विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक ३०, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

छिल्ला दशकहरूमा विश्वका हरेक गतिविधिलाई पर्यावरणसँग जोड्ने गरिएको छ । जलवायु परिवर्तनले विश्वको तापमानमा आएको अत्याधिक वृद्धिका कारण समस्या भयावह भइरहेको छ । जलवायुजन्य र मानवीय सङ्कट बढिरहेका छन् । यसको निराकरणका लागि पैरवी गर्नु अपरिहार्य भइसक्यो । पहिला पृथ्वी जोगाउनु पर्‍यो, त्यसका लागि पर्यावरण जोगिनु पर्‍यो । आजको पुस्ताले भोगिरहेको र भावी पुस्ताले भोग्नुपर्ने महासङ्कटको निकास नखोजी हुँदैन ।

यो विषयमा पैरवी र अभियान नचलाएसम्म वा अन्तर्राष्ट्रिय मञ्चहरूमा दबाब र खबरदारी नगरेसम्म अगाडि बढ्न सकिँदैन । त्यसैले, जलविद्युत् वा अन्य नवीकरणीय ऊर्जा विकास अब पर्यावरणमैत्री हुनुपर्छ । पर्यावरणीय संरक्षण र सन्तुलित स्वच्छ ऊर्जाको विकासबाट मात्र यो महासङ्कट न्यूनीकरण गर्न सकिन्छ । त्यसमा नेपालले पनि नेतृत्व लिएर दबाब सिर्जना गर्नुपर्छ । कूटनीतिक संयन्त्रमार्फत यो काम अगाडि बढाउन सकिन्छ ।

सन् २०२३ मा दुबईमा सम्पन्न कोप–२८, ओमनको ‘ग्रिन हाइड्रोजन समिट’, जर्मनीमा आयोजित ‘बर्लिन इनर्जी ट्रन्जिसन डायलग’ हुँदै पछिल्लो समय नेदरल्याण्डमा ‘वर्ल्ड ग्रिन हाइड्रोजन समिट’ सम्पन्न भए । जलवायु परिर्वतन, स्वच्छ ऊर्जा विकास, ग्रिन हाइड्रोजनसँग जोडिएका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउँदा धेरै नै सुन्ने, बुझ्ने र बुझाइको दायरा फराकिलो बनाउने मौका प्राप्त भयो । अबको विश्व पूर्णरूपमा स्वच्छ ऊर्जा विकासको प्रवर्द्धनमार्फत जलवायु परविर्तनको महासङ्कट न्यूनीकरणतर्फ तीव्रताका साथ अगाडि बढिरहेको छ ।

घनिभूतरूपमा अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा यसबारे बहस तथा छलफल भइरहेका छन् । संसारका प्रमुख औद्योगिक तथा शक्तिशाली राष्ट्रहरू जसले औद्योगिक विकासका नाममा गरेका खराब अभ्यासहरूका कारण ब्यापकरूपमा कार्बन उत्सर्जन भइरहेको छ । नेपालजस्तो सानो हिमाली देश, जहाँ कार्बन उत्सर्जन शून्य प्रायः छ । यस्ता देशले अनाहकमा मार खेप्नु परेको छ । यही कार्बन उत्सर्जनका कारणले विश्वव्यापी रूपमा समस्या देखिइरहेको छ ।

आज, कार्बन उत्सर्जनविरुद्धको अभियानमा दुनियाँ लागेको छ । विश्वका अभियन्ताहरू एक जुट भएका छन् । मैले चार–पाँच वटा अन्तर्राष्ट्रिय मञ्चहरूमा लगातार सहभागिता जनाउँदा विश्व स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनको एउटै मात्र मुद्दा बोकेर हिँडिरहेको पाएँ । पर्यावरणलाई बचाउने हो भने स्वच्छ तथा हरित ऊर्जाको विकास एकमात्र विकल्प छ, विश्वसँग ।

दुनियाँको २० प्रतिशत कार्बन उत्सर्जन भारत र चीनले गर्छन् । त्यसको धूवाँले हाम्रा हिमालहरू पग्लिने र जलवायुजन्य विपत्ति हामीले भोग्नुपर्ने ? भोलिका दिनमा यो समस्या अझै भयावहरूपमा देखिँदैछ । यस्तो बेलामा सरकार अन्तर्राष्ट्रिय मञ्चहरूमा बोल्नु पर्दैन ? नेपाल आफैँले मात्रै भारत र चीनसँग ‘डिल’ गर्न सक्दैन । अतः जलवायु परिवर्तन कूटनीतिमार्फत त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।

