जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा महसुस भइरहेको छ। तापक्रम वृद्धिसँगै हिमाली पारिस्थितिक प्रणाली विशेषरूपले प्रभावित छ। नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवादजस्ता अन्तराष्ट्रिय मञ्चहरूले हिमाली क्षेत्रको जलवायु परिवर्तन न्यूनीकरणलाई प्राथमिकता दिँदै दिगो समाधान खोज्ने प्रयास गरिरहेका छन्।
यसै परिप्रेक्ष्यमा मेवा डेभलपर्स लिमिटेडले नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्दै वन, जल तथा वातावरण संरक्षणमा विशेष काम गर्दै आएको छ । स्थानीयस्तरमा जलवायु अनुकूलन प्रयासहरू अघि बढाइरहेको छ। मेवा डेभलपर्सले ताप्लेजुङ जिल्लामा मध्यमेवा (७३.५ मेगावाट) तथा सिवाखोला (९.३ मेगावाट) जलविद्युत् आयोजना निर्माण गर्दै नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्दै आएको छ। जलविद्युत्ले जीवाश्म इन्धनको प्रयोग घटाई कार्बन उत्सर्जन न्यून गर्ने, स्वच्छ ऊर्जा सुनिश्चित गर्ने, तथा स्थानीय आर्थिक विकासलाई प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ । यसबाट जलवायु परिवर्तन न्यूनीकरणका प्रयास भएका छन्।
१. वन्यजन्तु तथा वन संरक्षण : आयोजना क्षेत्रको वन्यजन्तु र वन संरक्षणलाई प्रवर्द्धन गर्न डिभिजन वन कार्यालयसँगको सहकार्यमा सूचनापाटी जडान गरी वन संरक्षणसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय समुदायलाई वन्यजन्तु र पारिस्थितिक प्रणालीको महत्त्वबारे जानकारी प्रदान गर्न विभिन्न अभियानसमेत अघि सारिएको छ ।
२. साना तथा लघुजलविद्युत् आयोजना निर्माणमा सहयोग : सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत विद्युत्को पहुच नपुगेका आयोजना क्षेत्रका दुर्गम गाउँहरूमा साना जलविद्युत् आयोजना निर्माणमा सहकार्य गरी विद्युत्को पहुँचसँगै विद्युतीय उपकरणको प्रयोग गर्न सहज बनाई नवीकरणीय स्रोतको प्रयोगले जीवाश्म इन्धनको निर्भरता घटाउनमा मद्दत गर्दै आएको छ ।
३. वृक्षारोपण तथा सामुदायिक सरसफाइ : स्थानीय बासिन्दासँगको सहकार्यमा धार्मिक तथा सामुदायिक स्थलहरूको सरसफाइ तथा आयोजनामा कार्यरत कर्मचारीमार्फत वृक्षारोपण गरी हरियाली प्रवर्द्धनमा जोड दिँदै वन तथा वन्यजन्तु संरक्षणका प्रयास अघि बढाइएको छ।
४. तालिममार्फत सुधारिएको अलैंची उत्पादन : परम्परागत अलैंची खेती प्रणालीलाई सुधार गर्ने उद्देश्यका साथ उन्नत जातको विरुवा लगाउन प्रोत्साहन गर्नेदेखि तालिममार्फत यस खेतिसँगै वैज्ञानिक कृषि, वन प्रणाली सहित न्यूनतम माटो खनजोत गरी अलैंची उत्पादनमा जोड दिँदै हरितगृह ग्यास उत्सर्जन कम गर्ने प्रविधिको प्रयोगले वातावरणीय सन्तुलन कायम गर्दै जलवायु परिवर्तनमा सहयोग पुर्याउने प्रयास गरेको छ ।
५. ठोस फोहोर व्यवस्थापन : क्याम्प क्षेत्रका कर्मचारी र स्थानियलाई फोहोर वर्गीकरण, वैज्ञानिक फोहोर व्यवस्थापन, तथा फोहोर जलाउने कार्यबाट उत्पन्न हुने गम्भीर पर्यावरणीय समस्याबारे सचेतना गराइएको छ । यस कार्यक्रममार्फत प्लास्टिक तथा जैविक फोहोर जलाउने क्रियाकलाप न्यूनीकरण गरी कार्बन उत्सर्जन तथा मिथेन ग्यास प्रभाव कम गर्ने रणनीति अवलम्बन गरिएको छ।
सगरमाथा संवादले हिमाली क्षेत्रको जलवायु परिवर्तन न्यूनीकरणका लागि हरितगृह ग्यास उत्सर्जन घटाउन विश्वव्यापी सहकार्यको आवश्यकता दर्साउँदै स्थानीयस्तरमा अनुकूलन रणनीति विकास गर्नु जरुरी रहेको सन्देश प्रवाह गरेको छ । यस सन्देशसँग मेल खाँदै, मेवा डेभलपर्सले स्थानीय सहभागितालाई प्राथमिकता दिँदै जलविद्युत् आयोजना, वन तथा वन्यजन्तु संरक्षण, फोहोर व्यवस्थापन, वृक्षारोपण तथा वैज्ञानिक कृषि प्रविधिको प्रयोगमार्फत वातावरणीय सन्तुलन कायम राख्न निरन्तर प्रयास गर्दै आएको छ। यी पहलले जलवायु सङ्कट न्यूनीकरण गर्दै स्थानीय जीवनशैली सुधार गर्ने ठोस आधार तयार गरेको छ। जलविद्युत् आयोजनासँगै हरितगृह ग्यास उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने, तथा स्थानीय समुदाय सशक्त पार्ने प्रयास दिगो विकासको दिशामा उदाहरणीय बन्न सक्छ।
जलवायु परिवर्तन न्यूनीकरणका लागि स्थानीयस्तरबाटै सशक्त पहल आवश्यक छ। मेवा डेभलपर्सको योगदानले सगरमाथा संवादको दीगो विकास अवधारणालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न मद्दत गर्दै, नवीकरणीय ऊर्जा प्रवर्द्धन, पारिस्थितिक सन्तुलन तथा स्थानीयस्तरमा हरियाली विस्तारको प्रयास सशक्त पार्ने छ।
स्थानीय सहभागितामा आधारित पर्यावरणीय संरक्षण रणनीतिले स्थायी भविष्य निर्माणमा महत्त्वपूर्ण प्रभाव पार्नेछ, जसले जलवायु परिवर्तन न्यूनीकरणको मात्र लक्ष्य पूरा गर्दैन । स्थानीय समुदायको समृद्धि र दीगो विकास सुनिश्चित गर्न पनि मद्दत गर्ने छ।
लेखक, मध्य मेवा जलविद्युत् आयोजनाका वातावरणीय तथा सामाजिक सुरक्षण व्यवस्थापक हुन् ।