काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘लेखनाथ–दमौली २२० केभी विद्युत् प्रसारण लाइन आयोजना’ निर्माण गर्ने भएको छ । यसका लागि अमुनमति माग्दै प्रवर्द्धक प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।
विभागका अनुसार प्रस्तावित आयोजना तनहुँको व्यास नगरपालिका–१३ निर्माणाधीन तनहुँ–भरतपुर २२० केभी प्रसारण लाइनको स्पेसल टावर नं. ०बी र ०सी को बीचबाट सुरु हुनेछ । सोही नगरपालिका हुँदै जाने लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको टावर नम्बर एपी७० सम्म कुल १.२ किलोमिटर लम्बाइको विद्युत् प्रसारण लाइन आयोजना डुबेरीमा निर्माण गरिने विवरणमा उल्लेख छ । यस प्रसारण लाइनको क्षमता २ लाख २० हजार भोल्ट रहनेछ भने मल्टी–सर्किट प्रणाली मार्फत १५० मेगावाट विद्युत् शक्ति प्रसारण गर्न सकिनेछ ।
कुल १.२ किलोमिटरको लाइनमा ६१ मिटरको अधिकतम उचाइ भएका ३ वटा मल्टी–सर्किट टावरहरू निर्माण गरिनेछन्, जसमा टावरहरू बीचको दूरी न्यूनतम १०० मिटरदेखि अधिकतम ४०० मिटरसम्म कायम गरिनेछ । आयोजना सम्पन्न गर्न कुल ३.४१६ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ, जसमध्ये स्थायी रूपमा टावर निर्माणका लागि ०.६०७ हेक्टर र विद्युत् मार्गको क्षेत्राधिकार अन्तर्गत ३.०४६ हेक्टर जग्गा समेटिने छ ।
विद्युत् नियमावली, २०५० मा तोकिए बमोजिम प्राविधिक दृष्टिकोणबाट प्रसारण लाइनको मध्य बिन्दुबाट १५/१५ मिटर दायाँ/बायाँ गरी कुल ३० मिटरको क्षेत्राधिकार कायम गरिनेछ । यस प्रसारण लाइनको निर्माण कार्य आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजना निर्माण तथा सञ्चालन गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने देखिए ३५ दिनभित्र लिखित राय तथा प्रतिक्रिया पेस गर्न आह्वान गर्दै विभागले बुधबार सूचना जारी गरेको छ ।