काठमाडाैं । गत जेठ ३२ गतेदेखि असार ३ गतेसम्म आएको अविरल वर्षाका कारण पूर्वी नेपालका पाँचथर, ताप्लेजुङ, संखुवासभा तथा भोजपुर जिल्लामा बग्ने नदी तथा खोलाहरूमा भीषण बाढी आई ठूलो परिमाणमा धनजनको क्षति भयो । मेची राजमार्गमा पर्ने हेवा खोलाको पुल बगायो । यस बाढीबाट सबैभन्दा धेरै जलविद्युत आयोजनाहरू प्रभावित हुन पुगेका छन् । बाढीबाट अधिक क्षति भएका आयोजनाहरूमध्ये विद्युत उत्पादन गरिरहेका १३ आयोजनाहरू तथा निर्माणाधीन १७ आयोजनाहरू बाढीबाट निकै प्रभावित भएका छन् । अन्य धेरै आयोजनाहरूमा पनि क्षति पुगेको छ ।
विद्युत उत्पादन गरिरहेका १३ आयोजनाहरूबाट उत्पादन हुन नसक्दा यिनले नियमित आय गुमाएका छन् भने आयोजनाको मर्मत तथा संभार गरेर पुनः सञ्चालनका लागि थप लागत र समय लाग्ने भएको छ । जलविद्युत प्रवद्र्धकहरूले बैंकबाट लिएको कर्जाको ब्याज र नियमित किस्ता भुक्तान गर्न सकिरहेका छैनन् । आयोजनाको पुनर्निर्माण गर्न ठूलो रकम आवश्यक पर्ने देखिएको छ । यसका लागि बैंकहरूसँग लिएको कर्जाको भुक्तानी तालिकालाई पुनर्तालिकीकरण गर्न जरुरी देखिएको छ ।
आयोजना निर्माणका लागि बैंकहरूबाट थप कर्जा तथा नेपाल राष्ट्र बैंकबाट पुनर्कर्जाको माग गर्ने काम भएको छ तर कार्यान्वयन हुन सकेको छैन । बाढीबाट क्षति पुगेका आयोजना सञ्चालनकर्ता कम्पनीहरू ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा पर्ने निश्चित छ । कर्जा नपाउँदा आयोजना मर्मत गरेर पुनँ सञ्चालन गर्ने काममा ढिलाइ भइरहेको छ । अब मौसम सफा हुन थालेको तथा काम गर्ने सिजन सुरु भएको हुँदा यी आयोजनाको छिटो मर्मत गर्नुपर्नेछ । पूर्ववत अवस्थामा विद्युत उत्पादन गरी बैंकको कर्जाको सावाँ तथा ब्याज भुक्तान गरेर आयोजनाको बचाऊ गर्ने बाहेक प्रवद्र्धकहरूसँग अर्को विकल्प छैन ।
बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण आयोजनाहरूमा भएको नोक्सानी बीमाद्वारा क्षतिपूर्ति दिनुपर्ने हो । यता, जलविद्युत कम्पनीहरूले आयोजनाको संरचनाहरूका लागि तथा आयोजना सञ्चालन नभएर हुने नोक्सानीका लागि समेत वार्षिक प्रिमियम बुझाइरहेका छन् तर बीमा कम्पनीहरूले यो वा त्यो बहाना बनाएर क्षतिको भुक्तानी दिन आलटाल गरिरहेका छन् । दुर्घटना भएको २४ घन्टाभित्र बीमा कम्पनीका प्रतिनिधि परियोजनास्थल पुगेर जाँचबुझ गरी १५ दिनभित्र क्षतिपूर्ति दिलाउने कानुन बनाई जलविद्युतकर्मीहरूको बचाऊ गर्न नेपाल सरकार अर्थ मन्त्रालयसमक्ष निवेदन छ ।
