अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको स्थापना २०६३ फागुन २५ गते एक स्वायत्त संस्थाको रूपमा भएको हो । स्थापनाकालमा यसको मुख्य उद्देश्य भनेको दोलखाको लामाबगरमा राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कार्यान्वयन गरी निर्माण¸ सञ्चालन तथा व्यवस्थापन गर्नु थियो । यसले राज्यकै ठूलो क्षमताको जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी अर्को दोश्रो चरणको रुपमा करिव २०.६६ मे.वा. क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणमा कम्मर कसेको हेर्दा यस कम्पनीले आफ्नै साख र गौरव बोकेको बुझिन्छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई २०७८ भाद्रदेखि व्यापारिक उत्पादन गरिरहेको छ भने रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माण कार्यले बामे सर्दै गरेको अवस्था छ । दोश्रो चरणको निर्मणको रुपमा रहेको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माण भर्खरै शुरु गरिएको हुँदा यसको बारेमा खासै चर्चा नगरी निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बारेमा केही चर्चा गर्दा उपयुक्त हुने देखिन्छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना एउटा राष्ट्रिय गौरबको उपाधि पाई राज्यका उच्च पदाधिकारी¸ सरकारी निकाय¸ राजनीतिक दल¸ पत्रकार¸ स्थानीय बासिन्दा¸ स्थानीय बुद्धिजिवी¸ सामाजिक कार्यकर्ता तथा स्थानीय निकाय आदि सबै पक्षबाट न्यानो माया¸ सहयोग र सद्भाव पाएको महत्वपूर्ण आयोजना हो । यसले राज्यको ठूलै आर्थिक भार बोकेको छ । यस आयोजनाको काम सम्पन्न भई माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको रूपमा सञ्चालनमा आए पनि दोलखाको उत्तरी भेगको विकासको लागि यसले अझै पनि प्रत्यक्ष रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । अपर तामाकोसीबाट निर्माण सम्पन्न भएको यो आयोजना विद्युत प्राधिकरणको सबैभन्दा ठूलो आयोजना हो । यो आयोजना नेपालीको पूर्ण लगानीमा निर्माण भएको हो ।
२०७२ साल बैशाख १२¸१३ र २९ गतेको विनाशकारी महाभूकम्प, लगत्तैको अघोषित नाकाबन्दी, वर्षातको समयमा प्रवेशमार्गहरूमा बारम्बार पहिरो जानु, कोरोना महामारी जस्ता काबूबाहिरका परिस्थितिहरू तथा मुख्य सुरुङको डिजाइन परिवर्तन¸ भौगोलिक विकटता¸ उपकरण जडानमा कठिनाई र एउटा ठेकेदारको कमजोर कार्यसम्पादन जस्ता विविध कारणहरूले गर्दा आयोजनाको निर्माण अवधि ६ वर्षबाट बढेर ११ वर्ष पुग्यो । आयोजनाको निर्माण अवधि केही लम्बिए पनि अन्ततः यसको सफलताप्रति सबैमा उत्साह र हौसला प्राप्त भएको छ । प्रारम्भिक चरणमा यसको शिलन्यास तथा निर्माण सम्पन्न पछि पनि सरकार प्रमुखहरूबाट दिइएको महत्त्वपूर्ण समयलाई नजरअन्दाज गर्दा यस आयोजनाको सफलतामा तल्लो तहदेखि माथिल्लो तहसम्मको भूमिका रहेको सजिलै बुझ्न सकिन्छ ।
दोलखा जिल्ला र समग्रमा यसले राज्यमा पुर्याउने योगदानको चर्चा गर्ने हो भने यसको सुक्ष्म अध्ययन गर्नैपर्ने हुन्छ । यसले, प्रभावित क्षेत्रका नागरिकहरूको सामाजिक¸ आर्थिक तथा धार्मिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । आयोजना निर्माण हुँदै जाँदा यसले ल्याएको आर्थिक गतिविधिका कारण उत्तरी क्षेत्रका स्थानीयबासिन्दाको अनुहारमा खुशी प्रत्यक्ष देख्न सकिन्थ्यो । यसले दोलखा जिल्लाको दुर्गम गाउँ लामाबगरमा बाटो पुर्याएर शहर बजारसम्म सजिलै जोडिन सहयोग गर्यो । गाउँघरको सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भनेकै बाटोघाटो हो । बाटोको विकास हुने बित्तिकै गाउँबस्तीको अन्यत्र पहुँच पुगी गाउँघर तथा दूरदराजमा बस्ने बासिन्दाहरूको अनुहारमा चमक देखिनु स्वभाविक नै हो ।
आयोजनाको निर्माणसँगै प्रभावित क्षेत्रका गाउँबस्तीमा रहेका शिक्षित¸ अर्धशिक्षित¸ दक्ष तथा अर्धदक्ष व्यक्तिहरूले रोजगारीको अवसर पाई सामाजिक जीवनस्तर उकास्ने अवसर पाए । यसले गर्दा दोलखाको उत्तरी भेगका जनताहरूमा उत्साह¸ उमङ्ग र हौसला थपियो । यस आयोजनाको पहलबाट लामाबगरसम्म प्रवेशमार्ग निर्माण भएपछि जलविद्युतमा लगानी गर्ने व्यवसायीहरू उत्साहित भए ।
फलस्वरूप त्यो भेगका नदीनलाहरूबाट विद्युत उत्पादन गर्न जलविद्युत कम्पनीहरू स्थापित हुँदै गए । आयोजनाले स्थानीयवासीको सुविधाको लागि गरेटो¸ घाेडेटो तथा पैदल बाटोहरूको स्तराेन्नति गराउने¸ खानेपानीको धारा निर्माण तथा मर्मत गरिदिने¸ मठमन्दिर तथा गुम्बा निर्माणमा सहयोग गरिदिने¸ विद्यालयहरूको मर्मत तथा सम्भार गर्ने¸ विद्यालय भवन बनाइदिने जस्ता विकास निर्माणका कामहरू गरी सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ ।
कतिपय विश्वविद्यालय तथा विद्यालयहरूले सम्बन्धित विषयका विद्यार्थीहरूलाई यस आयोजनामा शैक्षिक तालिम तथा इन्टर्नसीप गर्न पठाउने गरेका छन् । हाइड्रो मेकानिकल¸ इलेक्ट्रिकल तथा सिभिल विषयमा धेरै विद्यार्थीहरूले यसै आयोजनाको अवलोकनबाट अत्याधुनिक प्रविधिको अनुभूति लिने अवसर पनि पाएका छन् । यावत कुराहरूलाई हृदयङ्गम गर्दा यसलाई जलविद्युत क्षेत्रको अध्ययन केन्द्रको रूपमा पनि लिन सकिन्छ । जलविद्युत सम्बन्धी अध्ययन गर्न विदेश गएर लाखौँ रकम खर्च नगरी जेहन्दार विद्यार्थीहरूले यसै आयोजनाको अवलोकन गरी अध्ययन गर्न सक्छन् ।
आयोजनाको निर्माणको लागि प्राधिकरणको ४१ प्रतिशत¸ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ६ प्रतिशत¸ नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत गरी जम्मा ५१ प्रतिशत संस्थापक शेयर लगानी रहेको छ भने कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताबाट १७.२८ प्रतिशत¸ कम्पनी र प्राधिकरणका कर्मचारीहरूबाट ३.८४ प्रतिशत¸ आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूबाट २.८८ प्रतिशत¸ दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूबाट १० प्रतिशत र सर्वसाधारणतर्फबाट १५ प्रतिशत साधारण शेयर लगानी रहेको छ । धनराशी र क्षमताको हिसाबले हेर्दा नेपालमा यति ठूलो आयोजना अब केही वर्ष आउन सक्दैन । राज्यले यसबाट प्राप्त प्रतिफलको अध्ययन गरेर मात्र अन्य आयोजनाहरूमा लगानी गर्नुपर्दछ ।
अपर तामाकोशी हाइड्रो पावर लिमिटेडबाट निर्माण सम्पन्न माथिल्लो तामाकोसी जलविद्युत आयोजना हालसम्मकै नेपालको सबैभन्दा ठूलो¸ प्रभावकारी एवम् गौरवशाली आयोजना हो । प्राधिकरणको भगिनी संस्थाको रुपमा स्थापित कम्पनीबाट यो आयोजना निर्माण गरेको हुँदा आयोजनाको उच्चस्तरीय दीर्घकालीन व्यवस्थापन र प्रबन्धनमा प्राधिकरणलाई समेत चुनौती रहेको छ । बाँधस्थल¸ बालुवा थिग्र्याउने पोखरी¸ विद्युतगृहमा जडान गरिएका अत्याधुनिक मेसिनरी संरचनाहरूको संरक्षण¸ सम्बर्द्धन तथा दिगोपन दिन सानोतिनो प्रयासले हुँदैन । साधारण दक्ष जनशक्तिबाट आयोजनामा जडान भएका अत्याधुनिक प्राविधिक उपकरणहरूको व्यवस्थापन¸ संरक्षण तथा सञ्चालन हुन सक्दैन ।
जलविद्युत केन्द्रको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्दछ । ४५६ मेगावाट क्षमताको विद्युत उत्पादनका लागि ६ वटा टर्बाइनहरू जडान गरिएका छन् । एउटा टर्बाइनबाट ७६ मेगावाट विद्युत उत्पादन हुन्छ । नेपालमा रहेका अन्य विद्युतगृह तथा जडान भएका टर्बाइनहरूको तुलनामा यस आयोजनाका टर्बाइनहरू अत्यन्तै ठूला एवम् अत्याधुनिक प्रविधिका छन् । यसको दीर्घकालीन व्यवस्थापनका लागि उच्चकोटीको दक्ष जनशक्तिको आवश्यकता पर्दछ । अनुभवहीन¸ राजनीतिक भनसुन तथा चिनेजानेको भरमा यस्तो महत्त्वपूर्ण संरचनाहरूको व्यवस्थापन जिम्मा दिनुहुँदैन ।
मित्रमणि पाेखरेल नेपाल विद्युत् प्राधिकरणका वरिष्ठ अधिकृत हुन् ।