सूर्य पृथ्वीका लागि सबैभन्दा बढी ऊर्जा दिने स्रोत हो । सूर्यले प्रत्येक घण्टा पृथ्वीलाई १ वर्षका लागि पुग्ने ऊर्जा दिन्छ भन्ने वैज्ञानिक मान्यता छ । पृथ्वीमा जारी मौसम प्रणालीका लागि पनि सूर्यको तापीय ऊर्जा नै जिम्मेवार छ । यही अनन्त ऊर्जालाई पछिल्लो केही दशकअघि विज्ञानले विद्युत् ऊर्जामा परिणत गर्न सफल भयो । त्यसपछि भने विश्वमा सौर्य विद्युत् उत्पादन गर्ने कार्य तीव्र बन्दै आएको छ ।
नेपालमा भने २०५० सालमा तनहुँ जिल्लाको ५४ घरमा सौर्य ऊर्जा प्रणाली जडान गरी घरायसी उपभोगका लागि विद्युत् उत्पादन र उपभोग गर्ने परम्पराको सुरुवात भएको हो । त्यसपछिका यी ३ दशकमा घरेलु सौर्य ऊर्जा प्रणालीको विकास, विस्तार, उत्पादन र उपभोग व्यापक बनेको पाइन्छ । तर, सरकारी तवरबाटै संगठित रूपमा राष्ट्रिय प्रसारण ग्रिडमै जोड्ने गरी भारी परिमाणमा सौर्य विद्युत् उत्पादन हुन नसकेको यथार्थ हामी माझ छ ।
सौर्य विद्युत् उत्पादनमा भएका प्रगति र ऊर्जा मिश्रण
नेपालको कुल विद्युत् जतिड क्षमता २८४७.१ मेगावाट मध्ये सौर्य ऊर्जाको जडित क्षमता हालसम्म ९६.९ मेगावाट रहेको छ । यो कुल जडित क्षमताको ३.४ प्रतिशत हो । यस मध्ये निजी क्षेत्रबाट ७१.९ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको नुवाकोट सौर्य ऊर्जा केन्द्रको क्षमता २५ मेगावाट रहेको छ । त्यस्तै, निजी क्षेत्रका विभिन्न ४ वटा कम्पनीले २९ मेगावाट क्षमताका सौर्य विद्युत् परियोजना निर्माण गरिरहेका छन् ।
त्यस्तै, विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)का लागि प्राधिकरणमा आवेदन दिएका कुल १० हजार ४५२ मेगावाट बिजुली मध्ये ९० मेगावाट सौर्य ऊर्जा छ । पिपिएका लागि आवेदन दिएका सबै आयोजनाको कुल क्षमताको यो १ प्रतिशत हो ।
ऊर्जा मिश्रणका दृष्टिले हेर्ने हो भने हाम्रो राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा सबैभन्दा ठूलो हिस्सा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना (आरओआर प्रोजेक्ट) हरूको छ । राष्ट्रिय प्रसारण प्रणालीमा जडित २८४७.१ मेगावाटको कुल जडित क्षमतामा आरओआर आयोजनाको हिस्सा १७४८.३ मेगागाट अर्थात् ६२ प्रतिशत हिस्सा छ । त्यसपछि आंशिक जलाशय आयोजनाहरूबाट ८३६.५ मेगावाट अर्थात् २९ प्रतिशत जडान भएको छ । जलाशय आयोजनाबाट १०६ मेगावाट अर्थात् ४ प्रतिशत, सौर्य आयोजनाबाट ९६.९ अर्थात् ३.४ प्रतिशत, थर्मल विद्युत् उत्पादन प्लान्टबाट ५३.४ मेगावाट अर्थात् २ प्रतिशत र बगास (खोइला) बाट ६ मेगावाट विद्युत् उत्पादन भएको छ ।
