झन्डै पाँच हजार वर्ष पहिलेदेखि दाउराको बेचबिखनबाट सुरु भएको ऊर्जा व्यापार विभिन्न चरण पार गर्दै वर्तमान अवस्थामा आइपुगेको छ । प्राचीन समय जुनेबेला मेसिन, मोटरको प्रयोग भएन, त्यो बेलासम्म गधा, घोडाजस्ता जनावर यातायात तथा ढुवानीका साधन थिए । त्यस्तै ह्वेलको तेल र जनावरको बोसोलाई बत्ती बाल्न व्यापार गरिन्थ्यो । स्थानीय आवश्यकता तथा उपलब्धताका आधारमा ऊर्जाका स्रोत फरक–फरक थिए । यी सबै प्राचीन समयमा ऊर्जाका लागि भएका व्यापार हुन् । जब १८औँ शताब्दीको अन्त्यतिर स्टिम इन्जिनको आविष्कार भयो, तब औद्योगिक क्रान्ति सुरु भयो । उद्योगहरूमा मेसिन पावरको प्रयोग बढ्न थाल्यो । बल्ल आधुनिक ऊर्जाको व्यापार सुरु भयो ।
विश्व ऊर्जा व्यापार
प्रणालीगत रूपमा व्यापार भएको पहिलो आधुनिक ऊर्जा कोइला हो । औद्योगिक क्रान्तिसँगै कोइलाको माग यसरी बढ्यो कि यसले औपचारिक रूपमा विश्व ऊर्जा व्यापारलाई संस्थागत गर्यो । त्यस्तै, १९औँ शताब्दीको मध्यतिर सन् १८५९ मा पेट्रोलियमको अन्वेषण भयो । यसपछि पेट्रोलियम आयलले विश्वको ऊर्जा व्यापारमा छिट्टै प्रभुत्व जमायो । १९औँ शताब्दीमा भएको जिवाश्म इन्धनको चरम प्रयोगले वातावरणमा प्रदूषण बढ्दै गएको सङ्केत २०औँ शताब्दीको सुरुतिर देखियो । तब कम प्रदूषण गराउने प्राकृतिक ग्यासको अन्वेषण भई प्रयोग हुन थाल्यो ।
२०औँ शताब्दीको मध्यतिरबाट ऊर्जाको रूपमा विद्युत् शक्तिको प्रयोग सुरु हुन थाल्यो । ऊर्जा आज विश्वको सबैभन्दा ठूलो व्यापार हो । यस लेखमा ऊर्जा व्यापार भन्नाले कोइला, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास तथा विद्युत् खरिद–बिक्रीलाई लिइएको छ । विश्वमा आपूर्ति तथा खपत भइरहेको ऊर्जाको परिमाण र ऊर्जा रूपान्तरणका लागि भइरहेका प्रयासले यसको आकारलाई जनाउँछ । प्रसारण तथा वितरणमा कम चुहावट, किफायती सञ्चिति, सुरक्षित नियन्त्रण, सहज रूपान्तरण गर्न सकिने गुणका कारण विद्युत् आजसम्म एउटा लोकप्रिय ऊर्जा स्वरूपको रूपमा प्रयोग भइरहेको छ । आज ऊर्जा भर्चुअल रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा वास्तविक समयमा बोली लगाई व्यापार भइरहेको छ ।
विश्व व्यापार सङ्गठनका अनुसार सन् २०२३ मा भएको झन्डै २४ खर्ब अमेरिकी डलरको वस्तु व्यापारमध्ये १७.८४ प्रतिशतले हुन आउने करिब ४.२४ खर्ब अमेरिकी डलरको ऊर्जा कारोबार भएको देखिन्छ । तसर्थ, ऊर्जा व्यापार संसारकै सबैभन्दा ठूलो व्यापार हो । यसमा पनि सबैभन्दा बढी कच्चा पेट्रोलियम तेलको व्यापार कुल व्यापारको झन्डै ६ प्रतिशत छ भने करिब सोही परिमाणमा प्राकृतिक ग्यासको व्यापार भइरहेको छ तर विद्युत् व्यापार भने कुल व्यापारको ०.३३ प्रतिशत मात्रै देखिन्छ ।
धेरै व्यापार हुनेमा खाद्य तथा कृषिजन्य वस्तुहरू झन्डै ८ प्रतिशत छ । प्रसारण उपकरण, मोबाइल, इलेक्ट्रोनिक्स उपकरण र आल्मुनियम, फलाम लगायत धातुहरू पनि उल्लेख्य कारोबार हुने वस्तुमा पर्दछन् । त्यस्तै, धेरै व्यापार हुने अन्य वस्तुहरूमा सवारी साधन, सुन चाँदी प्लाटिनम जस्ता बहुमूल्य धातु रहेका छन् ।
चित्र –१ विश्व व्यापारका प्रमुख वस्तुहरू (२०२३)
विश्वमा ऊर्जा सन्तुलन