बीमाले सुरुमै प्रिमियम लिएर जारी गरेको बीमालेखको आधारमा दुर्घटनाको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । तर, समयमा क्षतिपूर्तिको दिन ढिलाई गरिरहँदा यसको कानुनी उपचार खोज्न आवश्यक देखिएको छ । ताकि, यो समस्या अब कसैले पनि भोग्नु नपरोस् । कुनै आयोजनामा क्षति भएपछि नेपालका बीमा कम्पनीहरूले यो वा त्यो व्यक्तिलाई सर्भेयर तोक्ने र निजको प्रतिवेदन आएको छैन भनेर वर्षौंसम्म झुलाउने गरेका छन् । यसमा सर्भेयर होइन बीमा कम्पनीका पदाधिकरीहरूलाई जिम्मेवार बनाउनु पर्छ ।
निर्माणाधीन जलविद्युत आयोजनाहरूमध्ये १७ वटा बाढीको प्रभावले नराम्ररी प्रभावित भएका छन् । बाढीबाट प्रभावित आयोजनाहरू अब तोकिएको समयभित्र सम्पन्न हुन सक्ने छैनन् । यिनको निर्माण पूरा गरी विद्युत उत्पादन सुरु गर्न दुई वर्षसम्मको समय लाग्ने अनुमान गरिएको छ । यसका लागि यी आयोजनाहरूले विद्युत उत्पादन सुरु गर्नु पर्ने अवभि (रिक्वायर्ड कमर्सियल अपरेसन डेट–आरसिओडी) थप गरिदिनुपर्ने छ । यी आयोजनाहरूको निर्माण पूरा गर्न थप कर्जा तथा पुनर्कर्जाको व्यवस्था गर्नु आवश्यक छ ।
यी समस्याहरूलाई दर्शाउँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले सबैसँग सहयोगको अपिल गरिरहेको छ । सम्मानीय प्रधानमन्त्रीज्यूलाई समेत भेटी यस विपद्को समाधान खोज्न सहयोगको माग गरेको छ । प्रधानमन्त्रीज्यूबाट आश्वासन प्राप्त गरेर ऊर्जा उद्यमीहरूले आशा गरेको लामै समय भइसक्यो । अब छिटै यसको निकास नखोजी भएको छैन ।
बाढीबाट आक्रान्त जलविद्युत आयोजनाहरू बिग्रिएर बन्द रहेको र यसको मर्मत सम्भार गरी सञ्चालन गर्न कम्तीमा २ वर्ष लाग्ने हुँदा सो अवधिसम्म बैंकबाट लिएको कर्जा तिर्न गाह्रो देखिन्छ । यसो हुँदा, उक्त कर्जाको पुनर्तालिकीकरण गरिदिन प्रधानमन्त्रीसँग अनुरोध छ । त्यस अवधिमा बैंकलाई तिर्नुपर्ने कर्जाको ब्याजमा सहुलियत होस् र यसका लागि पुनर्कर्जाको सुविधा पाउँ भनी माग गरिएको छ । असारको त्रयमासको ब्याज र किस्ता तिर्न नसकेर आयोजनाहरू समस्यामा परेका छन् ।
बीमा कम्पनीहरूले जलविद्युत आयोजनाको क्षतिको छिटो मूल्यांकन गरी क्षतिपूर्ति तथा केही रकम पेश्की दिएर काम सुरु गर्न सहयोग गर्नुपर्ने आवश्यकता छ । क्षतिपूर्ति दाबीको केही अंश पेश्की पाएमा काम गर्न सजिलो हुनेछ । जलवायु परिवर्तनका कारण आयोजनाहरूको क्षति भएको हुँदा ‘जलवायु कोष’बाट क्षतिपूर्ति पाउने व्यवस्था पनि गर्नु आवश्यक छ ।
अब यस वर्षको वर्षा कम हुँदै गएको हुँदा हामी विद्युत उत्पादनकर्मीहरू छिटो निर्माण पूरा गरी आयोजना सञ्चालन गर्न चाहन्छौँ । यसका लागि सबैले सहयोग गरिदिनु अनुरोध गरिन्छ ।
बाढी क्षति पुगेका निर्माणाधीन आयोजनाहरूको अनुमानित विवरण
