प्रणालीमा ठूला सञ्चालन जोखिम रहेको देखिन्छ, जसमध्ये अधिक केन्द्रिकृत भण्डारण मोडल सबैभन्दा खतरनाक हो ।

स्मरणीय छ, तत्कालीन भण्डारण सङ्कट भर्खरैको व्यवस्थापनको कमजोरी वा असफलताको निचोड कदापि होइन । यसो गर्नु न्यायसङ्गत पनि हुँदैन । यो निगमको स्थापनाकालदेखिकै समस्या हो । व्यवस्थापकीय प्रणाली, दीर्घकालीन नीतिगत निरन्तरता र ऐतिहासिक पूर्वाधार विकासको समग्र वस्तुस्थितिको एउटा सञ्चित परिणामको रूपमा पनि बुझ्नु व्यावहारिक र न्यायसङ्गत हुन्छ ।

यो राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको संवेदनशील विषय भएकोले सतही समस्या मात्र देखाएर राज्यका जिम्मेवार अङ्गलाई कमजोर बनाउनु हुँदैन । दोष थुपार्नु भन्दा सङ्कट आइपर्दा निगमसँग जोडिएका उपभोक्ता, ढुवानीकर्ता, व्यवसायी र सरकार जस्ता समग्र पक्षबाट रचनात्मक सुझाव र सामूहिक प्रतिबद्धता जुटाएर यसलाई समाधान गर्नु आजको टड्कारो आवश्यकता देखिन्छ । यो राष्ट्रिय चुनौतीलाई अवसरमा बदल्न र देशको ऊर्जा सुरक्षा सुनिश्चित गर्न निगमले तत्काल दुई वटा समानान्तर रणनीति अगाडि बढाउनु अपरिहार्य छ :

तत्कालीन सङ्कट समाधान गर्न ‘प्रोएक्टिभ’ र द्रुत उत्तरदायीकार्य : बजारमा आपूर्ति श्रृंखलाको सामान्य अवरोध वा अभावको त्रास उत्पन्न हुनासाथ नागरिकलाई इन्धन अभावको मनोवैज्ञानिक डरबाट आश्वस्त पार्न निगमले अत्यन्तै सक्रिय र द्रुत उत्तरदायी कदम चाल्नुपर्ने देखिन्छ । सीमा वा आपूर्ति मार्गमा हुने प्राविधिक अवरोध तुरुन्तै कूटनीतिक र प्रशासनिक च्यानलमार्फत समन्वय गरी आपूर्ति श्रृंखलालाई सहज बनाउंनुपर्ने आवश्यकता छ । साथै, बजारमा ग्यास, पेट्रोल र डिजेलको कृत्रिम अभाव हुन नदिन कडा अनुगमन गर्दै सरोकारवाला सबैसँग तत्कालै बलियो डिजिटल र प्रशासनिक समन्वय कायम गर्नुपर्छ । ताकी, नागरिकको दैनिकी सास्तीपूर्ण नहोस् । राज्यप्रतिको भरोसा अटुट रहोस् ।

मध्यकालीन तथा दीर्घकालीन मार्गचित्र : तत्कालीन राहत र चुस्त व्यवस्थापनसँगै भविष्यको सम्भावित सङ्कट सधैँका लागि समाधन गर्न मध्यकालीन र दीर्घकालीन रणनीतिमा अहिल्यैदेखि विशेष जोड दिनुपर्छ । नेपालको सातै प्रदेशमा साधारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको अनिवार्य ३० दिने रणनीतिक इन्धन भण्डारण क्षमता विकास गर्ने पूर्वाधार निर्माण युद्धस्तरमा अगाडि बढाउंनुपर्ने देखिन्छ ।

रणनीतिक पूर्वाधार विस्तार गर्न सातै प्रदेशमा बल्क स्टोरका लागि जग्गा पहिचान, खरिद र अतिक्रमणमुक्त गर्नुपर्छ । साथै, उच्च–मूल्यका सरकारी सम्पत्ति वा जग्गा मिचिने जोखिमबाट जोगाउन तत्कालै स्थायी कङ्क्रिटको सुरक्षा पर्खाल र अत्याधुनिक सिसिटिभी निगरानी प्रणाली जडान गर्नुपर्ने टड्कारो अवस्था देखिन्छ । कर्णाली र सुदूरपश्चिमजस्ता पूर्वाधार नपुगेका क्षेत्रमा स्वचालित अग्नि नियन्त्रण प्रणाली सहितका आधुनिक ‘ग्रीनफिल्ड’ पेट्रोलियम भण्डारण हब निर्माण गर्नुपर्छ । प्राकृतिक विपत्तिका बेला खोज, उद्दार र हवाई उडानबिना अवरोध सुचारु राख्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सिमरा र भरतपुरमा बृहत् हवाई इन्धन भण्डारण सुविधाको स्तरोन्नति र विस्तार अपरिहार्य छ ।

रणनीतिक भण्डारणको व्यवस्थापनसँगै निगमलाई विश्वस्तरीय मापदण्डको आधुनिकीकरण र प्रविधिमैत्रीतर्फ लैजान समानान्तररूपमा निम्न नीतिगत तथा प्राविधिक सुधार अगाडि बढाउनु पर्ने देखिन्छ :

स्वचालित सञ्चालन र १५ डिग्री सेल्सियस मापन : तापमानजन्य संकुचन र विस्तारका कारण ढुवानी र परिमाण मापनमा ऐतिहासिकरूपमै ठूलो विसङ्गति हुने गरेको छ । यो प्राविधिक नोक्सानी स्थायी रूपमा अन्त्य गर्न निगमले सबै ट्रान्जिट बिल, भन्सार मूल्याङ्कन र डिपोका प्राप्तिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार १५ डिग्री सेल्सियसको सन्दर्भ तापमानमा क्यालिब्रेट अनिवार्य गर्नुपर्ने देखिन्छ । पुराना म्यानुअल डिप–रडको प्रयोगलाई पूर्णतः बन्द गरी स्वचालित ट्याङ्क गेजिङ प्रणाली जडान अनिवार्य छ । ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानी र चुहावट नियन्त्रण गर्न ट्याङ्कर मा भू–उपग्रहमा आधारित रियल–टाइम जिपिएस ट्र्याकिङ र डिजिटल लकिङ प्रणाली जडान गर्नुपर्ने छ ।

उच्च–आवृत्ति स्वचालित मूल्य निर्धारण (७/७ चक्र) : अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार परिवर्तन भइरहन्छ । यसो हुँदा, निगमको वित्तीय अवस्था बलियो राख्न र उपभोक्तालाई समयमै सही मूल्यको लाभ दिन हाम्रो मूल्य निर्धारण प्रणाली चुस्त बनाउनु आवश्यक छ । यसका लागि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्य संसारको वास्तविक बजार लागतसँग सीधा जोडेर प्रत्येक हप्ता (७ दिने चक्रमा) स्वचालितरूपमा समायोजन गर्ने परिपाटी सुरु गर्नुपर्छ । साथै, एलपी ग्यासको मूल्य पनि महिनाबाट १५/१५ दिनको पाक्षिक चक्रमा परिमार्जन गर्दा बढी पारदर्शी हुन सक्छ । यसले निगमलाई ठूलो घाटा हुनबाट जोगाउने अवस्था छ । यस्तै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपाली उपभोक्ताले पनि तुरुन्तै राहत पाउने वातावरण बन्छ ।

