काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा निर्माणाधीन ५ मेगावाटको सोलार पिभी आयोजना, ढल्केबरले ४.५ किलोमटिर लामो ३३ केभीको प्रसारण लाइन निर्माण गर्ने भएको छ । ग्रीन इन्फ्रास्ट्रचर प्रालिले निर्माण गरिहेको उक्त आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न कम्पनीले उक्त लाइन निर्माण गर्ने भएको हो । यसका लागि कम्पनीले विद्युत् विकास विभागमा अनुमति पत्रका लागि आवेदन दिएको विभागले जनाएको छ ।
विभागका अनुसार सिंगल सर्किटमा निर्माण गरिने प्रसारण लाइन आयोजनाको स्विचयार्डदेखि सोही नगरपालिकामा पर्ने नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेशनसम्म विस्तार गरिने छ । प्रसारण लाइनअन्तर्गत १३ मिटर उचाइका ९३ वटा स्टिल टुबुलर पोलहरू रहने र दुई पोलबीचको दूरी औषत ५० मिटर रहने जनाइएको छ ।
निर्माण सुरु गरेको ७ महिनाभित्र निर्माण सक्ने लक्ष्य लिइएको यस प्रसारण लाइनबाट ५ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने छ । उक्त प्रसारण लाइन निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिएमा ३५ दिनभित्र लिखित रायसुझाव पेश सरोकारवाला सबैमा आह्वान गर्दै विभागले शुक्रबार सूचना जारी गरेको हो ।