काठमाडौँ । हरेक शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवद्र्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् क्षेत्रमा प्रयोग हुने विविध औजारका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता हाइड्रोजन गाडी र त्यसको फाइदा एवम् बेफाइदा बारे जानकारी दिने प्रयास गरेका थियौँ ।
विद्युत् क्षेत्रमा प्रयोग हुने विभिन्न औजार तथा उपकरणहरू :
विद्युत् लाइनमा काम गर्न विभिन्न औजार तथा उपकरणहरू चाहिन्छ, ती मध्ये बढी उपयोग हुने औजार तथा उपकरणहरूको विवरण र तिनकाे प्रयाेगबारे यहाँ उल्लेख गरिएकाे छ ।
१. तार तान्ने औजार (वायर पुलिङ टुल) :
यसको सहायताले खास गरेर नाङ्गो तार (एसीएसआर कण्डक्टर) सजिलै तान्न सकिन्छ । यस औजारलाई सिलिङको सहायताले पोलमा बाँधिन्छ भने कण्डक्टरलाई टंगको सहायताले च्यापेर टुलसँग जोडिन्छ । सिलिङ भनेको तारको डोरी हो, जसले टुललाई पोलसँग बाँध्ने काम गर्दछ र टंग भनेको एक प्रकारको चिम्टा नै हो, जसले तारलाई च्याप्दछ । स्टील तार (बायर) को सम्बन्ध टंग हुँदै कण्डक्टरसँग रहेको हुन्छ । हेन्डल चलाउँदा स्टील वायर बेरिन्छ र अनि तार पोलतर्फ तानिन्छ ।
२. क्रिम्पिङ टुल :
यसले केबुल सकेटलाई राम्ररी च्यापेर यसमा रहेको तारलाई खुस्कन वा ढिला (लुज) हुनबाट रोक्दछ । यो दुइ किसिमको हुन्छ– एउटा म्यानुवल र अर्को हाइड्रोलिक । म्यानुवल क्रिम्पिङ टुल्सको मुखमा केबुल सकेट राखेर ह्यान्डललाई हातले पूरा बलको साथ दाब्नु पर्दछ, अनि केबुल सकेट तारसँग कस्सिन्छ । साधारणतया साना सकेट अर्थात् करिब २५ एमएम स्क्वायरसम्मको केबुल सकेटलाई च्याप्न म्यानुवल क्रिम्पिङ टुल्स प्रयोग गरिन्छ भने सोभन्दा ठूलोका लागि हाइड्रोलिक क्रिम्पिड टुल्स प्रयोग गर्नु राम्रो हुन्छ । हाइड्रोलिकमा हातबाट थोरै बल मात्र लगाए पुग्दछ । हाइड्रोलिक टुलको हकमा भने मुखमा सकेट राखेपछि हालले अपरेटिङ ह्यान्डललाई बिस्तारै चलाउँदै गर्नुपर्दछ, यसो गर्दा उपकरणबाट दाँतहरू बाहिर निस्कन गई यसले केबुल सकेटलाई राम्ररी च्याप्दछ । हामीले के बुझ्नु पर्दछ भने क्षति हुने, आगो लाग्ने, तार टुटी सप्लाई बन्द हुने आदिको मुख्य कारण खुकुलो कनेक्सन नै हो । तसर्थ कनेक्सन कसिलो पार्न यो क्रिम्पिङ टुलले विद्युतीय पावर क्षेत्रमा धेरै महत्त्व राख्दछ ।
३. ११ केभी अपरेटिङ रड :
अपरेटिङ रड भनेको लामो वा छोटो पार्न सकिने विशेष किसिमको डण्डा हो । यसको सहायताले डिस्कनेक्टिङ स्वीचको लिङ्क वा ड्रपआउट फ्यूजको ब्यारेल झार्न वा लगाउन पनि सकिन्छ ।
४. ड्रिलिङ मेसिन :
नामैबाट थाहा हुन्छ, यो ड्रिलिङ मेशिनले प्वाल पार्ने काम गर्दछ । प्वाल पार्नका लागि विभिन्न साइजका ड्रील बिटहरू पाइन्छन्, जसलाई उल्लेखित मेशिनमा राखेर प्वाल पारिन्छ । फलाम र काठमा प्वाल पार्ने सो बिट एउटै हुन्छ भने सिमेन्ट/इँट्टा वा ग्लासमा प्वाल पार्ने बिट बेग्लाबेग्लै हुन्छन् । घरेलु प्रयोजनका लागि साधारणतया ४०० देखि ४५० वाट क्षमता र सोमा १२ मिलिमिटर (४ लाइन) सम्मको ड्रील बिट अटाउने मेशिन भए पुग्दछ ।
५. एङ्गल ग्राइन्डर :
