• प्राधिकरण : ८४३४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६२८२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १०६३४ मे.वा.घन्टा
  • आयात : १५९३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३५ मे.वा.घन्टा
  • ऊर्जा माग : २७१७८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४४६ मे.वा.
×

जलविद्युत विकासमा माथिल्लाे तामाकोसी एक ‘अध्ययन केन्द्र’

२०७९ ब‌ैशाख २२

काठमाडाैं । ४५६ मेगावाटकाे माथिल्लो तामाकोसी जलविद्युत आयोजना एउटा राष्ट्रिय गौरवको आयोजना हो । सरकारबाट प्राथमिकता पाएका राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये यो यसको निर्माण तुलनात्मक हिसाबले छिटो र सफलरूपमा भएको बुझिन्छ । दोलखा जिल्लामा अवस्थित राष्ट्रिय महत्त्व बोकेको यस आयोजनाले धेरैबाट माया, सहयोग तथा न्यानोपन पाएर आफ्नो गति लिन सफल भयो ।

राज्यका उच्च पदाधिकार, सरकारी निकाय, राजनीतिक दल, पत्रकार, सूचना तथा सञ्चार, स्थानीय बासिन्दा, स्थानीय बुद्धिजिवी, सामाजिक कार्यकर्ता, स्थानीय निकाय, विकास अभियन्ता, आयोजनाप्रति सद्भाव राख्ने आदि सबैको सहयोग र समन्वयमा यसले आफ्नो सफलता हासिल गर्ने अवसर पायो । अर्को खुसीको कुरा के भने राजनीतिक आस्था वा विचार विमर्शमा जे जसरी भिन्नता भए पनि जिल्लाभित्रको विकास निर्माणमा भने सबै एकै मञ्चमा एकै स्वरमा सकारात्मक सोच लिएर आउने प्रवृत्तिले पनि यो आयोजना सफल हुन सहज भयो ।

२०७२ सालको महाभूकम्प,लगत्तैको भारतले लगाएकाे अघोषित नाकाबन्दी, वर्षातको समयमा प्रवेशमार्गहरूमा बारम्बार पहिरो जानु, कोरोना महामारी जस्ता काबू बाहिरका परिस्थितिहरुले गर्दा आयोजना निर्माणको अवधि केही समय धकेलियो । साथै, आयोजनाको सुरुङको डिजाइन परिवर्तन, भौगोलिक विकटता, उपकरणहरू जडानमा कठिनाई र एउटा ठेकेदारको कमजोर कार्यसम्पादन जस्ता कारणहरूले गर्दा निर्माण अवधि ६ वर्षबाट बढेर ११ वर्ष पुग्यो ।

आयोजनाको निर्माण अवधि केही लम्बिएको भए पनि अन्ततः यसको सफलताप्रति सबैमा उत्साह र हौसला प्राप्त भएको छ । आयोजनाको सम्पन्नपछि आयोजना निर्माणमा संलग्न कर्मचारी¸ व्यवस्थापक¸ ऋण लगानीकर्ता¸ संस्थापक तथा साधारण शेयरधनीहरुको अनुहारमा मुस्कान देखियो । सुरुवाती चरणमा यसको शिलन्यास तथा निर्माण सम्पन्न पछि उद्घाटनका लागि सरकार प्रमुखहरूबाट दिइएको महत्त्वपूर्ण समय तथा स्थानीय सरकारबाट आयोजनाका कतिपय समस्याहरू निराकरणका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दा पनि आयोजनाको सफलतामा स्थानीयदेखि केन्द्रीय सरकारसम्मको भूमिका रहेको सजिलै बुझ्न सकिन्छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको आफ्नै सान, गौरव र प्रतिष्ठा रहेको छ । दोलखा र समग्रमा यसले राज्यमा पुर्याउने योगदानको चर्चा गर्ने हो भने यसको सुक्ष्म अध्ययन गर्नैपर्ने हुन्छ । यसले सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा भावनात्मक महत्व बोकेको छ । आयोजनको आगमनसँगै यहाँका बासिन्दाको अनुहारमा प्रत्यक्ष खुसी देख्न सकिन्थ्यो ।

दोलखाको अत्यन्तै दूर्गम गाउँ लामाबगरमा बाटो पुर्याएर यहाँका बासिन्दाहरुलाई शहर बजारसम्म सजिलै जोडिन सहयोग भयाे । राज्यविकासको सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भनेकै बाटो हो । बाटोको विकास हुने बित्तिकै गाउँबस्तीहरूको अन्यत्र पहुँच पुगी गाउँघरको अनुहारमा चमक देखिनु स्वभाविक नै हो । बाटोको विकासपछि प्रत्यक्ष अप्रत्यक्षरूपमा सम्बन्धित स्थानले धेरै फाइदाहरू पाउने गर्दछन् । 