व्यावसायिक विविधीकरण र हरित ऊर्जा संक्रमण : निगमको वित्तीय भविष्य सुरक्षित गर्न र इन्धन आयातमा बाहिरिने वैदेशिक मुद्रा जोगाउन स्वच्छ ऊर्जा र आफ्ना जग्गाहरूको व्यावसायिक उपयोग गर्नु आवश्यक छ । यसका लागि पेट्रोलमा १० प्रतिशत स्वदेशी बायोइथानोल मिसाउने कार्य तुरुन्तै सुरु गरी क्रमशः २० प्रतिशत पुर्‍याउने र डिजेलमा ५ प्रतिशत बायोडिजेल मिश्रण गर्ने नीति लिनु आवश्यक छ । यसले इन्धनको खर्च र कार्बन उत्सर्जन दुवै घटाउने अवस्थाको सिर्जना हुन्छ । प्रमुख राजमार्गमा सोलारबाट चल्ने द्रुत गतिका इभी चार्जिङ स्टेशन बनाउनुको साथै काठमाडौँको टेकुमा रहेको बहुमूल्य जग्गा पेट्रोलियम र गाडी चार्जिङ दुवै सेवा मिल्ने गरी आधुनिक बहु–ऊर्जा केन्द्रमा रूपान्तरण गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त देशलाई आत्मनिर्भर बनाउन दैलेखको स्वदेशी मिथेन ग्यासको व्यावसायिक उत्पादन सुरु गर्ने र ग्रीन हाइड्रोजनका नमुना परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता छ ।

सुशासन र जनसहभागिता : निगमको प्रशासनिक प्रणालीमा उच्च पारदर्शीता र सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न यसलाई “जनताको संस्था” भन्ने मूल सञ्चालन दर्शन अन्तर्गत अगाडि बढाउनु पर्छ । यसका लागि निगमले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरी आफ्नो सेयर पुँजीमा नागरिकको सीधा हिस्सेदारी स्थापित गर्नुपर्छ । यसबाट पारदर्शी स्वामित्व ढाँचा निर्माण गरी निगमलाई आफ्ना ठूला र रणनीतिक पूर्वाधार आयोजनाका लागि बिनाऋण पुँजी जुटाउने परिस्थितिको सिर्जना हुनेछ । खुला सार्वजनिक वित्तीय प्रतिवेदनमार्फत नागरिकको विश्वास जित्न र संस्थागत सुशासनलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत मिल्ने देखिन्छ ।

नेपालको ऊर्जा क्षेत्रमा निगमको वास्तविक भुइँ तहको यथार्थ र आन्तरिक प्राविधिक गहिराइ पूर्णतः बुझ्नु र सोही बमोजिम ऊर्जा सुरक्षाका सरोकारवाला पक्षबाट रचनात्मक सहयोग गर्नु अहिलेको आवश्यकता हो । यसका लागि सरकारले पूर्णतः जनउत्तरदायी बन्दै यस संस्थालाई अझ बढी पारदर्शी र जनसहभागितामूलक बनाउनु अपरिहार्य छ ।

हामीले बजारको वास्तविक वस्तुस्थिति स्वीकार्नै पर्छ; निगमको वर्तमान भण्डारण क्षमताको जे यथार्थ छ, त्यो अकाट्य सत्य हो । अबको प्राथमिकता समस्या मात्र गन्ती गरेर बस्ने होइन । सरकारले आफ्नो राष्ट्रिय दायित्वप्रति थप गम्भीर बन्दै अतिरिक्त स्रोत–साधन परिचालन गरी हालको १३ दिनको न्यून मौज्दात क्षमता औसत ३० दिन पुर्‍याउन तत्काल ‘क्विक प्लान’ बनाई आक्रामक र द्रुत ढङ्गले अगाडि बढ्नुपर्ने देखिन्छ । यो अभियान सफल बनाउन क्रस–बर्डर इन्धन पाइपलाइन सञ्जाल विस्तार गर्ने, सातै प्रदेशमा आधुनिक ग्रीन फिल्ड डिपोहरू निर्माण गर्ने र ढुवानीमा रियल–टाइम डिजिटल ट्र्याकिङजस्ता विश्वस्तरीय प्रविधि लागु गर्नुपर्छ । यसरी दूरदर्शी कदम चाल्नु अबको आधारभूत आवश्यकता भइसकेको छ । नेपालका लागि एउटा आधुनिक, स्वचालित र हरित आयल निगम एउटा संस्थागत छनोट मात्र होइन; राष्ट्रिय ऊर्जा सुरक्षा, नागरिक विश्वास र देशको दीर्घकालीन वित्तीय सार्वभौमिकताका लागि अपरिहार्य पूर्वसर्त हो ।

शाही, विद्युत् उत्पादन कम्पनी लिमिटेडका पूर्व–प्रमुख कार्यकारी अधिकृत हुन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३