काठमाडौँ । सेतीखोला क्यासकेड जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ । कास्कीको पोखरा नगरपालिका–३३ र तनहुँको शुक्लागडकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा ९.८ मेगावाटको आयोजना निर्माण हुन लागेको हो ।
आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइमा बैंकको लगानी रहने गरी मंगलबार ऋण लगानी सम्झौता भएको हो । सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष अनुप आचार्य र निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।
आयोजनाको कुल लागत १ अर्ब ९८ करोड रुपैयाँ मध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहने गरी लगानी जुटाइएको छ । स्वपुँजीतर्फ अनुप आचार्यको समूह तथा डोल्मा इम्पियाक्ट फन्ड–टू ले लगानी गर्ने आयोजना प्रमुख उज्वल रेग्मीले बताए ।
सेती खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाकै क्यास्केड आयोजनाको रूपमा यो आयोजना निर्माण गर्न लागिएको हो । सेती खोलाको निर्माण भने अन्तिम चरणमा रहेको छ, यस आयोजनाको टेलेरेसबाट निस्केको पानीलाई सेतीखोला क्यासकेडले प्रयोग गर्ने छ । क्यास्केड आयोजनाको प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सल्टेन्स प्राली रहेको छ ।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत् खरिद–बिक्री सम्झौता गरेको थियो । उत्पादित विद्युत् विद्युत्गृहदेखि ४.४ किलोमिटर दूरीको ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत सेतीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको स्वीचयार्डमा जोडिने छ ।
उक्त आयोजनाबाट लुप–इन लुप–आउट मार्फत लेखनाथ–दमौली १३२ केभी प्रसारण लाइनमा जोडिने छ । आयोजनाबाट २०८६ वैशाख २२ गतेभित्र व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेको छ ।