भूमिका
नेपालमा विद्युत् शब्दले प्रायःजसो जलविद्युत्काे अर्थमा मात्रै लिने र बुझ्ने गरिन्छ र जलस्रोतबाट उत्पादित विद्युत्काे सन्दर्भमा मात्र लिइन्छ । हामीले “नेपालमा जलविद्युत्काे अपार सम्भावना छ । नेपाल जलविद्युत्मा ब्राजिलपछि दोश्रो धनी राष्ट्र हो” जस्ता भनाइ स्कूलदेखि नै सुन्दै र पढ्दै आएका छौँ । यी कति सत्य छन् वा तथ्यमा कति आधारित छन्, अहिले त्यता नलागाैँ । सत्य के हो भने नेपालको प्रतिव्यक्ति जलविद्युत् उत्पादन क्षमता उच्च छ तर सम्भाव्यताको तुलनामा उपयोग न्यून छ । जलविद्युत् मात्र नभएर सौर्य ऊर्जा (विद्युत् लगायत अन्य नवीकरणीय ऊर्जाको सन्दर्भमा पनि संभाव्यताको तुलनामा उपयोग न्यून छ । फलतः हाम्रो ऊर्जा प्रणाली (ग्रिड) मा जलविद्युत्काे परिमाण धेरै छ ।
यसको परिणामस्वरूप हामी हिउँदमा मागको ३५ प्रतिशतसम्म विद्युत् भारतवाट आयात गर्छौं, त्यतिले नपुगेर केही अघोषित लोडसेडिङ पनि गर्छौं । अर्कोतिर, बर्खा याममा १५०० मेगावाटसम्म विद्युत् राति खेर जानसक्ने अवस्था छ । भारतले आगामी बर्खा याममा नेपालको विद्युत् नकिने नेपाल विद्युत् प्राधिकरण, निजी जलविद्युत् उत्पादक र वित्तिय प्रणालीमा सङ्कट देखिनेछ ।
त्यसैगरी, हिउँदमा भारतले विद्युत् नदिए दैनिक ८–१० घण्टा लोडसेडिङ पनि हुनसक्छ । भारत हाम्रो निकट छिमेकी मित्रराष्ट्र भएको र दुवै देशबीच आपसी सम्बन्ध परापूर्वकालदेखि प्रगाढ भएको हुँदा विश्वास गरौँ त्यस्तो अवस्था आउने छैन, यद्यपि, भारतले नेपालसँगको ऊर्जा व्यापार एवम् आदानप्रदानमा देखाउनुपर्ने सदाशयता नदेखाएको र सहयोग नगरेको गुनासा व्यापक सुनिन्छ ।
कुनै पनि राष्ट्रको ऊर्जा नीति आफ्नो ऊर्जा आवश्यकता सकेसम्म आफैँ पूरा गर्ने र उत्पादित ऊर्जाको अधिकतम उपयोग गरी औद्योगिक एवम् आर्थिक गतिविधि बढाउने हुनुपर्छ तर हाम्रा नीति, कार्यदिशा र आवश्यकता एकीकृत छैनन् । हाम्रो प्राथमिकता, ऊर्जाको माग र आपूर्तिबीचको खाडल कम गरी ऊर्जाका स्रोतहरूको विविधीकरण र विकेन्द्रीकरण गरी ऊर्जा आत्मनिर्भरता कायम गर्नेतर्फ अग्रसर हुनुपर्ने हो, जुन विगतमा खासै हुन सकेन । परिणाम हाम्रो सामु छ । हालसम्मका ऊर्जा नीति र कार्यदिशाले ऊर्जामा परनिर्भरता बढाएकाले ऊर्जामा आत्मनिर्भर हुन हामीले नीति र कार्यदिशा बदल्न ढिला भइसकेको छ ।
कहाँ छ समस्या ?
हामीले अनुभव गरेकै हो पोखरातिर विद्युत् खेर जाँदा विराटनगरतिर लोडसेडिङ भएको । त्यस्तै, राति विद्युत् खेर जाँदा साँझ बेलुका विद्युत् आपूर्तिले माग धान्दैन । हिउँदमा चरम विद्युत् सङ्कट हुँदा बर्खामा विद्युत् खेर जाने सदावहार समस्या त छँदै छ, जुन अझै धेरै वर्षसम्म रहिरहने स्पष्ट छ ।
विद्युत् आपूर्ति प्रणाली जलविद्युत्माथि अझ खासगरि नदी प्रवाही (run off river) जलविद्युत् आयोजनाहरूमा निर्भर भएकाले विद्युत् आपूर्ति पनि खहरे प्रकृतिकै छ । हामीले खहरे आपूर्ति रोक्ने उपाय सोच्यौ्र, लम्बेतान भाषण पनि गर्यौँ तर कार्यान्वयन गरेनौँ । अर्कोतर्फ हामीले जलविद्युत्बाहेकका अन्य ऊर्जाका स्रोत पनि विद्युत् आपूर्ति प्रणालीमा उत्तिकै महत्त्वपूर्ण र आवश्यक छन् भन्ने विचारलाई सकेसम्म निषेध गर्याैँ । अझ ठूला प्राकृतिक विपत्ति आइपरे हामीले भोग्नुपर्ने ऊर्जा सङ्कट अकल्पनीय हुनेछ ।
जलविद्युत् आयोजनाहरूमा पनि जलाशययुक्त बनाउनुपर्नेमा अधिकांश आयोजना नदी प्रवाही बनाइयो । जलाशययुक्त परियोजनाहरू जटिल एवम् विशेष प्रकृतिका हुने हुँदा राज्यले नै नेतृत्व लिएर बनाउनुपर्ने हुन्छ ।
अब के गर्ने ?