राष्ट्रिय विद्युत् प्रणालीलाई विश्वसनीय, भरपर्दो र दिगो बनाउन कम्तीमा १० प्रतिशत विविध वैकल्पिक स्रोतबाट ऊर्जा मिश्रणका लागि विद्युत् उत्पादन गर्नुपर्ने नीति प्राधिकरणले अघि सारेको छ । त्यही नीतिलाई मात्रै आधार मान्ने हो भने पनि नेपालमा वैकल्पिक स्रोत मानिएको सौर्य ऊर्जाबाट हालसम्म कुल क्षमताको ३.४ प्रतिशत मात्रै जोडिएको छ । पिपिएको प्रक्रियामा रहेका आयोजना मध्ये सौर्य आयोजनाको क्षमता जम्मा १ प्रतिशत मात्रै छ । पिपिएको क्रममा रहेका सौर्य आयोजनाको विद्युत् जोड्दा पनि जम्मा ४ प्रतिशतभन्दा केही बढी मात्र हुने भएकोले अझ कुल जडित क्षमतामा झण्डै ६ प्रतिशत विद्युत् सौर्य ऊर्जा स्रोतबाट उत्पादन गर्नुपर्ने आवश्यकता छ । अझ माग र उत्पादन बढ्दै जाँदा सौर्य विद्युत्काे पनि मिश्रण हिस्सा बढाउँदै जानुपर्ने हुन्छ । त्यसो हुँदा नेपालमा सौर्य योजनाको विकास पनि उत्तिकै अपरिहार्य देखिन्छ ।
दुई छिमेकीकाे हाेड
इनर्जी थिंक ट्याङ इम्बेर (इएमबिईआर) को पछिल्लो प्रतिवदेन अनुसार सन् २०२३ को पहिलो ६ महिनामा विश्वको कुल बिजुली उत्पादनमा ५.५ प्रतिशत बिजुली सौर्य ऊर्जाबाट उत्पादन भएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १६ प्रतिशत अर्थात् १०४ टेरावाट आवरले बढी हो । यो अवधिमा विश्वका ५० देशले सौर्य बिजुली उत्पदनका क्षेत्रमा नयाँ नयाँ इतिहास रचेका छन् ।
यही अवधिमा छिमेकी मुलुक भारतले सौर्य ऊर्जाबाट उत्पादन हुने बिजुलीमा २६ प्रतिशत अर्थात् १२ टेरावाट आवरले बढोत्तरी ल्याएको छ । भारतको अडानी ग्रुपले गुजरातको कज मुरुभूमिमा सौर्य र वायु स्रोतबाट ३० गिगावाट विद्युत् उत्पदन गर्ने गरी ७२६ वर्गकिलोमिटर क्षेत्रमा फैलिने नवीकरणीय ऊर्जा पार्क बनाइरहेको छ । भारतले सन् २०७० भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ ।
त्यस्तै, अर्को छिमेकी देश चीनले नवीकरणीय ऊर्जा उत्पादनको हिस्सा ५० प्रतिशत पुर्याएको छ । चीनले सन् २०२३ को अन्त्यसम्ममा नवीकरणीय ऊर्जाको जडित क्षमताको हिस्सा १ अर्ब ४५ करोड किलोवाट आवर (१४ लाख ५० हजार मेगावाट) पुर्याएको छ । यो वर्षको अन्त्यसम्ममा चीनले गोबी मरुभूमिमा सोलार र वायु ऊर्जाको फार्म स्थापना गरेर ४५ हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण ग्रिडमा जोडेको त्यहाँको राष्ट्रिय ऊर्जा प्रसासनले जनाएको छ । थप विद्युत् उत्पादनका लािग परियोजना निर्माणधीन छ । यसरी चीन नवीकरणीय ऊर्जा संक्रमणतर्फ तीव्र रूपमा अघि बढेको छ ।
पछिल्लो विश्व जलवायु सम्मेलन कोप–२८ ले त झन् जीवाश्म इन्धन (फोसिल फ्युल) को युग अन्त्य गर्ने घोषणा गरेसँगै राष्ट्रहरू नवीकरणीय ऊर्जातर्फ आकर्षित भएका छन् ।
कम लागत, छिटो प्रतिफल
