काठमाडौँ । प्रत्येक साताको शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता (२०८१ माघ २५ गते) हामीले विद्युत् सबस्टेशनका विषयमा जानकारी प्रस्तुत गरेका छौँ । अघिल्लो साता विद्युत् प्रसारण लाइनमा प्रयोग हुने इन्सुलेटरका प्रकार र प्रयोगबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
१. विद्युत् सबस्टेशन भनेको के हो ?
उत्तर : विद्युत् सबस्टेशन एक विद्युत् प्रणालीको हिस्सा हो, जहाँ भोल्टेजलाई उच्चबाट न्यून वा न्यूनबाट उच्चमा परिवर्तन गरिन्छ । जसले प्रसारण, वितरण, रूपान्तरण र स्विचिङका लागि सहयोग गर्छ । विद्युत् सबस्टेशनका मुख्य तत्त्वहरूमा पावर ट्रान्सफर्मर, सर्किट ब्रेकर, बस–बार, इन्सुलेटर र लाइटनिङ अरेस्टर पर्दछन् ।
२. सबस्टेशनमा काम गर्दा सावधानीका के कस्ता उपायहरू अपनाउनु पर्छ ?
उत्तर : सबस्टेशनमा काम गर्दा निम्न सावधानीहरू अपनाउनु पर्दछ ः
३. सबस्टेशन सञ्चालन गर्दा के कस्तो परिस्थितिलाई सामान्य र असामान्य अवश्था भनिन्छ ?
उत्तर ः
(क) सामान्य अवस्था : कुनै फल्ट वा समस्या नआइकन सबस्टेशन सञ्चालन भइरहेको छ भने त्यस्तो अवस्थालाई सामान्य अवस्था भन्दछन् ।
(ख) असामान्य अवस्था : सबस्टेशनभित्रै वा बाहिर फल्ट हुनु असामान्य अवस्था हो । सबस्टेशनबाहिर हुने फल्टको प्रभाव सबस्टेशनमा पनि पर्दछ, किनभने त्यसले ब्रेकर ट्रिप गराइदिन्छ । फल्टले गर्दा अँध्यारो, उपकरणको क्षति, ऊर्जाको क्षति र कतिपय ठाउँमा त मानिसको मृत्यु पनि हुन सक्दछ ।
४. सबस्टेशनमा के कारणले फल्ट हुन्छ ?
उत्तर : निम्न कारणहरूले गर्दा फल्ट हुन्छ :
(क) उपकरणले काम नगर्नुः निर्माण गर्दाकै अवस्थामा हुन गएका त्रुटि, पुरानो भई इन्सुलेशनले काम नगर्नु, ज्वाइन्टहरू खुकुलो हुँदै जानु आदि कारणले गर्दा उपकरणभित्रै सर्ट सर्किट हुन्छ ।
(ख) मौसमः मौसमको कारणले पनि फल्ट निम्तिन्छ । आँधीले गर्दा रुखको हाँगाले तार छुने, रुख नै ढलेर तार टुट्ने वा तारहरू एक आपसमा जोडिने हुन जाँदा लाइन फल्ट हुन्छ । यसका अतिरिक्त आकाशमा बिजुली चम्कने कारणले पनि लाइनमा फल्ट हुन्छ ।
(ग) मानवीय त्रुटि: लाइन, सबस्टेशन वा विद्युत् गृहमा मर्मतको कार्य सकिएपछि औजारहरू छुटेको छ छैन, ज्वाइन्टहरू राम्ररी कस्सिएको छ/छैन, चेक गर्नु पर्दछ । यसमा त्रुटि भए फल्ट हुन्छ ।
बहु–वैकल्पिक प्रश्नहरू
(१) सबस्टेशनमा साधारणतया कस्तो अर्थिङ गर्ने गरिन्छ ?
(क) पाइप अर्थिङ
(ख) म्याट अर्थिङ
(ग) कपर रड अर्थिङ
(घ) आवश्यकतानुसार सबै
उत्तरः आवश्यकतानुसार सबै
(२) स्टेटशन ट्रान्सफर्मरले के काम गर्दछ ?
(क) उत्पादन क्षेत्रको २ किलोमिटरभित्रका ग्राहकलाई विद्युत् वितरण गर्दछ ।
(ख) स्टेशनमा मात्र बत्ती तथा अन्य उपकरणहरूलाई विद्युत् दिन्छ ।
(ग) उत्पादित विद्युत्काे भोल्टेज उच्च गरी सहरी क्षेत्रमा पठाउँछ ।
(घ) माथिका सबै काम गर्दछ ।
उत्तरः स्टेशनमा मात्र बत्ती तथा अन्य उपकरणहरूलाई विद्युत् दिन्छ ।
(३) स्वीचयार्डभित्र मुख्य कुन सामानहरू हुन्छन् ?
(क) ट्रान्सफर्मर
(ख) सिटी र पिटी
(ग) आइसोलेटर र सर्किट ब्रेकर
(घ) माथि उल्लिखित सबै
उत्तरः माथि उल्लिखित सबै
(४) सबस्टेशनको पावर ट्रान्सफर्मर निरीक्षण गर्दा सबभन्दा बढी केमा ध्यान पुर्याउनु पर्दछ ?
(क) डिओ फ्युज
(ख) बुसिङ
(ग) केबल
(घ) ट्रान्सफर्मर तेल
उत्तरः ट्रान्सफर्मर तेल
(५) विद्युत् गृहमा रहेको सबस्टेशनले के गर्दछ ?
(क) पावर अन्यत्र पठाउँछ
(ख) उत्पादित भोल्टेजलाई बढाउने काम गर्दछ
(ग) (क) र (ख) दुवै
(घ) कुनै पनि होइनन्
उत्तरः पावर अन्यत्र पठाउँछ
(६) ट्रान्समिशन लाइनमुनिको सबस्टेशनले के गर्दछ ?
(क) पावरलाई स्थिर बनाई राख्दछ
(ख) ट्रान्सफर्मरको सहायताले भोल्टेज स्टेप डाउन गरेर वरपरको क्षेत्रमा विद्युत् आपूर्ति गर्दछ
(ग) फल्ट भएको लाइन काटेर अन्य लाइन चालु राख्दछ
(घ) (ख) र (ग) दुबै
उत्तरः (ख) र (ग) दुवै
(७) कतिपय सबस्टेशनमा जडान गरिने डबल पोल ब्रेकर आइसोलेटरले के काम गर्दछ ?
(क) लाइन काट्दछ
(ख) दुई पोइन्टबाट लाइन काट्ने काम हुन्छ
(ग) लोड नभएको बेला वा सिबी अफ गरेर मात्र यसलाई प्रयोगमा ल्याउनु पर्दछ
(घ) माथिका सबै
उत्तरः माथिका सबै