विद्युत अपडेट

  • प्राधिकरण : ७७९० मे.वा.घन्टा
  • सहायक कम्पनी : ७७८३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५७९१ मे.वा.घन्टा
  • आयात : ४०६८ मे.वा.घन्टा
  • निर्यात : २७७० मे.वा.घन्टा
  • ट्रिपिङ : ५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५९८२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१५७ मे.वा.
२०८३ ब‌ैशाख ३१, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपाल विश्वमै जलस्रोतले सबैभन्दा बढी सम्पन्न राष्ट्रमध्येको एक हो । जलविद्युत्‌को सम्भावना पर्याप्त हुँदाहुँदै पनि देशले ठूला तथा रणनीतिक महत्त्वका जलविद्युत् आयोजनाहरूको कार्यान्वयनमा अपेक्षित प्रगति हासिल गर्न सकेको छैन । परिणामस्वरूप आफ्नो प्राकृतिक स्रोतलाई आर्थिक वृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना, ऊर्जा सुरक्षा तथा विदेशी मुद्रा आर्जनका लागि पूर्ण रूपमा उपयोग गर्न सकेको छैन ।

दैलेख र अछामको सीमा क्षेत्रमा प्रस्तावित ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना दीर्घकालीन ढिलाइ र नीतिगत अनिश्चितताको प्रमुख उदाहरण बनेको छ । सन् २००८ मै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जिएमआर अप्पर कर्णाली हाइड्रोपावर लिमिटेडबीच यस आयोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएपछि ५४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यद्यपि, करिब दुई दशक बितिसक्दा समेत आयोजना कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन ।

यस्तो दीर्घकालीन ढिलाइले राष्ट्रलाई ठूलो आर्थिक तथा सामाजिक क्षति पुर्‍याएको छ । विद्युत् उत्पादन, निर्यात आम्दानी, औद्योगिक विस्तार, पूर्वाधार विकास तथा रोजगारी सिर्जनाका महत्त्वपूर्ण अवसरहरू गुमिरहेका छन् । मुद्रास्फीति, सम्भावित विद्युत् निर्यातबाट प्राप्त हुन सक्ने आम्दानी तथा अप्रत्यक्ष आर्थिक असरहरूलाई मूल्याङ्कन गर्दा यस आयोजनाबाट राष्ट्रले हालसम्म अर्बौं रुपैयाँ बराबरको सम्भावित लाभ गुमाइसकेको अनुमान गर्न सकिन्छ ।

यसको सबैभन्दा ठूलो असर कर्णाली क्षेत्रका जनताले भोगिरहेका छन् । प्राकृतिक स्रोतले सम्पन्न क्षेत्रका नागरिकले आज पनि बेरोजगारी, गरिबी तथा विकास अभावको समस्या झेलिरहेका छन् । एकातिर, हजारौँ युवा रोजगारीको खोजीमा खाडी मुलुक तथा भारत पलायन भइरहेका छन् । अर्कोतर्फ, स्थानीय प्राकृतिक स्रोतहरूको पर्याप्त उपयोग अझै हुन सकेको छैन ।

तुलनात्मक रूपमा कम लागतमा निर्माण गर्न सकिने महत्त्वपूर्ण रणनीतिक आयोजना मध्ये यो एक हो । यस आयोजनाबाट नेपालले रोयल्टी, कर, २७ प्रतिशत निःशुल्क सेयर तथा १२ प्रतिशत निःशुल्क विद्युत् प्राप्त गर्ने व्यवस्था समझदारी पत्रमा गरिएको छ । साथै, यसले व्यापक रोजगारी सिर्जना, क्षेत्रीय पूर्वाधार विकास, स्थानीय आर्थिक गतिविधिको विस्तार तथा विद्युत् निर्यात क्षमतामा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ तथा हालै सार्वजनिक गरिएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ले महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गरेका छन् । यद्यपि, ठूला तथा रणनीतिक महत्त्वका जलविद्युत् आयोजनाहरूको कार्यान्वयन निश्चित समयसीमाभित्र नभएसम्म लक्ष्य हासिल गर्न सम्भव छैन ।

आखिर यस आयोजनालाई अघि बढ्न नदिने वास्तविक कारण के हो ? यो आजको मुख्य प्रश्न हो । आयोजनासँग सम्बन्धित अध्ययन, जग्गा अधिग्रहण, पिपिए, वित्त व्यवस्थापन जस्ता प्रारम्भिक चरणमा गर्नुपर्ने मुख्य कार्यहरू निर्धारित समयावधिभित्र सम्पन्न भए/भएनन् ? जिम्मेवार निकायले नियमित अनुगमन गर्‍यो/गरेन ? यी मूल प्रश्न हुन् । आयोजनाको प्रगति अवस्था हेर्दा सरकारसमेत मूकदर्शक भएर बसेको महसुस हुन्छ । आयोजनाको कार्यान्वयन अझै अनिश्चित र खुला अवस्थामा रहनु अत्यन्त दुर्भाग्य हो ।

समस्या केवल माथिल्लो कर्णालीमा मात्र छैन । फुकोट कर्णाली, पश्चिम सेती, एसआर–६ तथा तल्लो अरुणजस्ता महत्त्वपूर्ण आयोजनासमेत लामो समयदेखि कार्यान्वयनको प्रतीक्षामा छन् । यद्यपि, सोही समयतिरबाट अध्ययन प्रारम्भ गरिएको ९०० मेगावाटको अरुण–३ आयोजना भने भारतको सतलज जलविद्युत् निगमले निर्माण सम्पन्न गर्ने चरणमा पुर्‍याइसकेको छ । समयमै कार्यान्वयनमा लगिएको भए हाल उल्लिखित आयोजनाहरू निर्माण सम्पन्न भइसकेका हुने थिए र देशमा ऊर्जा उपलब्धता र आर्थिक विकासमा आमूल परिवर्तन भइसकेको हुने थियो ।

