विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपालमा जलविद्युत्‌को सम्भावना 

नेपालमा जलविद्युतको सैद्धान्तिक सम्भावना करिब ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनहरूका आधारमा भन्ने गरिएको छ । यसमध्ये करिब ४३ हजार मेगावाट आर्थिक, प्राविधिक तथा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने मानिन्छ । यद्यपि, हाल (सन् २०२५) सम्म देशमा कुल स्थापित जलविद्युत् उत्पादनको जडित क्षमता करिब ३ हजार ५०० मेगावाट आसपास मात्र पुगेको छ । 

यसले देशले आफ्नो जलसम्पदाबाट उपलब्ध ऊर्जा उत्पादन क्षमताको १० प्रतिशतभन्दा पनि कम उपयोग गरिरहेको देखाउँछ । देशमा उपलब्ध नदी–खोला तथा भूबनोटका कारण जलविद्युत् उत्पादनको अपार सम्भावना छ । यहाँका अधिकांश नदी उच्च पहाडी तथा हिमाली क्षेत्रबाट उत्पन्न भएर तराईसम्म बग्दछन् । जसले गर्दा तिनीहरूमा जलविद्युत् उत्पादनका लागि आवश्यक उचाई (हेड) र प्रवाह (फ्लो) दुवै उपलब्ध हुन्छ। 

यहाँ भएका  चारवटा प्रमुख नदी प्रणालीहरू कोसी, गण्डकी, कर्णाली र महाकाली मार्फत अपार जल उपयोगको सम्भावनालाई व्यहारमा उतार्न सकिन्छ । यी नदीहरू भारत र चीनको सीमावर्ती हिमाली क्षेत्रमा उत्पत्ति भई नेपालभर बग्दछन् । यसै प्रणालीमा सयौँ साना नदीहरू मिसिएका छन्ज, सले विद्युत् उत्पादनको उच्च सम्भावना निर्माण गरेका छन् । 

नदी बेसिन र सम्भावना

कोसी नदी बेसिनमा पानीको प्रवाह उच्च रहेको तथा बढी भिरालोमा बग्ने भएको हुँदा विद्युत्का लागि अति उपयुक्त हुने देखिन्छ । यहाँ माथिल्लो तामाकोसी (४५६ मेगावाट), सुनकोसी लगायत थुप्रै जलविद्युत् केन्द्र सञ्चालनमा छन्।

गण्डकी नदी प्रणाली : कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), मध्य–मर्स्याङ्दी, र मर्स्याङ्दी जलविद्युत् आयोजनाहरू यस नदी प्रणालीमा आधारित छन् । यो भूगोल पनि जलविद्युत् उत्पादनमा राम्रो सम्भावना भएको क्षेत्र हो ।  

कर्णाली नदी प्रणाली: यस क्षेत्रमा हालसम्म कम आयोजना रहेका छन् तर उच्च सम्भावना रहेको मानिन्छ । यहाँ ९०० मेगावाटको माथिल्लो कर्णालीसहितका जलविद्य्त् आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ । 

महाकाली नदी प्रणाली: भारतसँग सम्झौता गरेर पञ्चेश्वर जलविद्युत् आयोजना (६,४८० मेगावाट) निर्माण गर्ने योजना छ, जुन हालसम्म कार्यान्वयनमा आएको छैन ।

विद्युत् विकास विभागको वर्गीकरण अनुसार जलविद्युत् आयोजना साना (१ मेगावाटसम्म), मध्यम (१ मेगावाटदेखि १०० मेगावाटसम्म), र ठूला (१०० मेगावाटभन्दा माथि) गरी क्षमताको आधारमा विभाजन गरिएको छ । 

हाल नेपालमा निजी तथा सरकारी क्षेत्रले संयुक्त रूपमा विभिन्न साना तथा मध्यम जलविद्युत् आयोजना सञ्चालन गरिरहेका छन् । ठूला आयोजना भने अझै पनि पुँजी अभाव, प्राविधिक समस्या र राजनीतिक अस्थिरताका कारण ढिलो गतिमा अगाडि बढिरहेका छन् । जलविद्युत् विकासमा निजी क्षेत्रको योगदान पछिल्लो दशकमा उल्लेखनीय रूपमा वृद्धि भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक कम्पनीहरू (आइपिपी) ले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेर आयोजना निर्माण र सञ्चालन गरिरहेका छन् । 

