काठमाडौँ । अविरल वर्षापछि बुधबार बिहान करिब २ बजे दार्चुलाको व्यास गाउँपालिका–२ भएर बग्ने घट्टेखोलामा आएको बाढीले १४ किलोवाटको दुम्लिङ लघुजलविद्युत् केन्द्रको नहर बगाउँदा विद्युत् उत्पादन ठप्प भएको छ ।
विद्युत् उत्पादन ठप्प हुँदा ४ वटा गाँउका ११० घरधुरीका स्थानीय बासिन्दा अँध्यारोमा बस्नु परेको वडा अध्यक्ष धिरनसिंह बुढाथोकीले ऊर्जा खबरसँग बताए । उनका अनुसार उक्त पालिकामा पर्ने तल्लो दुम्लिङ, बिचगाउँ, चौराकाठा र दुम्लिङ गोठान गाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
बाढीले विद्युत्गृहमा पानी लैजाने नहर र आसपासका घरमासमेत क्षति पुगेको छ । नहर बगाउँदा करिब १५ लाख बराबर क्षति भएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०६१/६२ मा गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोग र राजाकोट युवा क्लबको प्राविधिक सहयोगमा उक्त लघु जलविद्युत् केन्द्र निर्माण गरिको थियो ।
उक्त गाँउपालिकामा नेपाली सेना र सशस्त्र प्रहरी बलको क्याप समेत रहेको छ । सेना र प्रहरीसहितको टोलीले बिहीबार आयोजनाको स्थलगत निरीक्षण गरी पुनःनिर्माण तथा बिजुलीका लागि वैकल्पिक उपाय खोजिने खोजिने उनले बताए ।