विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

प्रकृतिप्रदत्त जलस्रोतको अधिकतम उपयोगबाट विद्युत् उत्पादन गरी देशमा उद्योगधन्दा र व्यवसायमा वृद्घि गरी, जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याई राष्ट्रको आर्थिक विकाससमेत हुन सक्छ । स्वदेशी विद्युत्को उपभोगले देशमा पेट्रोलियम पदार्थको आयात कम हुने, वनविनाश कम भई वातावरणीय संरक्षण हुने र बढी भएको विद्युत् निर्यातबाट विदेशी मुद्रा आर्जनमा वृद्धि भई देशको व्यापारघाटा कम हुने भएकाले जलविद्युत् क्षेत्रको विकासलाई सरकारले पहिलो प्राथमिकता प्रदान गर्नुपर्छ ।

कोभिड–१९ ले यस क्षेत्रमा पारेको असर न्यूनीकरण गरी राष्ट्रिय अर्थतन्त्र चलायमान गराउनका लागि जलविद्युत् क्षेत्रमा थप लगानी जुटाउन सक्नुपर्छ । सरकारले आगामी आठ वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादनको लक्ष्य राखेकोमा सो उत्पादित विद्युत् देशमा उपभोग तथा विदेशमा निर्यात गर्न सक्ने अवसर पनि कोभिड–१९ ले प्रदान गरेको छ ।

जलविद्युत्को प्रवद्र्धन गर्न सधैं नै ठूलो चुनौती रहँदै आएको परिप्रेक्ष्यमा कोरोना महामारीले यो क्षेत्रलाई थप जोखिमपूर्ण बनाएको छ । यो महामारीले जलविद्युत्को अध्ययन, निर्माण तथा उत्पादनको कार्यलाई थप कष्टकर बनाएको त छ नै, त्यसमा स्वदेशमै विद्युत्को बजार विस्तारको अपरिहार्यता स्पष्ट पारेको छ । यस महामारीको कारणबाट देशका उद्योग–व्यवसाय पूर्ण रूपमा प्रभावित भए पनि साथसाथै नयाँ सम्भावना र अवसरहरू पनि देखिए । आगामी दिनहरूमा यो महामारीको प्रभावबाट मुक्ति पाउन तथा नयाँ अवस्थाको सदुपयोग गरी विद्युत्को विकास गर्न केकस्ता नीति तथा कार्यक्रम अवलम्बन गर्नुपर्ला भनेर सोचविचार गर्नु वाञ्छनीय हुनेछ ।

विद्युत् आयोजनाहरूमा कोभिड–१९ तथा बन्दाबन्दीको प्रभाव
अध्ययन, निर्माण तथा उत्पादनका विभिन्न चरणमा रहेका आयोजनाहरूलाई महामारीले फरक–फरक असर पारेको छ । विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूमा कर्मचारी चौबीसै घण्टा तैनाथ हुनुपर्ने र एकआपसमा नजिकै रहनुपर्ने भएकाले यी कर्मचारी जोखिममा रहेका हुन्छन् । विद्युत् उत्पादक कम्पनीहरूले कार्य क्षेत्रमा सुरक्षित वातावरण कायम गरी, अनावश्यक कर्मचारीलाई बिदा दिई संक्रमण सकेसम्म हुन नदिने र भए पनि फैलन नदिने व्यवस्था मिलाई यो असजिलो समयमा पनि विद्युत् उत्पादन गरी राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति गर्नुपरेको थियो ।

