काठमाडौँ । ऊर्जा क्षेत्रको विकासमा क्रियाशील निजी क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा महिला प्रतिनिधित्व ऐतिहासिक स्तरमा बढ्दै गएको छ । स्थापनाकालमा शून्य सहभागिता रहे पनि पछिल्ला वर्षहरूमा उनीहरूको भूमिका नेतृत्वदायी तहमा पुगेको हो ।
यस खालको उत्साहजनक सहभागिता महिला उद्यमी तथा व्यवसायीका लागि प्रेरणा र पुरुष नेतृत्वमाथिको हस्तक्षेपको रूपमा समेत लिन सकिन्छ । हालै (जेठ २९ गते) सम्पन्न इपानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमार्फत इपानमा महिलाहरूको अर्थपूर्ण उपस्थिति देखिएको छ ।
उक्त साधारणसभाले संस्थाको विद्यमान विधान परिमार्जन गरी २७ कार्यसमिति थपेर ३७ सदस्यीय बनाउने निर्णय गरेको छ । अध्यक्ष मोहनकुमार डाँगीको कार्यसमितिमा ९ जना प्रतिनिधित्व हुँदा यस पटक महिलाको उपस्थिति करिब २४.३३ प्रतिशत पुगेको छ । यसलाई एक ऐतिहासिक उपलब्धि समेत मान्न सकिन्छ ।
निवर्तमान गणेश कार्कीको अध्यक्षतामा रहेको २७ सदस्यीय छैटौँ कार्यसमितिमा जम्मा ४ जना मात्रै महिला प्रतिनिधि रहेका थिए । यसको तुलनामा यो वर्तमान कार्यसमितिको उपस्थिति दोब्बरभन्दा बढी हो ।
२०५७ साल माघ ४ गते गठित इपानको ऐतिहासिक पृष्ठभूमि र नेतृत्व शृङ्खला हेर्दा महिला प्रतिनिधित्व रूपान्तरणकारी नै देखिन्छ । सन् २००१–२००२ मा प्रभाकर शमशेर जबराको अध्यक्षतामा गठित संस्थापन कार्यसमितिमा महिलाको प्रतिनिधित्व पूर्णतः शून्य थियो । त्यसपछि लामो समयसम्म पनि महिलाको प्रवेश हुन नसकेको देखिन्छ ।
सन् २००२ देखि २०१० सम्म डा. सन्दीप शाह अध्यक्ष रहेको पहिलो, २००१ देखि २०१३ सम्म डा. सुवर्णदास श्रेष्ठ अध्यक्ष रहेको दोस्रो, २०१३ देखि २०१६ सम्म डा. खड्गबहादुर विष्ट अध्यक्ष रहेको तेस्रो र २०१६ देखि २०२० सम्म शैलेन्द्र गुरागाईं अध्यक्ष रहेको चौथो कार्यसमितिसम्म इपानमा महिला प्रतिनिधित्व शून्य नै देखिन्छ ।
सन् २०२० अर्थात् २०७७ सालपछि मात्र इपान कार्यसमितिमा महिलाको प्रवेश भएको देखिन्छ । सन् २०२० देखि २०२३ सम्मको कृष्णप्रसाद आचार्य अध्यक्ष रहेको पाँचौँ कार्यसमितिमा पहिलो पटक २ महिला (कविता पोखरेल कँडेल र अभिज्ञा मल्ल) कार्यसमिति सदस्यका रूपमा प्रवेश भएका थिए ।
यसैगरी, छैटौँ कार्यसमिति (२०२३–२०२६) मा महिला प्रतिनिधित्व सङ्ख्यात्मक र गुणात्मक (पद) दुवै हिसाबले बढेर ४ पुग्यो । ती मध्ये कविता पोखरेल कँडेलले सचिव तथा सुसन कर्माचार्य, ईशा श्रेष्ठ, सुमन जोशी कार्यसमिति सदस्य रहेका थिए ।
सातौँ कार्यसमितिसम्म आइपुग्दा महिलाले सङ्ख्यात्मक प्रतिनिधित्वमात्र बढाएका छैनन् । संस्थाको नीति निर्माण गर्ने मुख्य र शक्तिशाली ओहोदामा समेत बलियो उपस्थिति जनाएका छन् । भर्खरै निर्वाचित नयाँ कार्यसमितिमा सुसन कर्माचार्यले उपाध्यक्षजस्तो गरिमामय पदको जिम्मेवारी लिएकी छन् । यस्र्तै, कविता पोखरेल कँडेल उपमहासचिव, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ र सुमनकुमारी जोशी सचिवको जिम्मेवारीमा पुगेका छन् । ज्योति गैह्रे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र इन्दिरा पन्तले इपान कार्यसमितिमा नवप्रवेशीको महिलाका रूपमा बलियो उपस्थिति जनाएका छन् ।
गत जेठ २९ गतेको निर्वाचनको दिनसम्म गणना गर्दा इपान स्थापनाको २५ वर्ष ४ महिना २५ दिन पुग्छ । तथापि, राजनीतिक क्षेत्रमा जस्तो महिलाको ३३ प्रतिशत सहभागिता अझै पुग्न सकेको छैन । आगामी कार्यसमितिमा यो सङ्ख्या बढेर ३३ प्रतिशत नाघ्ने विश्वास गर्न सकिन्छ । यस उपलब्धिले तीव्र विस्तार भइरहेको देशको ऊर्जा उद्यम, व्यवसाय तथा पेशामा महिलाको व्यावसायिक दक्षता र सहभागिता बढ्दै गएको सुखद् तथा सकारात्मक सन्देश दिएको छ ।
महिला सहभागिता तथा नेतृत्व तहमा महिलाको यो स्तरको क्रमिक तथा द्रूततर उपस्थितिले आगामी दिनमा संस्थामा महिलाको भूमिका अझै सशक्त बन्दै जाने अपेक्षा गर्न सकिन्छ । साथै, निकट भविष्यमै ऊर्जा क्षेत्रका सक्षम र ऊर्जावान् महिलाले इपानको सर्वोच्च पद अर्थात् अध्यक्षकै जिम्मेवारी सम्हालेर नेपालको ऊर्जा विकासको इतिहासमा एउटा नयाँ र सुनौलो अध्याय कोर्ने आशा गर्न सकिन्छ ।
संस्थापनदेखि हालसम्म इपानमा महिला उपस्थितिको विवरण