ऊर्जाको माग अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित रहन्छ । सन् २०२४ मा विश्वको अर्थतन्त्रमा देखिएको सकारात्मक वृद्धि सँगै विश्वको ऊर्जा माग २.२ प्रतिशतले बढेको छ । सन् २०२४ को विश्वको कुल ऊर्जा माग ६५० एक्सा जुल (करिब १८० खर्ब यूनिट) रहेको छ । विश्वमा ठ्याक्कै यति ऊर्जाको अपुग छ भन्ने कुराको कुनै तथ्याङ्क उपलब्ध नभएता पनि हामीले आजको दिनमा प्रयोग गर्न खोजिरहेको नवीकरणीय स्वच्छ ऊर्जाको कमी भने देखिन्छ । यसलाई मुख्यतः यी दुई कुराले प्रमाणित गर्न सकिन्छः
एउटा जीवाश्म ऊर्जाको प्रयोगलाई घटाई नवीकरणीय ऊर्जाको प्रयोगबाट माग परिपूर्ति गरी वातावरण प्रदूषण तथा जलवायु परिवर्तन नियन्त्रण गर्ने लक्ष्यहरू प्राप्त गर्न नसक्नु र अर्र्काे अझै पनि विश्वको ८.५ प्रतिशत (झन्डै ६९ करोड) जनसङ्ख्या विद्युत्काे पहुँचबाट वञ्चित छन् । त्यस्तै, आजका दिनमा पनि विश्वका करिब २६ प्रतिशत झन्डै २ अर्ब मानिसहरूले स्वच्छ चुलोको प्रयोग गरेका छैनन् । तसर्थः आजको आवश्यकता ऊर्जा आपूर्ति मात्रै नभई ऊर्जा रूपान्तरण पनि बनेको छ ।
सन् २०१५ को डिसेम्बरमा भएको पेरिस सम्झौता बमोजिम पृथ्वीको तापक्रमलाई औद्योगिकीकरण हुनुपूर्वको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस बढीमा सीमित गर्ने तथा सन् २०५० सम्ममा पृथ्वीमा मानव क्रियाकलापद्वारा वातावरणमा छोडिएका हरितगृह ग्यासको र प्राकृतिक रूपमा वायुमण्डलबाट खपत हुने हरितगृह ग्यासबीच सन्तुलन कायम गर्ने लक्ष्य रहेको छ । जसलाई हासिल गर्न जिवाश्म इन्धनको प्रयोगलाई व्यापक कटौती गर्नुपर्ने हुन्छ ।
सोही अनुरूप विश्वको ऊर्जा आपूर्तिको स्वरूप निरन्तर परिवर्तन हुँदै आइरहेको छ । कुनैबेला झन्डै शतप्रतिशत ऊर्जा जीवाश्म इन्धन (कोइला र पेट्रोलियम) बाट परिपूर्ति गर्ने विश्वले अहिले नवीकरणीय ऊर्जा प्रयोग बढाई क्रमशः जिवाश्म इन्धनको खपतलाई घटाइरहेको छ तर अपेक्षाकृत नतिजा भने नतिजा भने देखिएको छैन ।
चित्र २ : विश्वको कुल ऊर्जा आपूर्ति (२०२४)
अन्तर्राष्ट्रिय ऊर्जा संस्थाको वैश्विक ऊर्जा समीक्षा २०२५ प्रतिवेदन अनुसार सन् २०२४ मा कुल ऊर्जा आपूर्तिको झन्डै ३० प्रतिशत पेट्रोलियम पदार्थ रहेको छ भने कोइला २३ प्रतिशत रहेको छ । तुलनात्मक रूपमा कम प्रदूषण गराउने प्राकृतिक ग्यास ऊर्जा रूपान्तरणको प्रमुख विकल्पको रूपमा प्रयोग बढिरहेको छ । यसै वर्ष २.७ प्रतिशतले बढेको प्राकृतिक ग्यासले हाल कूल ऊर्जा आपूर्तिको झन्डै २३ प्रतिशत हिस्सा ओगटेको छ । सौर्य ऊर्जा, वायु ऊर्जा, र जलविद्युत्् लगायत नवीकरणीय ऊर्जा सन् २०२४ मा सर्वाधिक ५ प्रतिशते बढ्दै कुल ऊर्जा आपूर्तिको करिब १५ प्रतिशत पुगेको छ ।
विश्वकै सबैभन्दा बढी ऊर्जा खपत गर्ने देशको पहिलो स्थानमा चीन र तेस्रो स्थानमा भारत रहेका भए पनि ऊर्जा मागको वृद्धिका आधारमा चीन र भारत पहिलो र दोस्रो स्थानमा छन् । सन् २०२४ मा विश्वको कुल कोइला खपतको ५८ प्रतिशत खपत चीनमा भएको थियो । मुख्यत छिमेकी राष्ट्र चीन र भारतमा भएको खपतका कारण यसै वर्ष कोइलाको प्रयोग १ प्रतिशतले वृद्धि हुँदा पेट्रोलियम झन्डै ०.८ प्रतिशतले बढेको छ ।
यी दुवै देशमा अझै पनि अतृप्त ऊर्जाको माग ठूलो रहेकोले यी देशको ऊर्जा आपूर्तिको प्रवृत्तिले समग्र विश्वको ऊर्जा आपूर्तिको स्वरूपमा नै प्रशस्त प्रभाव पारिहेको छ र पारिरहने छ । विश्व ऊर्जा क्षेत्रमा नवीकरणीय ऊर्जाको भूमिका बढ्दै गएको छ, तर जीवाश्म इन्धनको प्रयोग अझै प्रमुख छ । विश्व बजारमा ऊर्जाको माग बढ्दो छ, र यसको आपूर्ति तथा खपतका प्रवृत्तिहरूले बजारको आकार र दिशा निर्धारण गर्दछन् ।