यी व्यवस्था कार्यान्वयन गर्नुपर्दा विद्युत्को उत्पादन लागत बढ्न जान्छ । आयोजना पूर्ण रूपमा स्वस्थ राख्न नसक्दा यी आयोजनाहरूको आगामी वर्षको उत्पादन घट्न गई उसै त धराशायी भइसकेका आयोजानहरूमा उत्पादन खर्च बढ्न गएको छ । सञ्चालनमा रहेका आयोजनाहरूको वार्षिक मर्मतसम्भार गर्ने समय वर्षायामभन्दा अगाडि पर्छ र कोभिडका कारणले सो समयमा गरिएको लकडाउनले आयोजनाका संरचनाहरू तथा मेसिन, उपकरणहरूको मर्मत हुन सकेनन् । अघिल्लो वर्ष गर्न नसकिएको मर्मत–सम्भार यो वर्ष गर्नुपर्दा खर्च बढी लाग्ने त छँदैछ, संरचनाहरूको आयुसमेत घटेको हुनुपर्छ ।

त्यसैगरी निर्माणाधीन आयोजनाहरू नेपाल सरकारको चैत ११, २०७६ को लकडाउनको निर्णय पश्चात् पूर्ण रूपमा बन्द भए । त्यसको केही समयपछि नेपाल सरकारले ठूला तथा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरू सञ्चालन गर्न सहज बनाउने भने तापनि यी आयोजनाले गति लिन सकेनन् । लकडाउनको घोषणापछि आयोजना स्थलमा कार्यरत अधिकांश कामदारहरू घर फर्किएकाले सरकारले पुनः काम सुचारु गर्ने स्वीकृति दिँदा पनि ती कामदारहरू फिर्ता हुन सकेनन् र काममा ठूलो बाधा पुग्न गयो । लकडाउनको घोषणापश्चात् मानव यातायात र ढुवानीमा लगाइएको प्रतिबन्दले विस्फोटक पदार्थलगायतका निर्माण सामग्री र उपकरणहरू आयोजना स्थलमा उपलब्ध गराउन सकिएन ।

यी सामग्रीको अभावमा आयोजना स्थलमा निर्माण कार्य सुचारु हुन सकेन । त्यसैगरी कतिपय निर्माण सम्पन्न हुन लागेका आयोजनाहरूमा विदेशी विशेषज्ञ आई आयोजनाको मेसिन जडान तथा परीक्षण गर्नका लागि विदेशी नागरिकहरूको आवतजावतमा रोक लगाइएका कारण सो काम हुन सकेन । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका आधिकारिक व्यक्तिको रोहवरमा गर्नुपर्ने जाँच र परीक्षण कार्य पनि उनीहरू स्वयं उपस्थित हुन नसक्दा हुन सकेनन् ।

कोभिड–१९ का कारणले निर्माणाधीन आयोजनाहरूको निर्माण समय लम्बियो । चैत–वैशाखमा आयोजना स्थल छाडेर घर फर्किएका कामदारहरू वर्षायामपछि परेका चाडपर्वहरू मनाएर मात्र आयोजना स्थल पुगेका छन् । करिब चार महिनाजति गरिएको लकडाउनले आयोजना निर्माणको समयावधि एक वर्ष बढाउने देखिन्छ । आयोजनाको निर्माण समय बढ्दा आयोजनाका लागि लिइएको ऋणमा ब्याज बढ्न गई आयोजनाको लागत अत्यधिक रूपमा बढ्न गएको छ । आयोजना सम्पन्न गर्ने समय बढेर व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मितिमा आयोजना सम्पन्न नहुँदा यी आयोजनाहरूले विलम्ब शुल्क तिर्नुपर्ने तथा विद्युत् खरिद दरमा पाइने वृद्धिसमेत नपाउने जोखिम रहेको छ ।

अध्ययन तथा पुनर्निर्माणको चरणमा रहेका आयोजनाहरूले पनि ठूलो क्षति बेहोरे । विद्युत् उत्पादनको सर्वेक्षण अनुमति पत्र लिएर काम गर्दै गरेका आयोजनाहरूले लकडाउनका कारण समयमा नै अध्ययन सम्पन्न गर्न सकेनन् । यिनीहरूले सम्पन्न गर्नुपर्ने वातावरण अध्ययनअन्तर्गतका काम गर्नका लागि आयोजना स्थलमा त्रसित स्थानीयको अवरोध र यातायातमा लगाइएको प्रतिबन्धले जानै सकेनन् ।

सरकारी निकायहरूले पनि न्यूनतम कर्मचारी राखेर काम गर्ने नीति लिएपछि विद्युत् खरिद–बिक्री सम्झौता तथा विद्युत् उत्पादनको अनुमति पत्रको नवीकरणजस्ता काम समयमै हुन सकेनन् । निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न लागिपरेका आयोजनाहरूले कोभिड–१९ का कारण समयमा नै वित्तीय व्यवस्थापन गर्न सक्ने स्थिति भएन । कोभिड फैलनुभन्दा अगाडिदेखि नै नेपालका बैंकहरूले जलविद्युत् क्षेत्रलाई जोखिमयुक्त लगानी मानिरहेकामा कोभिड–१९ को महामारीको बीचमा जलविद्युत्को वित्तीय व्यवस्थापन प्राथमिकतामा पर्ने कुरै भएन ।

कोभिडपछिको जलविद्युत् विकास
कोभिड–१९ को प्रभाव केही समय लम्बिन्छ नै, र यसको असर केही समयलाई देखिई नै रहन्छ । यसको तत्कालीन असर न्यूनीकरणका लागि सरकारले आर्थिक तथा गैरआर्थिक राहत उपलब्ध गराउनुपर्छ । विशेष गरेर निर्माणमा रहेका ३ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूमा ऋण दिने बैंक तथा लाखौं सर्वसाधारण लगानीकर्ताहरू जोखिममा परेका छन् । यसले अन्ततोगत्वा नेपालको अर्थतन्त्र नै धराशायी बनाई देशमा ठूलो आर्थिक संकट निम्त्याउनेछ ।

त्यसैगरी अध्ययनका क्रममा रहेका १५ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूको इजाजतपत्र नै खारेज हुने स्थिति आएको छ । यी आयोजनाहरूको इजाजतपत्र खारेज भएमा अर्बौंको लगानी नष्ट हुन्छ । त्यसको असर नेपालको दीर्घकालीन जलविद्युत् विकासमा पर्छ । आयोजना बन्ने र राष्ट्रिय प्रणालीमा विद्युत् थपिंदै जाने क्रम भङ्ग हुन्छ । यसले प्रणालीमा आउने भार समाधान गर्न आयात बढाउनुपर्ने स्थितिको सिर्जना हुन्छ । यो समस्या आउनुअगावै सरकारले आर्थिक तथा गैरआर्थिक राहतहरूको प्याकेजको व्यवस्था गर्नु आवश्यक हुन्छ ।

आर्थिक राहत
– निर्माणाधीन आयोजनाहरूको ऋणमा अत्यधिक ब्याज बढ्न गई यी आयोजनाहरू साउँब्याज तिर्न नसक्ने जोखिम बढेको र सो हुँदा सम्पूर्ण बैंकिङ क्षेत्र र नेपालको अर्थतन्त्र गम्भीर रूपमा प्रभावित हुने हुँदा यी आयोजनाहरूलाई बढ्न गएको ब्याजको भारबाट मुक्ति दिनुपर्छ । दातृ निकायहरूसँग यस्ता स्रोतहरू उपलब्ध हुन सक्छन् । यिनीहरूको पहिचान गरी सरकारले नेपाल राष्ट्र बैंकमार्फत राहत उपलब्ध गराउनुपर्छ ।
– यो क्षेत्रको विकासका लागि ठूलो धनराशिको आवश्यकता पर्छ । वित्तीय बजारमा हुन सक्ने तरलताको अभावलाई ध्यानमा राखी दातृ निकायहरूसमेतको सहयोगमा एउटा ‘बास्केट फन्ड’ को सिर्जना गरी जलविद्युत् आयोजनाको निर्माणमा प्रयोग गर्न सक्नुपर्छ ।