ऊर्जा प्रणालीको उचित व्यवस्थापन गर्न सर्वप्रथम ऊर्जाको माग र आपूर्तिको प्रकृति विश्लेषण अपरिहार्य हुन्छ । माग र आपूर्तिको प्रकृतिअनुसार मागको प्रकृति र आपूर्तिका स्रोतहरूको विविधीकरण गर्नु ऊर्जा प्रणाली व्यवस्थापनको पहिलो खुड्किलो हो ।
जसरि लगानीमा जोखिम कम गर्न लगानी विविधीकरण (portfolio management) गरिन्छ त्यसैगरी, ऊर्जा प्रणाली व्यवस्थापनका लागि ऊर्जाका स्रोतहरू विविधीकरण र विकेन्द्रीकरण गर्नुपर्ने हुन्छ । विकेन्द्रीकृत एवम् विविधिकृत ऊर्जाका स्रोतहरूको संमिश्रण (portfolio of diversified and distributed energy sources) अहिलेको प्राथमिक आवश्यकता हो ।
त्यस्तै मागको उचित व्यवस्थापन (demand side management) शुरू गर्न पनि ढिलो भैसकेको छ । ऊर्जा आपूर्तिको प्रकृतिअनुसार माग चलायमान बनाउन हाल औद्योगिक ग्राहकमा मात्र लागू गरिएको दैनिक समयअनुसार फरक विद्युत् मूल्य (time of day tariff) लाई क्रमशः ठूला ग्राहक हुँदै साना ग्राहकसम्म लागू गर्नुपर्छ । त्यसैगरि, जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौतामा मात्र सीमित विद्युत्काे मौसमी मूल्य (seasonal tariff) औद्योगिक ग्राहकबाट शुरू गरी ठूला ग्राहक हुँदै साना ग्राहकसम्म लागू गर्नुपर्छ ।
सौर्य ऊर्जाको भूमिका
विद्यमान ऊर्जा समस्या समाधान गर्न सौर्य ऊर्जा अत्यधिक सहयोगी हुनेछ । नेपालको ऊर्जा प्रणालीमा माग बढी (दिउँसोको समय) र आपूर्ति कम (सुक्खा याम) मा सौर्य प्रणालीवाट ऊर्जा उत्पादन हुने हुँदा माग व्यवस्थापन सहज हुनेछ ।
ग्रिड पुगेको ठाउँमा ग्रिडमा जोड्न र ग्रिड नपुगेको ठाउँमा स्थानीय आवश्यकता पूर्ति गर्न छोटो समयमा जडान गर्न सकिन्छ । त्यसैले सौर्य ऊर्जा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारी लक्ष्यको महत्त्वपूर्ण सारथी हो । नेपालजस्तो जलविद्युत्मा अत्यधिक निर्भरता भएको देशमा खडेरी, बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपत्तिका बेलामा समेत सौर्य ऊर्जा अत्यन्त उपयोगी हुन्छ ।
सौर्य ऊर्जा महँगो पनि छैन । हाम्रो आफ्नै घर, कारखाना, कार्यालय, स्कूल, अस्पताल आदिको छानामा सोलार प्यानल राखेर सौर्य ऊर्जा सजिलै उत्पादन गर्न सकिन्छ, त्यो पनि छोटो समयमा । सौर्य ऊर्जा नवीकरणीय ऊर्जा हुनुका साथै ऊर्जाको माग हुने ठाउँ वा त्यसको नजिक उत्पादन गर्न सकिने हुँदा ग्रिड संचालन/सन्तुलनमा सहयोगी हुनुका साथै प्रशारण र वितरणमा ऊर्जा खेर जाने समस्या (transmission and distribution
losses) न्यून गर्न पनि महत्त्वपूर्ण हुन्छ । कुनै प्राकृतिक विपत्ति वा दुर्घटनाले केही दिन ग्रिड बन्द भए पनि सौर्य ऊर्जाले हाम्रा न्यूनतम आवश्यकता पूरा गर्न सक्छ ।
विकसित देशहरूमा शुरू भैसकेको सौर्य ब्याट्री ऊर्जा स्टोरेज सिस्टम (Solar Battery Energy Storage System- BESS) नेपालमा पनि चाँडै भित्रिनेछ । BESS ले ऊर्जाको माग अत्यधिक हुने समय (बिहान, बेलुका) ग्रिडको विद्युत् खपत नगर्ने, बरु सानो मात्रामा भए पनि BESS बाट ग्रिडलाई विद्युत् दिन सक्छन् ।
यस्ता साना–साना क्षमताका BESS देशैभरि ठूलो सङ्ख्यामा भए नेपाल जस्तो ऊर्जाको माग र आपूर्तिमा व्यापक उतारचढाव हुने विद्युत् प्रणालीलाई स्मार्ट ग्रिड बनाई सन्तुलित रूपमा संचालन गर्न संजिवनी बुटीसरह हुनेछ । BESS लाई प्रवर्द्धन गर्न सरकारले Net metering policy परिमार्जन, BESS मा कर छुट, स्मार्ट ग्रिडका लागि अनुकूल विद्युत् महशुल दरलगायत केही नीतिगत व्यवस्था गर्नुपर्ने र ती व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
(नवीकरणीय ऊर्जाको क्षेत्रमा सक्रिय लेखक सिम्पल इनर्जी प्रालिमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।)