काठमाडौँ । सानिमा हाइड्रो समूहले भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (प्रधानमन्त्री राहत कोष) मा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
विपद्को कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरेको राहत तथा पुनस्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै समूहका तर्फबाट धनश्याम थापा, खेम लामिछाने र डा. सुवर्णदास श्रेष्ठले संयुक्तरूपमा उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत सामग्री पुर्याउन र पुनर्निर्माणका कार्यलाई गति दिन यो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
चेक हस्तान्तरण गर्दै प्राकृतिक विपत्तिका बेला राज्य र समुदायलाई सहयोग गर्नु निजी क्षेत्रको दायित्व भएको डा. श्रेष्ठले बताए । ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनाको विकास र प्रवर्धन गर्दै आएको सानिमा हाइड्रो समूहले सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विभिन्न समयमा आउने विपद्मा सरकारसँग हातमा हात मिलाएर सहयोग गर्दै आएको छ ।