विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

‘भविष्यमा कोइलाको सट्टा पानी ऊर्जाको आधार हुनेछ !’ यो तथ्यलाई जुल्स भेर्नले सन् १८७४ मा प्रमाणित गरेरै भनेका थिए । उनी अहिले संसारमा छैनन् तर १५० वर्षअघि उनले देखेको सपना साकार पार्न विश्वका धेरैजसो महाशक्तिहरू हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोगको दिशामा प्रयत्नरत छन् । ‘कोभिड कहर’को उत्कर्षपछि विश्वमा रुस–युक्रेन, हमास–प्यालेस्टाइन जस्ता देश र पक्षबीच चलिरहेको युद्धबीच मानिस विभिषिकाका लािग जुधिरहेका छन् ।

तेल भण्डारयुक्त देशहरू युद्धको चपेटामा पर्नु, कार्बन उत्सर्जन शून्य बनाउन खनिज तथा जैविक इन्धनको प्रयोगलाई उपेक्षा गरिनु तथा नवीकरणीय तथा स्वच्छ ऊर्जाको विकास पर्याप्त नहुनु जस्ता कारणले विश्व ऊर्जा सङ्कटोन्मुख छ । यो सङ्कटपछिको भविष्य कस्तो हुनुपर्छ ? यही प्रश्नको जवाफ खोज्न अहिले संसार रुमल्लिरहेको छ ।

संसारभर यतिखेर ऊर्जाका नयाँ–नयाँ आयाम, बिजनेस मोडेलहरूका विषयमा चर्चा चुलिएका छन् । विश्व समुदाय स्वच्छ ऊर्जाको भविष्यबारे विचारविमर्शतिर थालेको छ । ऊर्जा उत्पादन तथा प्रयोगकै क्रममा विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन हुने गरेको छ । यही तथ्यलाई मनन गर्दै स्वच्छ ऊर्जा प्राप्तिका लागि विश्वमा अनेक गतिविधि भइरहेका छन् ।

विश्वका औद्योगिक प्रतिष्ठान, यातायात क्षेत्रका अग्रणी कम्पनी, पारम्परिक ऊर्जा उत्पादन र आपूर्ति गर्ने संस्थाहरू ऊर्जा व्यवसायको मोडल परिवर्तन गर्नतर्फ प्रयत्नरत छन् । यही क्रममा हाइड्रोजन ऊर्जालाई अहिले प्रमुख विकल्पको रूपमा विकास तथा प्रवर्द्धन गर्ने विश्व लहर चलेको छ । धेरै देशले हाइड्रोजन विकासका लागि छुट्टै व्यावसायिक इकाई समेत गठन गरेका छन् । हाइड्रोजन ऊर्जाको अनुसन्धान र विकासमा सरकारी खर्च समेत तीव्र गतिमा बढ्दो देखिन्छ । धेरै देशले यसलाई एउटा रणनीतिक योजनाका साथ ‘पाइलट परियोजना’ बनाएर अघि बढ्दै गरेको देखिन्छ ।

सन् २०१९ को मध्यसम्म विश्वमा हाइड्रोजन ऊर्जालाई प्रोत्साहित गर्न आवश्यक ५० भन्दा बढी नीतिगत पहलहरू भए । यस्ता नीतिहरू विशेषतः जी–ट्वान्टी र युरोपियन युनियनभित्रका ११ देशमा निर्माण भएको पाइन्छ । ती मध्ये ९ देशमा हाइड्रोजन ऊर्जाका लागि ‘राष्ट्रिय मार्गचित्र’ बनेको छ । कारण स्पष्ट छ– हाइड्रोजनले केन्द्रिकृत बिजुली उत्पादनमा कार्बन उत्सर्जन घटाउने मात्र नभई सिमेन्ट, स्टिल, केमिकल र यातायातका ठूला कम्पनीमा समेत कार्बन डाइअक्साइडको उत्सर्जन घटाउन ठूलो मद्दत गर्दछ । जब शुद्ध हाइड्रोजन इन्धनको रूपमा प्रयोग हुन्छ, त्यसले ‘बाइ–प्रडक्ट’को रूपमा केबल ताप र पानी मात्र फाल्छ ।