जलवायु परिवर्तन, शून्य कार्बन उत्सर्जन र हरित हाइड्रोजन विकासको बहस विकसितहरूले अल्पविकसित देशहरूलाई जबर्जस्ति लादेको मुद्दा भनिन्छ । खासमा, यो गलत बुझाइ हो । यसलाई लादिएको भन्दा ठूला राष्ट्रहरूमा परेको दबाबको रूपमा लिनुपर्छ । विकसित देशहरूमा भएको औद्योगिक विकासक्रमले जसरी कार्बन उत्सर्जन भइरहेको छ, त्यसबाट फर्किन उनीहरू तयार नदेखिएको बुझिन्छ । अझ उनीहरू पेलेर जाने हिसाबमा अगाडि बढेको देखिन्छ ।

नेपालले उठाइरहेका मुद्दाहरू वा स्वच्छ ऊर्जा र हरित हाइड्रोजन विकासको बहस देखावटी भन्नेहरू पनि नभएका होइनन् । त्यसो होइन, दुनियाँका अभियान्ता ‘पहिला पृथ्वी बचाउँ’ भन्नेमा छन् । पृथ्वी बचेपछि न समृद्धिको कुरा आउला ! यस्ता मुद्दा कार्यान्वयनमा ठूला राष्ट्रहरूलाई बाध्य बनाउने कोपजस्ता अन्तर्राष्ट्रिय मञ्चहरू नै महत्त्वपूर्ण हुन् ।

ठूला तथा औद्योगिक शक्तिशाली राष्ट्रहरूको जुन मनोमानी र दबदबा छ, त्यो अब चल्दैन । पहिला यो पृथ्वी र पर्यावरण बच्नुपर्‍यो । तबमात्र न विकास, समृद्धि र औद्योगिक उत्पादनका कुराहरू अघि आउँछन् ।

अन्तर्राष्ट्रिय स्तरमा भइरहेका यस्ता बहसमा सहभागी हुँदै गर्दा नेपालको तयारी पर्याप्त देखिँदैन । सरकारको चासो त एक हदसम्म बढेकै छ । यति हुँदा हुँदै पनि यस पटक कोप–२८ मा नेपालको प्रस्तुति प्रशंसनीय रह्यो । तयारी पनि राम्रो थियो । जे जति कुरा संसारलाई सुनाउने मौका मिल्यो त्यसलाई उपलब्धिमूलक मान्नुपर्छ । त्यसले, अन्तर्राष्ट्रिय स्तरमा नेपालको मुद्दा पुर्‍याएको छ । यद्यपि, जुनरूपमा हामीले सोचेका छौँ र जसरी सरकार गइदिए हुन्थ्यो भन्ने आमनागरिकको अपेक्षा छ, त्यो हुन सकेको छैन ।

हिमालयको मुद्दालाई पहिलोचोटी जबर्जस्तरूपमा कोप–२८ मा उठाइयो । त्यसमा नेपालका प्रधानमन्त्रीको प्रस्तुति उच्चकोटीको थियो । यद्यपि, ती मुद्दाहरूले जसरी अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार पाउनुपर्ने हो, पाएका छैनन् । त्यो गर्न नसक्नुमा हाम्रै कमजोरी देखिन्छ । कोप–२८ पछिका धेरै महत्त्वपूर्ण बहसका अन्तर्राष्ट्रिय मञ्चहरू नेपालले छुटायो । अब स्वच्छ वा हरित ऊर्जा मात्रै होइन, ‘जलवायु कूटनीति’ भन्न थालिएको छ । त्यसमा नेपाल धेरै पछाडि छ ।

सरकारले त्यस्ता विदेशी मञ्चहरू प्रयोग गर्नुपर्‍यो । जस्तोः बर्लिन इनर्जी ट्रान्जिसन डाइलग ठूलो मञ्च थियो । जर्मनी सरकारले आयोजना गरेको त्यो कार्यक्रममा नेपाल सरकार जानुपर्थ्याे । सहभागिताका लागि अनुरोध गरिएको पनि थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् प्राधिकरणसम्म त्यसको निम्तो पुगेकोमा म आफैँ पनि जानकार छु । ती निकायले प्रतिक्रिया नदिँदा सरकारको प्रतिनिधित्व नै भएन ।