पछिल्लो समय सौर्य विद्युत् उत्पादनका लागि प्रचलनमा रहेको सोलार फोटोभोल्टिक (सोलार पिभी) प्रणालीको प्रविधि विस्तारै सस्तो बन्दै आएको छ । प्रविधि सस्तिएकै कारण हाल प्रतिमेगावाट ७ करोड रुपैयाँमै सौर्य विद्युत् उत्पादन गर्न सकिने सौर्य ऊर्जा विज्ञ कुशल गुरुङ बताउँछन् । जबकि, जलविद्युत् उत्पादनका लागि प्रतिमेगावाट लागत २० करोड रुपैयाँसम्म पर्ने गरेको छ ।
‘जलविद्युत् उत्पादन लागतको तुलनामा सौर्य विद्युत् उत्पादनको लागत आधाभन्दा बढी सस्तो पर्न आउँछ,’ उनले भने, ‘त्यस्तै, जलविद्युत्भन्दा ४–५ वर्ष अगाडि नै उत्पादन पनि सुरु गर्न सकिन्छ ।’
सोलार प्लान्टका लागि जग्गा र कनेक्सन लाइन उपलब्ध छ भने निर्माण सुरु गरिएको ६ महिनामै राष्ट्रिय प्रसारणमा जोडेर उत्पादनसमेत गर्न सकिन्छ । जबकि, जलविद्युत् उत्पादन गर्न निर्माण सुरु गरेको कम्तिमा ३ देखि ५ वर्ष लाग्ने गरेको छ । यसले गर्दा पछिल्लो समय निजी क्षेत्रका विद्युत् प्रबर्द्धकहरूको ध्यान सौर्य विद्युत् उत्पादन बढी आकर्षित हुँदै गएको देखिन्छ ।
अर्कोतर्फ सौर्य विद्युत् आयोजनाले प्राधिकरणसमक्ष घोषणा गर्ने विद्युत् उत्पादन तालिका (इनर्जी टेबल) पनि बढीमा १० प्रतिशतसम्म मात्र घटबढ हुन्छ । जबकि, जलविद्युत् आयोजनाले बुझाउने यस्तो तालिकामा योभन्दा बढी फरक देखिने गरेको छ । यसले प्रबर्द्धकलाई हुने नोक्सानी पनि सौर्य आयोजनामा कम हुने देखिन्छ । त्यस्तै, चाँडो उत्पादन दिने र प्रतिफल चाँडो पाइने भएकाले बैंक वित्तीय संस्था पनि सौर्य विद्युत् उत्पादनका लागि लगानी गर्न उत्साहित देखिएका छन् ।
राम्ररी घाम नलागेको बेला पनि सौर्य विद्युत् प्लान्टबाट विद्युत् उत्पादन ठप्प हुँदैन । दिउँसै अँध्यारो भएको अवस्थामा वा रातमा बाहेक बादल लागेको बेलामा समेत बाहिरी वातावरणमा उज्यालो (प्रकाश) छ भने केही प्रतिशत विद्युत् उत्पादन हुन सक्छ । त्यस्तै, घाम लागेको बेला सौर्य विद्युत्ला ब्याट्रीमा स्टोर गर्न सकियो भने यसले पनि धेरै हदसम्म नवीकरणीय ऊर्जाको आवश्यकता पूर्ति गर्न सक्छ ।
सरकारी उदासिनता
विश्वका कयौँ देशले सौर्य विद्युत्लाई नविकरणीय ऊर्जाको मुख्य स्रोतको रूपमा विकास र विस्तार गरिरहेका छन् । भारत र चीनकै उदाहरण हेर्ने हो भने पनि तथ्यहरूले यो विषय पुष्टि गर्छन् । अधिक भूभाग मरुस्थल रहेका कयौँ खाडी राष्ट्रले पनि सौर्य विद्युत्लाई देशको ऊर्जा प्रणालीमा सौर्य ऊर्जालाई विद्युत्को प्रमुख स्रोत नै बनाएका छन् । तर, नेपालले अझै पनि विद्युत्काे सौर्य स्रोतलाई वैकल्पिक स्रोतको रूपमै राखिरहेको छ ।