पेरिस सम्झौता

बढ्दो प्रदूषण, आकाशिँदो हरितगृह ग्यासको प्रभावलाई कसरी समयमै नियन्त्रण गर्ने भनेर विश्वका १८९ देशका राष्ट्र प्रमुखहरू पेरिस सम्झौताका लागि भेला भए । चीन, ईयू र अमेरिकाले विश्वको ४१.५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । कार्बन उत्सर्जन गर्ने देशहरूको सूचीमा अनुपातका हिसाबले हेर्दा विश्वका १० ठूला देशले वायुमण्डलमा हुने कूल कार्बनमा दुई तिहाइ उत्सर्जन गर्दछन् । तिनमा चीन, अमेरिका, युरोप, भारत, रुस, जापान, ब्राजिल, इन्डोनेसिया र इरान पर्छन् । सूचीको सबैभन्दा तलतिर भएका १०० देशले गर्ने कार्बनडाइअक्साइडको उत्सर्जन जम्मा ३६ प्रतिशत मात्र छ । यसरी कार्बन उत्सर्जनमा देखिएको यो ठूलो विषमता एउटा चिन्ताको विषय हो । विश्व वायुमण्डल प्रदूषित गर्नेमा मुख्य तीन ठूला देशको मुख्य भूमिका देखिन्छ, तिनले १ सय देशले गर्ने भन्दा १६ गुणा बढी प्रदूषण गर्छन् । यसरी धनी देशले गर्ने कार्बन उत्सर्जन र वायुमण्डलमा छोडेको दूषित ग्यासको शिकार नेपालजस्ता अविकसित देशले व्यहोर्नु परिरहेको छ । अतः विश्व वायुमण्डलको प्रदूषण हटाउन पनि शक्तिसम्पन्न यी १० देशले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूले नचाहँदासम्म प्रदूषण हटाउन वा शून्य गर्न सकिँदैन ।

हाइड्रोजन ऊर्जा : सम्भावना र चुनौती

हाइड्रोजनले स्वच्छ ऊर्जाको अभाव पूरा गर्ने ठूलो आश्वासन दिइरहेको छ तर विद्यमान विधि ‘ग्रे हाइड्रोजन’ उत्पादनका लागि प्रयोग भइरहेको छ । जसअनुसार पूर्णरूपमा कोइला र प्राकृतिक ग्यासमा निर्भर भई हाइड्रोजन उत्पादन गरिन्छ । इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए) को पछिल्लो तथ्याङ्क अनुसार विश्वमा हाइड्रोजनको माग ७ करोड मेट्रिक टन छ । खैरो हाइड्रोजनले उक्त माग पूरा गर्दा वार्षिक ८३ करोड मेट्रिक टन कार्बन उत्सर्जन हुने तथ्य बाहिर आएको छ । यो मात्रा जर्मनीले गर्ने उत्सर्जनभन्दा धेरै हो । जर्मनी विश्वको छैटौँ ठूलो प्रदूषक देश मानिन्छ । केही मानिसले यो खैरो हाइड्रोजनको उत्पादन प्रक्रियाप्रति असहमति जनाउँदै आएका छन् । हाइड्रोजन ऊर्जाको वर्तमान उत्पादन विधिले कार्बन उत्सर्जन बढी गर्ने दाबी उनीहरूले गरेका छन् ।