क्रस | कम्पनीकाे नाम | आयाेजना | क्षमता (मेगावाट) | क्षति (कराेड) |
१ | सुपर हेवा पावर कम्पनी लिमिटेड | सुपर हेवा खाेला | ६ | ८० |
२ | माबिलुङ इनर्जी प्रालि | पिलुवा खाेला बी | ४ | १० |
३ | अर्विट इनर्जी प्रालि | सभा खाेला बी | १५.१ | ५ |
४ | अर्विट इनर्जी प्रालि | सभा खाेला सी | ४.२ | ३ |
५ | इंवा हाइड्रो पावर लिमिटेड | इंवा खाेला | ९.७ | ५० |
६ | स्नाे रिभर लिमिटेड | सुपर काबेली ए | १३.५ | ५ |
७ | हिलटाेन हाइड्रो इनर्जी लिमिटेड | सुपर कहेले खाेला क्यासकेड | १२ | ५ |
८ | काबेली हाइड्रो पावर कम्पनी लि. | काबेली ३ | २१.९३ | ८ |
९ | काबेली इनर्जी लिमिटेड | काबेली ए | ३७.६ | १५ |
१० | हविता पावर कम्पनी | हेवा खाेला ए स्मल | ७.५ | ५ |
११ | केबीएनआर इसुवा पावर लिमिटेड | इसुवा खाेला | ९७.५ | ५० |
१२ | इसुवा इनर्जी प्रा.लि | इसुवा क्यासकेड | ४०.१ | ५ |
१३ | लाेअर इर्खुवा हाइड्रो पावर कम्पनी | तल्लाे इर्खुवा | १४.१ | १० |
१४ | आराै पावर कम्पनी लि. | माथिल्लाे इर्खुवा | १४.५ | ५ |
१५ | फेदी खाेला हाइड्रो पावर कम्पनी | फेदी खाेला | ३.५ | २ |
१६ | दिपसभा हाइड्रो पावर कम्पनी | सभा खाेला ए | ०.४ | २ |
१७ | बाराही मल्टी इनर्जी लिमिटेड | इर्खुवा बी | १५.२ | २ |
जम्मा | ३१६.८३ | २६२ |
बाढीले क्षति पुगेका सञ्चालनमा रहेका आयोजनाहरूको अनुमानित विवरण
क्रस | कम्पनीकाे | आयाेजना | क्षमता (मेगावाट) | क्षति (कराेड) |
१ | अप्पर हेवा खाेला हाइड्रो पावर कम्पनी | अप्पर हेवा खाेला | ८.५ | ५० |
२ | बरुणा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी | हेवा खाेला | ४.४५ | ३० |
३ | मेन्छियाम हाइड्रो पावर कम्पनी लिमिटेड | पिलुवा खाेला २ | ४.७ | ९० |
४ | अरुण भ्याली हाइड्रो पावर कम्पनी लिमिटेड | पिलुवा खाेला | ३ | १० |
५ | सुभव पावर लिमिटेड | पिलुवा खाेला | ०.९९ | ५ |
६ | दिव्यश्वरी हाइड्रो पावर लिमिटेड | सभा खाेला | ४ | २ |
७ | रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड | इवा खाेला | ९.९ | ७५ |
८ | अरुण काबेली पावर लिमििटेड | काबेली बी १ | २५ | ५० |
९ | अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी | काबेली बी १ क्यासकेड | १० | ७० |
१० | पाँचथर पावर कम्पनी प्रा.लि | हेवा खाेला ए | १४.९ | ९५ |
११ | माउन्टेन हाइड्रो नेपाल लिमिटेड | तल्लाे हेवा खाेला | २२.१ | १०० |
१२ | माया खाेला हाइड्रो पावर कम्पनी लिमिटेड | माया खाेला | १४.९ | ५ |
१३ | रिभर फल्स हाइड्रो पावर कम्पनी | डाउन पिलुवा | १०.३ | १० |
जम्मा | १३२.७४ | ५९२ |