विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गत दोलखामा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनाको आफ्नै साख र गौरव छ । आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत उत्पादन गर्न कर्मचारीहरूबाट अहोरात्र कसरत र दौडधुप गरेको स्मरण ताजै छ । आयोजनाको परीक्षण गर्ने क्रममा र आयोजनालाई चाँडोभन्दा सम्पन्न गरी उद्घाटन गर्न कर्मचारीहरूबाट रातोदिन कुदाकुद गरेको गरिएकै हो । प्राकृतिक विपद्¸ सीमा नाकामा अघोषित नाकाबन्दी¸ २०७२ सालको भूकम्प¸ कोभिडको संक्रमण¸ सुरुङ डिजाइन परिवर्तन¸ चरीकोट–लामोसाँघु सडकमा निर्माण सामग्री ढुवानीमा भएको अवरोध तथा हाइड्रो मेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन जस्ता विविध कारणहरूले निर्माणमा केही ढिलाइ भएको अनुभूति हामी सबैले गरिएकै हो । आज राज्यले विद्युत सेवा प्राप्त गरी अन्य पूर्वाधारहरू विकास गर्न र आर्थिक समृद्धिको ढोका खोल्न यसले पनि महत्वपूर्ण भूमिका निभाउने भएकोले आज आनन्द र खुशीको अनुभूति गर्न पाइएको छ ।

सफलताका पछाडि आयोजना निर्माणमा संलग्न कर्मचारी¸ व्यवस्थापक समूह¸ लगानीकर्ता¸ राजनीतिक नेतृत्व¸ प्रशासनिक निकाय¸ सरकारी तथा गैरसरकारी निकाय¸ सुरक्षा निकाय¸ पत्रकार समूह¸ स्थानीय बुद्धिजिवी¸ सरोकार समिति लगायतको महत्वपूर्ण योगदान रह्यो । सबै पक्षहरूको सहयोग¸ हातेमालो र साझा प्रयासबाटै यो आयोजनाले साकार रूप लिएको छ । हाल माथिल्लो तामाकोसी निर्माण सम्पन्न भई विद्युतको व्यापारिक उत्पादन सुरु भएपछि यो ‘माथिल्लो तामाकोसी जलविद्युत केन्द्र’को रूपमा सञ्चालित छ । केन्द्रबाट आज पूर्ण क्षमता (४५६ मे.वा.) विद्युत उत्पादन भइरहँदा लगानीकर्ता¸ शेयरधनी एवम् सम्पूर्ण नेपालीमा उत्साह थपिएको छ ।

आयोजना निर्माणको चरणमा यसले सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको साख बोकेको हुनाले यसको निर्माणमा संलग्न सबै कर्मचारीहरूमा पक्कै गौरवको अनुभूति भएको छ । यसको निर्माणको चरणलाई व्यवस्थित रूपमा सक्रिय तथा रफ्तारमा अगाडि गराउन तत्कालीन आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठको महत्वपूर्ण योगदान रह्यो । निर्माणको मध्यचरणमा भन्दा बढी चुनौती सुरु वा पहिलो चरणमा हुन्छ ।

सम्भाव्यता अध्ययन तथा विश्लेषण¸ डिजाइन तथा वित्तीय व्यवस्थापन भई स्वीकृत भएको आयोजनालाई प्रारम्भ गर्न वा कार्यान्वयन गर्न आयोजना निर्माणस्थलमा पूर्वाधार तयार गर्नु त्यतिकै चुनौतीपूर्ण हुन्छ । स्थानीयहरूसँगको हातेमालो¸ स्थानीय निकायहरूसँगको सहकार्य¸ सामाजिक तथा राजनीतिक समर्थन¸ प्रशासनिक निकायहरूको सहयोग¸ जिल्लामा सक्रिय रहेका राजनीतिक दलहरूसँगको सहकार्य गर्नुपर्ने जस्ता कामहरू कहीँ पनि सहज हुँदैनन् । स्थानीयहरूको मागलाई सम्बोधन गर्दै सबैबाट समर्थन र हातमा हात राखेर आयोजनको निर्माणको काम सुरु गराउनु चानचुने कुरा थिएन । पाइलैपिच्छे समस्या तथा व्यवधानहरूलाई छिमोल्दै सहज ढङ्गबाट व्यवस्थापन गर्दै आयोजनालाई निश्चित दिशानिर्देश गर्ने काम तत्कालीन आयोजना प्रमुख श्रेष्ठबाटै भयो ।

निर्माणले पाइला टेक्दै बामे सर्दै गरेको अवस्थामा गति प्रदान गर्न त्यसपछिका आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठको पनि त्यति नै ठूलो हात रहेको छ । आयोजनाको सुरु चरणमा सम्बोधन गरिएका स्थानीय मागहरूलाई समेत कार्यान्वयन गर्दै आयोजनाको निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउन पनि त्यति सजिलो थिएन । निर्माणको अनुगमन¸ सुपरीवेक्षण¸ नियन्त्रण¸ प्राविधिक परामर्शदाता ठेकेदार अलवा पनि चार वटा प्याकेजका ठेकेदारहरूको काममा नियमित अनुगमन तथा निरीक्षण¸  प्राविधिक तथा गैरप्राविधिक कर्मचारीहरूको व्यवस्थापन¸ न्यूनतम स्रोत साधनबाट अधिकतम प्रतिफल लिनु जस्ता व्यवस्थापकीय कामहरू कम चुनौतीपूर्ण थिएनन् ।

आयोजनाको निर्माणमा मृग्रेन्द्रबहादुर श्रेष्ठ र विज्ञानप्रसाद श्रेष्ठ पछिका आयोजना प्रमुख दिनेशजंग राणाको पनि त्यति नै महत्वपूर्ण हात रह्यो । आयोजना सम्पन्न गर्न तीन जना पात्रहरूबाहेक अन्य अझ महत्वपूर्ण पात्रहरूको योगदान कम रहेको छैन । आयोजनाको निर्माणको सम्पूर्ण क्रियाकलापहरूको प्रत्यक्ष अनुगमन¸ निरीक्षण¸ नियन्त्रणमा प्रबन्धक विमल गुरुङको अझ बढी महत्वपूर्ण हात रहेको छ । विदेशी विज्ञदेखि ठेकेदारहरूलाई एकै ठाउँमा ल्याएर आयोजनाको निर्माणको प्रगति विवरणको अवस्था हरेक दिन¸ हरेक पल¸ हरेक क्षण बुझ्न त्यति सजिलो थिएन । छरिएर रहेका मन¸ प्राज्ञिक ज्ञान¸ विज्ञता तथा हातहरू एवम विपरित दिशातिर फर्केर बसेका अनुहारहरूलाई एकै ठाउँमा ल्याएर संयोजन गर्ने कला गुरुङमा थियो ।

आयोजना निर्माणको क्रममा जति पनि योजना¸ अनुगमन तथा निरीक्षण मार्फत आयोजनालाई अगाडि लग्ने काम भयो¸ ती सबैमा उहाँको योगदान रहेको छ । नयाँ खिम्ती सबस्टेशन र प्रसारण लाइनको काममा फिल्डमै बसेर दिनरात खटी आयोजना निर्माणमा कोशे ढुंगाको काम गर्नेमा प्रबन्धक पूर्णगोपाल रञ्जितको नाम पनि बिर्सन सकिँदैन । आयोजना निर्माणको अन्तिम चरण महत्वपूर्ण चरणको रूपमा रहयो । बिहे घरमा अन्तिम दिनहरू महत्वपूर्ण भएजस्तै आयोजनाको अन्तिम चरणमा व्यवस्थापन तहका पदाधिकारीहरू तथा कर्मचारीहरू सबैले दौडधुपमा रहनुपर्यो । कोही प्रसारण लाइन र टवारको अनुगमन गर्ने काममा जानुपर्यो भने¸ कोही मुख्य निर्माणस्थलमा बसेर प्रत्यक्ष रेखदेख गर्नुपर्यो । अन्तिम चरणमा ठेकेदारबाट समयभित्र निर्माणको काम सकाएर आयोजना सञ्चालनमा ल्याउनु गाह्रै थियो । आयोजना प्रमुख¸ शाखा महाशाखाका प्रमुखहरू साइटमा प्रत्यक्ष संलग्न भएर नै सम्भव भएको हो ।

माथिल्लो तामाकोसी बाधा व्यवधान¸ हण्डर¸ ठक्कर तथा रस्साकस्सी व्यहोर्दै सम्पन्न भएको आयोजना हो । यसले प्रभावित क्षेत्रका स्थानीय तथा संघ संस्थाहरूप्रति खुल्ला हात गरी सामाजिक दायित्व व्यहोर्दै आफ्नो काम सम्पन्न गर्यो । यसको आफ्नै विशेषता¸ गौरव एवम् साख रहेको छ । आयोजना निर्माणस्थल वरपरको अत्यन्तै मनोरम भौगोलिक बनावट¸ सुसाउँदै ओरालो लागेका नदी नाला¸ पहाड–पर्वत एवम् हरियाली दृष्य¸ लामाबगरको धार्मिक एवम् अध्यात्मक महत्त्व बोकेका स्थान तथा खोला खोल्सीहरूले गर्दा आयोजना निर्माण अवधिभर आयोजना स्थलमा रही काम गर्दा कुनै नैराश्यता नभई प्रकृतिको काखमा रमाएर बसेको अनुभूति भयो । आयोजनाको निर्माण कार्यमा संलग्न हामी सबैमा गौरवको अनुभूति भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३