काठमाडौँ । जलविद्युत् विकासमा पछिल्लो समय स्वदेशी निजी क्षेत्रको सहभागिता र योगदान तीव्र रफ्तारमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । विद्युत् उत्पादनको ११४ वर्षको इतिहास तथा खासगरी निजी क्षेत्रले प्रवेश पाएको करिब ३ दशकभित्र विद्युत् उत्पादनको यो रफ्तार देखिएको हो ।
हाल देशको विद्युत् प्रणालीमा कुल जडित क्षमता ३ हजार ८७३ मेगावाट पुग्दा निजी क्षेत्रको योगदान करिब ३ हजार २१२ मेगावाट देखिएको छ । यो कुल उत्पादनको झण्डै ८३ प्रतिशत हो । यद्यपि, यसमा नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको योगदान घटाउने हो भने निजी क्षेत्रको कुल योगदान २ हजार ४६४ मेगावाट हुन आउँछ । जे होस् प्राधिकरणका सहायक कम्पनीको योगदानलाई पनि निजी क्षेत्रमै जोडेर हेर्ने गरिएकै छ ।
निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरूले पछिल्लो समय जलविद्युत् आयोजना निर्माणमा हासिल गरेको अनुभवका कारण उनीहरूको दक्षता र क्षमतामामा समेत तीव्र वृद्धि भएको देखिएको छ । २०४९ सालमा बनेको विद्युत् ऐनले जलविद्युत्मा निजी लगानीको ढोका खोलपछि केही किलोबाटका लघु तथा साना जलविद्युत् आयोजनाबाट निजी क्षेत्रले विद्युत् उत्पादन सुरु गरेको थियो । अनुभव, विज्ञता र क्षमता बढ्दै जाँदा हाल सयौँ मेगावाटका विशाल आयोजना समेत निजी क्षेत्रले आफ्नै विज्ञता र दक्षता प्रयोग गरी स्वदेशी लगानीमै निर्माण गरिरहेका छन् ।
क्षमतालाई नै आधार मान्ने हो भने निजी क्षेत्रले स्वदेशी विज्ञता र लगानीको उपयोग गरी निर्माण गरिरहेका ५० मेगावाटमाथि र १०० मेगावाटभन्दा कम क्षमताका दर्जनौँ आयोजना निर्माण भइसकेका छन् र हुँदैछन् । यद्यपि, हाल स्वदेशी निजी क्षेत्रले निर्माण गरिरहेका १०० मेगावाटमाथिका ८ वटा आयोजनाको क्षमता मात्रै हिसाब गर्दा १ हजार ६०८ मेगावाट हुन आउँछ । यो हाल नेपालको कुल जडित क्षमताको ४२ प्रतिशत हुन आउँछ । अबको ३ देखि ७ वर्षभित्र यी आयोजनाले मात्रै हालको कुल जडित क्षमतामा झण्डै आधा क्षमता थप गर्ने लक्ष्य राखेका छन् ।
त्यस्तै, यी ८ आयोजनामा मात्रै ३ खर्ब ११ अर्ब ४८ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । आगामी ३ देखि ७ वर्षभित्र झण्डै सवा ३ खर्ब रुपैयाँ यी आयोजनामा मात्रै स्वदेशी पुँजी लगानीको खाँचो देखिन्छ ।
स्वदेशी लगानीमै निर्माणाधीन १०० मेगावाटभन्दा ठूला आयोजनाहरू
बूढीगण्डकी (३४१ मेगावाट)
साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले गोरखाको चुमनुब्री गाउँपालिकामा ३४१ मेगावाटको बूढीगण्डकी आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ । कुल ७० अर्ब लगानी अनुमान गरिएको आयोजना निर्माणका लागि १० वटा बैंकबाट सहवित्तीयकरणमा ५२ अर्ब ५० करोड ऋण लिने र बाँकी स्वपुँजीबाट जुटाउने गरी कम्पनीले २०८२ साउन २१ गते वित्तीय व्यवस्थापन पूरा गरेको छ । यति ठूलो आयोजना निर्माण अघि बढाउने क्षमता तथा अनुभव भने कम्पनीले साना आयोजना निर्माण गरेर नै आर्जन गरेको हो ।
कम्पनीका अध्यक्ष हिमप्रसाद पाठक, सञ्चालक सुशील थापा लगायतको समूहले यसअघि साहस ऊर्जा कम्पनीमार्फत नै थुप्रै साना–ठूला आयोजना निर्माणपछि यो विशाल परियोजना निर्माणमा लान सक्ने सामर्थ्य आर्जन गरेको हो । कम्पनीले यसअघि ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजना समयमै सफलतापूर्वक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको थियो । त्यसअघि, ५ मेगावाटको हुग्दी खोला लगायतका जलविद्युत् आयोजना निर्माण गरेर अनुभव तथा क्षमता आर्जन गरेको थियो ।
माथिल्लो तमोर (२८५ मेगावाट)
जलविद्युत् व्यवसायी पुष्पज्योति ढुंगानाले नेतृत्व गरेको तमोर इनर्जी प्रालिले ताप्लेजुङको फक्ताङलुङ र फुल्पिङ नगरपालिकामा २८५ मेगावाटको माथिल्लो तमोर आंशिक जलाशय आयोजना निर्माण गरिरहेको छ । २०८५ सालभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनामा कुल ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसमध्ये स्वदेशी बैंकबाट ३८ अर्ब ६० करोड रुपैयाँ ऋण लिने र बाँकी स्वपुँजी लगानी गर्ने गरी आयोजनामा स्वदेशी पुँजी लगानीको व्यवस्थापन गरिएको छ । यसअघि ढुङ्गानाको नेतृत्वमा १ मेगावाटको खानी खोला, १४.९ मेगावाटको तल्लो हेवा (ताप्लेजुङ) लगायतका आयोजना निर्माण भई सञ्चालनमा आइसकेका छन् ।
बझाङ माथिल्लो सेती (२१६ मेगावाट)
बझाङको साइपाल गाउँपालिकामा निर्माणाधीन २१६ मेगावाटको बझाङ माथिल्लो सेती आंशिक जलाशय आयोजना चर्चित जलविद्युत् उद्यमी शैलेन्द्र गुरागाईं नेतृत्वको समूहले निर्माण गर्न लागेको हो । उनकै नेतृत्वमा रहेको समृद्धि इनर्जी लिमिटेडले प्रवर्द्धन गर्ने यो आयोजनामा ४१ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । विभिन्न १४ वटा बैंक तथा वित्तीय संस्था मिलेर आयोजनामा कुल लगानीको ७० प्रतिशतले हुन आउने २९ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने र ३० प्रतिशतले हुन आउने १२ अर्ब ४८ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने गरी गत साउन १६ गते वित्तीय व्यवस्थापन पूरा गरिएको छ । २०८८ असार ३१ गतेभित्र पूरा गर्ने गरी आयोजना निर्माण अघि बढाइएको छ ।
यसअघि गुरागाईंको नेतृत्वमा रहेको समूहले लमजुङको भुलभुलेमा ९९० किलोवाटको सिउरी खोला लघुजलविद्युत् आयोजना निर्माणका लागि अध्ययन गरेको थियो । त्यसलाई पछि क्षमता बढाएर ५ मेगावाटको आयोजना विकास गरेको हो । त्यस्तै, माईखोला हाइड्रोपावर लिमिटेडमार्फत इलाममा ३ मेगावाटको सुपर माई क्यास्केड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । यही समूहले सिउरी न्यादी पावर लिमिटेड कम्पनीमार्फत लमजुङमै ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना निर्माण गरिएको छ ।
कालीगण्डकी गर्ज (१८० मेगावाट)
ग्रीन भेन्चर्स लिमिटेडले १८० मेगावाटको कालीगण्डकी गर्ज जलाशय आयोजना निर्माण गर्न लागेको हो । त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी रहेको ग्रीन भेन्चर्सले यसअघि २०७८ कात्तिक २१ गतेदेखि ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका भएर बग्ने लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु गरेको थियो । ३९ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने गरी वित्तीय व्यवस्थापन गरिएको छ । अघिल्लो आयोजना निर्माणको अनुभवका आधारमा नयाँ आयोजना निर्माण गर्न लागेको हो ।
वीरेन्द्रकुमार संघई अध्यक्ष रहेको यस कम्पनीमा उनीसहित हर्षवर्द्धन संघई, साकेत संघई, आशिषकुमार अग्रवाल, अर्पित अग्रवाल लगायतको लगानी रहेको छ । प्रवर्द्धक कम्पनीमा जलविद्युत् विज्ञसमेत रहेका अनुभवी जलविद्युत् उद्यमी ज्ञानेन्द्रलाल प्रधानसमेतको लगानी रहने बताइएको छ । आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सुपर तमोर (१६६ मेगावाट)
क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले ताप्लेजुङमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । यसका लागि ३४ अर्ब ५९ करोड रुपैयाँ लगानी २०८० चैतमा लगानी बोर्डले स्वीकृत गरेको थियो । उत्पादन अनुमति पत्रसमेत प्राप्त गरिसकेको यो आयोजनाको आगामी १ महिनाभित्र वित्तीय व्यवस्थापन पूरा गरी निर्माणमा अघि बढ्ने तयारी रहेको छ ।
यस आयोजनाका मुख्य प्रवर्द्धक (संस्थापक सेयर लगानीकर्ता) २०५४ सालदेखि नै जलविद्युत् विकासमा सक्रिय कृष्ण आचार्य र वीरेन्द्र न्यौपाने रहेका छन् । आचार्यसहितको समूहले यसअघि १२ मेगावाटको नामार्जुन मादी (कास्की), २५ मेगावाटको माथिल्लो मादी, ८६ मेगावाटको सोलु दूधकोसी जस्ता आयोजना सफल रूपमा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ ।
त्यस्तै, प्रवर्द्धक वीरेन्द्र न्यौपानेसहितको समूहले २२ मेगावाटको बलेफी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी ९७.२ मेगावाटको इसुवा खोला र ४० मेगावाटको इसुवा खोला क्यास्केड आयोजना निर्माण गरिरहेको छ । यी बाहेक अन्य आयोजनामा समेत आचार्य र न्यौपाने संलग्न रहेका छन् । तीनै आयोजनाको अनुभव र सफलताका आधारमा स्वदेशी लगानीमै यो समूहले १६६ मेगावाटको सुपर तमोर निर्माणमा अघि बढाउन लागेको हो । हाल यस आयोजनाको पहुँचमार्ग, आवास भवनलगायतका संरचना निर्माण भइसकेको प्रवर्द्धक आचार्यले बताएका छन् ।
लाप्चे खोला (१६० मेगावाट)
एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको नासा हाइड्रो प्रालिले दोलखाको बिगु गाउँपालिकामा १६० मेगावाटको लाप्चे खोला आंशिक जलाशय आयोजना निर्माण गरिरहेको छ । २६ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १९ अर्ब ६५ करोड रुपैयाँ बैंक ऋण र बाँकी स्वपुँजी लगानी रहने गरी २०७७ पुसमा वित्तीय व्यवस्थापन गरी निर्माण अघि बढाइएको हो । उद्योगी व्यवसायी मोतिलाल दुगडको अगुवाइमा रहेको एमभी दुगड ग्रुपले यसअघि पनि विभिन्न आयोजनामा लगानी गरेको छ ।
यसअघि एमभी दुगड ग्रुपले नुम्बुर हिमालय हाइड्रो पावर प्रालिमार्फत ३० मेगावाटको लिखु ‘ए’, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिमार्फत ५५ मेगावाटको लिखु–२, पान हिमालय इनर्जी प्रालिमार्फत ७७ मेगावाटको लिखु–१ जस्ता आयोजना निर्माण गरिसकेको छ ।
तल्लो बरुण खोला (१३२ मेगावाट)
संखुवासभाको भोटखोला गाउँपालिका हटिया भन्ने स्थानमा एम्पिक इनर्जी प्रालिले १३२ मेगावाटको नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । कुल २० अर्ब १२ करोड रुपैयाँको लागतमा ५ वर्षभित्र निर्माण पूरा गर्ने गरी यो आयोजना अघि बढाइएको छ ।
तमोर–मेवा (१२८ मेगावाट)
स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा नदी प्रवाहमा आधारित १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तमोर र मेवा नदीको पानी सदुपयोग गर्ने गरी आयोजना निर्माण भइरहेको हो । २०८५ असोज २५ गते निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको अनुमानित लागत २४ अर्ब ३२ करोड रुपैयाँ रहेको आयोजनामा बैंकको ऋण लगानी ७५ प्रतिशत र स्वपुँजी लगानी २५ प्रतिशत रहने छ ।
कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बु, प्रबन्ध सञ्चालक सुदीपकुमार चौधरी लगायत सञ्चालकको समूहले आयोजना निर्माण अघि बढाएको हो ।
१०० मेगावाटभन्दा ठूला आयोजनाका प्रवर्द्धक, क्षमता तथा लागत
पुष्प काेइराला, ऊर्जा खबरका कार्यकारी सम्पादक हुन् ।