माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय पानीले भरिएपछि दोलखाको लामाबगर क्षेत्रको परम्परागत खोला किनारको बाटो डुबानमा पर्यो । खोला किनारका बाटो डुबानमा परेपछि त्यस क्षेत्रमा स्थानीयले अत्यन्तै कठिन भीरको बाटाबाट आवजजावत गर्नुपर्ने अवस्था सिर्जना भयो । भीरको बाटोको विकल्पका रूपमा सडकसमेत हुने गरी उक्त क्षेत्रमा आवतजावतका लागि सुरुङमार्ग बनाउनुपर्ने माग स्थानीय स्तरबाटै उठ्न थाल्यो । झण्डै १० वर्ष अघिदेखि नै यस्तो माग हुन थालेको थियो । यही मागलाई केही राजनीतिक दल तथा नेताले स्थानीयस्तरमा चुनावी नारासमेत बनाए । सरकारी टोलीले उक्त सुरुङमार्गबारे अध्ययन गर्याे तर त्यो अध्ययनलाई कागजमै सीमित गरियो । यी यस्तै पृष्ठभूमिका बीच अहिले दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा ११ सय मिटर लामो सुरुङमार्ग तयार भएको छ ।
अहिले गाडी चढेर सुरुङमार्ग छिचोल्दै माथिल्लो तामाकोसी जलाशयको माथिल्लोपट्टी पुगेर पर्यटकहरू रमाइरहेका भेटिन्छन् । सुरुङमार्गले स्थानीय र अरुलाई पनि यस ठाउँमा आवतजावत गर्न सहज बनाएको छ । सुरुङमार्गभन्दा माथिल्लो क्षेत्रमा पनि अत्यन्तै कठिन भीर र खोला किनारमा केही वर्षदेखि सडक निर्माणको काम जारी छ । यहाँ सडक निर्माणका लागि सयौँ मजदुर र प्राविधिक दैनिक काममा व्यस्त छन् । बोकेर लैजान नसक्ने उपकरणहरू हेलिकप्टरमार्फत पुगेका छन् ।
केही महिनामा सडक ट्रयाक दोलखाको अत्यन्तै दुर्गम गाउँ लप्चीसम्म पुग्ने छ । अहिलेसम्मको अत्यन्तै कठिन भूगोलबाट विद्युत् लाइन तानेर दुर्गम गाउँमा पनि बिजुली बत्ती बल्दै छ । यो ठाउँमा यति चाँडै सडक तथा विद्युत् आउला र एक हप्ता लाग्ने काठमाडौँको यात्रा एक दिनमै पूरा गर्न सकिएला भनेर यहाँका स्थानीयले सायदै सोचेका थिए । स्थानीयले कल्पनासम्म पनि नगरेको उपलब्धि यथार्थमा प्राप्त गरेका छन् ।
यही सडक तिब्बत सीमा नजिक पुग्ने हुँदा तिब्बत र नेपालबीचको परम्परागत व्यापारिक नाका खोल्न सहज हुने विश्वास गरिएको छ । प्राकृतिक रूपमा पनि हाल सञ्चालनमा रहेका तातोपानी र रसुवागढीभन्दा सुरक्षित मानिन्छ । किनकि तातोपानी नाका र रसुवा जाने सडक हरेक वर्ष पहिरोले भत्काउने गरेको छ । भारतीय सिमाना भिठ्ठामोडसम्म जोड्ने त्रिदेशीय मार्ग पनि सबैभन्दा छोटो करिब २५० किलोमिटर मात्रै रहेको छ ।
हुन त लामाबगरसम्म सडक पुर्याउने काम पनि चानचुने थिएन । सिंगटीदेखि लामाबगरसम्मको २८ किलोमिटर सडक कठिन भीर छिचोल्दै २०६६ सालमा पुगेको हो । यहाँबाट ३० किलोमिटर दूरी मध्ये २० किलोमिटर क्षेत्र जुन असाध्यै कठिन भूगोलमा काम जारी छ ।
यसरी बने यी सडक
सिंगटीदेखि उत्तरी क्षेत्र लामाबगरसम्म कठिन भूगोलमा सडक, पुल बनेका छन्, यसमा अहिलेसम्म राज्यको लगानी छैनभन्दा पनि हुन्छ । लामाबगरसम्म ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणका लागि सडक बन्यो । त्यही सडक नै अहिले दोलखाको उत्तरी क्षेत्रलाई कायापलट गर्ने समृद्धि रेखा बनेको छ । त्यसभन्दा माथि जलविद्युत् आयोजना निर्माणकै लागि निजी क्षेत्रका प्रवद्र्धकहरूले सुरुङमार्ग, सडक र पुल बनाइरहेका छन् ।
लामाबगरदेखि थाम्चेम्बुसम्म २० किलोमिटर सडक मध्ये कठिन भूगोलमा पर्ने ३ किलोमिटरबाहेक सडक खुलिसकेको छ । हिमालपारीको गाउँको रूपमा चिनिने लुम्नाङमा ट्रयाक्टर चल्न थालिसक्यो । थाम्चेम्बुदेखि लप्चीसम्म र जुम खोलातिर पनि सडक निर्माणको तयारी सुरु भएको छ ।
भोर्लेदेखि कोप्लाङसम्म ३० किलोमिटर सडक बनेपछि चंखु, मार्बू र खारेको पूर्वी भेगका बासिन्दालाई आवागमनमा सहज भएको छ । यो सडक पनि खानी खोला जलविद्युत् आयोजनाले निर्माण गरेको हो । उक्त सडक निर्माणपछि त्यहाँ खारे, खानी खोला र गुरुम्फी खोलामा आधा दर्जन जलविद्युत् आयोजना निर्माण भएका छन् । ती आयोजनामा हजारौँले रोजगारी पाए । यसले अन्य ग्रामीण सडक विस्तारमा सहयोग पुग्यो ।
समृद्धिको प्रमाण आँखै अगाडि
जलविद्युत् नै समृद्धिको पहिलो खुड्किलो हो भन्ने प्रमाण प्रत्यक्ष रूपमा आम दोलखाबासीले देखिभोगिसकेको विषय हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नबनेको भए सिंगटीदेखि माथिल्लो भूगागमा सडक र गाडी पुग्ने कल्पना गर्न पनि गाह्रो पर्ने थियो ।
‘बाँदर लड्ने’ ठूल्ठूला चट्टानी भीर फोरेर लामाबगरसम्म माथिल्लो तामाकोसी आयोजनाले नै सडक पु¥यायो । दोलखादेखि सिंगटीसम्मको सडक खण्ड आयोजना आफैँले स्तरोन्नती गर्यो । अहिले कालोपत्रे भइसकेको छ । सिंगटीदेखि लामाबगरसम्मको सडक ग्राभेल भएको व्यवस्थित भएको छ ।
सडक व्यवस्थित भएसँगै सरकारी कर्मचारी समेत नियमित नबस्ने लामाबगर, गौरीशंकर, मार्बू जस्ता ठाउँमा विद्यालय भवनहरू व्यवस्थित भएका छन् । शिक्षक नियमति छन्, पठनपाठन नियमति छ । स्वास्थ्य चौकीमा कर्मचारी नियमित हुँदा स्थानीयलाई उपचारमा सहज भएको छ । पहिलेका अति दुर्गम लामाबगर जस्ता गाउँठाउँ अहिले उच्च ओहोदामा रहेकादेखि सर्वसाधारणसमेतको पर्यटनको उत्कृष्ट गन्तव्य बनेका छन् ।
ग्रामीण विद्युतीकरण, कृषिमा नयाँ प्रविधि, खानेपानी, सिपमूलक तालिम पाएका छन् । रोजगारीका लागि बाहिर जानुपर्ने ठाउँमा अहिले बाहिरबाट रोजगारीका लागि सयौँ युवा आउन थालेका छन् । स–साना बजार केन्द्रहरू खुलेका छन् । व्यापार व्यवसाय फस्टाउँदो छ । स्थानीय सबैले अहिले जलविद्युत्को मालिक बन्ने अवसर पाएका छन् । उल्टै विदेशी विशेषज्ञलाई रोजगारी दिएर भित्र्याएको छ ।
भीरका लहरामा झुण्डिँदै कठिन यात्रा गर्न बाध्य यहाँका स्थानीय कतिपयको साथमा अहिले अहिले गाडी र मोटरसाइकल छ । विकाससँगै प्रविधि समेत हस्तान्तरण हुँदै यहाँका युवाहरू सडक, सुरुङ, विद्युतीकरणका काम गर्न सक्ने सिपालु भएका छन् । यस्ता कामको ठेक्का लिनेसम्मको क्षमता बनाएका छन् ।
