कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ । चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र र गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको हो ।
सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको एक करोड ३० लाख र ऊर्जा प्रबर्द्धन केन्द्रको २ करोड ९२ लाख रुपैयाँ रकम र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बताए ।
‘परियोजनामा जम्मा ६ करोड २५ लाख रुपैयाँ खर्च भएको छ’ उनी भन्छन्, ‘खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ ।’ गाउँपालिकालाई विद्युतीकरण गर्न सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए ।
‘गाउँपालिका पूर्णरूपमा विद्युतीकरण हुन सकेको छैन,’ उनी भन्छन्, ‘यहाँ उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ ।’
सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए । यहाँ उत्पादन भएको विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणमा वितरण गरिने छ । यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ ।’