ऊर्जा विज्ञ गुरुङ भन्छन्– ‘नेट मिटरिङ जडान गरेर काठमाडौँ जस्ता सहरी क्षेत्रका सबै घरमा रुफटप सोलार राख्ने नीति सरकारले अघि बढाउने हो भने आन्तरिक मागको धेरै प्रतिशत हिस्सा रुफटप सोलारले आपूर्ति गर्न सक्छ । प्रत्येक घरले दिउँसो उत्पादन गर्ने विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा पठाउने र रातको समयमा वा आवश्यक परेको समयमा ग्रिडकै बिजुली रुफटप सोलार राखिएका घरले प्रयोग गर्ने गर्न सकिन्छ । त्यस्तै फ्लोटिङ सोलार जस्ता अनेक उपायबाट भरपुर मात्रामा सौर्य विद्युत् उत्पादन र उपभोग गर्न सकिन्छ ।’
काठमाडौँ उपत्यकामा ६ लाखभन्दा बढी घर रहेको अनुमान गरिएको छ । यी सबै घरमा १ किलोवाटको सोलार प्यानल राखेर विद्युत् उत्पादन गर्ने हो भने ६ लाख किलोवाट अर्थात् ६०० मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । यो भनेको काठमाडौँको विद्युत् माग रुफटप सोलारकै विद्युत्ले पनि धान्न सक्छ । यद्यपि, यसलाई राष्ट्रिय प्रणालीमा मिसाएर विद्युत् वितरण प्रणालीलाई सन्तुलित बनाउनुपर्ने हुन्छ ।
त्यसो त यसअघि नै सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘प्रत्येक घर, ऊर्जा घर’ भन्ने नारा राखेर रुफटप सोलारलाई प्रबर्द्धन गर्ने सैद्धान्तिक अवधारणा पनि नल्याएको होइन । तर, त्यसको कार्यान्वयनमा भने सरकार र सम्बन्धित संयन्त्रहरूले पूरै बेवास्ता गरिदिएको देखिन्छ ।
नेपाल विद्युत् प्राधिकरण सोलारबाट अधिकतम विद्युत् उत्पादन गर्ने नीति लिन हिचकिचाइरहेको देखिन्छ । उत्पादन गर्न सकिने जति सबै सौर्य विद्युत् किन्न प्राधिकरणले खरिद सम्झौता गर्न सकेको छैन । बरु, कुल जडित क्षमताको १० प्रतिशतको सीमा तोकेर प्रतिस्पर्धाका आधारमा पिपिए गर्ने नीति अघि बढाइरहेको छ ।
‘इच्छुक प्रवर्द्धकले उत्पादन गर्न चाहेजति सौर्य विद्युत् खरिद गर्ने नीति प्राधिकरणले अघि सार्ने हो भने आजकै मितिमा हजार मेगावाटभन्दा बढी सौर्य विद्युत् उत्पादन हुन सक्ने देखिन्छ,’ गुरुङ भन्छन्, ‘सौर्य विद्युत् जलविद्युत्काे प्रतिस्पर्धी बन्ने हो कि तथा रुफटप सोलारको नीति ल्याए प्राधिकरणको विद्युत् व्यापारमा असर पो पर्ने हो कि भन्ने डरले सरकार तथा प्राधिकरणलाई सताएको देखिन्छ ।’
सम्भाव्य सौर्य विद्युत्काे उत्पादनमा सरकार नहिचकिचाउने हो भने प्रणालीमा अधिक विद्युत् उपलब्ध हुन सक्छ । आन्तरिक खपत गरी बचेको बिजुली छिमेकी मुलुकलाई बिक्री गरेर पनि सरकार (प्राधिकरण) ले आफ्नो व्यापारिक भूमिकालाई जोगाउँदै नाफा कमाउन सक्छ । यसतर्फ गम्भीर बन्नु आवश्यक देखिन्छ ।
यो फिचर २०८० पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको पाँचौँ अंकबाट साभार गरिएको हो ।
पुष्प काेइराला, ऊर्जा खबरका कार्यकारी सम्पादक हुन् ।