विभिन्न सरकारी निकायले अघि बढाएका ८ हजार मेगावाटभन्दा बढीका आंशिक जलाशय तथा जलाशय जलाशय आयोजनासमेत लामो समयदेखि प्रारम्भिक अध्ययन चरणमै सीमित भइरहेका छन् । यसले देशमा स्रोत वा प्राविधिक क्षमताको अभाव भन्दा ज्यादा कमजोर कार्यान्वयन प्रणाली, नीतिगत निरन्तरताको कमी तथा परिणाममुखी प्रतिबद्धताको अभावलाई उजागर गरेको छ ।

ठूला आयोजनामा भइरहेको ढिलाइको एक प्रमुख कारण नीतिगत अस्थिरता तथा कमजोर कार्यान्वयन संस्कृति हो । सरकार परिवर्तनसँगै राष्ट्रिय विकासका दीर्घकालीन प्राथमिकताभन्दा अल्पकालीन राजनीतिक सोच, प्रक्रियागत जटिलता तथा निर्णयहीनताले प्राथमिकता पाउने गरेको छ । यसले रणनीतिक आयोजनाहरू अनिर्णय, प्रशासनिक ढिलासुस्ती तथा संस्थागत अन्योलमा फसिरहेका छन् ।

हाल नेपाल क्षेत्रीय विद्युत् व्यापारमा प्रवेश गरिसकेको छ । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ तथा हालै सार्वजनिक गरिएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ले महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गरेका छन् । यद्यपि, ठूला तथा रणनीतिक महत्त्वका जलविद्युत् आयोजनाहरूको कार्यान्वयन निश्चित समयसीमाभित्र नभएसम्म लक्ष्य हासिल गर्न सम्भव छैन ।

त्यसो हुँदा, सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटमार्फत माथिल्लो कर्णाली लगायत दीर्घकालदेखि अल्झिएका रणनीतिक महत्त्वका ठूला आयोजनाहरू कार्यान्वयनमा लैजान स्पष्ट, समयबद्ध तथा परिणाममुखी नीति अवलम्बन गर्न आवश्यक छ ।

यसका लागि सरकारले विशेष गरी निम्न विषयहरू सुनिश्चित गर्नुपर्दछ :

  • रणनीतिक आयोजनाहरूका लागि कार्यान्वयनको स्पष्ट र कडा समयसीमा;
  • आयोजना विकासकर्तालाई जवाफदेही बनाउने प्रणालीको विकास;
  • नियमित प्रगति मूल्याङ्कन तथा अनुगमन संयन्त्रको व्यवस्था;
  • समयसीमाभित्र आयोजना निर्माणमा प्रगति नभए वैकल्पिक कार्यान्वयन वा सम्झौता पुनरावलोकनको व्यवस्था;
  • राष्ट्रिय प्राथमिकताका आयोजनाहरूका लागि द्रुत स्वीकृति तथा समन्वय प्रणालीको विकास;
  • नेपाल सरकारद्वारा प्रवर्द्धित आयोजनाको सन्दर्भमा सम्बन्धित सबै तहमा सूचकमा आधारित कार्यसम्पादन सम्झौता तथा मूल्याङ्कन प्रणालीको विकास । विशेषतः राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्वका आयोजनाका सम्बन्धित पदाधिकारीहरूको कार्यसम्पादनलाई निश्चित समयसीमा, उपलब्धि तथा परिणामसँग प्रत्यक्ष जोडिनु आवश्यक छ । यसले निर्णय प्रक्रियामा उत्तरदायित्व, पारदर्शिता तथा परिणाममुखी कार्यसंस्कृति विकास गर्न सहयोग पुर्‍याउँछ ।

समयसीमाभित्र आयोजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको अवस्थामा सरकारले विद्यमान व्यवस्था पुनरावलोकन गरी वैकल्पिक राष्ट्रिय संयन्त्र, सार्वजनिक क्षेत्र, स्वदेशी लगानी वा प्रतिस्पर्धात्मक नयाँ खरिद प्रक्रियामार्फत आयोजना अगाडि बढाउने व्यवस्था गर्नुपर्दछ । साथै, सरकारी निकायहरूद्वारा सञ्चालित आयोजनामा पनि समान रूपमा परिणाममुखी कार्यान्वयन प्रणाली लागू गर्नुपर्दछ ।

जलविद्युत् विकास केवल ऊर्जा उत्पादनको विषय मात्र नभई नेपालको समग्र आर्थिक रूपान्तरणको आधार हो । त्यसो हुँदा, नेपालले अब अनिश्चितकालीन ढिलाइलाई निरुत्साहित गरी यस्ता आयोजनाहरू कार्यान्वयनमा लाने व्यवस्था गर्नु अनिवार्य भइसकेको देखिन्छ ।

माथिल्लो कर्णाली आज नेपालको अपार सम्भावना र दीर्घकालीन नीतिगत कमजोरी दुवैको प्रतीक बनेको छ । देशको आर्थिक–सामाजिक समृद्धिका सन्दर्भमा अब नेपालसँग दुई विकल्प मात्र छन्– अवसर गुमाउँदै अनिश्चिततामै रहने वा स्पष्ट नीति, बलियो कार्यान्वयन प्रतिबद्धता तथा विकासमुखी राष्ट्रिय दृष्टिकोणसहित अगाडि बढ्ने । अब आयोजना ढिलाइमा सन्तुष्टि लिएर बस्ने बेला छैन, यो समय भनेको निर्णायक कार्यान्वयनको हो ।

लेखक विद्युत् उत्पादन कम्पनी लिमिटेडका निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३