रामेछाप । काठमाडौँ उपत्यकाभित्रको मुख्य सहरी क्षेत्रमा जन्मिएर सहरी सुखसयलपूर्ण जीवनशैलीमा हुर्किएका अधिकांश मानिसका लागि हिमालका फेदी, नदीका खोँच, कुनाकन्दराका अति विकट भूगोल र दुर्गम ठाउँ असाध्यै कौतुहलपूर्ण र भ्रमणका हिसाबले रोमाञ्चक हुने गर्दछ । यद्यपि, त्यस्तै विकट भूगोलमा गएर काम गर्नु भने उनीहरूका लागि कम्ति सकसपूर्ण हुँदैन । अपवाद नै भन्नुपर्छ, त्यस्तै सुखसयलपूर्ण जीवनशैलीमा हुर्किएकी एक महिला इञ्जिनियर रुक्सना श्रेष्ठ भने नुम्बुर हिमालको फेदीमा जलविद्युत् आयोजना निर्माण गरी बिजुली उत्पादन गर्ने कार्यमा मनमग्न देखिन्छन् ।
भक्तपुुरको मध्यपुर ठिमी निवासी एक सामान्य परिवारमा जन्मिएर यही सहरमा हुर्किएकी उनी अहिले उमेरले ३० वर्ष पनि पुगेकी छैनन् । डेढ वर्षदेखि रामेछाप जिल्लाकै अतिदुर्गम ठाउँ उमाकुण्ड गाउँपालिका–१ लाछ्योरमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माण टोलीमा इन्जिनियरका रूपमा उनी काम गरिरहेकी छन् ।
३ हजार ३५० मिटर उचाइमा रहेको लिखु र नुप्चे खोलाको पानी जम्मा गरेर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माणाधीन यो आयोजनामा हिउँदमा हिउँ र तुसारो जम्ने गर्छ । वर्षात्मा सडक सम्पर्क विच्छेद् हुने लगायतका कारण यहाँ राम्ररी ६ महिना पनि काम गर्न कठिन हुन्छ । यही ठाउँमा निर्माण भइरहेको छ, ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजना ।
दुर्गम ठाउँमा प्रवर्द्धक, निर्माण व्यवसायी र परामर्शदातामा इञ्जिनियर, प्राविधिक, लगायत विभिन्न तहमा ३ सयभन्दा बढी कार्यरत छन् । यही मध्येकी एकमात्र महिला इन्जिनियर हुन् रुक्सना, जो २१ महिनादेखि यहाँ कार्यरत छिन् । विशेष गरी सुरुङ निर्माणमा विशेषज्ञता हासिल गरेकी रुक्सना आयोजनाको डिजाइन र सुपरीवेक्षण तथा सबै सिभिल इन्जिनियरिङको काम समेत गर्दछिन् ।
'आयोजनाको योजना, डिजाइन, विश्लेषण, निर्माण तथा उत्पादन गुणस्तर नियन्त्रण र समस्याको समाधान गर्नु इञ्जिनियरको मुख्य काम हो,' रुक्सना भन्छिन्, 'साथै, संभावना नदेखिएका ठाउँमा समेत संभावना देखेर सपना साकार पार्नु, समस्याहरूको नवीन समाधानका उपाय विकास गर्नु, विज्ञान, गणित र प्रविधिको प्रयोग गरेर विभिन्न संरचना, प्रविधि, उपकरण वा प्रणाली डिजाइन तथा निर्माण र मर्मत गर्नु उनीहरूको कर्म हो ।'
मानव जीवनका लागि अभिन्न अंग मानिँदै आएको विद्युत् ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजना बनाउन सिभिल, हाइड्राे मेकानिकल, इलेक्ट्राेमेकानिकल लगायत सबै पक्षका आधुनिक प्रविधिका ज्ञान र जोखिम मोल्न सक्ने इञ्जिनियर आवश्यक हुन्छ । अझ जलविद्युत् उत्पादन गर्न पानीको भरपर्दो स्रोत भएको अतिदुर्गम, खोलाका खोँचहरूमै रहेर काम गर्नुपर्ने बाध्यता हुन्छ ।
सूचना प्रविधि, यातायात जस्ता विकासका कुनै पूर्वाधार नपुगेका ठाउँमा पुगेर आफैँले पूर्वाधार विकास गर्ने गरी जलविद्युत् आयोजनाहरूमा काम गर्नुपर्छ । जलविद्युत् आयोजनामा काम गर्ने इञ्जिनियरले यस्ता सबैजसो चुनौतीकाे सामना गर्नुपर्छ । त्यसमाथि महिलाहरूका लागि उत्तिकै जोखिम छ । यस्ता सबै जाेखिम र चुनाैतीकाे विचार गरेर नै आफू यस क्षेत्रमा खटिएकाे र सहरमै जन्मेहुर्के पनि यस्ता दुर्गम ठाउँमा आएर काम गर्न पाउनु आफ्ना लागि अवसर भएको श्रेष्ठको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखराबाट सुरुङमार्गमा स्नातकोत्तर गरेकी उनी नेपालबाटै सुरुङमार्ग अध्ययन गर्ने दोस्रो ब्याचकी विद्यार्थी हुन् । पश्चिमाञ्चल क्याम्पसले वार्षिक २० जनाको कोटा राखेर सुरुङमार्गमा स्नातकोत्तर अध्ययन सुरु गराएको छ । अहिले चौथो ब्याचको पढाइ चलिरहेको छ । रुक्सनाले सन् २०२१ मा स्नातकोत्तर गरेपछि निर्माणाधिन संसद भवनको डिजाइनमा समेत काम गरिन् । संसद भवनको डिजाइनको कामपछि उनी जलविद्युत् आयोजनाको डिजाइन तथा निर्माणको काममा लागेकी हुन् ।
आयोजनाका प्रवर्द्धक भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले महिला र पुरुष इन्जिनियरले गर्ने काममा कुनै फरक नदेखिएको बताए । महिला र पुरुष इन्जिनियर मात्र नभई हरेक पक्षको उत्तिकै महत्त्वपूर्ण समन्वयात्मक कार्यशैलीका कारण आयोजनाको प्रगति पनि राम्रो भएकैले हाल आयोजना निर्माण कार्य करिब अन्तिम चरणमा पुगिसकेको भन्दै उनले खुसी व्यक्त गरे ।