विश्वमा कम कार्बन उत्सर्जन गर्ने हाइड्रोजन उत्पादनका प्रविधि आएका छन् तर ती महँगा छन् । यद्यपि, जसरी अरू नवीकरणीय ऊर्जा उत्पादनको लागत युद्धस्तरमा घटेको छ, त्यसरी नै भविष्यमा हाइड्रोजनको समेत घट्ने आशा गर्न सकिन्छ । सन् २०३० सम्म हाइड्रोजन उत्पादनको मूल्यमा ३० प्रतिशतभन्दा बढीले कमी आउने अध्ययनले देखाएको छ । मूल्यमा गिरावट आएपछि हाइड्रोजन ऊर्जा क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ । यसमा प्राप्त हुने सफलता विश्वका सरकारको राजनीतिक इच्छाशक्ति र अनुसन्धानमा गरिने खर्चहरूले निर्धारण गर्नेछ ।

मित्सुबिसी पावर कम्पनी र ब्लुमबर्ग न्यु इनर्जी फाइनान्सको संयुक्त आयोजनामा लन्डनमा भएको एउटा कार्यशाला गोष्ठीमा हाइड्रोजन ऊर्जाका वरिष्ठ विज्ञ प्रोफेसर ककारसले विमति जनाउँदै भने– ‘हाइड्रोजन ऊर्जाका प्रविधिहरू अहिले नै व्यावसायिकरूपमा सक्षम र उपलब्ध छन् । अझै यसको उत्पादन लागत घटाउनुपर्ने आवश्यकता छ ।’

कार्बन ऊर्जामा लगाइने नियमित शुल्कहरू हटाइनु पर्दछ । यसले कार्बन ऊर्जाको लागत घटाउने छ । त्यसैगरी, कार्बन ऊर्जा विकाससम्बन्धी अनेकखाले नीति र नियमहरू सजिलो बनाइनुपर्ने देखिन्छ । यो नयाँ प्रविधि भएकाले यस किसिमका नीतिहरू अस्पष्ट देखिनु स्वाभाविकै हो । हाइड्रोजन उत्पादनमा लिइने अनुमतिपत्र, सुरक्षाका सवालहरू, एक देशबाट अर्कोमा निकासी– पैठारी सम्बन्धी कानूनहरू, सीमापार नीतिहरू सबै समयानुकूल परिमार्जित गर्दै जानुपर्छ ।

खैरो, नीलो र हरित हाइड्रोजन

हरित हाइड्रोजन सम्भवतः अर्को दशकका लागि चुनौतीको रूपमा रहने छ । यो उत्पादन गर्न थप नवीकरणीय बिजुली आवश्यक पर्छ । ‘नीलो हाइड्रोजन’ त्यो दिशामा अघि बढ्न एक वास्तविक कदम हो । ‘कार्बन क्याप्चर प्रविधि’सँग परम्परागत उत्पादन विधिहरू मिलाएर उत्पादन गरिने ‘नीलो हाइड्रोजन’ लगभग कार्बनमुक्त हुन्छ । प्राकृतिक ग्यासबाट हाइड्रोजन उत्पादन गर्न प्रयोग हुने स्टीम मिथेन रिफर्मिङ (एसएमआर) अर्थतन्त्र अनुकूल भएका कारण भविष्यमा प्रमुख उत्पादन प्रविधि बन्ने सम्भावना छ । कार्बन क्याप्चर, उपयोगिता र भण्डारण (सीसीयूएस) प्रविधिको एसएमआर प्लान्टले हाइड्रोजन उत्पादनबाट उत्सर्जन कम गर्न सक्छ । फलतः नीलो हाइड्रोजन उत्पादन सुगम हुनेछ ।

आईईएको अध्ययनले सीसीयूएस प्रविधि अनुसार प्राकृतिक ग्यासबाट हाइड्रोजन उत्पादन अलि बढी महँगो उल्लेख गरेको छ । यद्यपि, कार्बन उत्सर्जनको मूल्य बढ्दै जाँदा र सीसीयूएस प्रविधि सस्तो हुँदै गएकोले आगामी दिनमा मूल्यको अन्तर कम हुनेछ । साथै, नीलो हाइड्रोजनलाई अझ बढी प्रतिस्पर्धी बनाउन सकिने छ । विश्व हरित हाइड्रोजनतर्फ बढ्दै जाँदा, सीसीयूएस प्रविधिका कारण नीलो हाइड्रोजन कोशे ढुङ्गा (माइलस्टोन) बन्न सक्छ ।

