विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । प्राधिकरणको रसुवा वितरण केन्द्र प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै नियमित रूपमा बिजुली बल्न थालेको छ ।

प्राधिकरणले गोसाईंकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराउनका लागि रु नौ करोड बराबरको लगानी गरिएको केन्द्र प्रमुख तामाङले जानकारी दिए । केन्द्रीय प्रसारण लाइन जोडिएपछि लाङटाङ क्षेत्रका करिब २०० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुली जोडिएपछि होटेल व्यवसायी लाभान्वित भएका छन् ।

यस्तै, पर्यटक तथा होटेल व्यवसायी स्थानीयवासीमा खुसीयाली छाएको छ ।स्थानीय क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेको चिज उद्योग, बेकरी उद्योगलगायत अन्य साना घरेलु उद्योगका साथै ठूला होटेल व्यवसायीलाई व्यवसाय सञ्चालनमा ठूलो टेवा र राहत पुगेको केन्द्र प्रमुख तामाङको कथन छ ।

क्यान्जिन गुम्बा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको एक प्रसिद्ध हिमाली बस्तीका रूपमा स्थापित छ । समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको यो स्थान लाङटाङ पदयात्राको प्रमुख गन्तव्यसमेत हो । सो स्थानबाट हिमाल, हिमनदी तथा आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

प्राधिकरणले पर्यटकीय क्षेत्र र विद्युत् सेवा नपुगेका स्थानहरूमा नियमित रूपमा बिजुली उपलब्ध गराउने अभियानलाई तीव्र पारेको छ । गत वर्ष मात्रै रसुवाको पर्यटकीय स्थल गोसाइँकुण्डमा बिजुली पुगेको थियो । 

यसअघि सो स्थानमा कादुरी फाउन्डेसनले निर्माण गरेको १०० किलोवाट क्षमताको लघु जलविद्युत् च्योहा खोला जलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध थियो । 'उक्त विद्युत् गृहमा समस्या आएपछि मर्मतमा लामो समय लाग्ने देखियो, वडा कार्यालयले नै समन्वय गरेर हामीले प्राधिकरणको लाइन जोडेका छौँ,' गोसाईंकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले भने ।

लघु जलविद्युत् आयोजनालाई मर्मत गरी प्राधिकरणको प्रसारण लाइनमा नै ‘सिङ्क्रोनाइज’ गर्ने व्यवस्था मिलाइने अध्यक्ष तामाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३