काठमाडौँ । नेपालले भारतबाट कुल १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने गरी भारतले स्वीकृति प्रदान गरेको छ । भारतले आइतबार (पुस २१ गते) थप ३५० मेगावाटको स्वीकृति दिएपछि आयात गर्न पाउने विद्युत् परिमाणको सीमा बढेको हो ।
पछिल्लो स्वीकृति अनुसार भारतले १३२ केभीका कटैया–कुशाहा, रक्सौल–परवानीपुर र रामनगर–गण्डक सीमापार प्रसारण लाइनमार्फत बिहार राज्यबाट ३०० मेगावाट ल्याउन पाउने स्वीकृति पाएको छ । त्यस्तै, उत्तरप्रदेश राज्यको न्यू नौतनवा–मैनहिया १३२ केभी लाइनमार्फत ५० मेगावाट ल्याउनका लागि अनुमति प्राप्त भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएकाे छ ।
यो परिमाणको बिजुली भारतीय ऊर्जा विनिमय बजार (इन्डियन इनर्जी एक्स्चेज–आइइएक्स) बाट डे–अहेड अर्थात् ड्याम (भोलि बिजुली खरिद गर्न आजै बुक गर्नुपर्ने) बजार र रियल टाइम (एक/दुई घन्टा पछिका लागि तत्कालै बुक गर्न सकिने) बजारबाट प्रतिस्पर्धी दरमा किन्न पाउने छ । यो बिजुली नेपालले २०२४ नोभेम्बर १९ (मंसिर ४ गते) देखि आगामी मार्च १५ (चैत २ गतेसम्म) दैनिक २० घन्टा (बेलुका ५ देखि ९ बजेसम्मबाहेक) र त्यसपछि जुन महिनाको अन्त्य (२०८२ असार १६ गेतेसम्म) बिहान ६ देखि बेलुका ६ बजेसम्म १२ घन्टा (सोलार आवर) मा मात्र आयात गर्न पाउनेछ ।
यस आर्थिक वर्षका लागि यसअघि ढल्केबर-मुज्फरपुर ४०० केभी लाइनबाट ६०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आइइएक्सबाटै ‘सोलार आवर’मा किन्न पाउने गरी यसअघि नै स्वीकृति प्राप्त भइसकेएको थियो । यो सहित आइइएक्सबाट नेपालले आयात गर्ने विद्युत्को परिमाण १००४ मेगावाट पुगेको छ ।
बिहार र उत्तरप्रदेशसँग जोडिएका १३२ केभीका लाइनमार्फत आइइएक्सबाट बिजुली लिन पाउने गरी भारतले गत वर्षबाट मात्र स्वीकृति दिएको थियो । त्यसअघि नेपाललाई आवश्यक पर्दा नेपाल-भारत पावर एक्सचेन्ज कमिटी (पिइसी) अन्तर्गत महँगो दरमा किन्नु पर्थ्यो ।
त्यसबाहेक नेपाल–भारत विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) अर्थात् 'जि टू जी' अन्तर्गत आउँदो फेब्रुअरी १ (माघ १९ गते) देखि मुजफ्फरपुर–ढल्केबर लाइनबाट २०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सीमापार प्रसारणबाट ३० मेगावाट गरी २३० मेगावाट विद्युत् नेपालले आयात गर्न पाउनेछ । यी सबै परिमाण हिसाब गर्दा नेपालले आवश्यक पर्दा भारतबाट १ हजार २ सय ३४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने ढोका खुलेको छ ।
पिपिए अन्तर्गत बिहार र युपीबाट लिन पाइने विद्युत् प्रतियुनिट ७.९८ भारु (१२.७६ रुपैयाँ) मा पावर ट्रेड कर्पोरेशन (एनटिपिसी) इन्डिया लिमिटेडमार्फत लिन पाइनेछ, जुन पिइसीले नियमन गर्छ । यस्तै, पिपिए अन्तर्गत ढल्केबर-मुजफ्फरपुर र टनकपुर–महेन्द्रनगरबाट आयात हुने विद्युत् प्रतियुनिट ७.०५ भारु (११.२८ रुपैयाँ) मा एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन) मार्फत आयात गर्न पाइनेछ ।
यसअघि नेपालले ढल्केबर–मुजफ्परपुर, टनकपुर–महेन्द्रनगर १३२ सहित बिहार राज्यका कुशाहा–कटैया १३२ केभीका दुई लाइन, रक्सौल–परवानीपुर १३२ केभी, रामनगर–गण्डक १३२ केभीबाट ४ सय ५० मेगावाट र उत्तर प्रदेशको नौतनवा–मैनहिया १३२ केभी लाइनबाट १ सय ५० मेगावाट गरी कूल १ हजार २ सय ५४ मेगावाट खरिद गर्न पाउने गरी स्वीकृति दिन प्रस्ताव पठाएको थियो । त्यसै अनुसार हालसम्म १२३४ मेगावाट आयातको स्वीकृति पाएको छ । त्यस्तै, नेपालले बर्खाको समयमा प्रतिस्पर्धी र मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतीय बजारमा २८ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
यो वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहित दजर्नौँ आयोजनामा असोज ११ र १२ गतेको बाढी-पहिरोले क्षति पुर्याएकाले विगत वर्षहरूभन्दा बढी विद्युत् आयात गर्नु पर्ने अनुमान गरिएको थियो । यद्यपि, क्षतिग्रष्त आयोजनालाई मर्मत-सम्भार गरी पुनः सञ्चालनमा ल्याउन लागिएको र रसुवागढी साञ्जेन जस्ता नयाँ आयोजनाको बिजुली पनि थप भएकोले अनुमान गरिए जति परिमाणको आयात गर्नु नपर्ने अपेक्षा गरिएको छ ।
गत वर्ष पनि नेपालले आइइएक्सको बिजुली ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत ‘सोलार आवर’मा ५ सय मेगावाट आयात गर्ने स्वीकृत पाएको थियो । यस्तै, गत वर्ष टनकपुर–महेन्द्रनगर १३२ केभी लाइनबाट ५४ मेगावाट विद्युत् आयात गर्ने स्वीकृत प्राप्त भएको थियो । नेपालले भारतको उक्त प्रतिस्पर्धी बजारबाट विद्युत् किन्न पाउने गरी पहिलो पटक २०७८ वैशाखमा सम्झौता भई अनुमति पाएको थियो । सम्झौता हरेक वर्ष नवीकरण हुँदै आएको छ ।
अधिकांश नदी प्रवाही आयोजना सञ्चालनमा रहेको र प्राकृतिक विपत्ले विद्युत् केन्द्रको उत्पादन बन्द हुने गरेका कारण असन्तुलित हुने विद्युत् प्रणालीलाई सन्तुलनमा ल्याउन हिउँदका केही महिना नेपालले भारतबाट भारी परिमाणमा विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा आयातका लागि भारतले सीमा बढाएर स्वीकृति दिँदा नेपाललाई विद्युत् आपूर्ति सन्तुलित बनाउन सहज हुने देखिएको छ ।
जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।