माथिल्लो तामाकोसी जस्ता ठूला आयोजनाकै कारण देशमा सिमेन्ट, डण्डी जस्ता ठूला उद्योगहरू खुलेका छन् । अहिले नेपाल सिमेन्ट र डण्डीमा जस्ता निर्माण सामग्रीमा आत्मनिर्भर भएर पनि विदेश निर्यात सुरु गरेका छन् । यसले गर्दा राष्ट्रिय व्यापार घाटा न्यूनीकरण गर्न सघाऊ पुगेको छ । देशको राजस्व पनि बढेको छ ।
यस्तो अवस्था निर्माणाधीन अवस्थामै भए पनि ठूला आयोजना पूरा भएपछि केहीले स्थायी रोजगारी पाउने छन् । आयोजनाको सेयर लिएकाहरूले नियमित लाभांश वर्षौंसम्म बसिबसी पाउने आशा गरिएको छ । हरेक दोलखाली र आम नेपालीलाई आयोजनाको मालिक बन्ने अवसर दिएको छ । एउटा खिम्तीबाट वार्षिक करोड रोयल्टी पाउँदै आएको जिल्लामा अरु करोडौँ रोयल्टी थपिने छ । जसले स्थानीय सरकारको स्थानीय विकासमा आम्दानीको भरपर्दो स्रोत हुने छ । रोयल्टीबाट आएको रकम यस्ता अन्य जनताको जीवनस्तर विकास र रोजगारी सिर्जनाका लागि लगानी गर्न पाउने छन् ।
ग्रामीण क्षेत्रसम्म सेयर लगानीको अवसर
सेयर बजारमा सूचीकरण हुने जलविद्युत् कम्पनीको सेयर संख्या बढ्दो क्रममा छ । १० वर्ष अघिसम्म धितोपत्र बजारमा ५ प्रतिशतभन्दा कम सेयर संख्या जलविद्युत् कम्पनीको थियो । अहिले त्यो बढेर ३० प्रतिशत पुग्न लागिसकेको छ । एक वर्षयताको तथ्याङ्क हेर्ने हो भने पनि नेप्सेमा सूचीकरण भएका नयाँ कम्पनीहरूमा ७० प्रतिशत जलविद्युत् कम्पनी नै छन् ।
आजभोलि सेयर बजार सम्बन्धी चेतना ग्रामीण तहसम्म पुगेको छ । जिल्ला–जिल्लाबाट सेयर किनबेच गर्ने ब्रोकर कम्पनीले कारोबार गरेका छन् । ग्रामीण तहसम्म सेयरधनी बढ्नु र कारोबार गर्नुको मुख्य कारण जलविद्युत् कम्पनीहरूकै सेयर हो । एक दशक यता जलविद्युत् आयोजना निर्माण हुने र धमाधम सेयर जारी गर्ने कम्पनीहरू थपिँदैछन् । यी सबै जलविद्युत् कम्पनीहरू नै हुन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रबन्ध पत्रमा २०६४ माघ १५ गते नै आयोजना प्रभावितलाई १० प्रतिशत सेयर दिने उल्लेख ग¥यो । त्यो बेलासम्म कानुनी रूपमा स्थानीयलाई सेयर दिनुपर्ने व्यवस्था थिएन । चिलिमे जलविद्युत् आयोजनाको सेयर रसुवाबासीलाई २०६५ मा बिक्री गरियो । धितोपत्र ऐन २०६३ लाई संशोधन गरेर २०७३ सालदेखि उद्योग प्रभावितलाई १० प्रतिशत सेयर दिने कानुनी व्यवस्था नै भयो । यसले नै उद्योग प्रभावितहरूलाई सेयर दिने कानुनी व्यवस्था भयो । यसले हरेक जलविद्युत् आयोजनाले स्थानीयलाई सेयर जारी गर्न थाले । यसले ग्रामीण तहसम्म सेयरको शिक्षा र लगानीकर्ता थपिँदै गए ।
