विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २५, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नेपालको ऊर्जा क्षेत्र अहिले निर्णायक मोडमा पुगेको छ । केही वर्षअघिसम्म विद्युत् अभाव र लोडसेडिङ प्रमुख समस्या थिए । आज परिस्थिति बदलिएको छ । जलविद्युत् उत्पादन बढेको छ, निजी क्षेत्रको लगानी विस्तार भएको छ र भारत तथा बंगलादेशसँग व्यापारको आधार बनेको छ । उत्पादन बढ्नु मात्र ऊर्जा सुरक्षाको प्रमाण होइन । आवश्यक समयमा पर्याप्त ऊर्जा उपलब्ध हुनु, प्रसारण प्रणालीले त्यसलाई बोक्न सक्नु र उपभोक्तासम्म निरन्तर तथा गुणस्तरीय सेवा पुर्‍याउन सक्नु नै वास्तविक सफलता हो ।

त्यसैले, अब नेपालको ऊर्जा बहस ‘कति मेगावाट उत्पादन भयो ?’ भन्ने प्रश्नमा मात्र सीमित रहनु हुँदैन । बहस ‘कति सुरक्षित, भरपर्दो, जलवायु–उत्थानशील र आर्थिकरूपमा उपयोगी ऊर्जा प्रणाली निर्माण भयो?’ भन्ने प्रश्नतर्फ मोडिनुपर्छ ।

कार्यान्वयनको परीक्षा

ऊर्जा क्षेत्रका लागि नीति, रणनीति, गुरुयोजना र अध्ययनको कमी छैन । चुनौती नयाँ दस्तावेज थप्नु होइन, भएका निर्णयलाई समयमै कार्यान्वयन गर्नु हो । जलविद्युत् आयोजना तयार हुँदा प्रसारण लाइन किन तयार हुँदैनन् ? जग्गा अधिग्रहण, वन स्वीकृति र प्रशासनिक प्रक्रिया किन वर्षौंसम्म लम्बिन्छन् ? आयोजना ढिलाइको जिम्मेवारी कसले लिने ? यी प्रश्नको समाधान नगरी नयाँ नीति र योजना थप्दै जानुको अर्थ सीमित हुन्छ । ऊर्जा क्षेत्रलाई अब घोषणा होइन, स्पष्ट लक्ष्य, समयसीमा, जिम्मेवारी र परिणाममा आधारित कार्यान्वयन प्रणाली चाहिएको छ ।

सरकार, नेपाल विद्युत् प्राधिकरण, नियामक निकाय, निजी क्षेत्र र वित्तीय संस्थाबीच स्पष्ट जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक छ । आयोजना, प्रसारण, वितरण र बजारलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा होइन, एउटै ऊर्जा मूल्य शृङ्खलाका रूपमा हेर्नुपर्छ ।

यस प्रक्रियामा कर्मचारी र ट्रेड युनियन पनि महत्त्वपूर्ण सरोकारवाला हुन् । ऊर्जा प्रणालीको प्राविधिक अवस्था, सञ्चालनका समस्या र सेवा प्रवाहको प्रत्यक्ष अनुभव कर्मचारीसँग हुन्छ । संस्थागत सुधारका क्रममा उनीहरूलाई केवल अवरोध वा दबाब समूहका रूपमा हेर्नु हुँदैन । प्रविधि परिवर्तन, कार्यप्रणाली सुधार, जनशक्ति व्यवस्थापन, सीप विकास र कार्यसम्पादनका विषयमा नियमित संस्थागत संवाद आवश्यक छ । कर्मचारीको ज्ञान र अनुभवलाई संस्थाको शक्तिमा रूपान्तरण गरेरमात्र सुधार दिगो बन्न सक्छ ।

असमान पीडा

नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून छ । हिमालय, हिमनदी, नदी प्रणाली, वन तथा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनको प्रभाव गम्भीररूपमा देखिन थालेको छ । बाढी, पहिरो, असामान्य वर्षा र अन्य चरम मौसमी घटनाले जनजीवनसँगै जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो जोखिम सिर्जना गरिरहेका छन् ।

वर्षौं लगाएर निर्मित सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा ऊर्जा पूर्वाधार प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त हुन सक्छन् । सीमित आर्थिक स्रोत भएका देशले पटक–पटक ऋण लिएरमात्र यस्ता संरचना पुनर्निर्माण गरिरहन सक्दैनन् । यसैले, नेपालले सहानुभूति भन्दा जलवायु न्याय मागिरहेको छ ।

ठूला उत्सर्जनकर्ता र त्यसको प्रभाव असमानरूपमा भोगिरहेका नेपालजस्ता देशबीचको जिम्मेवारी र क्षमताको अन्तर अन्तर्राष्ट्रिय समुदायले स्वीकार्नु पर्छ । जलवायु वित्त, अनुकूलन सहयोग तथा ‘लस एन्ड ड्यामेज’ सम्बन्धी संयन्त्र नेपालका लागि वातावरणीय बहस नभइ विकास र भविष्यसँग जोडिएका छन् ।

हिन्दु कुश हिमालय क्षेत्रमा वैज्ञानिक अनुसन्धान, प्राकृतिक विपद् निगरानी, पूर्वसूचना र जोखिम व्यवस्थापनका प्रणालीलाई बलियो बनाउनुपर्छ । जोखिम बढिरहेका बेला यस्ता संयन्त्रमा लगानी घटाउनु भविष्यमा अझ महँगो साबित हुन सक्छ ।

पुनर्स्थापनाको सवाल

नेपालको जडित विद्युत् उत्पादन बढिरहेको छ तर क्षमता बढ्नु र ऊर्जा सुरक्षा बलियो हुनु एउटै होइन । ऊर्जा सुरक्षाको अर्थ आवश्यक समयमा पर्याप्त विद्युत् उपलब्ध हुनु, उत्पादन वा प्रसारण प्रणालीमा आकस्मिक समस्या आउँदा वैकल्पिक व्यवस्था हुनु र सङ्‌कटपछि प्रणालीलाई छिटो पुनःस्थापित गर्न सक्ने क्षमता विकास गर्नु हो ।

नेपालको विद्युत् उत्पादन संरचनामा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको हिस्सा ठूलो छ । यसले वर्षायाममा ऊर्जा अधिशेष र सुक्खायाममा उत्पादन कमीको संरचनात्मक समस्या सिर्जना गर्छ । जलवायु परिवर्तनका कारण नदीको बहावमा अनिश्चितता तथा बाढी, पहिरो र चरम मौसमी घटनाको जोखिम बढ्दै जाँदा ऊर्जा सुरक्षाको चुनौती झन् जटिल बन्दै गएको छ ।

त्यसैले, ऊर्जा सुरक्षा थप जलविद्युत् आयोजना निर्माणमा मात्र सीमित हुनु हुँदैन । जलाशय आयोजना, पम्प स्टोरेज, ब्याट्री ऊर्जा सञ्चय, सौर्य–जलविद्युत् संयोजन तथा माग व्यवस्थापनलाई एउटै राष्ट्रिय रणनीतिअन्तर्गत विकास गर्नुपर्छ ।

कुलेखानीले नेपालको विद्युत् प्रणालीमा खेलेको भूमिका यस सन्दर्भमा विशेष महत्त्वपूर्ण छ । जलाशय आयोजनाको मूल्य वार्षिक ऊर्जा उत्पादनबाट मात्र मापन गर्न सकिँदैन । उच्च मागको समयमा विद्युत् उपलब्ध गराउने, प्रणाली सन्तुलन कायम गर्ने तथा आकस्मिक अवस्थामा सहयोग गर्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

भविष्यका ठूला जलाशय आयोजनालाई केवल ‘कति मेगावाट ?’ भन्ने आधारमा मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन । दूधकोशी, बूढीगण्डकी, कर्णाली-चिसापानी तथा अन्य सम्भावित बहुउद्देश्यीय आयोजनालाई ऊर्जा सुरक्षा, जल व्यवस्थापन, सिँचाइ, बाढी नियन्त्रण, पर्यटन तथा औद्योगिक विकाससँग जोडेर हेर्नुपर्छ ।

क्षेत्रीय विद्युत् व्यापार पनि ऊर्जा सुरक्षाको महत्त्वपूर्ण पूरक हो । आवश्यक पर्दा आयात गर्ने र अधिक हुँदा निर्यात गर्ने क्षमता आर्थिक तथा प्राविधिक रूपमा लाभदायक हुन्छ । बाह्य प्रणालीमा अधिक निर्भरता आफैँमा जोखिम बन्न सक्छ । यसैले क्षेत्रीय व्यापार घरेलु ऊर्जा सुरक्षाको विकल्प होइन, पूरक सुरक्षा संयन्त्रका रूपमा विकास गर्नुपर्छ ।

भरपर्दो सेवा

उपभोक्ताले मेगावाट देख्दैनन्, उनीहरूले बत्ती बलेको वा निभेको अनुभव गर्छन् । त्यसैले विद्युत् लाइन घरसम्म पुग्नु मात्र पर्याप्त छैन । वास्तविक मापदण्ड निरन्तर, सुरक्षित र गुणस्तरीय सेवा हो । पुराना लाइन, कमजोर कन्डक्टर, ओभरलोडेड ट्रान्सफर्मर, अपर्याप्त सुरक्षा प्रणाली तथा सामान्य फल्ट समाधानमा लाग्ने समयले वितरण प्रणालीको विश्वसनीयतामा असर गर्छ । अब सेवा गुणस्तरलाई मापनयोग्य बनाउनुपर्छ ।