दुनियाँको २० प्रतिशत कार्बन उत्सर्जन भारत र चीनले गर्छन् । त्यसको धूवाँले हाम्रा हिमालहरू पग्लिने र जलवायुजन्य विपत्ति हामीले भोग्नुपर्ने ? भोलिका दिनमा यो समस्या अझै भयावहरूपमा देखिँदैछ । यस्तो बेलामा सरकार अन्तर्राष्ट्रिय मञ्चहरूमा बोल्नु पर्दैन ? नेपाल आफैँले मात्रै भारत र चीनसँग ‘डिल’ गर्न सक्दैन । अतः जलवायु परिवर्तन कूटनीतिमार्फत त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यस्ता मुद्दामा सरकारको ध्यान गएको छैन । किन सरकार जवाफदेही बनिरहेको छैन ? यो कुरा बुझ्न सकिएको छैन ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु कूटनीतिका मुद्दाहरू निरन्तररूपमा उठाउन सकिएन भने हामीले ठूलो मूल्य चुकाउनुपर्छ । सरकार तथा सम्बन्धित निकायहरू यसमा जवाफदेही भएरै लाग्नुपर्छ । केही थाहा नपाएजस्तो गरी सुतिरहनु भएन । सत्ता राजनीतिमै रुमल्लिएर नेपालले मुख्य मुद्दा बिर्सिनु हुँदैन । सत्ता र राजनीतिका कुरा आ–आफ्नै ठाउँमा हुन्छन् । यो संसारभरि चलिरहने प्रक्रिया हो तर राष्ट्रका संवेदनशील मुद्दामा राजनीतिक पार्टीहरू एक ठाउमा बस्नुपर्‍यो ।

नेपाल स्वच्छ ऊर्जाका लागि विश्वकै हब बन्न सक्ने सम्भावना रहेको विभिन्न अध्ययनले देखाइरहेका छन् । जुनसुकै सरकार आए पनि यो विषयमा साझा प्रतिबद्धता बन्नुपर्‍यो । पर नजाऊँ, त्यही भारतमा सरकार परिवर्तन भए वा जे जस्ता घटनाहरू विकास भए पनि अन्तर्राष्ट्रिय मुद्दामा एकता हुन्छ । देशको समृद्धिको हकमा एक मत हुन्छ ।

भर्खरैको नेदरल्याण्डको सम्मेलनमा एउटा अफ्रिकी देश नामिबियाले हाइड्रोजन विकासमा सिंगो अफ्रिकाको नेतृत्व गर्दै गरेको जस्तो देखिन्थ्यो । उक्त सम्मेलनमा उसको आफ्नै ‘पेभिलिएन’ थियो । हाइड्रोजन विकासमा नेपाल सम्भवना नै सम्भवना भएको राष्ट्र, विश्वलाई नै नेतृत्व गर्न सक्छ तर हामी चुकिरहेका छौँ ।

सरकारको सक्रियताले मात्रै जुन लक्ष्यमा पुग्न खोजिएको छ, त्यो सम्भव छैन । सरकार र निजी क्षेत्रबीचको समन्वयमा काम गर्नुपर्छ । जसरी सरकारले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा सहभागी गरायो, त्यसरी नै हरित हाइड्रोजनमा पनि सँगसँगै लैजानुपर्ने देखिन्छ । यो अभियानले जलविद्युत् विकास
ओझेलमा पर्दैन । हरित हाइड्रोजन त जलविद्युत्‌काे सहयोगी अर्थात् सारथी हो । सबैभन्दा ठूलो कुरा राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर हुन्छ । सत्ता चलाउने वा राजनीतिमा क्रियाशीलहरूले साझा मुद्दा बनाएर एकै ठाउँमा आउनुपर्‍यो । नेपालको समृद्धिका आधारहरू जलविद्युत्, हरित हाइड्रोजन र सोलार नै हुन् ।