बीएनईएफ शिखर सम्मेलनको उही कार्यशालामा, काकारसले कसरी सीसीयूएसको मापनले हाइड्रोजन उत्पादनमा फाइदा पु¥याउन सक्छ भनेर बताए । उनले भनेका थिए, ‘पेट्रा नोभामा अवस्थित विद्युत् उत्पादन प्लान्टमा स्थापित क्याप्चर प्लान्टको छेउमा नीलो हाइड्रोजन बनाउनुपर्ने क्याप्चरभन्दा २ गुणा बढी लिने क्षमता छ ।’ मित्सुबिसी हेभी इन्डस्ट्रिज समूहले संयुक्त राज्य अमेरिकाको टेक्सासमा पेट्रा नोभाको लागि विश्वको सबैभन्दा ठूलो व्यावसायिक कार्बन खिच्ने प्लान्ट सन् २०१६ देखि सफलरूपले व्यावसायिक सञ्चालानमा आएको छ ।

हाइड्रोजन फ्यूल–सेल

हाइड्रोजनको उपयोगलाई मध्यनजर गर्दै विश्वका कैयौँ विकसित तथा विकासशील देशले यसको विकासमा मेहनत गरिरहेका छन् । विश्वका ठूला अटो मोबाइल कम्पनीले पनि अब हाइड्रोजन फ्यूल सेलबाट चल्ने सवारीको विकासमा जोड दिएका छन् । यो कार्बन शून्य वैकल्पिक ऊर्जा व्यवस्थाले बढ्दो वातावरणीय प्रदूषणलाई कम गर्दै विश्वका सबै देशलाई सन् २०५० सम्म कार्बन शून्य बनाउन ठूलो सहयोग मिल्ने छ । यही उत्प्रेरक तथ्यले हाइड्रोजनको उपयोग बढ्दै जाने देखिन्छ ।

एउटा कारमा ७ मिनेटभित्र हाइड्रोजन फ्यूल भर्न सकिन्छ । एक पटक फ्यूल भरेको कारले ४०० देखि ६०० किलोमिटरसम्मको यात्रा तय गर्न सक्छ तर विद्युतीय गाडीमा यति नै दूरीको यात्रा गर्न करिब १२ घण्टा रिचार्ज गर्नुपर्छ । त्यसैले, यो विद्युतीय गाडीभन्दा पनि धेरै प्रभावकारी मानिएको छ । हाइड्रोजन फ्यूल सेलले रासायनिक ऊर्जालाई विद्युत् ऊर्जामा परिवर्तन गर्दछ । यसमा हाइड्रोजन ग्यास र अक्सिजनको प्रयोग हुने गर्दछ । हाइड्रोजनको प्रयोगले कुनै प्रदूषण हुँदैन । पेट्रोलियम इन्धनका लागि गरिने खर्च जोगाउँछ । यस प्रकारको नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोग बढाउन सके पारम्परिक जीवाश्म इन्धन घटाउन मद्दत पुग्छ ।

ग्रीन हाइड्रोजन नीति, २०८०

विश्वमा बढ्दै गएको हाइड्रोजन ऊर्जाप्रतिको आकर्षणलाई समयमै स्वीकार गर्दै नेपाल सरकारले ‘ग्रिन हाइड्रोजन नीति, २०८०’ लागू गरेको छ । यो नेपालको ऊर्जाका विकासमा एउटा नीतिगत व्यवस्थाको प्रारम्भ मान्न सकिन्छ ।

नेपालमा हाइड्रोजनको प्रवेश

नेपालमा हाइड्रोजन ऊर्जाको सम्भावनाको चर्चा गर्दा सन् २००८ बाट शुरू गर्नुपर्छ । सोही वर्षको अगस्टमा इन्टरनेसनल जर्नल अफ हाइड्रोजन भोलुम–३३ मा डा. भक्तबहादुर आले र श्रीओम बादे श्रेष्ठले अनुसन्धानात्मक लेख प्रकाशित गरी यसको बहस शुरू गरेका थिए । सन् २००९ मा लेखक द्वयले नै ‘काठमाडौँ उपत्यकामा हाइड्रोजन सवारीको प्रचलन : यातायातको स्वच्छ र दिगो माध्यम’ शीर्षकको लेख प्रकाशित गरे ।

गोरखापत्रमा प्रकाशित हाइड्रोजन ‘ ऊर्जाको सम्भावना र चुनौती’ त्यो लेखले ऊर्जा नीति बनाउन पहिलो लबिङ गरेको थियो । त्यतिबेलैको पहल, निरन्तरको छलफल, बहस र सरोकारवाला निकायको दबाबपछि सरकारले ग्रीन हाइड्रोजन नीति, २०८० ल्यायाे । उता हाइड्रोजन सम्बन्धी अनुसन्धानमा नेपाली विज्ञहरू समेत सक्रिय रहेको प्रशस्त उदाहरण छन् । त्यसलाई यहाँ उल्लेख गरिएको छ :

  • ‘नेपालको सन्दर्भमा हरित हाइड्रोजन उत्पादन, भण्डारण र खेर गइरहेको औद्योगिक तापलाई रिकभर गरी बनाइने प्लान्टको प्राविधिक–आर्थिक विश्लेषण (विश्वास पनेरु, विप्लभ पनेरु, डा. रामहरि पौड्याल र साथीहरू–२०२४), 
  • ‘अतिरिक्त जलविद्युत्बाट हाइड्रोजन उत्पादन ः नेपालको परिप्रेक्ष्यमा क्षारीय इलेक्ट्रोलाइसिस प्रविधिको आर्थिक मूल्याङ्कन २०२४’ (अनुप पौडेल, बिश्वास पनेरु र साथीहरू) 
  • ‘नेपालमा युरिया उत्पादनका लागि जलविद्युत्मा आधारित हरित अमोनिया प्लान्टको प्राविधिक–आर्थिक विश्लेषण– २०२३ (सिजन देवकोटा, सगर वन र साथीहरू) 
  • ‘नेपालमा अतिरिक्त हाइड्रो ऊर्जाबाट हरित हाइड्रोजनको सम्भाव्यता’, २०२१ शीर्षकमा डा. बिराजसिंह थापा, विश्वास न्यौपाने लगायत साथीहरूका धेरै अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । 
  • ‘दिगो ग्रिन हाइड्रोजन अर्थतन्त्रतर्फ नेपाल’ भन्ने शीर्षकमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा लेख्छन्– ‘हाइड्रोजन इलेक्ट्रोलाइजर भनिने मेसिन प्रयोग गरेर पानीबाट प्रशोधन गरिन्छ, जसले विद्युतीय प्रवाहको प्रयोगले पानीलाई यसको घटक, हाइड्रोजन र अक्सिजनमा विभाजित गर्दछ । नवीकरणीय ऊर्जा वा कार्बन मुक्त बिजुली स्रोतको प्रयोग गरी उत्पादित ग्यासमा कार्बन फुटप्रिन्ट शून्य हुन्छ । यस ग्यासलाई हरित हाइड्रोजन भनिन्छ । जलविद्युत्बाट हरित हाइड्रोजन ऊर्जाको उत्पादन र आपूर्ति भविष्यमा नेपालका लागि एक नवीन र सुनौलो व्यवसाय हुन सक्दछ ।’ 
  • आर्थिक वर्ष २०२०/२१ मा भारतको केन्द्र सरकारले हाइड्रोजन ऊर्जाका लागि २० लाख अमेरिकी डलरभन्दा बढीको बजेट विनियोजन गरेको थियो । हाइड्रोजनका लागि छिमेकी देशको यो कार्यबाट नेपालले प्रेरणा लिन सक्छ । 

यही सत्यलाई मध्यनजर गरेर नेपाल आयल निगमका तात्कालीन कार्यकारी प्रमुख सुरेन्द्र पौडेलको नेतृत्वमा काठमाडौँ विश्वविद्यालयसँग हाइड्रोजन ऊर्जा प्रविधिलाई कसरी नेपालमा लागू गर्न सकिन्छ भनेर अनुसन्धान गर्न सम्झौता भयो । हाइड्रोजनमा यो एउटा कोशेढुंगा थियो । विश्वमा चलिरहेका नयाँ मोडेलबाट पाठ सिक्दै नेपालले ऊर्जा भनेको पारम्परिक जीवाश्म ऊर्जा र जलविद्युत् मात्र नभई नवीकरणीय र हाइड्रोजन सबैलाई ऊर्जा मिश्रणमा सामेल गर्दै अघि बढ्नु पर्ने चुनौती छ । ‘टू मेक एन इनर्जी फिक्स, वि निड एन इनर्जी मिक्स’ ब्रिटिश पेट्रोलियम कम्पनीको यो मूल मन्त्र अब आयल निगमले पनि पच्छ्याउँदै अघि बढोस् ।

लेखक, नवीकरणीय ऊर्जाविद् एवम् त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका अतिथि प्राध्यापकसमेत रहेका छन् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।

सन्दर्भ सामग्री (References)
1 . Biraj Singh Thapa, Bishwash Neupane, Ho-seong Yang, Young-Ho Lee, Green hydrogen potentials from surplus hydro energy in Nepal,International Journal of Hydrogen Energy, Volume 46, 108 Issue 43, 2021, Pages 22256-22267, ISSN 0360-3199, https://doi .org/10 .1016/j .ijhydene .2021 .04 .096 .

2 . Sijan Devkota, Sagar Ban, Rakesh Shrestha, Bibek Uprety, Techno-economic analysis of hydropower based green ammonia plant for urea production in Nepal, International Journal of Hydrogen Energy, Volume 48, Issue 58, 2023, Pages 21933-21945, ISSN 0360-3199, https://doi .org/10 .1016/j .ijhydene .2023 .03 .087.

3 . Anup Paudel, Bishwash Paneru, Durga Prasad Mainali, Sameep Karki, Yashwanth Pochareddy, Shree Raj Shakya, Seemant Karki, Hydrogen production from surplus hydropower: Techno-economic assessment with alkaline electrolysis in Nepal's perspective, International Journal of Hydrogen Energy, Volume 74, 2024, Pages 89-100, ISSN 0360-3199, https://doi .org/10 .1016/j .ijhydene .2024 .06 .117.

4 . B .B . Ale, S .O . Bade Shrestha, Introduction of hydrogen vehicles in Kathmandu Valley: A clean and sustainable way of transportation, Renewable Energy, Volume 34, Issue 6, 2009, Pages 1432-1437, ISSN 0960-1481, https://doi .org/10 .1016/j .renene .2008 .10 .015.

5 . Bishwash Paneru, Anup Paudel, Biplov Paneru, Vikram Alexander, D .P . Mainali, Sameep Karki, Seemant Karki, Sarthak Bikram Thapa, Khem Narayan Poudyal, Ramhari Poudyal, Techno-economic analysis of green hydrogen production, storage, and waste heat recovery plant in the context of Nepal, International Journal of Hydrogen Energy, Volume 77, 2024, Pages 892-905, ISSN 0360-3199, https://doi .org/10 .1016/j .ijhydene .2024 .06 .161. 

६. डा. रामहरि पौड्याल ‘हाइड्रोजन उर्जाको सम्भावना’ २६ जनवरी २०२१ गोरखापत्र दैनिक ।

७. डा. रामहरि पौड्याल ‘कोभिड–१९ पछि हाइड्रोजन ऊर्जा’ बिहीबार, माघ २२, २०७७ बाह्रखरी अनलाइन पत्रिका ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३