औसत उपभोक्ताले कति पटक र औसत समय विद्युत् अवरोध भोग्यो भन्ने सूचकलाई सुधारको आधार बनाउनुपर्छ । कुन क्षेत्रमा कति पटक विद्युत् गयो ? कति समय गयो ? कारण के थियो र सुधारपछि कति घट्यो भन्ने जानकारी पारदर्शी रूपमा सार्वजनिक हुनुपर्छ । स्वचालित फल्ट पहिचान, रिमोट स्विचिङ, स्मार्ट मिटर र आधुनिक वितरण प्रणालीमा लगानी अब आवश्यकता भइसक्यो ।

अर्थतन्त्रको मेरुदण्ड

उत्पादन र बजारबीचको वास्तविक पुल प्रसारण प्रणाली हो । उत्पादन केन्द्रबाट उद्योग, सहर र अन्तरदेशीय बजारसम्म पर्याप्त क्षमतामा विद्युत् पुर्‍याउन नसक्ने हो भने उत्पादन बढ्दैमा आर्थिक लाभ सुनिश्चित हुँदैन । यसैले जलविद्युत् आयोजना र प्रसारण लाइनको योजना सँगसँगै अघि बढाउनुपर्छ । आयोजना निर्माण भएपछि प्रसारण लाइन सोच्ने पुरानो अभ्यास परिवर्तन गर्न आवश्यक छ ।

आन्तरिक पूर्व–पश्चिम प्रसारण प्रणाली, रणनीतिक सबस्टेसन तथा अन्तरदेशीय प्रसारण लाइनको विकासलाई प्राथमिकतामा राख्नुपर्छ । वन स्वीकृति, जग्गा अधिग्रहण, स्थानीय विवाद र प्रशासनिक प्रक्रियाका कारण आयोजना वर्षौं ढिलाइ हुने अवस्थालाई संरचनागत रूपमा समाधान गर्नुपर्छ । अबको दशकलाई प्रसारण पूर्वाधार निर्माणको दशक बनाउन सकिएन भने उत्पादन बढे पनि विद्युत् बजारसम्म पुर्‍याउन नसक्ने जोखिम बढ्नेछ ।

निर्यात र आन्तरिक खपत

विद्युत् निर्यात आवश्यक छ । यसले विदेशी मुद्रा आर्जन र क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउँछ । तर अतिरिक्त ऊर्जा बेच्नु मात्र ऊर्जा नीतिको अन्तिम लक्ष्य हुनु हुँदैन । देशभित्र विद्युत् प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात घटाउन, उद्योग विस्तार गर्न, कृषि आधुनिकीकरण गर्न र रोजगारी सिर्जना गर्न सकिन्छ । विद्युतीय यातायात, विद्युतीय खाना पकाउने प्रणाली, सिँचाइ, कृषि प्रशोधन, चिस्यान केन्द्र, डाटा सेन्टर तथा ऊर्जा–आधारित उद्योगमा विद्युत् खपत बढाउनुपर्छ ।

निर्यातले विदेशी मुद्रा भित्र्याउँछ भने आन्तरिक विद्युत् खपतले विदेशी मुद्रा बचत गर्दै घरेलु उत्पादन र रोजगारी बढाउँछ । यसैले आन्तरिक खपत अधिकतम बनाउने र मागभन्दा बढी हुने ऊर्जाका लागि दीर्घकालीन तथा भरपर्दो क्षेत्रीय बजार सुनिश्चित गर्ने ऊर्जा रणनीति स्पष्ट हुनुपर्छ ।

जलवायु न्याय

नेपालसँग ठूलो जलविद्युत् सम्भावना छ । तर सम्भावना आफैंमा समृद्धि होइन । त्यसलाई उत्पादन, ऊर्जा सञ्चय, प्रसारण, वितरण, आन्तरिक खपत, क्षेत्रीय बजार, जलवायु–उत्थानशील पूर्वाधार र सक्षम संस्थागत व्यवस्थापनसँग जोड्नुपर्छ । देशभित्र उत्पादनशील आर्थिक गतिविधिमा प्रयोग गर्ने र कति विश्वसनीय रूपमा क्षेत्रीय बजारमा बेच्ने ? साथै, जलवायु परिवर्तनका कारण हुने क्षतिको भार नेपालले एक्लै कति समयसम्म बोक्ने भन्ने प्रश्न पनि विश्व समुदायसमक्ष दृढताका साथ उठाउनुपर्छ ।

अबको प्रतिस्पर्धा मेगावाटको होइन, ऊर्जा सुरक्षा, भरपर्दो सेवा, जलवायु न्याय, सक्षम जनशक्ति, संस्थागत सहकार्य र बलियो ऊर्जा अर्थतन्त्र निर्माणको हो । यही बाटोले नेपालको ऊर्जा सम्भावनालाई दिगो राष्ट्रिय समृद्धिमा रूपान्तरण गर्न सक्छ ।

लेखक, नेपाल विद्युत् प्राधिकरणका सहायक इन्जिनियर हुन्

प्रतिक्रिया दिनुहोस

हरिप्रसाद पौडेल

हरिप्रसाद पौडेल, नेपाल विद्युत् प्राधिकरणका सहायक इन्जिनियर हुन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३