जलविद्युत्ले नेपालमा वातावरणमैत्री, दीर्घकालीन र दिगो ऊर्जा विकासको सम्भावना पहिल्याएका छन् । जलविद्युत् उत्पादनमा कार्बन उत्सर्जन नगर्ने भएकाले जलवायु परिवर्तनका सन्दर्भमा पनि यसको महत्त्व बढ्दो छ । ग्रामीण विद्युतीय, औद्योगिक विकास, कृषि, सिँचाइ तथा पर्यटन प्रवर्द्धनमा पनि जलविद्युत्ले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

नेपालमा जलविद्युत् विकासको सम्भावना बढी देखिनुमा प्रमुख कारणमध्ये एक हो  –स्थायी जलस्रोतहरूको धेरै उपलब्धता हुनू । देशको भौगोलिक बनावट, मौसमी प्रणाली, हिमाली क्षेत्र र वर्षा प्रणालीले गर्दा यहाँ उच्च बहावयुक्त, निरन्तर प्रवाह हुने नदीहरू प्रशस्त छन् जसले वर्षैभरि जलविद्युत् उत्पादनलाई धेरै नै सम्भव बनाउँछ ।

हाम्रो देशमा संसारकै उच्च हिमशृङ्खलाहरू (हिन्दुकुश हिमालय) अवस्थित छ । देशका ६० प्रतिशतभन्दा बढी नदीहरू यी हिमाल र हिमनदीहरूबाट उत्पन्न हुन्छन् । गर्मीमा हिमनदी पग्लने र बर्खामा उच्च वर्षा हुने भएकाले नदीहरूमा पानीको प्रवाह सधैँ कायम रहन्छ । यहाँ वार्षिक औसत १ हजार ५०० मिलिमिटरदेखि २ हजार ५०० मिलिमिटरसम्म वर्षा हुन्छ । यो उच्च वर्षाको तथ्याङ्क हो । 

यहाँ कुल वार्षिक पानीको उपलब्धता २२५ अर्ब घनमिटर रहेको छ । यो सम्पूर्ण खोला नदीको जोडेर निस्केको तथ्याङ्क हो । यसैलाई हामीले भाग गर्ने हो भने प्रतिव्यक्ति वार्षिक पानी उपलब्धता ८ हजार घनमिटर (विश्व मापदण्ड अनुसार अत्यन्त धनी) भन्दा धनी छ । यसमा २०२१ को जनसङ्ख्याको आधार मानेर गरेको तथ्याङ्क हो । यहाँ उपलब्ध खोला नदीको संख्या हेर्ने हो भने लगभग ६ हजारभन्दा बढी साना तथा ठूला नदीहरू देशभर फैलिएका छन् र यसलाई जोड्ने हो भने कुल नेपालका नदीहरूको लम्बाइ करिब ४५ हजार किलोमिटर रहेको अनुमान छ । 

यी नदीहरूलाई  निम्न चारवटा मुख्य स्थायी नदी प्रणालीहरूमा विभाजन गरिएको छ,  जसले वर्षभर पानी प्रवाह गर्छन्:

यी सबै प्रणालीहरूमा वर्षभर पानी प्रवाह हुने भएकाले नदी प्रवाहमा आधारित (आरओआर) र जलाशययुक्त जलविद्युत आयोजना दुवै सम्भव छन् ।

नेपालको पानीको चक्र (हाइड्रोलोजिकल साइकल) अपेक्षाकृत स्थिर छ । मनसुनको समयमा कुल वर्षाको ८० प्रतिशतभन्दा बढी हुने भए पनि हिमनदीहरूको कारण सुख्खा मौसममा पनि नदीहरूमा प्रवाह जारी रहन्छ । यो प्रवाह जलविद्युत् आयोजना सञ्चालन गर्न लागि  अत्यन्त उपयोगी हुन्छ । यहाँका हिमालबाट निस्किने नदीहरूमा सुख्खा मौसममा पनि ४० प्रतिशत पानी प्रवाह कायम रहन्छ, जसले नदी प्रवाही (आरओआर) आयोजना सञ्चालनमा निरन्तरता दिन्छ । सँगसँगै वर्षामा प्रवाह अत्यधिक बढ्छ, जसले जलाशययुक्त आयोजनालाई ऊर्जा भण्डारणको लागि सहयोग गर्दछ ।

हाल निर्माण भइरहेका वा प्रस्तावित ठूला आयोजनाहरूले सिजनल प्रवाहको समस्यालाई समाधान गर्दै जलाशययुक्त प्रविधि अपनाइरहेका छन् । यस्ता आयोजना विशेष गरी स्थायी जलस्रोतमा आधारित हुन्छन् । जस्तै, ऐले प्रस्तावित भएका जस्तै बुढीगण्डकी जलविद्युत् आयोजना (१२०० मेगावाट)  जलाशययुक्त, माथिल्लो कर्णाली (९०० मेगावाट)  रन अफ रिभर तर स्थायी पानी प्रवाह तथा प्रस्तावित जलविद्युत्ंहरु छन्:  

जलविद्युत विकास आफ्नो देशको पैसा ले मात्र सम्भव छैन: विश्व बैंक, एसियाली विकास बैंक, र भारत (बङ्गलादेश जस्ता छिमेकी मुलुकहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालमा स्थायी जलस्रोतमा आधारित जलविद्युत्‌मा लगानी बढाउँदै गएका छन् । २०२४ सम्म भारतले १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने प्रतिबद्धता जनाएको छ, जसको स्रोत स्थायी नदीहरूमा आधारित आयोजना हो । बङ्गलादेशले ५०० मेगावाट विद्युत् नेपालबाट स्थायी जलस्रोतको आधारमा लिने सम्झौता गरेको छ।

जलस्रोतमा प्रभाव

जलवायु परिवर्तन आज एक गम्भीर चुनौती बनेको छ । यसको प्रभाव विश्वव्यापी रूपमा देखिएको छ । नेपाल जस्ता हिमाली मुलुकमा यसको प्रभाव झनै गम्भीर मानिन्छ, किनकि यहाँको प्रमुख जलस्रोतहरू हिमाल, हिमनदी, र मौसमी वर्षा  जलवायुको सन्तुलनमा अत्यधिक निर्भर छन् । जलवायु परिवर्तनले नेपालका जलीय स्रोतहरूमा विभिन्न तरिकाले प्रभाव पारिरहेका हुन्छन्, जुन जलविद्युत, कृषि, पिउने पानी, र जैविक विविधतामा प्रत्यक्ष असर पार्दछ । 

यसले नेपालको हिमनदी पग्लिने दरमा वृद्धि गरेको छ । नेपालका प्रमुख नदीहरू कोसी, गण्डकी, कर्णाली हिमनदीबाट उत्पन्न हुन्छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलीय तापमान वृद्धिले हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका तथ्याङ्क देखाइरहेको छन् । सन् १९८० यता नेपालका हिमनदीहरूको पग्लिने दर २–३ गुणा बढेको तथ्याङ्क छ । 

पछिल्लो ३० वर्षमा नेपालका धेरै हिमनदीको आकार १५–३० प्रतिशतसम्म घटेको छ । आइएमएफ (२०२४) को प्रतिवेदन अनुसार त २१०० सम्ममा नेपालका झन्डै ८० प्रतिशत साना हिमनदीहरू पूर्ण रूपमा हराउने जोखिम छ । यसको प्रभाव जलस्रोतमा धेरै हुन सक्छ । जस्तो मौसमी पानी प्रवाहमा असन्तुलन रहने तथा प्रारम्भिक समयमा पानीको अत्यधिक प्रवाह र पछि सुख्खा भई पानीको हाहाकार हुने र दीर्घकालमा नदीहरूको स्रोत नै सुक्ने सम्भावना पनि उच्च रहेको छ । 