देशको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएकाले माथिल्लो तामाकोसीसँग कामका सिलसिलामा भएका नजिरहरू कतिपय कानुनी रूपमै परिवर्तन भएका छन् । यसले धेरै जलविद्युत् आयोजनालाई सहज बनाएकै छ । ठूला आयोजनाको सेयर र सेयरधनी पनि धेरै भएकाले यसरी आइपीओको चहल पहल भयो ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर स्थानीयका लागि सुनिश्चित गरेपछि सेयरको चेतना ग्रामीण तहसम्म फैलियो । माथिल्लो तामाकोसीमा दोलखाबासीका लागि १ अर्ब ५ करोड सेयर आवश्यक भएकोमा त्यसको ५ गुणा बढी माग भयो । अहिले पनि कम सेयर पाएकोमा दोलखाबासीको गुनासो छ ।
दोलखामा निर्माण पूरा भएका र निर्माणाधीन १० वटा जलविद्युत् आयोजनाले स्थानीयका लागि सेयर जारी गरेका छन् । कतिपयले भने संस्थापक सेयरमै लगानीको अवसर दिएका छन् । अनौपचारिक तथ्याङ्क अनुसार दोलखाबासीले मात्र स्थानीय जलविद्युत् आयोजनामा ५ अर्ब रुपैयाँभन्दा बढी सेयर लगानी गरेका छन् । यसबाट २ लाख ७६ हजार दोलखाबासी सेयरधनी भएका छन् ।
पर्यटकीय गन्तव्य बढ्दै
एक दशकअघिसम्म लामाबगर पुग्नु धेरैका लागि सपना जस्तै थियो । त्यहाँ पुग्न पैदलमार्ग समेत सहज थिएन तर आजभोलि लामाबगर पुग्नेहरूको लर्को देखिन्छ । दोलखाको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा लामाबगर पर्न थालेको छ । स्कुल, कलेजको वनभोज होस् वा अन्य समूहको भ्रमण लामाबगर पुग्ने गर्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय नै लामाबगरको मुख्य पर्यटकीय आकर्षण हो । यससँगै आयोजनाका पूर्वाधारले पर्यटकलाई यहाँ खिचिरहेका छन् ।
सुरुङमार्गमा यात्रा अनुभव लिन पनि लामाबगरलाई रोज्न थालिएको छ । हात्तीजुङको झरना, भोर्ले, मौरे भीर, तातोपानी लगायतका आधा दर्जन झरनाले पनि धेरैको मन लोभ्याउँछ । जलविद्युत् र पूर्वाधार अध्ययन गर्ने विद्यार्थीको गन्तव्य पनि लामाबगर नै हुने गरेको छ । छेतछेतसम्मको सडकमार्ग राम्रो भएको र पदमार्ग समेत सुधार भएपछि रोल्वालिङ क्षेत्र पुग्ने आन्तरिक तथा विदेशी पर्यटकहरू बढेका छन् ।
बौद्धमार्गीहरूको गन्तव्यको रूपमा रहेको लप्चीमा ध्यान गर्न र घुम्न जानेहरू वर्षेनी बढ्दै छन् । लप्चीलाई ध्यान गर्नका महत्त्वपूर्ण गन्तव्यको रूपमा लिइन्छ । नेपाली चेली भृकुटीलाई तिब्बतीय राजकुमार स्रोङचङ गम्पोले बिहे गरेर लैजाँदा पनि यही बाटो हुँदै गएका थिए । सयौँ वर्ष पुरानो तिब्बत र नेपाल बीचको व्यापारिक तथा सामारिक मार्ग भएकाले अब यही मार्गबाट चिनियाँ पर्यटकहरू भित्र्याउन सकिने चिनियाँ क्षेत्रका जानकार सोभित उप्रेतीको भनाइ छ ।
पर्यटक आवागमन बढ्नु भनेको होटल व्यवसाय, कृषि तथा पशुजन्य उत्पादनको स्थानीयस्तरमै बजारीकरण गर्न, बाह्य मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न सहज हुनु हो । पछिल्लो समय दुर्गम पर्यटकीय क्षेत्रमा चहलपहल बढ्नुमा जलविद्युत् क्षेत्रको महत्त्वपूर्ण भूमिका छ ।
यो रिपाेर्ट २०८० साल पुस १ गते प्रकाशित 'ऊर्जा खबर अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।