गैरआर्थिक राहत
– निर्माणाधीन आयोजनाहरूको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने समय, इजाजतपत्रको अवधि आदिलाई निःशुल्क थपिदिनुपर्छ । कोभिडका कारणले कुनै पनि हर्जना तिर्नुपर्ने देखिए सोलाई मिनाहा गरिदिनुपर्छ ।
– सर्वेक्षण अनुमतिपत्र र सोअन्तर्गत गर्नुपर्ने वातावरण अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन, तथा विद्युत् उत्पादनको अनुमतिपत्रको आवेदन दिने समय थप गर्ने ।
– वित्तीय स्रोतको खोजीमा रहेका आयोजनाहरूलाई सो काम गर्न कम्तीमा पनि दुई वर्ष थप समय उपलब्ध गराउने ।
– यसै क्रममा नेपाल राष्ट्र बैंकले देशमा बैंक तथा वित्तीय संस्थाहरूलाई विगतमा रहेको व्यवस्थाअनुसार जलविद्युत् क्षेत्रमा कुल ऋणको कम्तीमा १५ प्रतिशत लगानी गराउने व्यवस्था मिलाउनुपर्छ ।

कोभिडले सिर्जना गरेको अवसर र सो प्राप्त गर्न अवलम्बन गर्नुपर्ने नीतिहरू
कोभिड–१९ ले जलविद्युत् उद्योग एउटा जोखिमरहित लगानीको क्षेत्र भएको प्रस्ट्याइदियो । यसका लागि धेरै कामदार नचाहिने, कच्चा पदार्थ ढुवानी गर्न नपर्ने र उत्पादित विद्युत् सहज रूपमा उपभोक्ताको घरसम्मै पुग्ने भएकाले यो क्षेत्रले अन्य अरू व्यवसायहरूले सामना गर्नुपरेको चुनौती भोग्नुपरेन । देशका अन्य अरू उद्योगहरू साँवा–ब्याज तिर्न नसकेर राहत माग्न नेपाल सरकार र नेपाल राष्ट्र बैंक धाइरहँदा जलविद्युत् उत्पादकहरू सहज तरिकाले विद्युत् उत्पादन गरी साँवा–ब्याज तिरिरहेका थिए ।

उनीहरूको उत्पादन खेर गएन र उपभोक्तासम्म पु-याउने सकस पनि परेन । तसर्थ कोभिड–१९ ले बजारको व्यवस्था हुन सके जलविद्युत् एउटा लगानीयोग्य तथा सुरक्षित क्षेत्र हो भनेर देखाइदियो । कोभिडकै बीचमा गत साउनमा आएको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले यस क्षेत्रमा लगानी बढाउन हौसला दिएअनुरूप लगानीकर्ता र बैंकहरू सबै नै यस क्षेत्रमा लगानी बढाइरहेका छन् । कोभिडका कारणले अन्य अरू उद्योग–व्यवसायहरूमा थप लगानी प्रवाह नभइरहेको अवस्थामा जलविद्युत् क्षेत्रमा भने लगानी भई नै रहेको छ ।

यसबाट पनि देशको पूर्वाधार र उत्पादनमूलक क्षेत्रमध्ये जलविद्युत् क्षेत्र आकर्षक क्षेत्र हो भन्ने कुरा स्थापित गरेको छ । तर बजार भने सुनिश्चित हुनु नै पर्छ । जति आन्तरिक बजार बढाउन सक्यो उति नै जलविद्युत्को लगानी जोखिमरहित हुने रहेछ । त्यसैले यो देशभित्रको बजार विस्तार गर्न सबै तहका सरकारले पहल गर्नु जरुरी छ ।

गार्हस्थ्य खपत बढाउन बिजुलीको चुलो प्रयोग गर्ने, घर–कोठा तताउने वा चिस्याउनका लागि वातावरण अनुकूलन गर्ने उपकरणहरूको प्रयोग बढाउन प्रोत्साहन गर्न सकिन्छ । त्यसै गरी कृषि क्षेत्रको विकासका लागि बिजुली प्रयोग गरेर सिँचाइ वा शीत भण्डारहरू बनाउन सकिन्छ । पारवहन क्षेत्रमा विद्युत्को खपत गर्न विद्युतीय मोटर साइकल वा अन्य सवारी साधन मात्र आयात गर्ने नीति ल्याउन सकिन्छ ।

त्यस्तै विद्युत् खपत गर्ने उद्योग, पर्यटनका पूर्वाधार आदि तयार गरेर देशभित्र ठूलै विद्युत्को बजार सिर्जना गर्नुपर्छ । यो बजार विस्तारका लागि केन्द्रीय सरकार, स्थानीय सरकारहरू र निजी क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्छ । बजार तथा माग स्वतःस्फूर्त तरिकाले बढ्नका लागि धेरै समय लाग्ने भएकाले सरकारको आर्थिक तथा नीतिगत हस्तक्षेप आवश्यक छ । बजार व्यापक रूपले बढाउन प्रसारण तथा वितरण लाइनमा लगानी गर्नुपर्छ ।

त्यसैगरी बिजुलीको दरभाउ आकर्षक बनाएर डिजल, पेट्रोल वा काठदाउराको उपभोगलाई घटाउन सकिन्छ । सरकारले चाहेमा स्वदेशी विद्युत्को खपत बढाउन विद्युत्ले चल्ने उपकरण तथा यातायातका साधनमा कर सहुलियत दिन सक्छ । यसैगरी निजी क्षेत्रसँग सहकार्य गरेर नयाँ उद्योग स्थापन गराउने वातावरण सिर्जना गर्न सक्छ ।

नेपालमा उत्पादित विद्युत् सबै देशभित्रै खपत गर्नका लागि आवश्यक पूर्वाधार, नीति–नियम, जनताको क्रयशक्तिमा वृद्घि आदि सबै आवश्यक भएको र यसका लागि निकै समय लाग्ने भएकाले तत्कालका लागि नेपालमा उत्पादित विद्युत्को बजार छिमेकी मुलुकहरूमा खोज्नु वाञ्छनीय हुन्छ । भारतले अन्तरदेशीय विद्युत् व्यापारका लागि नीतिनियम जारी गरिसकेको अवस्था र नेपालले पनि सो काम सुरु गरिसकेकाले यसलाई अझ व्यापक बनाउन त्यति कठिन हुने देखिंदैन ।

भारतको बजारमा पहुँच पाउन सके तत्कालका लागि नेपालले जति विद्युत् उत्पादन गरे पनि बिक्री गर्न सक्ने देखिन्छ । कोभिडले यो अवसरलाई झन् उजागर गरिदिएको छ । यसरी कोभिड–१९ ले प्रदान गरेको अवसरको सदुपयोग गरेर हामी अगाडि बढ्न सक्छौं । यसका लागि आर्थिक रूपमा केही लगानी आवश्यक छ । त्यसैगरी सरकारले नीति तथा नियमहरूमा पनि परिमार्जन गर्नु आवश्यक छ । संसद्मा विचाराधीन रहेको विद्युत् ऐनमा जलविद्युत् उद्यमीहरूले माग गरेअनुसारका परिमार्जनसहित अनुमोदन गरे कानुनी रूपमा नै धेरै निकास निस्कन सक्छ ।

यसले स्थानीय सरकारहरूको अधिकार क्षेत्र, विद्युत्को व्यापार तथा प्रसारण र वितरणमा गरिनुपर्ने लगानीलाई स्पष्टता दिन्छ । यसका साथसाथै स्वदेशी तथा विदेशी लगानीमैत्री तथा विद्युत् उपयोगका लागि उपभोक्तामैत्री नियम ल्याउन सके नेपालभित्रै विद्युत्को बजार विस्तार तथा अन्तरदेशीय बजारमा पहुँच बढाउन सकिन्छ । कोभिड–१९ का कारणले यति मात्र फाइदा लिन सकिए पनि देशलाई ठूलै लाभ हुन्छ ।

काराेबार दैनिक

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३