जलवायु परिवर्तनको प्रभावले वर्षाको समय, दर, र वितरणमा असमानता देखिएको छ । नेपालको अधिकांश वर्षा मनसुनमा निर्भर छ । अझै भनौँ, ८० प्रतिशत वर्षा त मनसुनमा नै हुन्छ तर जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा असामान्य बन्दै गएको छ । जस्तो कि, पछिल्लो २० वर्षमा मनसुनको सुरु हुने समय १–२ साता ढिला हुँदै गएको छ । 

हालै तराईमा कडा खडेरी देखियो । कम समयमा अत्यधिक वर्षा भएको देखियो । तथ्याङ्क अनुसार २०२३ मा नेपालको ७० प्रतिशत भूभागमा औसतभन्दा कम वर्षा भएको थियो । यसका पनि अल्पकालीन र दूरगामी प्रभाव छन् । जस्तै, बाढीको जोखिम बढ्ने, तर जलाशयमा पर्याप्त भण्डारण नहुने र हिउँदमा जलाशय र नदीहरूमा पानीको कमी हुनु हो । यसले समग्र जलविद्युत् आयोजनाको उत्पादन क्षमता घट्ने हुन्छ ।
जलवायु परिवर्तनका कारण चरम मौसमी घटना जस्तै असाधारण बाढी र लामो समयको खडेरी बढ्दै गएका छन् । 

अहिले पनि जलवायुका केही बुज्रुकहरूले यो तथ्यलाई स्वीकारिरहेका छैनन् तर पनि जलवायु परिवर्तन भनेको यही नै हो । हामीसँग भएको तथ्याङ्कले भन्छ कि २०२१–२०२४ बिच नेपालमा १५ भन्दा बढी बाढी÷पहिरोका ठूला घटना भएका छन् । २०२५ को प्रारम्भमा सुदूरपश्चिममा १० हप्तासम्म वर्षा नहुँदा गम्भीर खडेरी उत्पन्न भयो । अनि २०२५ कै वर्षामा तराई क्षेत्र सुक्खा हुन पुग्यो । पूर्ण रूपमा रोपाइ पनि हुन सकेको छैन । यसले जलविद्युत्‌मा बाढीले जलविद्युत् आयोजना, बाँध र नालाका संरचनामा क्षति पुर्‍याइरहेको छ । खडेरीले पिउने पानीको स्रोत सुक्ने, नदी प्रवाह घट्ने र पानी को चरम अभाव ब्योरिरहेका छौँ । सिँचाइ र कृषि प्रणालीमा गम्भीर असर पारेको छ ।

जलवायु परिवर्तनले जलाशय र तालहरूमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । तापमान वृद्धि र असमान वर्षाका कारण नेपालका जलाशय र तालहरूको सन्तुलनमा असर परेको हामीले देखे भोगेका छौँ । रारा ताल, फेवा ताल जस्ता स्थायी जलाशयहरूको पानीको स्तरमा उतारचढाव भएको अध्ययनले देखिरहेको छ । उच्च हिमाली क्षेत्रमा नयाँ हिमताल (ग्लेसियल लेक) बन्ने र बिस्फोटको घटना बढेका छन् । हालै मात्र पनि चीन र तिब्बत क्षेत्र मा भएका हिमताल विस्फोटका कारण  हाम्रो उत्तरी क्षेत्रमा बढी आयो । नेपालमा हाल ३ हजार ५२५ हिमताल छन्, जसमध्ये २१ अत्यधिक जोखिमयुक्त छन् (इसिमोड २०२४०) ।

१९८५ मा सगरमाथा क्षेत्रमा डिग त्सो ताल फुट्दा ठूलो क्षति भयो त्यो लगायत यहाँ हरेक वर्ष हिमताल फुटेर क्षति भोगिरहेका छौँ । जलवायु परिवर्तनले  पारिस्थितिक प्रणाली, जलीय जैविक प्रणाली र पानीको गुणस्तरमा पनि असर पार्दछ । जस्तै पानीको तापमान बढ्दा माछा प्रजनन क्षमतामा गिरावट आएको देखिएको छ । नदी तथा तालहरूमा अत्यधिक वृद्धि भएको छ, जसले पानी प्रदूषण बढाउँछ र पिउने पानीको स्रोतहरूमा ब्याक्टेरियोलोजिकल प्रदूषण बढेको छ । 