नेदरल्याण्ड सम्मेलनमा भारतको उल्लेख्य सहभागिता थियो; अझ सम्मेलन नै उसले कब्जा गरे जस्तो । भारतका सबै ठूला विद्युत् कम्पनीहरू पूर्णरूपमा हरित हाइड्रोजन उत्पादनमा लागेको बुझियो । त्यति ठूलो बजार छ– भारत, चीन र बंगलादेशमा । नेपालले दक्षिण एसियाकै नेतृत्व गर्न सक्ने भनिँदै आएको छ । जलवायु परिवर्तनका कारण हिउँदमा सम्झौता ऊर्जा उत्पादन नहुने र बर्खामा खेर जाने वा ठूलो विपद् आइलागेर आयोजना नष्ट हुने खतरा छ । यस्तो अवस्थामा हामीले छिटो जलविद्युत्‌काे सदुपयोग गर्नुपर्छ ।

नेपाल हरित हाइड्रोजन विकासको अभियानमा भर्खरै अगाडि बढ्दैछ । २०७७ सालदेखि केयूले हरित हाइड्रोजनको अध्ययन र अनुसन्धान शुरू गर्‍यो । सरकारको नीति तथा कार्यक्रममा समावेश हुन थालेको पनि धेरै भएको छैन । २०८० सालमा ‘ग्रिन हाइड्रोजन पोलिसी’ आयो । केयू अन्तर्गत हरित हाइड्रोजन प्रयोगशालाले यसमा सशक्तरूपमा काम गरिरहेको छ । काम नभएको होइन तर विश्व दौडिरहेको गतिमा हामी छैनौँ ।

सरकारले २०८० साल माघ ३ गते जुन नीति ल्यायो । त्यो प्रशंसनीय नै छ । यद्यपि, त्यो हरित हाइड्रोजन भन्दा हरित एमोनिया नीतिजस्तो बुझिन्छ । नेपालमा एमोनियामार्पmत युरिया मल उत्पादन गर्ने आशयको छ । अब त्यसमा छलफल, बहस गरेर ऐन, नियम र निर्देशिका तयार गर्नुपर्‍यो । भोलि हरित हाइड्रोजनबाट कार, मोटरसाइकल चलाउँदै गर्दा सवारी दर्ता गर्नुपर्ने हुन्छ । हरित एमोनियाबाट मल उत्पादन गर्दा हुने नीतिगत व्यवस्थाहरू आउनुपर्‍यो ।

विश्वमा सबैभन्दा सस्तो हरित हाइड्रोजन र एमोनिया नेपालले उत्पादन गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । त्यसका लागि सरकारले निजी क्षेत्रसँगको साझेदारीमा काम गर्नुपर्छ । अध्ययन–अनुसन्धानमा लागेका केयू, त्रिभुवन विश्वविद्यालय, नाष्ट जस्ता संस्थालाई साथ लिएर काम गर्नुपर्ने देखिन्छ ।

अहिले, ओमन आक्रामकरूपमा हाइड्रोजन उत्पादनमा लागेको छ । ‘द जीसीसी’ भन्ने खाडीका ६ वटा देश छन् । उनीहरूको एउटा संगठन छ, उसको ध्यान नै हाइड्रोजन उत्पादनमा छ । साउदी अरबले सोलार विद्युत्मार्फत समुद्रको पानी तानेर हरित हाइड्रोजन विकास गर्दैछ; १ किलो हाइड्रोजन उत्पादन गर्दा ५ अमेरिकी डलर पर्दोरहेछ । त्यही पनि उनीहरूका लागि सस्तो भनिएको छ । जबकि, समुद्रको पानी तानेर शुद्धिकरण गरी प्रयोगमा ल्याउनुपर्छ । नेपालमा हरित हाइड्रोजनको सह–उत्पादन हरित एमोनिया छ, जसबाट युरिया मल उत्पादन गरी भारत, बङ्लादेश, पाकिस्तान र चीनमा समेत निर्यात गर्न सकिन्छ ।

नेपालमा वर्षामा बिजुली अधिक भएर बेच्न नसकेको अवस्था छ । भारतले बेलाबेलामा अवरोध गरिरहन्छ । त्यसमा सरकारले कति पापड बेलेको छ, त्यो जगजाहेर नै छ । उसका अनेक सर्त र स्वार्थ छन् । त्यसको मुक्तिको एउटै उपाय हरित हाइड्रोजन उत्पादन हो । अब सबै जलविद्युत्गृहमा एक–एक वटा हाइड्रोजन प्लान्ट स्थापना गरौँ न ! अनि, अतिरिक्त ऊर्जा हरित हाइड्रोजन प्लान्टमा भण्डारण गरौँ । हिउँदमा चाहिएको बेलामा त्यसलाई उपयोगमा ल्याऊँ ।

हिउँदमा प्रयोगमा आउँदा देशभित्र खपत हुने भयो । बाहिर निर्यात गर्न पनि सकियो । जलविद्युत्का लागि हाइड्रोजन र हाइड्रोजनका लागि जलविद्युत् नभई हुँदैन । यसैले, जलविद्युत् वा सौर्य विद्युत्‌काे प्रतिस्पर्धी हरित हाइड्रोजन होइन । अझ निजी क्षेत्रले नदी प्रवाही आयोजनाबाट उत्पादन गरेको अतिरिक्त ऊर्जा भण्डारणको भरपर्दो आधार हो हरित हाइड्रोजन; जलाशय जलविद्युत् आयोजना विकास गरे जस्तै । यसका लागि सरकारले छिटोभन्दा छिटो उपयुक्त नीति ल्याउनुपर्‍यो ।

पहिला नीति–नियम राम्रो चाहियो । उता, केयूले हाइड्रोजनबाट सञ्चालन हुने ‘हाइड्रोजन कार’को परीक्षण गरिसक्यो । केही निजी क्षेत्रका व्यक्तिहरू पनि लागेका छन् । विश्वमा हाइड्रोजन मोटरसाइकलसमेत विकास भइसक्यो । नेदरल्याण्ड सम्मेलनमा त्यसको नुमना देखाइएको थियो । जुन, केही समयपछि विश्व बजारमा आउँदैछ । लाग्छ, विश्व बजारबाट विद्युतीयलाई ‘हाइड्रोजन सवारी’ले विस्थापित गर्ने दिन चाँडै आउन सक्छ ।

विद्युतीयको तुलनामा हाइड्रोजन सवारी धेरै नै किफायती भएको पाइएको छ । नेपालजस्तो हिमाल, पहाड चढ्नुपर्ने ठाउँमा विद्युतीय सवारीले समस्या ल्याउन सक्छ । हाइड्रोजन गाडी भनेको पेट्रोलियम पदार्थ प्रयोग गरेजस्तै हो । जति पनि भार बोक्न सक्छ । ठूला ट्रक, लरीहरूमा हाइड्रोजन हालेर मज्जाले चलाउन सकिन्छ । यातायातका लागि हाइड्रोजन बरदान हुन सक्छ । यस्तै, भान्सामा हाइड्रोजन चुलोको प्रवर्द्धन गर्न सकियो । नेपाललाई त जलविद्युत्, शुद्ध पानी, हरित हाइड्रोजन र सोलारका लागि बरदान नै माने हुन्छ ।

हाइड्रोजन प्रयोगबाटै बढ्दो पेट्रोलियम र मल आयात घटाउन सकिन्छ । यसतर्फ राज्य क्रियाशील हुनुपर्‍यो । यसका चुनैती नभएका होइनन् तर सरकारको प्रतिबद्धता चाहिन्छ, सबै कुरा सम्भव छ ।

लगानीका लागि थुप्रै चुनौती छन् । लगानीमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको हो । यसमा प्रतिफलको सुनिश्चितता नभई लगानी आउँदैन । सरकारले विश्वसनीय काम गर्नुपर्‍यो । ‘नेपाल हरित हाइड्रोजन विकासका लागि सबैभन्दा आकर्षक गन्तव्य हो’ भनेर प्रचारप्रसार गर्नुपर्‍यो । त्यसपछि, नेपालकै शुद्ध पानी र स्वच्छ बिजुलीबाट हाइड्रोजन र एमोनिया उत्पादन गरी दक्षिण एसियामै निर्यात गर्न सकिन्छ । त्यो भन्दा पहिला उपयुक्त वातावरण बनाउने काम सरकारको हो ।

लेखक हरित हाइड्रोजन ऊर्जा विकासका अभियान्ता हुन् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस

नेत्र कार्की

विगतमा लामाे समय ऊर्जा क्षेत्रमा पत्रकारिता गरेका कार्की स्थानीय जनप्रतिनिधि हुँदै अहिले ऊर्जा र पर्यावरणकाे सन्तुलित विकासकाे पैरवीमा लागेका छन् ।

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३