यो औजारले काठ, फलाम, इँट्टा, पत्थर काट्नुको साथै पालिस गर्ने वा चिल्लो पार्ने काम गर्दछ र यी प्रत्येक कार्यका लागि छुट्टाछट्टै चक्काहरू हुन्छन् । यी चक्काहरूको व्यास ४ इन्च (१०० एमएम) को र आरपीएम भने ११ हजार जति हुन्छ । यो विभिन्न क्षमताका तर घरेलु प्रयोजनको लागि ४००–५०० वाट उपयुक्त हुन्छ ।
६. वायर स्ट्रिपर :
वायर स्ट्रिपरलाई विभिन्न साइजको पातलो केवुलको इन्सुलेसन हटाउन प्रयोग गरिन्छ अर्थात् यो भए पछि तारको इन्सुलेसन हटाउन चक्कु/ब्लेड र प्लायर चाहिँदैन ।
७. वायर कटर :
वायर कट्टर केबुल काटन प्रयोग गरिन्छ ।
८. बोल्ट कटर :
यसको प्रयोग खास गरी एसीएआर कन्डक्टर काट्न र साथै अन्य कार्यहरूको लागि पनि गरिन्छ । यसले सो कन्डक्टरको बिचमा रहने कडा स्टिललाई पनि सजिलै काट्दछ ।
९. इन्फ्रारेड गन :
यो उपकरणको सहायताले कण्डक्टर, ज्वाइन्ट वा अन्य ठाउँको पनि तापक्रम टाढैबाट अर्थात् वस्तुलाई नछोइकन थाहा पाउन सकिन्छ । ढिला कनेक्सन र ओभरलोडका कारण झिल्का/ताप उत्पन्न हुन्छ र जसको फलस्वरूप लुज फिटिङ कनेक्सन छुट्टिनुका साथै आगो लाग्ने अवस्था पनि आउन सक्दछ । ताप उत्पन्न भएको शंका लागेमा इनफ्रारेड गनलाई सो ठाउँमा सोझाएर (गोली हाने जस्तै) अन गर्यो भने यसको एलसीडी पर्दामा त्यो ठाउँको तापक्रम हेर्न सकिन्छ ।
१०. लाइन टेस्टर
यो एक उपकरण हो, जसको मुख्य रूपमा विद्युतीय सर्किटहरूको जाँच गरी विद्युत् प्रवाह भएको छ/छैन हेर्न सकिन्छ । यो उपकरण विशेष गरी विद्युत् रेखामा कुनै समस्या, जस्तै शर्ट सर्किट, ब्रेक वा अन्य समस्या जाँच्नका लागि उपयोगी हुन्छ । यसको सहायताले लाइनमा आइरहेको भोल्टेजको परीक्षण, लाइट स्वीच, आउटलेट, शर्ट सर्किट जस्ता कुराको जाँच गरी आवश्यक जडान तथा मर्मतसम्भार गर्न सकिन्छ ।
बहु वैकल्पिक प्रश्नहरू
१. विद्युत् उत्पादन गृहमा ब्याट्रीको आवश्यकता किन पर्दछ ?
(क) विद्युत् नहुँदा ग्राहकलाई विद्युत् दिन
(ख) जेनेरेटर एक्साइट गर्न
(ग) प्यानल बोर्डको रिलेलाई काम गर्न
(घ) रेडियोमा समाचार बजाउन
उत्तर : प्यानल बोर्डको रिलेलाई काम गर्न
२. विद्युतीय आगलागीमा निम्नमध्ये कुन सुरक्षित उपाय हो ?
(क) पानीको फोहोराको प्रयोग
(ख) आगो निभाउने उपकरणको प्रयोग
(ग) मेन स्विच अफ गर्ने
(घ) सुकेको बालुवाको प्रयोग गर्ने
उत्तर : आगो निभाउने उपकरणको प्रयोग
३. विद्युतीय झड्का लागेको व्यक्तिलाई गरिने प्रथामिक उपचार के हो ?
(क) कृत्रिम श्वासप्रश्वास दिने
(ख) पानी खुवाउने
(ग) मलहमपट्टी गर्ने
(घ) कपडाले छोपेर राख्ने
उत्तर : कृत्रिम श्वासप्रश्वास दिने
४. चिसो र ओसिलो स्थानमा कस्तो वायरिङ गरिन्छ ?
(क) क्लिट
(ख) वैटन
(ग) पीभीसी
(घ) केसीङ र क्यापिङ
उत्तरः पीभीसी
५. निम्नमध्ये कुन कन्डक्टर भएको तारले धेरै करेन्ट बोक्दछ ?
(क) आल्मुनियम
(ख) जीआई
(ग) कपर
(घ) स्टाइनलेस स्टील
उत्तरः कपर
६. तलको मध्ये कुन परिमाणको एसआई इकाई क्यान्डेला हो ?
(क) गति
(ख) इमपल्स
(ग) बल
(घ) लुमिनस इन्टेन्सिटी
उत्तरः लुमिनस इन्टेन्सिटी
७. निम्नमध्ये कुन नवीकरणीय ऊर्जा स्रोत होइन ?
(क) प्रोपेन
(ख) भू–तापीय
(ग) हावा
(घ) सौर्य
उत्तरः प्रोपेन