ऊर्जाको प्रमुख स्रोत जलविद्युत भएको नेपालजस्तो देशका लागि जलवायु परिवर्तनको प्रभाव झनै गम्भीर हुन्छ । जलवायु परिवर्तनले पानीको मात्रा, बहावको समय, तापक्रम, वर्षाको ढाँचा र उच्च मौसमी परिवर्तन ल्याउँछ, जसले जलविद्युत् उत्पादनमा विभिन्न तरिकाले असर गर्दछ । 

जलविद्युत उत्पादनका लागि पानीको निरन्तर र अनुमानित प्रवाह आवश्यक हुन्छ तर जलवायु परिवर्तनका कारण वर्षा एकैचोटी धेरै हुने र दीर्घकालसम्म नहुने अवस्था बढेको छ । सँगसँगै हिमनदीहरू तीव्र रूपमा पग्लँदै गएका छन्, जसले सुरुमा पानीको मात्रा बढाए पनि दीर्घकालमा नदी प्रवाह घटाउँछ । जस्तो कि २०२०–२०२४ बिच, नेपालका नदीहरूमा सिजन अनुसारको पानी प्रवाहमा १०–३० प्रतिशतसम्म घटबढी भएको देखिएको छ (जलस्रोत तथा सिँचाइ विभागको प्रतिवेदन, २०२४) । यसको प्रभावलाई माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) मा वर्षको ४–५ महिना क्षमता अनुसार उत्पादन हुँदैन, कारण — सुक्खा मौसममा पानीको कमी हो त्यहाँ सजिलै देख्न सकिन्छ ।

अर्को प्रभाव भनेको  वर्षाको फरक प्रवृत्ति हो । नेपालको जलविद्युत् प्रणाली मनसुनमा भर पर्ने भएकोले वर्षाको मात्रा र समयको परिवर्तनले उत्पादनमा प्रत्यक्ष प्रभाव पार्दछ । बर्खामा अत्यधिक पानी हुँदा धेरै आयोजना बाढीबाट क्षतिग्रस्त हुने तथा सुख्खा हिउँद महिनामा उत्पादन स्तर घट्ने गरेको प्रवद्र्धकले बताउन थालेका छन् । २०२३ काे सुक्खा मौसममा विद्युत् उत्पादनमा ३० प्रतिशत घटेको कुरा आएको थियो (नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन, २०२४) ।

यसबाहेक हिमताल बिस्फोटपछि आउने बाढीको जोखिमले गर्दा पनि जलविद्युतमा प्रभाव परि नै रहेको हुन्छ । हिमनदी पग्लँदा नयाँ तालहरू बनिरहेका छन् । ती ताल फुटेमा एकै चोटि ठूलो मात्रामा पानी बग्ने खतरा हुन्छ, जसलाई ग्लेसियल लेक आउटब्रस्ट फ्लड (जिएलओएफ) भनिन्छ । यसको प्रभाव स्वरूप जलविद्युत् आयोजनामा क्षति, बाँध, सुरुङ, र विद्युत्गृहमा बाढीको जोखिम बढेको हुन्छ । नेपालमा हाल ३ हजार ५२५ हिमताल छन्, जसमध्ये २१ अत्यन्त जोखिमयुक्त छन् (इसिमेड, २०२४०) ।

जलवायु परिवर्तनले जलाशययुक्त जलविद्युत आयोजनामा जलवायु परिवर्तनका कारण पानीको स्तर घट्दा उत्पादन क्षमता कम हुन्छ । एउटा अध्ययनले कुल  जलाशययुक्त आयोजना उत्पादनको सिजन अनुसार २०–४० प्रतिशत घट्ने रिपोर्ट गरिएको छ (एडिबी स्टडी, २०२३) । भने कुल नदी प्रवाह २०५० सम्ममा १०–१५ प्रतिशत घट्न सक्छ भन्ने अनुमान छ (आइपिसिसी फिफ्थ स्टेटमेन्ट रिपोर्रट) ।

कहिलेकाहीँ सञ्चालनमा आएका जलविद्युत् केन्द्रमा उपकरण र संरचनामा असर पनि भइरहेको हुन्छ । ठुलो बाढी वा पहिरोबाट विद्युत्गृह, पेनस्टक पाइप, ट्रान्सफर स्टेसनहरूमा क्षति पुग्छ । बाढीले 'सेडिमेन्टेसन' बढाउँछ, जसले टरबाइन क्षति गर्न सक्छ। विभिन्न समय मा आएका बाढीले त्यस्ता क्रियाकलाप भई नै रहेको हुन्छ । जस्तै, २०७७ मा, म्याग्दीमा आएको बाढीले ४ वटा साना जलविद्युत आयोजनामा २० करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रत्येक वर्ष १५ देखि २० दिन बाढी पहिरोका कारण जलविद्युत् केन्द्रको उत्पादन ठप्प हुने तथ्य आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

जलवायु परिवर्तनले जलविद्युत्को दीर्घकालीन उत्पादन क्षमतामा गिरावट आउँछ ।  सुरुमा हिमाल पग्लिँदा पानी धेरै हुन्छ तर दीर्घकालमा स्रोत सुक्दै जाँदा उत्पादन घट्छ । आइपिसिसीका अनुसार सन्  २१०० सम्ममा नेपालको ५० प्रतिशत जलविद्युत् सम्भावना गुम्न सक्ने खतरा छ । सन् २०५० सम्ममा तापक्रम  वृद्धिको कारण नेपालको जलविद्युत उत्पादन १० देखि १५ प्रतिशत ले घट्ने सम्भावना छ, (जल तथा ऊर्जा आयोग, २०२२) ।

यद्यपि, जलवायु परिवर्तनको कारण विद्युत् उत्पादनमा सकारात्मक पक्ष पनि भेटिन्छन् । भारी वर्षा तथा त्यसपछिको बाढीबाट अतिरिक्त ऊर्जा उत्पादन गर्न सकिन्छ । वर्षाको अतिरिक्त पानीलाई जलाशयमा भण्डारण गरी बढी विद्युत् उत्पादन गर्न सकिन्छ । जसले सुख्खा मौसममा पनि निरन्तर उत्पादन सम्भव बनाउँछ । त्यस्तै पम्प स्टोरेज प्रविधि प्रयोग गरेर पानी माथिल्लो जलाशयमा पुनः पठाएर आवश्यकता अनुसार विद्युत् उत्पादन गर्न सकिन्छ ।

हिमनदीहरू पग्लँदै गर्दा केही दशकसम्म पानीको प्रवाह अधिक हुने सम्भावना हुन्छ । यस्तो समयमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरू तीव्र निर्माण गरेर २०–३० वर्षको उत्पादन अवधिलाई लाभदायक बनाउन सकिन्छ । साथै मौसमी भण्डारण प्रणाली विकास गर्न सकिन्छ, जसले अतिरिक्त प्रवाहलाई सम्हाल्न मद्दत गर्छ ।

जलविद्युत् उत्पादन र बजारीकरणका लागि कार्बन वित्त, ग्रीन बोन्ड, र जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय स्रोतहरूबाट जलविद्युत् आयोजनामा लगानी ल्याउन सकिन्छ । यी र यस्ता केही सकारात्मक पक्ष भए पनि समग्र रूपमा जलवायु परिवर्तनका सकारात्मक भन्दा धेरै नकारात्मक असर हरू नै देखिन्छन् । हुन त हरित जलवायु कोष मार्फत नेपालले जलविद्युत्का लागि १०० मिलियनसम्म सहायता पाउने सम्भावना देखिने कुराहरू सकारात्मक पाइन्छन् तर त्यसका लागि ठोस योजना चाहिन्छ ।

लेखक पोखरेल वातावरणविद् हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३