• प्राधिकरण : १०९०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : २२४० मे.वा.घन्टा
  • निर्यात : ७२०६ मे.वा.घन्टा
  • ट्रिपिङ : २६० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२९११ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८५१ मे.वा.
×

४४ मेगावाटका सौर्य आयोजना राष्ट्रिय प्रणालीमा

२०७९ जेठ १२

काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएसँगै यसबाट उत्पादित विद्युतको परिमाण पनि थपिँदै गएको छ । अहिलेसम्म ४४ मेगावाट बराबरका सौर्य आयोजनाको विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ ।

सरकारको मिश्रित ऊर्जा विकासको अवधारणा कार्यान्वयनमा ल्याइएपछि सौर्य विद्युत आयोजनाको विकासमा लगानी थपिँदै गएको छ । जलविद्युतको भन्दा कम लागत तथा छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा पनि लगानीकर्ताको आकर्षण सौर्य ऊर्जातर्फ बढिरहेको देखिन्छ ।

विद्युत विकास विभागका अनुसार १० सौर्य आयोजनाबाट ४३.६८ मेगावाट विद्युत प्रणालीमा जोडिएको छ । हालसम्म १६८३ मेगावाट सौर्य आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् ।

दुर्गम क्षेत्रको विद्युतीकरणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्माण भएको सौर्य ऊर्जा बाहेक नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको लगानीमा उक्त परिमाणको विद्युत उत्पादन भइरहेको छ । ०.४ मेगावाटको रुफटपदेखि १०.१०० मेगावाटसम्मका सौर्य आयोजनाले उत्पादन गरेको विद्युत प्रणालीमा प्रवाह भइरहेका छन् ।

प्रणालीमा जोडिएकामध्ये सबैभन्दा ठुलो प्राधिकरणको १०.१०० मेगावाटको आयोजना छ । यो प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाटमध्ये १०.१०० मेगावाट प्रणालीमा जोडिएको हो । १५ मेगावाटको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

यस्तै, प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी निर्माण सम्पन्न भएका १० मेगावाटको मिथिला, ८.५ मेगावाटको बुटवल, ५ मेगावाटको बेलचौतारा, ४ मेगावाटको चन्द्रनिगाहपुर, १ मेगावाटको ढल्केबर, ३ मेगावाटको ढल्केबर–२, १ मेगावाटको विष्णुप्रिया सोला फार्म, ०.६८० मेगावाटको सोलार इनर्जी आयोजनाले व्यापारीक उत्पादन गरिरहेका छन् । ४ सय किलोवाटकाे भक्तपुरको बालकोटस्थित रुफटप सोलारको हो ।

प्राधिकरणका अनुसार पहिलो पटक काठमाडौं उपत्यका खानेपानी बोर्डले सौर्य ऊर्जा प्रविधिबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रणालीमा जोडेको हो । खानेपानी बोर्डले २०६९ साल कात्तिक १५ गतेदेखि ६८० किलोवाट विद्युत उत्पादन गरेर प्राधिकरणलाई बेचिरहेको छ ।

निजी लगानीमा निर्माण भएको १ मेगावाटको विष्णुप्रिया सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको दोस्रो आयोजना हो । सूर्य पावर कम्पनीले नवलपरासीमा निर्माण गरेको यो आयोजना परासी सबस्टेसनमा जोडिएको छ ।

यस्तै, निजी लगानीमा निर्माण भएको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजनाले २०७७ असोजदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

यो सरकारको मिश्रित ऊर्जा विकासको अवधारणाअनुरूप निर्माण पूरा भएर विद्युत उत्पादन सुरु गरेको पहिलो सौर्य विद्युत आयोजना हो । रिडी हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनाले व्यापारिक उत्पादन गरी प्राधिकरणलाई विद्युत बेचिरहेको छ । आयोजनाको उत्पादन अनुमतिपत्र २५ वर्षको छ ।

यही वर्ष राष्ट्रिय प्रणालीमा जोडिएको १० मेगावाटको मिथिला सौर्य विद्युत आयोजना निजी क्षेत्रले नै निर्माण गरेको हो । यो आयोजना २०७७ फागुन २ गते प्रणालीमा जोडिएको हो । इको पावर डेभलपमेन्ट कम्पनीले  निर्माण गरेको आयोजना प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिएको छ । बुटवल र मिथिला सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिरकणले प्रतियुनिट ७.३० रुपैयाँमा किनिरहेको छ ।

यस्तै, ५ मेगावाटको बेलचौताराले पनि २०७८ भदौ २९ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ । साेलार फार्म प्रालिले यो आयोजना तनहुँमा ४३ करोड रुपैयाँ लागतमा पूरा गरेको हो ।

अपि पावर कम्पनीले रौतहटमा निर्माण गरेको ४ मेगावाटको चद्रनिहापुरको पनि २०७८ असारदेखि प्रणालीमा जोडिएको हो । यही कम्पनीको १ मेगावाटको ढल्केबर सौर्य आयोजनाले व्यापारीक उत्पादन गरिहेको छ । कम्पनीको १ मेगावाटको सिमरा सौर्य आयोजना पनि अन्तिम चरणमा पुगेको छ । यस्तै, ८ मेगावाटको अर्को आयोजना पनि अघि बढाएको छ ।

सगरमाथा इनर्जी एण्ड कन्स्ट्रक्सन प्रालिले ३ मेगावाटको ढल्केबर–२ निर्माण गरी २०७८ फागुनदेखि सञ्चालनमा ल्याएको छ । भक्तपुरको बालकोटस्थित एउटा घरको छाना (रुफटप) मा सोलार प्रविधि जडान गरी उत्पादन भएको ४ सय किलोवाट विद्युत २०७८ कात्तिक ८ गतेदेखि प्रणालीमा जोडिएको छ । घरयासी प्रयोजनाको लागि राखेको सोलार प्यानलबाट उत्पादन भई खपत हुन नसकेर बढी भएको विद्युत ग्रिडमा जोडिएको हो ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit