विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्र (टेन्डर) मा सहभागी कम्पनीहरूले विद्युत्‌को प्रतिस्पर्धी दर अर्थात् प्रतियुनिट ४.९९ देखि ६ रुपैयाँसम्म प्रस्ताव गरेका छन् । प्राधिकरणले मंगलबार खोलेको आर्थिक प्रस्तावअनुसार उक्त दर प्रस्ताव गरिएको पाइएको हो ।

सौर्य विद्युत् उत्पादनका लागि विद्युतीय बोलपत्र आवेदन पेश गरेका मध्ये करिब ७० वटा कम्पनीहरूले प्रतियुनिट विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) का लागि न्यूनतम ४.९९ रुपैयाँदेखि अधिकतम ६ रुपैयाँसम्मको दर प्रस्ताव गरेको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले जानकारी दिए । यो दरले प्राधिकरण निकै उत्साहित भएको पनि उनले बताए ।

‘करिब ७० वटा कम्पनीले त्यति नै किसिमका दर प्रस्ताव गरेका छन्,’ उनले मंगलबार साँझ ऊर्जा खबरसँग भने, ‘रामेछापतिरको एउटा कम्पनीले सबैभन्दा कम दर प्रतियुनिट ४.९९ रुपैयाँ प्रस्ताव गरेको छ भने बढीमा ६ रुपैयाँसम्म प्रस्ताव परेको छ । यस आधारमा प्राधिकरणलाई औसतमा प्रतियुनिट ५ रुपैयाँ ६० पैसाभन्दा बढी नपर्ने देखिन्छ ।’

मंगलबार खोलिएको आर्थिक प्रस्तावको मूल्याङ्कन सकिएपछि सबैभन्दा कम दर प्रास्तव गर्नेलाई प्राथमिकतामा राखेर पायक पर्ने सबस्टेशनहरूको क्षमताका आधारमा ठेक्काका लागि थप प्रक्रिया अघि बढाइने उनले बताए । ‘आर्थिक प्रस्तावको मूल्याङ्कन हामी ८/१० दिनभित्र अर्थात् तिहारअघि नै सक्ने तयारीमा छौँ,’ उनले भने, ‘त्यसपछि थप प्रक्रिया अघि बढ्ने छ ।’

प्रतिस्पर्धी दर प्रस्ताव भएको, विद्युत्‌को उत्पादन चाँढै बढाउनु पर्ने भएको र सौर्य विद्युत् परियोजनाहरू बढीमा डेढ वर्षभित्रै निर्माण पूरा भई उत्पादन दिन सक्ने भएकोले ठेक्का प्रक्रियामा प्राधिकरणले बिलम्ब नगर्ने पनि उनको भनाइ छ ।

प्राधिकरणले प्राधिकरणले कूल ८०० मेगावाट क्षमतामा नबढ्ने गरी सौर्य विद्युत् उत्पादनका लागि बोलपत्र पेश गर्न २०८० साल चैत २१ गते ४५ दिनको म्याद तोकेर आवेदन खोलेको थियो । त्यसपछि, निरन्तर ३ पटकसम्म आवेदन दिने म्याद थपिएको थियो । प्राधिकरणले उक्त बोलपत्रअन्तर्गत परेका आवेदनहरू साउन अन्तिममा खोलेको थियो । आर्थिक प्रस्ताव भने कात्तिक ६ गते मंगलबार खोलेको हो ।

प्राधिकारले देशभरका ६१ वटा ग्रीड सबस्टेसन र ९७ वटा ३३/११ केभी वितरण सबस्टेसनमा विद्युत् जोड्न पायक पर्ने गरी प्रस्तावसहितको बोलपत्र मागिएको छ । प्राधिकरणले वितरण सबस्टेसनमा बढीमा १ मेगावाट र ग्रीड सबस्टेसन (२२०/१३२/३३ केभी) मा बढीमा १० मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरी प्रस्ताव पेश गर्न बोलपत्र आह्वान गरेको थियो ।

विकासकर्ताद्वारा उत्पादित विद्युत् जडान विन्दु ग्रीड सबस्टेसनको हकमा ६६ केभी वा सोभन्दा माथिल्लो भोल्टेज र वितरण सबस्टेसनको हकमा ३३ केभी हुनुपर्ने प्राधिकरणको शर्त थियो । एउटा कम्पनी वा फर्मले देशभरका आफ्ना सबस्टेसनमा पायक पर्ने गरी १५० मेगावाटसम्म सौर्य विद्युत् उत्पादन गर्नका लागि प्रतियुनिट अधिकतम ५.९४ रुपैयाँदेखि घटाघटमा आवेदन दिन सक्ने मापदण्ड तोकिएको थियो ।

इच्छुक आवेदकले १५ हजार आवेदन शुल्क र प्रतिमेगावाट १० लाख रुपैयाँ धरौटीसहित विद्युतीय बोलपत्र पेश गर्नुपर्ने आवेदन दिनुपर्ने व्यवस्था थियो । परियोजना विकासका लागि छनोट भई ठेक्का पाउने कम्पनीले १० मेगावाट वा सोभन्दा कम क्षमताको परियोजना छ भने पीपीए भएको मितिले १८ महिनाभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, १० मेगावाट वा सोभन्दा माथिको क्षमताका आयोजना छ भने २४ महिनामा निर्माण सकी सञ्चालनमा ल्याउनुपर्ने छ । यसरी, प्रतिस्पर्धाबाट छनोट भई आयोजना विकास गर्ने विकासकर्तासँग प्राधिकरणले २५ वर्षसम्म विद्युत् खरिद गर्नेछ ।

सौर्य विद्युत्‌को पीपीए दर २५ वर्षसम्म एउटै रहने भएकोले पनि प्राधिकरण यसबाट उत्साहित देखिएको छ । उक्त परिमाणको विद्युत् उत्पादन गर्न प्राधिकरणले शुरूमा २०८०, चैत २१ गते ४५ दिनको समयसीमा तोकेर देशभर आफ्नो नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी सौर्य विद्युत् उत्पादन गर्न इच्छुक विकासकर्ताबाट विद्युतीय बोलपत्रमार्फत आह्वान गरेको थियो । तर, विकासकर्ताको सहभागिता न्यून भएपछि पहिलो पटक असार ४ गतेसम्मका लागि, दोस्रो पटक असार २५ गतेसम्मका लागि र तेस्रो पटक साउन ३० गतेसम्म आवेदन दिने म्याद थपेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३