आयोजनाको निर्माणसँगै यस वरपरका गाउँबस्तीमा रहेका शिक्षित, अर्धशिक्षित¸ दक्ष तथा अर्धदक्ष व्यक्तिहरूले रोजगारीको अवसर पाई सामाजिक जीवनस्तर उकास्ने अवसर पाए । यसले गर्दा दोलखाको उत्तरी भेगका जनताहरूमा उत्साह र उमङ्ग थपियो । यस आयोजनाको पहलबाटलामाबगरसम्म प्रवेशमार्ग सहज भएपछि जलविद्युतमा लगानी गर्ने अन्य व्यवसायीहरु पनि उत्साहित भए ।

फलस्वरूप त्यो भेगका नदीनलाहरूबाट विद्युत उत्पादन गर्न जलविद्युत कम्पनीहरू सक्रिय हुँदै गए । माथिल्लो तामाकोसीको आशा भरोसाबाटै जलविद्युतमा लगानी बढिरहेको अनुभूति भएको छ । आयोजनाले स्थानीयबासीको सुविधाका लागि गरेटो घडेटो तथा पैदल बाटोहरुको स्तरउन्नति गराउने, खानेपानीको धारा निर्माण तथा मर्मत गरिदिने, मठमन्दिर तथा गुम्बा निर्माणमा सहयोग गरिदिने जस्ता विकास निर्माणका कामहरू गरी सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ ।

आयोजनाले सामाजिक, आर्थिक तथा सांस्कृतिक महत्त्व त बोकेकै छ, त्यसमा पनि यसले शैक्षिक महत्त्वसमेत बोकेको देखिन्छ । कतिपय विश्वविद्यालय तथा विद्यालयहरूले सम्बन्धित विषयका विद्यार्थीहरूलाई यस आयोजनामा शैक्षिक तालिम तथा इन्टर्नसीप गर्न पठाउने गरेका छन् ।

हाइड्रो मेकानिकल, इलेक्ट्रिकल तथा सिभिल विषयमा धेरै विद्यार्थीहरूले आयोजनाको अवलोकनबाट यहाँ जडान भएका अत्याधुनिक प्रविधिहरूको अध्ययन गर्ने अवसर पाएका छन् । यावत कुरालाई मनन् गर्दा यसलाई जलविद्युत क्षेत्र अध्ययनको केन्द्रको रूपमा पनि लिन सकिन्छ । जलविद्युत सम्बन्धी अध्ययन गर्न विदेश गएर लाखौँ रकम खर्च नगरी जेहन्दार विद्यार्थीहरूले यसै आयोजनाबाट अध्ययन गर्न सक्छन् ।

राज्यले यस आयोजनामा पर्याप्त लगानी गरेको छ । यसको दीर्घकालीन प्रतिफल हेरेर जलविद्युत क्षेत्रमा लगानी बढाउने देखिन्छ ।  नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले यसमा संस्थापक शेयर लगानी गरी यसबाट ठूलो आशा गरेका छन् ।

सञ्चयकर्ता कर्मचारीहरू, आयोजना तथा प्राधिकरणमा सेवारत कर्मचारीहरू, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीहरु¸ दोलखा जिल्लाबासी तथा सर्वसाधारणको शेयर लगानी परेको यस आयोजनाको निर्माण सम्पन्न गर्नमा ब्याज सहित करिब असी अर्ब नाघेको छ । यो लगानी रकम राज्यको ठूलै धन राशी हो ।

धनराशी र क्षमताको हिसाबले हेर्दा नेपालमा यति ठूलो आयोजना अब केही वर्ष आउन सक्दैन । राज्यले यसबाट प्राप्त प्रतिफलको अध्ययन गरेर मात्र यस्ता प्रकृतिका अन्य आयोजनाहरुमा लगानी गर्नुपर्दछ । आयोजना निर्माण सम्पन्नमा केही ढिलाई भएपनि दक्ष एवम् विज्ञ जनशक्तिको अथक मेहनत र ठूलो संघर्षबाट आज पूर्ण भएको छ ।

यसले सरकारलाई जलविद्युत क्षेत्रमा ठूलै उपहार दिएको छ ।यस आयोजना निर्माणमा अहोरात्र खट्ने कुशल श्रमिक¸ दक्ष कर्मचारी¸ व्यवस्थापक¸ सरकारी तथा गैरसरकारी निकायहरु¸ राजनीतिक दल¸ पत्राकार¸ संस्थापक शेयरधनीहरु तथा ऋण प्रदायक संस्थाहरु सबै प्रसंशाको पात्रका रुपमा रहेका छन् ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit