हालैको अविरल वर्षाका कारण धेरै वटा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । इन्स्योरेन्स पोलिसीले वर्षाका कारण हुने क्षतिहरू जस्तैः बाढी–पहिरो, जलमग्न तथा जमिन भासिएर भएका क्षतिमा सबै कभर गरेको हुन्छ ।
बिमा लेखले कभर गरे पनि हामीले अनुमान गरेभन्दा कममात्र क्षतिपूर्ति पाइने गरेका उदाहरण प्रशस्तै छन् । यसको कारण खोतल्दै जाँदा केही हाम्रो आफ्नै कारणले हुन्छ भने केही अन्य कारणले । बिमा दाबी पर्ने वित्तिकै सबैभन्दा पहिला उक्त जलविद्युत् आयोजना कति वर्षदेखि सञ्चालनमा छ र त्यतिबेलाको लागत कति हो भन्ने हेरिन्छ । सर्भेयरले त्यस जलविद्युत्को बिल अफ क्वन्टिज् (बिओक्यु) र अहिलेको बुक भ्यालु माग्दछ । डेप्रिसियसन त्यसैबाट निस्किन्छ । अब तपाईंसँग सर्भेयरले बिमा लेख माग्दछ । यदि, बुक भ्यालुभन्दा कममा बिमा गरिएको पाइयो भने अण्डर इन्स्योरेन्स क्लज हाबी हुन्छ र जति प्रतिशतले कम मूल्यमा बिमा भयो, त्यति नै प्रतिशतले दाबी रकम घटाइन्छ ।
बुक भ्यालुले त पक्कै पुनःनिर्माण गर्न पुग्दैन । त्यहाँमाथि प्रायः बुक भ्यालु भन्दा कम मूल्यमा सम्पत्ति बिमा भइरहेको पाइन्छ । बैंकले पनि बुक भ्यालुभन्दा बढी रकमको बिमा गराउन बाध्य गरेको हुँदैन । किनकि, आफ्नो लगानी सुरक्षित देखेपछि बैंक चुप लाग्छ । यसो गर्दा बैंकको लगानी त सुरक्षित भयो तर संस्थापक (प्रोमोटर) र सर्वसाधारण (पब्लिक) को लगानी जोखिममा पर्न जान्छ । अब प्रश्न उठ्छ, बैंकको लगानी मात्र कसरी सुरक्षित भयो ? बिमाबाट जति रकम आयो, सबैले दामासाहीमा बाँड्दा त नोक्सानी भए पनि बराबर हुन्छ तर त्यसो हुँदैन । यदि, कुनै जलविद्युत् आयोजना नबन्ने गरी पूर्णतः क्षति भएको खण्डमा बिमाबाट दाबी बापत जति रकम आउँछ, सिधै बैंक खातामा जम्मा हुन्छ । बैंकले उक्त रकमबाट सबैभन्दा पहिला आफ्नो लगानी असुल गर्छ । अनि मात्र रकम बाँकी रहेको खण्डमा अन्य लगानिकर्ताले पाउँछन् ।
बाढी–पहिरो तथा अन्य कुनै आयोजना भत्किँदा प्रायः उत्पन्न हुने समस्या भनेको पहाड खसेको वा खोलाले बगाएर ल्याएको ढुङ्गा/माटोले संरचना पुरिनु हो । पुरिएको वस्तु हटाउनका लागि राम्रै रकम खर्च हुने गर्छ । यस्ता वस्तु पन्छाउँदा लाग्ने खर्च बिमा कम्पनीले दिँदैन तर आयोजनाको आर्थिक नोक्सानी भएकै हुन्छ ।
कुनै भत्केको संरचना मर्मत गर्नुपर्दा सबैभन्दा पहिला छोपिएको वस्तु हटाउनु पर्यो । तबमात्र बनाउन मिल्छ । मर्मत अथवा नयाँ जडान गर्दा आजको बजार मूल्यअनुसार खर्च लाग्छ । त्यसपछि बिमा दाबीको प्रक्रियामा जाँदा सर्भेयेरसँग ठोकिन्छ । सर्भेयर भनेको तटस्थ हुन्छ । क्षति मूल्याङ्कन गर्ने र भएको क्षतिमा बिमा कम्पनीको दायित्व यकिन गर्ने सर्भेयरको आफ्नै नियम हुन्छ ।
सर्भेयरले गर्ने कार्य त्यस्तो जटिल हुँदैन । साधारण तरिका अपनाएको हुन्छ । हामीसँग धेरैथरि कागजात मागेकोले जटिल भएको वा अनावश्यक दुःख दिएजस्तो लागेको हो । सर्भेयरले सबैभन्दा पहिला निवेदनमा उल्लेख भएबमोजिम क्षति भएको हो/होइन स्थलगत भ्रमण गरी यकिन गर्दछ । क्षति भएको प्रमाणित भएपछि बिमा गरिएको सम्पत्ति विवरण (बिओक्यु) माग गर्छ । क्षति भएको संरचना बिओक्युमा भए÷नभएको यकिन गर्दछ । बिओक्युमा उल्लेख नभएको संरचना क्षति भएमा दाबी पाइँदैन । किनकि, क्षति भएको सम्पत्ति बिमा कम्पनीको दायित्वमै परेन । यदि बिओक्युमा उल्लेख छ भने उक्त संरचना कति मूल्यमा बिमा भएको छ र अब पुनःनिर्माण गर्दा कति खर्च लाग्यो सर्भेयरले त्यसको फरक हिसाब निकाल्छ र त्यहि अनुसार बिमा कम्पनीको दायित्व यकिन गरि भुक्तानीका लागि सिफारिस गर्दछ ।
सर्भेयरले खोज्ने कागजात
सर्भेयर आफैँमा एउटा संस्था हो, त्यसकारण सर्भेयरले मैले हेरेँ सबै ठीक छ भनेको भरमा बिमा कम्पनीले भुक्तानी दिन मिल्दैन र सक्दैन पनि । सर्भेयरले लेखेको कुरा पुष्टि गर्ने आधार चाहिन्छ । सर्भेयरले पेश गरेका फोटोहरू त्यही जलविद्युत् आयोजनाकै हो÷होइन वा ग्राहकसँगको मिलोमतोमा अन्य ठाउँको फोटो ल्याएर राखेको हो कि ? यस्ता प्रश्नहरू उठ्न सक्छन् । त्यसकारण, सर्भेयरले गाउँपालिका, नगरपालिका, स्थानीय प्रहरी, जल तथा मौसम विभागलगायत अन्य निकायले क्षति तथा घटना प्रमाणित गरिदिएको कागजात माग्ने गर्दछ ।
बिमा कम्पनीले दाबी फर्छ्यौट गरेका प्रत्येक फाइलहरू अडिट हुने गर्दछ । अडिटको बेलामा सर्भेयर तथा बिमा दाबी लिने संस्था आफ्नो काम सकेर गइसकेका हुन्छ । कम्पनीमा फाइलमात्र बाँकी हुन्छ । कुनै पनि बेला त्यो फाइल पल्टाउँदा त्यसमा भएका सबै डकुमेण्ट बोल्नुपर्छ । सर्भेयरले आफूखुशी दिएर हुँदैन । सम्बन्धित सम्पूर्ण निकायहरूले प्रमाणित गरेको र स्थलगत निरीक्षणको आधारमा क्षतिपूर्ति यकिन गरिदिएको विवरण अनिवार्य हुनुपर्दछ । अतः सर्भेयरले कागजातहरू माग्दा झर्को नमानी उपलब्ध गराई सहयोग गरिदिनुपर्छ । किनकि, पछि हामीलाई नै अप्ठेरो नपरोस् भनेर सम्पूर्ण कागजात मागिएको हुन्छ ।
वास्तविक दाबी भुक्तानी
क्षति भएको संरचनाको कूल खर्चमा सबैभन्दा पहिल डेब्रिज (ढुङ्गा/माटो) पन्छाएको खर्च घट्छ । त्यसपछि बिओक्यूमा संलग्न नभएको संरचनामा भएको खर्च घटाइन्छ । बिओक्यूमा संलग्न भएको संरचनाको पनि उक्त बिओक्यूमा उल्लेख भएको मूल्यभन्दा बढी भएको खर्च घट्छ । अब बाँकी रहेको खर्चमा बुक भ्यालु बमोजिमको एकमुष्ठ ह्रास कट्टी पनि घटाएर बाँकी रकम दाबी भुक्तानीका लागि सिफारिससहित सर्भे रिपोर्ट बनाई बिमा कम्पनीमा पेश हुन्छ ।
कम्पनीले सर्भेयरले पेश गरेको प्रतिवेदन प्राप्त गरेपछि बिमा–लेखमा कबोल गरिएको अनिवार्य अधिक (डिडक्टिबल) कटाएर मात्र दाबी भुक्तानी गर्दछ । त्यसैले बिमा कम्पनीबाट दाबी फछ्र्यौट हुँदा हामीले अनुमान गरेभन्दा निकै कममात्र पाइन्छ । बिमा कम्पनीले दाबी फर्छ्यौटका लागि अपनाउने वास्तविक प्रक्रिया यही हो । यो ठीक पनि हो, कोही व्यक्ति वा संस्था बिमा कम्पनी वा सर्भेयर भई काम गरेको खण्डमा अपनाउने प्रक्रिया पनि यही हो ।
के गर्ने त ?
दाबी परिसकेपछि केही गर्न मिल्दैन र सकिँदैन पनि । क्षति अनुसारकै बिमा दाबी प्राप्त गर्ने हो भने सर्वप्रथम त हाम्रो सम्पत्तिको बुक भ्यालु जति भए पनि आजको बजार मूल्यबमेजिम बिमाङ्क कायम गरी बिमा गराउनु पर्छ । यदि, बीचमा हामीले कुनै संरचना थप गरेको वा भइरहेको संरचनामा थप लगानी गरेको भए त्यसको जानकारी बिमा कम्पनीलाई दिनुपर्छ । थप भएको सम्पत्तिको बिमा शुल्क तिरेर बिमाको दायरामा ल्याउनुपर्छ । डेब्रिज हटाउन लाग्ने सम्भावित खर्च पनि सम्पत्ति विवरणमा थप गरी बिमा गराउन सकिन्छ । त्यसका लागि बिमा कम्पनीसँग अनुरोध गर्नुपर्छ । यति गरेको खण्डमा पनि दाबी भुक्तानी रकममा धेरै फरक परिसकेको हुन्छ ।
अन्त्यमा
सबैभन्दा महत्वपूर्ण कुरा नेपालमा निकै कम प्रचलनमा रहेको बिमालेख सम्पत्ति बिमा गाराउँदा “पुनर्स्थापना सम्पत्ति बिमालेख” लिनुपर्छ । साधारणतः बुक भ्यालु अनुसार बिमा गराउने भएकोले “सामान्य सम्पत्ति बिमालेख” लिने गरिएको हुन्छ । किनकि, डेप्रिसियट भ्यालुमा बिमा गर्दा “सामान्य सम्पत्ति बिमालेख”मात्र लिन पाइन्छ । दुईटा मध्ये जुन बिमालेख लिए पनि बिमादर एउटै हो तर “पुनर्स्थापना सम्पत्ति बिमालेख” अन्तर्गत दाबी फर्छ्यौट गर्दा ह्रास कट्टी गर्न पाइँदैन । यसैले, बुक भ्यालुमा बिमा गराउँदा “पुनर्स्थापना सम्पत्ति बिमालेख” लिन पाइँदैन त्यसका लागि आज निर्माण गर्दा लाग्ने बजार मूल्यबमोजिम नै बिमाङ्क कायम हुनुपर्छ ।
सरसर्ती हेर्दा बिमाङ्क रकम बढेकोले अनावश्यक बिमा शूल्क बढी लागेको जस्तो लागे पनि आयोजना क्षति भएको खण्डमा यस “पुनर्स्थापना सम्पत्ति बिमालेख”ले निकै ठूलो भूमिका खेल्छ र राम्रै क्षतिपूर्ति पाइन्छ । यो “पुनर्स्थापना सम्पत्ति बिमालेख” ग्राहकले पनि लिन चाहिरहेको हुँदैन । बिमा कम्पनीहरूले पनि दिन चाहिरहेका हुँदैनन् । नबुझेर पनि यसो हुन सक्छ । यसका लागि नेपाल बिमा प्राधिकरणबाटै सर्कुलर जारी गरी हाललाई कमसेकम जलविद्युत् उद्योगमा “पुनर्स्थापना सम्पत्ति बिमालेख” अनिवार्य लिनुपर्ने/दिनुपर्ने बनाउन सकिन्छ । यसो हुन सकेमा भविष्यमा सबैलाई राम्रो हुनेमा ढुक्क हुन सकिन्छ ।
लेखक, एवान रिईन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुन्