काठमाडौं । नेपाल भारतबीच बृहतरूपमा विद्युत् ब्यापार सम्झौता (पावर ट्रेड एग्रिमेन्ट) भइसकेको छ । त्यसका धेरै चरण पार हुँदै हामी पछिल्लो अवस्थासम्म पुगेका छौं । जसअनुसार नेपाल विद्युत् प्राधिकरणले भारतको सरकारी ‘विद्युत् ब्यापार कम्पनी एनटिपिसी विद्युत् ब्यापार निगम (एनभिभिएन)’ सँग ‘पावर एक्सचेञ्ज एग्रिमेन्ट’ समेत गरेको छ । जसले नेपालको विद्युत् भारतीय बजारमा निर्वाधरूपमा जान पाउने र ल्याउन सक्ने आधार तयार भएको छ । अझै पनि एउटा तीतो सत्य के हो भने हामीले सुख्खायामका महिनाहरूमा आउने ३–४ वर्षसम्म भारतबाट विद्युत् किनिरहनुपर्नेछ ।
विद्युत् किन्ने चाहना हाम्रो रहर नभई सिस्टम ब्यालेन्स (माग र आपूर्तिबीचको सन्तुलन मिलाउन) का लागि हुनेछ । नेपालका विद्युत्गृहबाट बर्खामा प्रशस्त विद्युत् उत्पादन हुने तर हिउँदमा जडित क्षमताको एक तिहाईसम्म घट्ने वास्तविकता छ । यसो हुँदा अझै केही वर्ष हामीले भारतबाट विद्युत् किनेरै माग र आपूर्तिबीच सन्तुलन मिलाउनुपर्ने हुन्छ । जुन इनर्जी बैंकिङबाट सम्भव छ ।
हाम्रो अनुमान छ कि अबको ३–४ वर्षपछि हामीलाई इनर्जी बैंकिङको आवश्यकता पर्दैन । र, हामी पूर्णरूपमा निर्यातका लागि मात्र योग्य हुन्छौं । यसका लागि प्रशस्त पूर्वाधार तयार हुनु पूर्वसर्त नै हो । जसको काम अगाडि बढिरहेको छ । हामीले बेच्नु त छँदैछ तर केही वर्षसम्मका लागि विद्युत् किन्नुपर्ने अवस्थाका विषयमा पनि स्पष्ट हुनुपर्ने देखिन्छ । हामीले अहिलेका लागि ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन प्रयोग गरेर एक्सचेञ्ज बजारबाट समेत विद्युत् किनबेच गर्नुपर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्नका लागि भारतले पछिल्लो समय जारी गरेको ‘अन्तर्राष्ट्रिय विद्युत् आयात–निर्यात कार्यविधि’ले एउटा ढोका खोल्यो । योसँगै प्राधिकरण ‘इन्डियन इनर्जी एक्सचेञ्ज’ नामक ‘विद्युत् एक्सचेञ्ज बजार’को सदस्य बन्यो । अब भारतको ‘डे अहेड’ बजारबाट एनभिभिएनमार्फत विद्युत् किनबेच गर्न सकिनेछ । अहिलेलाई बेच्ने विषय बाँकी राखेर यहाँ हामीले ‘डे अहेड’ बजारबाट कसरी विद्युत् किन्नुपर्छ ? त्यसको विधि के हुन्छ ? यसबाट प्राधिकरणले कसरी फाइदा लिन सक्छ वा लिनुपर्छ ? भन्ने विषयमा चर्चा गरौं ।
अवधि : ‘डे अहेड’ बजारमा १५–१५ मिनेटको फरकमा २४ घन्टामा ९६ वटा ब्लक समावेश हुन्छन् । यो अवधि शून्य घन्टा (हरेक दिन राति १२ बजे) बाट सुरु भई २४ घन्टासम्मको हुनेछ । हरेक ब्लकका लागि एक्सचेञ्ज बजारले छुट्टै विद्युत् खरिद दर निर्धारण गर्छ । र, यसरी हरेक २४ घन्टाका लागि विद्युत् एक्सचेञ्जबजारले ९६ वटा दर तय गर्छ । कम्प्युटर एल्गोरिदमबाट यी दरहरू निर्धारण हुने हुँदा यसमा कसैको दबाब, प्रभाव र हस्तक्षेप हुन पाउँदैन ।
परिमाण : हरेक ब्लकको विद्युत्का लागि नेपालले आफूलाई चाहिने परिमाण मेगावाटमा खुलाउनुपर्नेछ । प्राधिकरणले एक वर्षका लागि ३५० मेगावाटसम्म विद्युत् खरिद गर्ने स्वीकृति भारतको “केन्द्रीय विद्युत् प्राधिकरण” अर्थात् अधिकार प्राप्त निकाय (डेजिग्नेटेड अथोरिटी) बाट प्राप्त गरिसकेको छ । यसो हुँदा एक वर्षसम्म ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्राधिकरणले ३५० मेगावाटसम्मको परिमाणमा बोलकबोल (बिड) आवेदन गर्न सक्छ । यो बिड प्राधिकरणको तर्फबाट अख्तियारी प्राप्त भारतीय कम्पनी एनभिभिएनले बुझाउनेछ ।
दर : एक्सचेञ्ज बजारबाट किन्ने विद्युत्को दर प्रतियुनिटमा नभई प्रति १००० युनिटमा पेश गर्नुपर्नेछ । अर्थात्, प्राधिकरणले आफूले खरिद गर्न चाहेको दर प्रतिमेगावाट घन्टाको लागि खुलाउनुपर्नेछ । ‘पावर एक्सचेञ्ज बजार’बाट विद्युत् खरिदका लागि निर्धारण हुने दरभन्दा प्राधिकरणले बिड गरेको दर बढी भयो भने मात्र हामी बिडमा सफल हुनेछौं । र, विद्युत् पाउन सकिनेछ । यसको अर्थ, बजारले नै दर निर्धारण गर्छ ।
बिडमा सफल हुने सबैका लागि उसले उल्लेख (कोट) गरेको नभई एक्सचेञ्जमा निर्धारण हुने दर कायम हुन्छ । यहाँ के स्पष्ट हुनुपर्छ भने, आफूलाई चाहिएको परिमाणमा विद्युत् किनबेच गर्दा किन्दा सकेसम्म बढी दर हाल्नुपर्छ । बेच्दा सकेसम्म कम ।
प्रक्रिया : एनभिभिएनले विद्युत् प्राधिकरणको प्रतिनिधिका रूपमा हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म (अपरान्ह) नेपालका तर्फबाट “इन्डियन पावर एक्सचेञ्ज”मा बिड पेश गर्नेछ । त्यसको बजार मूल्य अपरान्ह १ बजेसम्म निस्किन्छ । यसअनुसार बजार क्लियरिङ मूल्य (दर) र बजार क्लियरिङ भोल्युम (परिमाण) कम्प्युटर सफ्टवेयरबाट निर्धारण हुन्छ । त्यसको एक घन्टामा अर्थात् १ देखि २ बजेसम्म बैंकबाट फन्ड (रकम) उपलब्धता र प्रसारण प्रणालीबाट बिड गरेको विद्युत् प्रवाह हुने/नहुने प्रसारण उपलब्धता प्रमाणीकरण हुनेछ ।
जसको फलस्वरूप अपरान्ह ३ बजे “एरिया क्लियरिङ प्राइस (मूल्य)” र “एरिया क्लियरिङ भोल्युम (परिमाण)” प्रकाशित हुन्छ । यो नै अर्को दिनका लागि हुने कारोबारको अन्तिम मूल्य हो । सम्बन्धित बिड गर्ने निकायले माग गरेको विद्युत्को सम्बन्धमा कति दरमा कति परिमाण प्राप्त हुँदैछ भन्ने नतिजा साँझ करिब ५.३० बजे जानकारी पाउनेछ । त्यसै अनुसार अर्को दिनको राति १२ बजे (शून्य बजे) बाट विद्युत् प्रवाह सुरु हुन्छ । बिड बुझाएको दिनलाई ‘ट्रेडिङ डेट’ र सो बमोजिम विद्युत् प्रसारण हुने दिनलाई ‘डेलिभरी डेट’ भनिन्छ ।
निर्भरता : प्राधिकरणले आफ्नो माग र आपूर्तिको अवस्था विश्लेषण गरी स्वेदशी उत्पादनले अपुग विद्युत् अन्तरदेशीय बजार (हाललाई भारतीय बजार) बाट खरिद गर्ने योजना मिलाउनु अपरिहार्य छ । यसका लागि कुन–कुन स्रोत र स्वरूपबाट कति विद्युत् आयात गर्न सकिने हो, सोको योजना बनाउनुपर्नेछ । भारतीय विद्युत् एक्सचेञ्ज बजार नेपालका लागि खुला गरिए पनि हाम्रो शतप्रतिशत आवश्यकता एक्सचेञ्जबाट पूरा गर्न खोज्दा २ वटा जोखिम निम्तिन सक्छन् ।
(१) विद्युत् परिमाणको अनिश्चितता : मागेजति सबै विद्युत् पावर एक्सचेञ्ज बजारबाट प्राप्त हुन्छ भन्न सकिँदैन । भारतीय प्रसारण प्रणालीमा पनि सीमितता छन् । एक्सचेञ्ज बजारमा मात्र भर पर्दा मागेजति विद्युत् पाइएन भने नेपालमा विद्युत् कटौती गर्नुपर्ने अवस्था आउन सक्छ ।
(२) विद्युत् खरिद दर : विद्युत्को खरिद दर एक्सचेञ्ज बजारमा सस्तो मात्र पाइन्छ भन्ने ग्यारेन्टी (सुनिश्चितता) हुँदैन । विद्युत्को मूल्य आकासिएको बेला खरिद गर्नुपर्दा अप्रत्यासितरूपमा ठूलो रकम प्राधिकरणलाई अतिरिक्त व्ययभार थपिन सक्छ । अतः नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था रहुन्जेलसम्म केही निश्चित प्रतिशत दुई पक्षीय ‘विद्युत् खरिद सम्झौता (पिपिए)’ मार्फत गर्नुपर्छ । र, बाँकी नपुग क्षमताका लागि एक्सचेञ्ज बजार उपयोग गर्न सकिन्छ ।
विद्युत् खरिदमा हाम्रा लागि यो मिश्रित मोडालिटी नै बढी उपयुक्त हुन सक्छ । त्यसमा पनि एउटा मात्र विद्युत् व्यापार कम्पनीमा भर नपरी भारतीय विद्युत् बजारमा राम्रो नाम कमाएका वा अनुभव हासिल गरेका कम्पनीहरूसँग प्राधिकरणले समयमै उपयुक्त प्रावधानसहित पिपिए गर्नुपर्ने हुन्छ ।
भारतको बिहार र उत्तरप्रदेश राज्यबाट “पावर एक्सचेञ्ज कमिटि” अन्तर्गत आयात गर्न सक्ने विद्युत्को स्रोतलाई भने आफ्नो आवश्यकता अनुसार नेपालले कुनै पनि समय उपयोग गर्न सक्छ । र, गरिरहेको पनि छ ।
यसअन्तर्गत कुनै महिना यति नै विद्युत् किन्नुपर्छ भन्ने बाध्यता रहँदैन । यो विद्युत्को दर समय–समयमा नेपाल–भारत “पावर एक्सचेञ्ज कमिटि”ले तोके बमोजिम रहन्छ । हाल यो दर ढल्केबर–मुजफ्फरपुर लाइनबाट पिपिए अन्तर्गत आयात हुने दरभन्दा २ रुपैयाँ प्रतियुनिट (१३२ केभीमा) महँगो छ ।
आयात कहिलेबाट : सन् २०२१ को जुन महिनासम्म प्राधिकरण र एनभिभिएनबीच भएको पिपिए कायम रहन्छ । त्यतिबेलासम्म एनभिभिएनले नेपाललाई अप्रिलभर आरटिसी (राउन्ड द क्लक अर्थात् २४सै घन्टा) र नन आरटिसी (नन राउन्ड द क्लक, जुनसुकै समय) गरी ३५० मेगावाट विद्युत् दिनुपर्ने जिम्मेवारी छ । नेपालले आगामी मे महिनादेखि आफैंले आर्थिक जिम्मेवारी लिने गरी भारतीय एक्सचेञ्ज बजारबाट विद्युत् खरिद गर्न थाल्नेछ । यसअघि नै पावर एक्सचेञ्जबाट विद्युत् कारोबार सुरु गरी भारतसँग यस्तो कारोबार गर्ने नेपाल दक्षिण एसियाको पहिलो देश बनिसकेको छ ।
एनभिभिएनसँग भएको पिपिए अनुसार प्राधिकरणले मे र जुन महिनामा २०० मेगावाटसम्मको विद्युत् नन–आरटिसी आधारमा प्राप्त गर्नेछ । बाँकी अर्थात् ३५० मेगावाट ननाघ्ने गरी एक्सचेञ्ज बजारबाट विद्युत् खरिद गर्नेछ । प्राधिकरणले यसको तयारी गरिरहेको छ । जसअनुसार सन् २०२१ अप्रिल २८ तारिखमा एनभिभिएन र विद्युत् प्राधिकरणबीच अन्तक्र्रियाका लागि एक भर्चुअल गोष्ठि पनि तय भएको छ । प्राधिकरण सञ्चालक समितिले एनभिभिएनमार्फत पावर एक्सचेञ्जको कारोबार सम्बन्धी निर्णय गर्ने अधिकार यसअघि नै कार्यकारी निर्देशकलाई दिइसकेको छ ।
(प्राधिकरण, विद्युत् व्यापार विभागका निर्देशक अधिकारीसँगको कुराकानीमा आधारित)